२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

सडकका चाैपायालाई टल्किने माला

सजना बराल

काठमाडौँ — होटल म्यानेजमेन्टमा स्तानक दोस्रो वर्षमा अध्ययनरत बिराट लिम्बू शनिबार स्वयम्भूतिरको रिङरोडमा थिए । उनी सडकमा भेटिएका गाई–बाच्छालाई ट्राफिकको ज्याकेटझैं टल्किने रिबन बाँध्न व्यस्त देखिन्थे । उनकै कलेजकी निलिमा गुरुङ बाछालाई बन्दाकोभी ख्वाउँदै थिइन् । एक पैदलयात्रीले छक्क पर्दै सोधे, ‘यो गरेको तिमीहरूले ?’

सडकका चाैपायालाई टल्किने माला

सडकका गाइवस्तुलाई अँध्यारोमा गाडीले नहानोस् भनेर तिनको घाँटीमा रिफ्लेक्टिभ कलर (माला) बाँधिदिएको बिराट र निलिमाले अवगत गराए । उनीहरूको प्रयासलाई ट्राफिक प्रहरीदेखि सवारी चालक र पैदल यात्रीले राम्रो भने । ‘मेरो झापाको घरमा पनि गाई छ’, बिराटले भने, ‘त्यसलाई हामी माया गर्छौं । तर, यहाँ रोडभरि गाईबस्तु छोडेको देख्दा नराम्रो लाग्छ ।’

यी दुईसँगै काठमाडौं इन्जिनियरिङ कलेज, जेभियर्स एकेडेमी, सिल्भर माउन्टेन कलेज र सेन्ट जेभियर्स कलेजका ८५ विद्यार्थीले शनिबारको बिहानी गाईबाच्छाका लागि खर्चिए । कर्पोरेट प्रोग्राम्स नेपाल द आर्ट अफ लिभिङ फाउन्डेसनको नेतृत्वमा उनीहरूले कालिमाटी–बल्खु, कालिमाटी–कलंकी र कलंकी–स्वयम्भुका सडकमा चौपायालाई रिफ्लेक्टिभ कलर लगाइदिएका थिए ।

‘म आफैं पनि बाइक चलाउने भएकाले राति अलि डर हुन्छ’, काठमाडौं इन्जिनियरिङका छात्र सक्षम पोखरेलले भने, ‘यति गरेपछि गाइवस्तु सुरक्षित हुन्छन् जस्तो लाग्यो ।’ सोही कलेजका रेनिज पोखरेलले गाई–बाच्छाको घाँटीमा टल्किने रिबन बाँध्न खासै गाह्रो नभएको अनुभव सेयर गरे । ‘तरिका जान्यो भने सजिलै हुँदो रहेछ’, उनले भने, ‘यो प्रोग्राम नभएको भए आज घरमा सुतेर बसिन्थ्यो । यस्ता कन्सेप्टहरू बनाए हामी स्वयं सेवा गर्न तयार छौं ।’

जेभियर्स एकेडेमीका प्रज्ज्वल श्रेष्ठलाई यो काम निरन्तर भइदिए हुन्थ्यो भन्ने लागेछ । उनले भने, ‘आज कति वटा गाईलाई रिबन बाध्यौं भन्ने ठूलो कुरा होइन । तर, अबको दिनमा कति वटा गाईलाई घाइते हुनबाट बचाइन्छ भन्ने कुरा महत्वपूर्ण हो ।’ जे कुरामा पनि गुनासो गर्नुको सट्टा युवाले आफ्नो क्षमता प्रदर्शन गर्नुपर्ने भन्दै सिल्भर माउन्टेनका निशान परियार बोले, ‘सडक दुर्घटना रोक्न के–के गर्न सकिन्छ, हामी सोचौं र योजना बनायौं ।’



विद्यार्थी टोलीले बिहान ६ देखि ९ बजेसम्ममा ५० वटा गाई–बाच्छा र केही कुकुरलाई रिफ्लेक्टिभ कलर लगाउन भ्यायो । उनीहरूको कामदेखि प्रभावित ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले यसलाई सांकेतिक पहल भन्न रुचाइन् । ‘उपत्यकाका सामुदायिक पशुलाई व्यवस्थित गर्ने ठाउँ छैन,’ उनले भनिन्, ‘तर, यसबारे हामी सोचिरहेका छौं ।’


आर्ट अफ लिभिङकी निभा माथेमाका अनुसार काठमाडौं उपत्यकामा ८ देखि १० हजार गाइगोरु सडकमा बेवारिसे छन् । तीनमध्ये एउटा सडक दुर्घटना तिनै छाडा जनावरका कारण हुने गरेको उनले बताइन् । ‘यँही समस्या समाधान होस् र मान्छेलाई यसबारे जानकारी दिउँ भन्ने उद्देश्यले यो कार्यक्रम गरेका हौं’, उनले भनिन्, ‘यसमा युवाहरूको सहभागिता र गम्भीरतादेखि प्रभावित छौं ।’

प्रकाशित : जेष्ठ २६, २०७५ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?