कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्धविश्वासमा जकडिएको सुदूरपश्चिम

अर्जुन शाह

धनगढी — सदियौंदेखि कायम रहेको रुढीवादी परम्पराले सिंगो सुदूरपश्चिम अझै आक्रान्त छ । सुदूरपश्चिम अर्थात अहिलेको प्रदेश ७ को समाज केवल आर्थिक विपन्नता मात्रै झेलिरहेको छैन्, अहिले पनि बोक्सी, छाउपडी, जातीय छुवाछुत, बालविवाह, धामीझाँक्री, सुत्केरीलाई गोठमा राख्ने चलन, लैङ्गिक विभेद, हलिया, खलियालगायतका रुढीवादी र अन्धविश्वासी परम्पराको डरलाग्दो जालोभित्र जेलिएको छ ।

अन्धविश्वासमा जकडिएको सुदूरपश्चिम

फेरिएको राजनीतिक ब्यवस्थाले यहाँ विद्यमान यि कुरितीलाई धक्का दिन सकिरहेको छैन ।


बोक्सी आरोपका क्रुर घटनाहरु सुदूरका सबै जिल्लामा बारम्वार दोहोरिरहन्छन् । पछिल्लोपटक प्रदेश राजधानी समेत रहेको जिल्ला कैलालीमा यस्तै घटना दोहोरिएपछि केही समयका लागि माहोल तात्यो । महिलाहरुको हकहितमा विश्वभर एकैसाथ मनाइने अन्तराष्ट्रिय नारी दिवस तामझामकासाथ मनाइदैगर्दा घोडाघोडी नगरपालिका–५ थारु बस्तीमा बोक्सी आरोपमा कक्षा ११ मा अध्ययनरत १८ वर्षीया राधा चौधरीमाथि अमानवीय ब्यवहार भयो ।


राधालाई मरणासन्न हुने गरी घण्टौंसम्म निर्घात कुटपीट भयो । गाउँकै सात जनाको समूहले घरबाट हातखुट्टा बाँधेर घिसार्दै लिएर पर पुर्‍याए । आफूमा दैवीशक्ति प्राप्त भएको बताउने रामबहादुर चौधरीले बोक्सी भगाउने भन्दै राधामाथि लगातार ६ घण्टासम्म निर्मम कुटपिट गरे । सयौंको संख्यामा त्यहाँ भेला भएका स्थानीय नाटक हेरेझै ताली बजाएर रमिते बने । राधाले ‘बोक्सी हुँ’ भनेर नस्वीकार्दासम्म संवेदनशील अंगसहित शरीरमा घण्टौं कुटपिट भइरहेपछि उनी स्वीकार्न बाध्य भइन् । घटनाको केही दिनसम्म माहोल खुब तात्यो । तर महिनादिन नबित्दै सेलाई हाल्यो । कैलालीमा यसअघि पनि बोक्सीको आरोपमा आधा दर्जन बढी घटना प्रकाशमा आइसकेका छन् । प्रकाशमा आउन नसकेका र गाउँघरमा नै मिलाइएका बोक्सी सम्वन्धी घटनाको संख्या यकिन छैन । यति भन्न सकिन्छ त्यो संख्या निकै ठूलो छ ।



‘छाउपडी’ सुदूरपश्चिमको अर्को कुप्रथाका रुपमा विद्यमान छ । यहाँका ९ वटै जिल्लामा छाउपडी परम्पराले गहिरो गरी जरा गाडेको छ । महिनावारी भएका बेला छाउगोठमा मृत्यु भएका घटनाको उल्लेख्य संख्याका कारण अछाम सबैभन्दा बढी बद्नाम पनि छ । हालसम्म अछाममा छाउपडी गोठमा १२ जना महिलाहरुले ज्यान गुमाएको प्रदेशसभा सदस्य दुर्गा कामी बताउँछिन् ।

गएको माघ दोस्रो साता साविकको वीरपथ गाविस–७ की ४० वर्षीया डिक्रादेवी ढकालको छाउपडी गोठमा सुतिरहेको अवस्थामा मृत्यु भयो । घरदेखि टाढा बनाइएको छाउपडी गोठमा सुतिरहेकी डिक्रालाई बिहान पानी दिनजाँदा परिवारले मृत अवस्थामा भेटेका थिए । महिनावारी भएका बेला महिलालाई छुनै नहुने रुढीवादी मान्यताका कारण गाउँलेहरुले उनको शव पोष्टमार्टम समेत नगरेर दाहसंस्कार गरे ।

अछामको ग्रामीण समूदायका महिलाहरुले मात्रै ‘छाउ’ बार्छन भन्ने होइन् । पढेलेखेका शिक्षित र बजार क्षेत्रमा बसोवास भएका महिलाहरुसमेत महिनावारीका बेला छाउगोठ बस्छन् ।

साँफेबगरस्थित मष्टामाण्डौं आधारभूत विद्यालयकी शिक्षिका ज्ञानु ठकुल्ला महिनावारी भएका बेला जहिल्यै बिदामा बस्छिन् । अरु शिक्षिका पनि बिदा लिएर बस्छन् । विद्यालय नजिकै देवताको मन्दिर भएकाले शिक्षिकाहरु महिनावारीकाबेला विद्यालय जाँदैनन् ।

ढकारी–७ को त्रिपुरेश्वरी आधारभूत विद्यालयकी शिक्षिका शान्ती भुषाल महिनावारी भएकाबेला गोठमै बस्छिन् । साँफेबगर र ढकारीमा मात्र होइन, जिल्लाभरका अधिकांश शिक्षिका महिनावारी हुँदा छाउगोठमा बस्ने गरेका तथ्यहरु बारम्बार सञ्चारमाध्ययममा आइरहन्छन् । जिल्ला शिक्षा अधिकारी झंकरबहादुर विष्टले भने, ‘महिनावारी भएका बेला विद्यालय नै नआउने शिक्षिका थोरै भएपनि छाउ बार्ने शिक्षिकाहरु भने धेरै छन् ।


छाउगोठमा बस्नेमा जान्नेबुझ्ने महिलाहरु नै बढी छन् । छाउगोठमा निसासिएर मृत्यु भएकी तुर्माखाँदकी गौरी बुढा उनी नागरिक सचेतना केन्द्रकी सदस्य रहेकी सामाजिक अगुवा थिइन् । त्यसअघि छाउगोठमै मृत्यु भएकी ढकारीकी लक्ष्मी बुढा, रिडिकोटकी शर्मिला भुल र गाज्राकी रोशनी तिरुवा पनि पढेलेखेकी थिइन् ।


रजस्वला भएकाबेला महिलालाई सार्वजनिक स्थानमा प्रवेश निषेध गरिने यहाँको समाजमा उनीहरुले पाँच दिनसम्म छाउपडीगोठमै बस्नुपर्ने बाध्यता हुन्छ । हालसम्म मृत्युका घटना प्रकाशमा नआएको भएपनि दार्चुला, बाजुरा, बझाङ्ग, बैतडी, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा एकनासकै छ । साक्षरतामा अन्यत्रभन्दा अग्रस्थानमा रहेको तराईको कञ्चनपुरको महेन्द्रनगरमा महिनावारी हुने महिलाहरुले डेरासमेत पाउँदैनन् ।

बाजुरा धामीझाक्री, सुत्केरीलाई गोठमा राख्ने, बालविवाह, देउताको भाकल पुरागर्न छोरीलाई देउताको नाममा सुनाउने, छोरी तान्नेलगायतका सामाजिक कुप्रथाबाट आक्रान्त छ । कुल्देवमाण्डौंकी मनु सार्की गतवर्ष जंगलको भिरालोमा लडेर टाउकोमा गम्भिर चोट लागेर अचेत भइन् । घरपरिवारले भने बेहोस भएकी उनलाई अस्पतालमा लैजानुको साटो नजिकको धामी झाँक्रीलाई बोलाएर झारफुक गराउन थाले । गाउँकै र वल्लोपल्लो गाउँका धामीलाई समेत बोलाएर घरपरिवारले चार दिनसम्म सिकिस्त विरामीको झारफुक गराए । केहीले देउता लागेको भने, केहीले अब बाँच्दिनन् भनेर ठोकुवा गरे । विरामीको अवस्था भने दिनदिनै नाजुक हुदै गयो । हप्तादिनपछि उनको शरीर नचल्ने भयो । ढिलोगरी चिकित्सकलाई देखाउँदा डाक्टरहरुले विरामीलाई समयमा उपचार नगर्दा टाउकोमा रगत जमेर पक्षघात भएको बताए ।

देवीदेउता मान्ने चलन झनधेरै जकडिएको छ बाजुरामा । गतवर्ष महेन्द्रनगरमा स्नातक तेस्रो वर्षमा अध्ययनरत बाह्रवीस खारेखेतका २२ वर्षीय अर्जुन बिकलाई अकस्मात देब्रे खुट्टा दुखेर सास्ती भयो । उपचारका लागि उनी सिधै भारतको दिल्ली गए । दिल्लीका डाक्टरले एक सातासम्म उपचार गरे । केही हल्का भएपछि दशैंअघि उनी महेन्द्रनगर फर्के । तर, महेन्द्रनगर पुगेको दोस्रो दिनमा फेरी पहिला जस्तै समस्या दोहोरिएर आपत पर्‍यो । अप्ठ्यारो बढेपछि उनी घर फर्के । पढ्न शहर गएको छोरा विरामी भएर घर फर्केपछि अभिभावकले ‘पुन्याखेत देउता’ का धामी बसाले । पुन्याखेत मष्टो उनीहरुको कुलदेउता हो । धामीले त्यही कुलदेउता बिग्रेको बताएपछि बिक परिवार देउता सपार्ने योजनामा लागे । त्यसअघि कहिल्यै देउताको थान (मन्दिर) मा नगएका अर्जुन रोगले थलिएपछि पुजाआजा गर्दै आफै थानमा पण्यास्नु (मन्दिरमै बस्ने) कुर्न थाले ।


झैझगडा, जग्गा विवादलगायत अन्य विषयमा न्याय खोज्न यहाँ देउताका मन्दिरमा हरेक महिनाको औशीपूर्णिमामा उजुरी गर्ने र प्रतिवादी फर्काउनेहरुको घुईचो लाग्ने गर्दछ । ‘औशीपुर्णिमामा थानमा खुट्टो टेक्ने ठाउँ हुँदैन’, पुन्याखेत मष्टो देउताका धामी चन्द्र बिष्टले भने । देउताका धामीको सल्लाह अनुसार विरामी, अन्य मामिलाका उजुरीकर्ता र प्रतिवादीहरुले वर्षौसम्म देउताको थानमा तारेख जारी राख्छन् । छिनोफानो (फैसला) भने देउताका धामीले निश्चित समयमा गर्छन् । पुस्तौंदेखिका मुद्दाहरु अहिलेसम्म चलिरहेका बाह्रवीसकै डिल्ली बिष्टले बताए । छिमेकी बझाङ, अछाम, बैतडीमा समेत यस्तै जनविश्वास तथा परिपाटी कायम रहि आएको छ ।


धामी झाँक्रीका विषयमा भएका अध्ययनहरुले भने धाँमी विद्याको पछाडि मनोवैज्ञानिक उपचार एवं हर्बल मेडिसिनको प्रयोगले बिरामी निको हुने गरेको पुष्टि गरेका छन् । धामीझाँक्री प्रथा दास युगबाट सुरु भएको मानिन्छ । जंगली युगमा प्रकृतिले नै रोगव्याधि नियन्त्रण गरेको मान्यता छ । त्यसपछि दासयुगमा जादुवालाले टुनामुना, पुजारी र धामीझाँक्रीले झारफुकबाट उपचार गर्ने गरेको धामीझाँक्री सम्बन्धि गरिएका अध्ययनहरुमा उल्लेख भएको पाइन्छ ।

बाजुराको समाजमा उमेर नपुगी विवाह गर्नु र विद्यालय छाड्नु कुनै अनौठो कुरा मानिंदैन् । दुई वर्षअघि परिवारकै समर्थनमा छताराकी १२ वर्षीया काजु विकले विवाह गरिन् । गुदुखाती–४ का १५ वर्षीय भरत धामीले पनि घरपरिवारकै सहमतिमा विवाह गरे । दुई वर्षअघि बाह्रबीस–१ की तारा रावतले १४ वर्षकै उमेरमा विवाह गरिन् । कक्षा ७ मा अध्ययनरत रहेकी उनले विवाहलगत्तै पढाइ छाड्नु पर्‍यो । बाह्रबीसकै मनसरा रावत पनि तारासंगै पढ्थिन् । १४ वर्षकै उमेरकी मनसरासमेत विवाह गरेर हिँडे लगत्तै विद्यालय पनि रोकियो ।


साविकका १२ गाविसमा दुई वर्षअघि गरिएको एक सर्भेक्षणमा जिल्लामा ७० प्रतिशत बालविवाह भएको देखिएको थियो । एक वर्षमा ती गाविसमा ५ सय ७३ जनाले विवाह गरेका थिए । ती मध्ये ४ सय २ जनाको विवाह बालविवाह थियो । गैरकानूनी विवाह रोक्न प्रहरीमा उजुरी भने कसैले दिएनन् । कानुनले २० वर्षभन्दा कम उमेरमा गरिने विवाहलाई गैरकानूनी मानेको छ । ‘पढ्दा–पढ्दै विवाह गरेका किशोरकिशोरीहरु अधिकांशले विवाहपछि पढाई छाड्छन्’ रत्न उच्च माध्यमिक विद्यालयका प्राचार्य रतनबहादुर अयडीले भने, ‘बालविवाह बाजुराको कुप्रथा हो ।’


बाजुरामा सुत्केरीलाई गोरु गोठमा राख्ने अर्को कुप्रथा हो । गर्भवतीलाई सुत्केरी व्यथा सुरु हुनेबित्तिकै स्वास्थ्य संस्था लैजानुको साटो यहाँको विकट क्षेत्रका परिवारले हत्तपत्त गोठमा सार्छन् । जस्तोसूकै चिसो सिरेटोको सास्ती ब्यहोर्नु परेपनि आमाले शिशुसँगै पूरापूर एक महिना त्यही जेलको छिंडीजस्तो गोठभित्र गुजार्नुपर्छ । सामाजिक परम्पराअनुसार गोठको मूल ढोकामा तरबार ठड्याइन्छ । माथिबाट माछा मार्ने जाल ढोकामा फिंजाइएको हुन्छ । तरबार र जालले नै सुत्केरी र शिशुलाई भूतप्रेत र कपटबाट सुरक्षा गर्ने अन्धविश्वासअनुसार घरपरिवारले त्यसो गर्छन् । गोरु गोठमा बस्नुपर्ने परम्परा गलत लाग्नेसंग पनि यो परम्परागत मान्यता तोड्ने हिम्मत छैन । बाजुराको पूर्वोत्तर क्षेत्रका महिलाहरुका लागि समाजले बनाएको यो कडा बन्धन हो । नियम नमाने देउताले सराप्ने डरका कारण सुत्केरीहरु गोरु गोठमा बस्न बाध्य छन् ।


सुदूरकै अर्को जिल्ला बझाङ जातीय छुवाछुतबाट ग्रसित छ । साविकको रिलु गाविसका ५५ वर्षीय लालसिंह आग्रीलाई स्थानीय रुद्र कठायत, मान कठायत, गोर्खे कठायत लोकबहादुर ग्वाल, धनजित ग्वाल र गगे बोहराले दलित भएर मन्दिर परिसरमा गएको भन्दै दुर्व्यवहार गरे । हरेलो मेलाहेर्न गएका आग्री मन्दिर नजिक प्रसाद पकाउने ठाउँमा गएका थिए । उनलाई देउता विगारेको भन्दै दुई हजार नगद र चार आना सुन पनि जरिवाना गराइयो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले समेत घटनामा आफ्नो ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारवाही गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।

जातीय भेदभाव तथा छुवाछुतको कसुर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०६८ ले जातीय छुवाछुतलाई मानवता विरोधी कार्य भन्दै छुवाछुत गर्नेलाई सजाय गर्ने व्यवस्था गरेको छ । त्यसअघि ०२० सालमा बनेको मुलुकी ऐनले नै जातीय छुवाछुत गर्ने कार्यलाई दण्डनीय भनेर परिभाषित गरिसकेको भएपनि हालसम्म गाउँघरका पसलमा दलितहरुले चिया खाएको गिलास समेत आफैले सफा गर्नुपर्ने अवस्था कायमै छ ।

लैगिंक विभेदले समेत यस प्रदेशमा गहिरो जरा गाडेको छ । महिलाले आफ्नै परिवारमासमेत मृत्यु भएका आफन्तको दागबत्ती दिने कुरा अकल्पनीय जस्तै छ । शवलाई समेत छुन नहुने मान्यता कायम रहँदै आएको छ । यसअघि बझाङमा दुई महिलाले आफ्ना बाबुलाई दागवत्ती दिएको घटनाले चर्चा पाएको थियो । बझाङको कफलसेरीका नन्ता बोहरा र मंगली बोहराले बाबुलाई दागवत्ती दिएका थिए । सुदूरपश्चिममा महिलाले दागबत्ती दिएर प्रचारमा आएको पहिलो घटना यही हो ।


सुदूरपश्चिमको अर्को पहाडी जिल्ला बैतडीमा अर्को अनौठो परम्परा छ । तल्लोस्वराडमा पर्ने मेलौली गाउँमा जेठो सन्तानका रुपमा छोरा जन्माएका आमाबुवाले हरेक वर्ष तिहारको औंसीका दिन गाउँलेलाई खसी काटेर खुवाउनै पर्ने चलन छ । यदी त्यसो नगरे छोरालाई अशुभ हुने जनविश्वासका कारण यो परम्पराले सामाजिक तथा लैङ्गिक विभेदलाई बढावा दिएको छ ।

हालको ७ नम्बर प्रदेश तथा यसअघिको सुदूरपश्चिमले अलग पहिचान पाएको हो । त्यस अगाडी सुदूरपश्चिमको सदरमुकाम सुर्खेतमा थियो । ०५१ सालमा कर्णालीमा पुल नबन्दासम्म सुदूरपश्चिम राजधानीबाट अलग रह्यो । कर्णाली नदीमा पुल निर्माण भएपछि मात्र यो क्षेत्र राजधानी काठमाडौंस‌ँग सडक यातायातबाट जोडियो । कर्णालीको पुल बनेपछि मात्र सुदूरपश्चिममा विकासको अध्याय सुरु भएको मान्न हो भने यस क्षेत्रको विकास प्रयासको इतिहास दुई दशकको देखिन्छ । यही कारणले पनि यस प्रदेशमा अनेकौं कुरिती कायमै रहेका हुन सक्छन् ।



प्रकाशित : वैशाख १६, २०७५ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?