कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सजिलै काम पाउन व्यवस्थापन

यज्ञ बञ्जाडे

काठमाडौँ — मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन (एमबीए) वा मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) अध्ययन गर्नुभएको छ भने तपाईंका लागि बैंकिङ क्षेत्र उपयुक्त गन्तव्य हो ।

सजिलै काम पाउन व्यवस्थापन

यसको अर्थ एमबीए (व्यवस्थापन) पास गरेका सबै विद्यार्थीले बैंक र बिमा कम्पनीमै जागिर खान्छन् वा खानुपर्छ भन्ने पनि होइन । त्यसो हुँदा पनि हुँदैन । तर, बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले एमबीए गरेका विद्यार्थीहरूलाई ‘रेडिमेट प्रडक्ट’ का रूपमा लिन्छन । यसकारण ती कम्पनीहरूले कर्मचारी भर्ना गर्दा पहिलो प्राथमिकता व्यवस्थापन (एमबीए, बीबीए, एमबीएस, बीबीएस) पास गरेका विद्यार्थीलाई नै दिने भएकाले जागिरको सम्भावना बढी देखिएको हो ।
‘एमबीए पढेका विद्यार्थीमा विषयगत ज्ञानका साथै नेतृत्व लिने र प्रस्तुतीकरण क्षमता निकै बढी हुन्छ,’ बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने । एमबीए वाणिज्य, व्यवसाय र बिमासँग सम्बन्धित विषय भएकाले बैक तथा वित्तीय संस्थामा बढी उपयोगी हुन्छन् । ‘बैंक तथा वित्तीय संस्थाका लागि उपयोगी हुने खालको पाठयक्रम र इन्टर्नसिपमा आधारित शिक्षा हुने भएकाले प्रयोगात्मक ज्ञान बढी हुन्छ,’ उनले भने ।


‘जोसिलो, कामलाई सम्मान गर्ने, काममा एकाग्रता, जिम्मेवारी राम्रोसँग बहन गर्नेलगायत गुण एमबीएका विद्यार्थीमा पाइन्छ,’ बिमक संघका पूर्वअध्यक्ष विजयबहादुर शाहले भने, ‘ती विद्यार्थीहरूमा सैद्धान्तिकसँगै कार्यदक्षता धेरै राम्रो हुन्छ ।’ बिमा कम्पनीहरूका लागि एमबीए विद्यार्थी नै बढी उपयोगी हुने उनको भनाइ छ । वाणिज्य र व्यवसायसम्बन्धी जानकारी, कार्यपत्र प्रस्तुतीकरण र क्षमता प्रदर्शन राम्रो हुन्छ,’ शाहले थपे । तुलनात्मक रूपमा यी विषय अध्ययन गरेका विद्यार्थीमा नेतृत्व लिने र प्रस्तुतीकरण क्षमता बढी हुन्छ ।


पछिल्लो समयमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा एमबीए विद्यार्थीको माग धेरै बढेको व्यवस्थापन विषयका कलेज सञ्चालकहरू बताउँछन् । एमबीएमा विद्यार्थीलाई सैद्धान्तिकसँगै प्रयोगात्मक शिक्षा पनि दिइन्छ । बीबीएमा ५० प्रतिशत र एमबीएमा ६० प्रतिशत पाठयक्रम प्रयोगात्मक हुन्छ । यसकारण एमबीए अध्ययन गरेका विद्यार्थीहरूमा दैनिक कामकाज सञ्चालन, क्रेडिट व्यवस्थापन र वित्तीय व्यवस्थापनको राम्रो ज्ञान हुने उनीहरूको भनाइ छ ।


‘एमबीएको पाठयक्रम नै बढी व्यावहारिक र प्रयोगात्मक हुन्छ,’ त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका पूर्वसहनिर्देशक ध्रुवलाल पाण्डेले भने, ‘विद्यार्थीको एटिच्युड र लिडरसिप विकासमा ध्यान दिइन्छ ।’ एमबीए विषयको प्रमुख उद्देश्य नै व्यवस्थापक उत्पादन गर्ने भएकाले नेतृत्व विकास र व्यवहार विकासमा जोड दिइने उनको भनाइ छ । यसकारण बैंक तथा वित्तीय संस्था, बिमालगायत सेवा प्रदायक कम्पनीहरूका लागि बढी उपयोगी हुने उनको तर्क छ । अन्य विषय अध्ययन गरेका विद्यार्थीहरूलाई काममा लगाउँदा धेरै प्रशिक्षण दिनुपर्ने तर एमबीए/बीबीए विद्यार्थीहरूमा थप लगानी गर्न नपर्ने प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक सेरचनले बताए । ‘बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीका लागि एमबीए ‘रेडिमेट प्रडक्ट’ हो ।


एमबीएमा विशेषगरी व्यवस्थापन र वित्तीय क्षेत्रकै लागि मानव संसाधन उत्पादन गर्ने उद्देश्यले सञ्चालित कार्यक्रम हो । एमबीए अध्ययन गरेका जनशक्तिको माग बैंक तथा वित्तीय क्षेत्रमा मात्र नभएर कर्पोरेट क्षेत्रमा पनि रहेको उद्योगी व्यवसायी बताउँछन् ।


विषयगत ज्ञान भएका विद्यार्थीहरूलाई सोही विषयसँग सम्बन्धित काम दिदाँ ‘पर्फमेन्स’ राम्रो हुने भएकाले वित्तीय व्यवस्थापन, मार्केटिङलगायत काममा एमबीए अध्ययन गरेका श्रमशक्ति बढी उपयोगी हुने उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाको बुझाइ छ ।


नेपालमा व्यवस्थापन विषयलाई बैंकिङ क्षेत्रसँगै जोडेर हेर्ने गरिए पनि अन्तर्राष्ट्रिय अभ्यास त्यस्तो नभएको नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) का प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले बताए । ‘बैंकिङ क्षेत्र रकेट साइन्सजस्तो पनि होइन, व्यवस्थापन पढेकाले मात्र गर्नुपर्ने,’ उनले भने, ‘रुचि र चाहना भएका तर अरू विषय पढेकाले यो क्षेत्रमा काम गर्न सक्छन् ।

प्रकाशित : श्रावण ३१, २०७५ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?