कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'नेपाली झण्डा' बोकेर दौडने निमेषको चाहना 

विद्या राई

काठमाडौँ — संखुवासभाको मादी मुलखर्कमा जन्मेका २९ बर्षीय निमेश गुरुङ सिंगापुर पुलिसफोर्सका सदस्य हुन् । तर, यतिमा मात्र उनको परिचय सकिंदैन । उनी सिंगापुरमा मात्र होइन, अन्तर्राष्ट्रिय जगतमै चिनिएका धावक पनि हुन् । तर, नेपालमा भने उनको खासै परिचय छैन ।

'नेपाली झण्डा' बोकेर दौडने निमेषको चाहना 

गत वर्ष सिंगापुरको स्ट्रेट टाइम्सको १८.४५ किलोमिटर दुरीको दौडमा उनी दोस्रो बने । विदेशी भूमिमा काम गर्दै निमेशले प्राप्त गरेको यो सफलता कम्ती लोभलाग्दो छैन । उनले अहिलेसम्म करिव १५० वटा त स्वर्ण पदक नै जितेका छन् । उनी लगातार ६ वर्षदेखि दौडिरहेका छन् । 'कहिल्यै हार्न नजानेको नेपाली' उपमा पाएका निमेशले नेपाल र नेपालीको शीर उचो परिरहेका छन्, तर पनि उनले नेपाली झण्डा बोकेर दौडन पाएका छैनन् । अर्थात उनले आजसम्म आफ्नो देशको प्रतिनिधित्व गर्न पाएका छैनन् ।


निमेश गुरुङले प्राप्त जितेका पदकहरु ।

आफ्नो सफलतालाई लाहुर जीवनको उपज मान्छन् उनी । किनकी उनी नेपालमा हुँदा बाल्यकालमा होस् या त युवाअवस्थामा होस् कुनै खेलमा रुची थिएन । ‘म गाउँको दु:खमा जन्मिए, हुर्किए, लाहुर लागेपछि साथीहरु दौडिएको देखें, जित्नेको वाहवाही हुन्थ्यो, खेलकुदबाट पनि नाम कमाउन सकिंदो रहेछ भन्ने थाहा पाए, यता लागें ।’ त्यतिबेला गोरखा रेजिमेन्टका अन्य सदस्यहरुले दौडमा पदक र पुरस्कार लिएर आउँदा जस्तो आफुले पनि वाहवाही कमाउने हटहुटी अन्तमा पुरा गरेरै देखाए । हुन त उनले लाहुर लागेको तीन वर्षपछि मात्रै दौडन सुरु गरेका हुन् ।


२०१२ कै अन्त्यतिर आफ्नो युनिटभित्र साथीहरु दौडेको देखेर अचानक लोभिए निमेश । त्यो देखेर लगत्तै युनिटभित्र भएको दौड प्रतियोगितामा सहभागी भए । पहिलो सहभागितामै च्याम्पियन बने । जुनदिन उनको शरिरलाई निक्कै हलुका भएको थियो । सुरुवाती त्यस समयमा जागिर र दौडलाई एकैसाथ अघि बढाउन सहज थिएन । उनका भनाईमा पराइ देशमा जागिर र खेललाई अगाडि बढाउनु भनेको ‘फलामको चिउरा चपाउनु’ जस्तै हो । त्यसो त उनी जागिरका लागि लाहुर लागेका हुन् ।


यद्यपी पहिलो सहभागितामै हात पारेको पहिलो सफलताले दौडमा आकर्षित बनायो । सन् २०१३ मा सिंगापुर होम टाइम ट्रयाक एन्ड फिल्डको ५ र १० हजार मिटर दुवै दौडमा भाग लिए । त्यसमा च्याम्पियन भएर १७ वर्षकै पुरानो किर्तिमानी तोडेर सनसनी मच्चाए । उनी झनै हौसिए, ‘म पनि धावक बन्न सक्छु भन्ने आत्मबल जाग्यो ।’ उनले जागिरका अतिरिक्त दौडमा पनि भविष्य खोज्ने निधो गरे । ६ महिनामा उनले आफ्नो शरीरको १५ किलो तौल घटाए । त्यसो त सानैदेखि संखुवासभा र तेह्रथुमका भिरपाखा, पखेरामा संघर्ष गर्दैगर्दा दौडका लागि उनको शरीरलाई तालिम प्रर्याप्त भइसकेको थियो ।


युनिटभित्र हुने प्रतिस्पर्धामा उनलाई उछिन्ने प्रतिस्पर्धि भएनन् । सिंगापुरमा भैरहने सबैजसो दौड प्रतिस्पर्धामा सहभागी हुन थाले । सबैजसो प्रतिस्पर्धामा पहिलो भएर पदक र पुरस्कार राशी पाउँथे । अनि आत्मबल झन बढ्थ्यो । प्रतियोगितामा सहभागी हुन थालेको वर्ष दिन नपुग्दै उनी सिंगापुरको राष्ट्रिय धावक भैसकेका थिए । उनले सिंगापुरमा हुने गरेका ठूला प्रतियोगिता र देशबाहिर हुने अन्य प्रतियोगितामा समेत सहभागिताको अवसर पाउन थाले । सन् २०१४ मा सिंगापुरबाट छनोट भएर मलेसियामा भएको माउन्ट किनाबलु अन्तर्राष्ट्रिय दौड प्रतियोगितामा सहभागी भए । तीन केन्याली धावकलाई पछि पार्दै दोस्रो स्थान हात पारेका थिए । सोहिवर्ष सिंगापुरमा भएको २१ किमिको द स्ट्रेट्स टाइम्स रनमा स्वर्ण जितेका थिए । जतिबेला त्यहाँको चर्चित दैनिक पत्रिका ‘द स्ट्रेट्स टाइम्स’मा प्रकाशित समाचार अनुसार उनको स्वर्णले नेपाली खेलकुदलाई गर्व गर्ने क्षण बनेको थियो । द स्ट्रेट्स टाइम्स रन उसैको आयोजनामा वर्षैपिच्छे प्रतियोगिता हुँदै आएको छ । त्यस समयको संस्करणमा नेपाली धावक पहिलोपल्ट समावेश थिए । यस समाचारले विदेशमा बस्ने धेरै नेपालीको समेत ध्यान खिचेको थियो ।

सन् २०१५ मा हाफ म्याराथनतर्फ सिंगापुरको राष्ट्रिय च्याम्पियन बने । सन् २०१६ मा सिंगापुरमा भएको ७ किमिको न्यु ब्लान्स रन, १२ किमिको पुमा नाइट रन, १० किमिका पोकारी स्विट रन, सालोमोन एक्स क्रस कन्ट्री रन, द पर्फमेन्स सिरिज र ४२ किमिको सिंगापुर सिटी रेसमा च्याम्पियन भए । ५० किलोमिटरको क्रस कन्ट्री रन र १९ किलोमिटरको द स्ट्रेट्स टाइम्समा रेसमा दोस्रो भए । सन् २०१७ को अगस्टमा अमेरिकामा भएको वर्ल्ड पुलिस फायर गेम्सको १० किलोमिटर र २१ किमि (हाल्फ म्याराथन) मा पनि स्वर्ण पदक नै जिते । जुनबेला अमेरिका, बेलायत, रुसलगायत विश्वका ६१ भन्दा बढी देशका सुरक्षा निकायका धावक सहभागी भएका थिए । सुरुवातमा मध्यम दुरीका स्पर्धामा सहभागी गराउदै आएका उनले हाफ म्याराथन र १० हजार मिटरका दौडमा आफ्नो क्षमता निखार्दै लगेका छन् ।


हालसम्म उनले आफ्नै वुद्धि, विवेक र अभ्यासले जित्दै आएका छन् । नेपालीले विदेशमा महंगो पैसा तिरेर प्रशिक्षक राख्नु असम्भव जस्तै हुन्छ । ड्युटीले गर्दा दौडमा समय मिलाउन हम्मेहम्मे पर्छ । दिनमा कम्तीमा दुईघण्टा दौडन्छन् । ड्युटी सकिने बित्तिकै दौडिहाल्छन् । अन्य बेला फुर्सद पाएभने अलि बढि दौडन्छन् ।


पैसा कमाउन लाहुर लागेका उनले दौडमा लागेर यति धेरै नाम र दाम कमाउला भनेर कहिले सोचेका थिएनन् । मेहनत र लगनशिलताले अन्तराष्ट्रिय दौडमा नेपालको प्रतिनिधित्व गर्ने धावकका रुपमा सावित गराउन सफल भए । मलेसियादेखि अमेरिकासम्म पुगी स्वर्ण पदक हात पारे । जितेका करिब साढे तीन सय बढि पदक मध्ये एक सय ५५ जति त स्वर्ण नै छन् । उनलाई सिंगापुरमा ‘हार्न नजानेको नेपाली’ भनेर चिन्छन् ।


कुनै बेला कमजोर आर्थिक अवस्थामा गुज्रिएको उनको जीवनलाई लाहुरले फड्को मारिदिएको छ । लाहुरबाट पाएको तलबले उनको परिवारलाई खान लाउन प्रशस्तै पुग्छ । दौडबाट पनि राम्रै कमाइ गर्छन् । कहिलेकहि एक हप्तामा दुईवटा प्रतियोगिता नै भ्याइदिन्छन् । अनि पहिलो हुन पनि छाड्दैनन् ।


उनी लाहुरमा फुल टाइमर धावक होइनन् । ड्युटीको अतिरिक्त दौडदै आएका हुन् । अबको उनको एउटै चाहाना भनेको नेपाल फर्केर देश विदेशमा बटुलेको अनुभवलाई यहि उपयोग गर्ने । नेपालको झण्डा लिएर अन्तर्राष्ट्रिय प्रतियोगितामा सामेल हुने । भविश्यमा नेपाली टिमबाट दौडने योजना बनाएका छन्, उनले ।


प्रकाशित : जेष्ठ १७, २०७५ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?