कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नारायणगढ–मुग्लिन सडकः पानी पर्‍यो, पहिरो झर्‍यो

रमेशकुमार पौडेल

चितवन — नारायणगढ मुग्लिन सडकमा बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म गाडी बन्द गरेर बाटो बनाउने काम हुने गर्दथ्यो । जेठ २३ गतेबाट यो समय सिमा हट्यो । सडकमा २४ सैं घण्टा गाडी चल्ने भयो ।

नारायणगढ–मुग्लिन सडकः पानी पर्‍यो, पहिरो झर्‍यो

यति मात्रै नभएर निर्माणाधिन सडकको पुरै खण्डमा पहिलो तहको कालोपत्रे गर्ने काम पनि सकियो । हिलो, खाल्डो र धुलोयुक्त सडकमा घण्टौं जामको कष्ट बेहोरेर यो सडकमा यात्रा गर्न बाध्य यात्रुहरु यो खबरले खुशी भए । चिल्लो सडकमा सरर्र गाडी चल्ने दिन आयो भनेर मख्ख परे । तर त्यो खुशी धेरै दिन टिकेन । पहिरोले दुख्ख देला कि भन्ने शंका यथार्थमा परिणत भइदियो । नभन्दै अहिले पहिरोले यो सडकमा दिन दिनै सास्ती बढ्दै गएको छ ।


मंगलबार बिहानै पहिरो आउँदा मध्यान्हसम्म बाटो खुल्न सकेको थिएन । सोमबार पनि पहिरोका कारण दिनभर यातायात प्रभावित थियो । मध्य असारको वर्षाले बाटोमा पहिरोको व्यथा थुपार्न सुरु गरेको छ । तर समस्या मनसुनअघि नै सुरु भएको थियो । बैशाख जेठको सामान्य वर्षामा पनि एकाध घण्टा बाटो बन्द हुन थालेको थियो । पहिरोको समस्या नौलो हैन । सडक निर्माणको काम अगाडी बढेसँगै पहिरोले पनि पिरोल्न थालेको हो । पहिरोको समस्या कहिलेदेखि निराकरण हुन्छ, यात्रा बाधारहित र सुरक्षित कहिलेदेखि हुन्छ भन्ने प्रश्नको पक्का जवाफ अहिले कोहीसँग छैन ।


अनुमान बाहिरको समस्याः


सडक निर्माणको काम ०७२ सालको बैशाखसँगै सुरु भएको हो । निर्माण सुरु हुनुभन्दा अघि यति धेरै पहिरो खस्ला भन्ने अनुमान गरिएको थिएन । नारायणगढ मुग्लिन सडक आयोजनाका सुचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार निर्माणका बेलामा ३० हजार घन मिटरसम्म पहिरो जाने सम्भाव्यता अध्ययनमा देखिएको थियो । तर गत वर्षसम्म दुई लाख घन मिटर पहिरो गइसकेको खनालले बताए । अनुमानभन्दा निकै नै धेरै पहिरो गएका कारण नियन्त्रणमा सकस भइरहेको छ ।


वि.सं. २०३६ सालमा चीन सरकारको सहयोगमा नारायणगढ–गोरखा राजमार्ग अन्तर्गत निर्माण भएको उक्त सडक जम्मा साढे पाँच मिटरसम्म फराकिलो थियो । विश्व वैंकको सहयोगमा एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउन उक्त सडकलाई नौदेखि ११ मिटरसम्म फराकिलो बनाउने काम सुरु भयो । सडक फराकिलो बनाउने कामले नै पहिरोको समस्या निम्तयाएको हो । किनकी बाटो चौडा बनाउन धेरै ठाउँमा पहाड काट्नु परेको छ । पहाड काटेको ठाउँहरुमा पहिरो गएको छ ।


नारायणगढ मुग्लिन सडकमा सवैभन्दा डर लाग्दो पहिरो घुमाउनेमा गयो । विस २०७३ सालको चैत्र २१ गते घुमाउनेमा पहिरो जाँदा दुईजना यात्रुको घटनास्थलमा ज्यान गयो । घुमाउरो बाटोलाई सिधा बनाउन त्यहाँ अग्लो पहाड काट्ने काम भइरहेको थियो । सम्भाब्यता अध्ययनमा त्यहाँ पहिरोको समस्या नहुने उल्लेख थियो । २९ ठाउँ पहिरोको उच्च जोखिममा रहेको पछि पत्ता लाग्यो ।


अहिलेसम्म ३१४ वटा ठुला पहिरोहरु गएको नारायणगढ मुग्लिन सडक आयोजनाका सुचना अधिकारी शिव खनालले बताए । २५० घन मिटरभन्दा धेरैका पहिरोलाई मात्रै ठुला पहिरो भनिन्छ । यीमध्ये ५३ वटा पहिरो दुई हजार घन मिटरभन्दा माथिका थिए । त्यसैले नारायणगढ मुग्लिन सडक विस्तारको काम सुरु हुँदा पहिरोको अनुमान र अहिलेको यथार्थता के हो यसबाटै छर्लङ्ग हुन्छ । जोखिमको आँकलन सुरुमा नै गर्न नसक्दा नियन्त्रणमा समस्या भएको बुझ्न गाह्रो छैन ।


सुस्त नियन्त्रण कार्यः


नारायणगढ–मुग्लिन सडक विस्तारको कामसँगै भुकम्प गएको थियो । भुकम्पले कमजोर बनाएको पहाडमा विस्तारका लागि डोजर चलाउँदा समस्या आउछ भन्नेमा दुविधा नहुनु पर्ने हो । तर धमाधम पहाड काट्दा नियन्त्रणमा उपायहरु परम्परागत नै अपनाउने थालिएको थियो ।


पहाड काटेको ठाउँमा काँस, बाबियो, खर रोप्ने परम्परागत बायो इन्जिनियरिङको काममा मात्रै आयोजनाले ध्यान दिएको थियो । गत वर्षको साउनमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा बाटो निरीक्षणका लागि आउँदा पहिरो नियन्त्रणको प्रभावकारी उपाय खोज्न भनियो । सडक सुरक्षाको कार्य गर्दै आएका इन्जिनियर टुकलाल अधिकारीले पहिरो नियन्त्रणका विषयमा अध्ययन गरेर उपाय निकाले । विस्तारका बेलामा काटेर नाङ्गो भएका पहाडबाट ढुंगा बालुवा नखसोस भन्नका लागि बायो इन्जिनियरका साथै केही उच्च प्रविधियुक्त उपायहरु पनि गर्नु पर्ने थियो ।


उप्केका ठुला चट्टानलाई सडकमा खस्नबाट रोक्न रक बोल्टिङ र साना ढुंगाहरुलाई रोक्न अल्मुनियमको जालीले ढाक्ने रक नेटिङ गर्ने काम सुरु गर्न भनियो । १४ करोड रुपैयाँ खर्च हुने यो काम केही अगाडी मात्रै सुरु भएको छ । गएको बैशाखबाट उच्च प्रविधियुक्त पहिरो रोक्ने कामहरु भइरहेको छ । असारभित्र काम सक्ने सम्झौता छ ।


जलबिरेदेखि मुग्लिनसम्म उच्च जोखिमः


ठुला पहिरो जाने ठाउँ धेरै छैनन् । चेपाङ डाँडा, चोरखोला, टोपेखोला, कालिखोला र चार किलो पहिरो गइरहने ठाउँहरु हुन् । यी ठाउँहरु जलबिरेदेखि मुग्लिनसम्मको सात किलो मिटर दुरीभित्र पर्दछन् । कालिखोलादेखि मुग्लिसम्मको दुरीमा पहिरो खस्दा चारजनाको ज्यान गइसकेको छ । एकजना वेपत्ता छन् । सडक विस्तारको काम सुरु भएसँगै अहिलेसम्म पहिरोमा परेर र ढुंगाले लागेर छजनाको ज्यान गएको छ ।


नारायणगढ मुग्लिन सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरलाई देशको पुर्वी र पश्चिम भागसँग जोड्ने मुख्य मार्ग हो । लगभग १० हजारको हाराहारीमा बस, ट्रक र अन्य साना ठुला गाडी ओहर दोहर गर्दछन् । यो सडक खण्ड भारतलगायत तेस्रो मुलुकसँग हुने व्यपारको झण्डै ८० प्रतिशत कारोबारको संबाहक भएको नारायणगढ मुग्लिन सडक आयोजनाका अधिकारीहरु बताउँछन् । यस्तो महत्वपुर्ण सडकमा पहिरोको जोखिम कहिलेसम्म ? आयोजनाका अधिकारीहरु केही समय पहिरोको समस्या रही रहने बताउँछन् ।


‘मुग्लिनदेखि नारायणगढतर्फ चार किलो र भालु खोला आसपासमा जुन खालको पहिरोको खतरा छ त्यो हाम्रो प्रविधिले अहिले नै रोक्न सक्छ भन्ने छैन । त्यहाँ सक्रिय खालको पहिरो छ । यस्ले लामो समयसम्म बेला बेलामा दुख्ख दिने छ’ नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुराल भन्छन् ।


प्रकाशित : असार १२, २०७५ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?