कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्होलसोंथर : गुरुङ सभ्यताको विकास केन्द्र

एकेन्द्र गुरुङ

काठमाडौँ — धेरैले भन्ने गर्छन्— गुरुङ समुदाय संस्कार, संस्कृति र सभ्यताका धनी छन् । यो आफ्नै भाषा, वेशभूषा र संस्कार–संस्कृति हामी नेपाल बाहिरी जगत्मा पनि देखाइरहेका हुन्छौं । नेपालमा लामो समय शिक्षण पेसामा रहँदा होस् वा बेलायत बस्न थालेपछि होस्— गुरुङ सभ्यताको विकास मेरा लागि सधैं चासोको विषय रह्यो, रहन्थ्यो।

क्होलसोंथर : गुरुङ सभ्यताको विकास केन्द्र

यही सिलसिलामा तमु धिं, यूकेले गुरुङको आदिम थलो क्होलसोंथरको अध्ययन भ्रमण गर्ने निर्णय गर्‍यो । त्यसका लागि स्वयंसेवी रूपमा जानेहरूको नाम संकलन गरियो र मलाई संयोजक तोक्यो । यो मेरो इच्छाको विषय पनि थियो । यसका लागि २८ जना हामी तयार भयौं । यो कुनै विज्ञ–टोली थिएन । न त कुनै ठूलो केही उद्देश्य नै यो भ्रमणको थियो । हामी क्होलसोंथरको अध्ययन भ्रमणका लागि भनेर यूकेबाट हिंड्यौं । अध्ययन भ्रमण भनिए पनि एक पटक आफ्नो पुर्खाले संस्कार, संस्कृति र सभ्यताको विकास गरेको भनिएको ठाउँ पुग्ने अभिलाषा थियो । हामीलाई लागेको कुरा के हो भने अरूहरूले पनि आफ्नो थातथलोबारे खोजीनीति गरून्, अहिलेकै पुस्ता र भावी पुस्ताले पनि यो ठाउँमा जाने इच्छा गरून् भन्ने मात्रै हो ।


कतिपयले क्होलसोंथरलाई गुरुङ जातिको ‘पहिलो बस्ती’ पनि भन्छन् । कतिले उद्गमस्थल पनि भन्ने गर्छन् । तर, मलाई यो ठाउँ उद्गमस्थल वा पहिलो बस्ती बसेको ठाउँ नभएर गुरुङ सभ्यताको विकास भएको ठाउँ हो भन्ने लाग्छ । यद्यपि यो कुन समयावधिमा हो भन्ने यकिन छैन ।


यहाँ एउटा किंवन्दतिलाई जोड्न चाहन्छु । त्यसबेला गुरुङहरू मनाङको कुनै ‘क्होल’ भन्ने ठाउँमा बस्थे । दुई जवानहरू सिकार खेल्ने क्रममा ‘नागिम’ भञ्ज्याङ कटेर आएछन्, थारको पिछा गर्दै । उनीहरूले थारलाई बाण हानेर घाइते बनाएका थिए । पिछा गर्दै आउँदा अहिलेको क्होलसोंथरमा उनीहरूले त्यसलाई भेट्टाए । उनीहरूको बाणको टोक्रोमा उवा थियो । त्यो उवा उनीहरूले त्यहाँ छरेर गए । अर्को पटक सिकार गर्न आउँदा त्यहाँ उवा लहलह झुलिरहेको थियो । उनीहरूले त्यही खबर गाउँमा लगे र बस्नयोग्य ठाउँ भनेर बसाइँ सरे । यसले पनि यो पहिलो बस्ती हो भन्ने कुरालाई खण्डन गर्दछ ।


यस ठाउँको उत्खनन केही वर्षअघि बेलायतको क्याम्ब्रिज विश्वविद्यालय, गुरुङको पे ल्हु संघ र नेपालकै पुरातत्त्व विभागले सुरु गरेको थियो । तर, द्वन्द्वकालमा सुरु भएको त्यस कामले पूर्णता पाउन सकेन ।


हामीले त्यहाँ पुगेपछि भने भग्नावशेषहरू प्रशस्तै भेट्यौं, देख्यौं । यो ठाउँ लमजुङको घनपोखर, घलेगाउँ, पसगाउँ, कास्कीको ताङतिङ, सिक्लेस र याङ्जाकोटको गोठहरू पुर्‍याउने (सार्ने)ठाउँ पनि हो । त्यहाँ गइरहने अनुभवी गोठालाहरूका अनुसार पहिलेभन्दा भग्नावशेष कम हुँदै गएका छन् ।

क्होलसोंथर विशेषगरेर तीनवटा बस्ती मिलेर बनेको छ । त्यसैले गुरुङहरूले त्यसलाई ‘क्होल सोंप्रें ट्हो’ पनि भन्ने गरेको पाइन्छ । गुरुङ भाषामा ‘सों’ को अर्थ तीन र ‘ट्हो’ को अर्थ बस्ती भन्ने हुन्छ । त्यहाँको मूल बस्ती ठूलो छ । त्यहाँको सबैभन्दा ठूलो घरको भग्नावशेषलाई राजाको ‘छोंज धिं’ भनिन्छ । गुरुङ भाषामा छोंज भनेको सभा हो र धिं भनेको घर हो । त्यसैले त्यही राजाको सभा हल रहेको विश्वास गरिन्छ। अलिकति पूर्वतर्फ पनि ठूलै बस्ती छ । पश्चिमपट्टिको बस्ती भने अलि सानो छ । त्यही पश्चिमको सानो बस्तीमा घले राजाको दरबार रहेको बताइन्छ । तीनैवटा बस्तीका भग्नावशेष प्रशस्तै छन् । त्यहींबाट घरको बनावट, आकार–प्रकार थाहा पाउन सकिन्छ ।

घरमा तफुँ (तीन कुना हुने गरी ढुङ्गाले बनाएको दुलो) लाई झ्यालको रूपमा प्रयोग गरिएको पाइन्छ । त्यो अझै सग्लो देखिन्छ भने त्यसलाई कलात्मक रूपमा कुँदिएको छ । त्यहाँ ढिकीको ओखल छ । तीनवटा पानीघट्ट अवशेष पनि छ । एउटा ढुङ्गाको खाँबो छ । त्यसलाई कसैले राजाको घोडा बाँध्ने किलो भनेका छन् भने कसैले मौलो भनेका छन् ।

बस्ती माथिपट्टि एउटा ठूलो ढुङ्गा छ । त्यसलाई तीनवटा ओदानको खुट्टाजस्तो ढुङ्गाले अड्याएको छ । प्राध्यापक डा. जगमान गुरुङले त्यसलाई ‘जोखाना हेर्ने ढुङ्गा’ भनेका छन् । कसैले यसलाई युद्धकला अभ्यास गर्ने थलो भनेका छन् । यो ठाउँ ३५ सय मिटर उचाइमा छ । करिब ३८ सय मिटरको उचाइमा ‘च्योम्स्यो ङारा’ भन्ने डाँडा छ । च्याम्स्यो भनेको गुरुङ भाषामा झुमा हो । त्यो झुमाहरू बस्ने गुफा हो भन्ने विश्वास गरिएको छ ।


केही पर ठूलो चौर छ । त्यसलाई घले राजाको घोडा दौडाउने चौरको रूपमा चिनिन्छ । यो चौरमा हेलिकप्टरसमेत बस्न सक्छ । यही घनपोखर, नायु, घलेगाउँ आदिको गोठ लगिन्छ । मूल बस्तीबाट च्याम्स्यो डाँडा पुग्नलाई दुई घण्टा र राजाको घोडा दौडाउने चौर पुग्न एक घण्टा हिँड्नुपर्ने हुन्छ ।


अर्को एउटा छुटाउनै नहुने चीज भनेको पानीघट्ट चलाउन पानी ल्याउन बनाएको नहर पनि हो । करिब १५/२० मिनेटको दूरीबाट नहर बनाएर पानी ल्याएको देखिन्छ । अझै पनि त्यो नहर बनाउन प्रयोग गरिएको प्रविधि उत्कृष्ट लाग्छ । यसले त्यसबेला सुरु भएको प्रविधि र सभ्यताको संकेत गर्छ । यी कुराको अवलोकनले यहीँ गुरुङ जातिको आधुनिक सभ्यताको विकास भएको देखिन्छ । यही गुरुङ सभ्यताको विकास भएको यो उखानले पनि पुष्टि गर्छ, ‘क्होला पे अखेबै पज्यु, पज्यु अङि, क्होला पे अखेबै खेब्रे, खेब्रे अङि, क्होलरबै छ्याँव अलबै तमु, तमु अङि ।’ यसको अर्थ हुन्छ— क्होलको संस्कार नपढ्ने पज्यु (गुरुङको पुरेत), पुरेत होइन, क्होलको संस्कार नमान्ने गुरुङ, गुरुङ होइन ।

क्होलसोंथर पुग्न लमजुङबाट जाँदा घलेगाउँ–भुजुङ, घनपोखर, पसगाउँ हुँदै जान सकिन्छ भने कास्कीबाट जाँदा सिक्लेस, ताङतिङ र याङ्जाकोट भएर जान सकिन्छ । लमजुङबाट गएर कास्कीबाट निस्कने वा कास्कीबाट गएर जमजुङ हुँदै फर्कंदा राम्रो हुन्छ ।


हामी घलेगाउँ हुँदै गयौं । फर्कंदा हामीले सिक्लेसको बाटो तय गर्‍यौं । यसको उद्देश्य मादी गाउँपालिकाले सिक्लेसमा राखेको क्होलसोंथरको विकाससम्बन्धी गोष्ठीमा सहभागी हुनु पनि थियो । त्यही गोष्ठीमा प्रदेश–४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पनि सहभागी थिए ।


क्होलसोंथरमा अहिले नै तीनवटा पौवा र एउटा क्होइबा(पितृघर) बनाइएको छ । यसरी नयाँ संरचनाहरू त्यस वरपर नबनाउनु राम्रो हुन्छ, अलि परै बनाउँदा राम्रो । पछि पुरातात्त्विक अध्ययन गर्ने अवस्थामा ती नयाँ संरचनाले असर गर्न सक्छ । अर्को कुरा यस ठाउँलाई पर्यटकीय तथा पुरातात्त्विक हिसाबले विकास गर्नकै लागि पनि बाटो राम्रो बनाउनु जरुरी छ । अहिले त्यहाँ पुग्ने बाटो अलिक राम्रो छैन ।

प्रस्तुति : खिम घले

सबै तस्बिरहरु : मिलन तमु

प्रकाशित : वैशाख २३, २०७५ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?