कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कटुवाल चुनिए तन्नेरी

आश गुरुङ

मनाङ — नासों गाउँपालिका–८, ताचैमा बूढापाकाले धान्दै आएको कटुवाल लाउने कामको जिम्मा यसपालि युवाले पाएका छन् । बूढापाकाले छिटो खबर पुर्‍याउन नसक्ने, रातबिरात काम गर्न गाह्रो पर्ने र घरघरै डुल्न अप्ठ्यारो भएपछि पहिलोपल्ट युवालाई जिम्मा दिइएको हो ।

कटुवाल चुनिए तन्नेरी

कटुवाल लाउने जिम्मा ३१ वर्षीय डम्बरजंग घलेले लिएका छन् । उनले बाटोघाटो, पँधेरो, चौतारो निर्माण मर्मतमा श्रमदान, गाउँले बैठक, मर्दापर्दा, पाहुनाको स्वागत, विवाह, पूजापाठलगायतको कामका लागि गाउँको अग्लो ठाउँ र घरका छानामाथि चढेर सूचना प्रवाह गर्नुपर्छ । घरघरै पुगेर पनि सूचना प्रवाह गर्दै आएको उनले बताए । पहाडी गाउँमा सार्वजनिक सरोकारको विषय कटुवालमार्फत जानकारी दिने चलन पुरानो हो ।

कटुवाल लाउने जिम्मा लिएका घले सामान्य कृषक हुन् । उनलाई गाउँलेले प्रत्येक घरबाट वर्षमा १/१ पाथी मकै दिने निर्णय गरेका छन् । गाउँमा ६२ घरधुरी छ । ‘बूढापाकाले सक्दैनन्, युवा बस्नुपर्‍यो भनेपछि मैले काँध थापेको हुँ,’ उनले भने । गाउँलेलाई जम्मा पार्ने अभिभारा पाएकोमा उनी खुसी छन् । ‘सबै गाउँलेलाई नजिकबाट चिन्ने मौका यही हो,’ उनले भने, ‘हिजो बूढापाकाले निकै दु:खले यो काम धानेको देख्दा नमज्जा लाग्थ्यो । अहिले आफैंले गरेको छु, खासै समस्या छैन ।’ यसअघिका कटुवाल सुकबहादुर गुरुङ ७५ वर्षका भए । गाउँमा उनले २० वर्ष कटुवाल गरे । ‘बूढो भएपछि त केही गर्न नसकिँदो रहेछ, आँखा नदेख्ने भइयो, कान सुनिँदैन,’ उनले भने, ‘रात–साँझ काम गर्न गाह्रो भयो । गाउँ–समाजलाई भनेर काम छोडिदिएँ ।’

उनका अनुसार सुरुमा वर्षको हरेक घरबाट ६ माना मकै पारिश्रमिकबापत दिइन्थ्यो । पछि पैसा पनि दिन थालियो । अहिलेका युवक डम्बरजंग घलेले भए मकै, नभए गाउँको दररेटअनुसार एक घरबाट वार्षिक १५० रुपैयाँ लिने निर्णय गरेका छन् । ताचै बाबा समूहका अध्यक्ष कमलजंग गुरुङका अनुसार कटुवाल राख्ने निर्णय समाजले गर्छ । ‘समाजले युवालाई कटुवाल बनाउने निर्णय गर्‍यो,’ उनले भने । उनका अनुसार पहिले–पहिले ४०/५० वर्षका अधबैंसेलाई कटुवाल राखिन्थ्यो । यसपालि ३१ वर्षकालाई राखिएको छ । ‘उनले राम्रो काम नगरेमा वा छोड्न चाहेमा अरू कटुवालमा नियुक्त हुन्छन् । नत्र उनैले गर्छन् ।’

प्रकाशित : श्रावण १३, २०७५ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?