चन्द्रौटाको बजारीकरण : बस बिसौनी बन्यो व्यापारिक केन्द्र 

मनोज पौडेल

चन्द्रौटा (कपिलवस्तु) — शिवराज नगरपालिका–५ मा ४५ वर्षअघि पूर्व–पश्चिम राजमार्ग निर्माण मजदुर बस्थे । उनीहरूले पाल टाँगेर बस्ती बसाएका थिए । ०४० सालपछि झुपडीमा चिया पसल थपिए । वरिपरि केराबारी थियो ।

बस्तीमा दुई/तीन पक्की घर थिए। बाँकी फुस र खरले छाएका थिए। यही ठाउँ पूर्व–पश्चिम चल्ने बस बिसौनी बन्यो।

Yamaha

स्थानीयका अनुसार त्यसबेला दुईवटा चिया पसल थिए। तर, यो मुलुकभित्र र भारत ओहोरदोहोर गर्ने सर्वसाधारणका लागि नाका सहर थियो। सबैतिरका यात्रु भेला हुन थालेपछि यहाँको चहलपहल पनि बढ्यो। पूर्व–पश्चिम, उत्तर–दक्षिण सडक बनेपछि ०५०/५१ देखि पहाडबाट बसाइँसराइ गरी आउने क्रम सुरु भयो। तर, ०५२ मा तत्कालीन माओवादीको विद्रोह सुरु भएपछि यहाँ सन्नाटा छाउन थाल्यो। मुलुकमा सशस्त्र द्वन्द्व चलिरहेका बेला बजार विकास भएन। बसाइँ सर्ने क्रम पनि थामियो। बजार विस्तार रोकियो।

मुलुकमा विस्तृत शान्ति सम्झौता भएपछि चन्द्रौटा बजार फेरि चम्किन थाल्यो। अहिले आसपास जिल्लाबाट बसाइँ सरेर आउनेको ताँती लागेको छ। एक जमानाको बस बिसौनी अहिले जिल्लाकै व्यस्त बजार बनेको छ। यहाँ मिश्रित बस्ती छ। पहाड, भित्री मधेस र तराईका विभिन्न जातजातिको बसोबास छ। अर्घाखाँची, रोल्पा, प्यूठान, पाल्पा, गुल्मी र दाङबाट बसाइँ सरेर आएका छन्। पहाडी, मधेसी, थारु र मुस्लिमबीचको एकता बलियो छ।



केन्द्र बन्दै

शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी ०४० सालतिर बैंकमा पैसा राख्न/झिक्न परे ३५ किलोमिटरको दूरीमा रहेको सदरमुकाम तौलिहवासम्म साइकल चलाएर पुग्थे। तर, अहिले यस्तो दु:ख छैन। चन्द्रौटा बजारमै १८ वाणिज्य बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन्। चिल्ला सडक छन्। ठूला घर र पूर्वाधार निर्माण भएका छन्। दुईदेखि चारपांग्रे सवारीका साधन घरदैलोमै पुग्छन्। आधारभूत आवश्यकता आँगनमै पूरा भइरहेका छन्। तीव्र बजारीकरण छ। बसाइँसराइ पनि द्रुत गतिमा भइरहेकाले चन्दौटा सहरोन्मुख बजार बनेको छ। प्रमुख व्यापारिक केन्द्र बन्दैछ।

राजमार्ग दायाँबायाँ बाक्लो बस्ती छ। यहाँबाट दाङ, अर्घाखाँची, प्यूठान र रोल्पासम्म व्यापार हुन्छ। अर्घाखाँची, प्यूठान र रोल्पाका लागि आवश्यक ७० प्रतिशत खाद्यान्न यहीँबाट आपूर्ति हुन्छ। तराई र पहाडी जनजीवनको आनन्द लिन पनि चन्द्रौटा उपयुक्त स्थल बनेको छ। मुलुकका ६ ठूला भन्सार नाकामध्येको यो कृष्णनगरसँग जोडिएको नजिकको बजार हो। बजारको पँहुच भारतीय राष्ट्रिय रेल सञ्जालसम्म छ। बढनी रेल्वे स्टेसन पनि नजिकै छ। चन्द्रौटाबाट कृष्णनगर २० किमि दक्षिणमा छ। ४, ५ र कर्णाली प्रदेशका अधिकांश पहाडी जिल्लाका नागरिक भारत आउजाउ गर्न यही नाका प्रयोग गर्छन्।



बिना गुरुयोजनाको बजार

यहाँ व्यवस्थित सहर बसाउने गुरुयोजनाको भने अभाव छ। ‘गुरुयोजना नहुँदा कस्तो सहर बनाउने अन्योल छ,’ कपिलवस्तु व्यापार संघका अध्यक्ष महादेव पोखरेलले भने, ‘कुन ठाउँमा के निर्माण गर्ने भन्ने योजना छैन, जहाँ पायो त्यहीँ विकासका नक्सा कोर्दा समस्या भइरहेको छ।’ औद्योगिक, व्यापारिक, पर्यटन र बस्ती क्षेत्र छुट्याएर पूर्वाधार निर्माण गर्नुपर्ने उनले बताए। अहिले समस्या नभए पनि भविष्यमा नराम्रो असर गर्ने हुँदा नगरपालिकाले छिट्टै गुरुयोजना बनाउनुपर्नेमा पोखरेलले जोड दिए।

‘योजना बनाउन रकम लाग्ने हुँदा धेरैले नाक खुम्च्याउँछन्,’ स्थानीय विष्णुप्रसाद खतिवडाले भने, ‘तर, योजना अनुसार काम गर्दा पाँच/सात वर्षपछि त्यसको परिणाम देखिन्छ।’ व्यवस्थित कामका लागि नेतृत्व अभाव भएकाले यहाँको विकासले गति लिन नसकेको स्थानीय हुमाकान्त खनालले बताए। घर बनाउने र जीविकोपार्जनका लागि व्यापार फस्टाए पनि शिक्षा, स्वास्थ्य, मनोरंजन र रोजगारीको अवसर नभएको उनले बताए।


सुरक्षा चिन्ता

चन्द्रौटा औद्योगिक हब बन्ने क्रममा छ। तर, यहाँको मुख्य समस्या भने शान्ति सुरक्षा रहेको चन्द्रौटा उद्योग वाणिज्य संघका उपाध्यक्ष ईश्वरी पाण्डेले बताए। धेरै उद्योगधन्दा यहीँ स्थापना गर्न खोजे पनि उद्योगमैत्री वातावरण नहुँदा समस्या भइरहेको उनले बताए। ‘उद्योग सञ्चालन गर्ने वातावरण तयार गर्नेभन्दा कसरी दु:ख दिएर कमाउन सकिन्छ भन्ने सोच छ,’ उनले भने, ‘उद्योग स्थापना भए आय आर्जन हुन्छ भन्ने मान्यता नै स्थापित हुन सकेको छैन।’
यहाँबाट विजया, विश्वकर्मा, गणपति र बुद्ध सिमेन्ट उत्पादन हुँदै आएका छन्। पछिल्लो समय शिवराज–६, वीरपुरमा पाँच नयाँ सिमेन्ट उद्योग थपिँदै छन्। बालाजी, शुभलक्ष्मी, अटल, देउराली र भू–गर्भ सिमेन्ट उद्योग छिट्टै संचालनमा आउने तयारीमा छन्। मैदा र छड उद्योग पनि सञ्चालनको तयारीमा छन्। प्लाइउड, सख्खर, हाड पिसानीलगायतका दुई दर्जनभन्दा बढी उद्योग छन्। उद्योगीलाई नगरपालिकाले प्रोत्साहन गर्नुपर्ने व्यवसायी बताउँछन्।

उपचार र शिक्षाको अभाव

यहाँ भरपर्दो अस्पताल छैन। उपचारका लागि रुपन्देहीको बुटवल र चितवनको भरतपुर पुग्नु पर्छ। व्यवस्थित अस्पताल छैनन्। उच्च शिक्षाका लागि पनि जिल्लाबाहिर जानुपर्छ। राम्रा र स्तरीय शिक्षालयको पनि अभाव छ। प्राविधिक क्याम्पस छैनन्। स्तरीय होटलको अभाव छ। पर्यटक आकर्षित गर्ने पूर्वाधार छैनन्। अहिलेसम्म चन्द्रौटा बजारमा धेरै परिवर्तन भइसक्नु पर्ने कपिलवस्तु व्यापार संघ अध्यक्ष पोखरेलले बताए। ‘पूर्वाधार विकास हुने प्रशस्त सम्भावना छन्,’ उनले भने, ‘योजना, इच्छाशक्ति र उत्साह नहुँदा पछि परेको हो।’

शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारी चन्द्रौटाको विकास उल्लेख्य मात्रामा भएको बताउँछन्। उनका अनुसार नगरभित्र परिवर्तन नदेखिएको छ। सडक, पुल र पक्की ढल निर्माण भएका छन्। ‘बिस्तारै परिवर्तनको अनुभूति हुन्छ,’ उनले भने, ‘हामी योजनाबद्ध ढंगले अगाडि बढ्ने तयारीमा छौं।’

प्रकाशित : भाद्र ३, २०७५ १५:०२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

लामखुट्टे मार्दै नगरपालिका

मनोज पौडेल

कपिलवस्तु — लामखुट्टेका कारण रातभरि सुत्न नसेकेको र रोगव्याधी बढेको गुनासो नगरवासीले गरेपछि कपिलवस्तु नगरपालिकाले लामखुट्टे मार्न भारतबाट १२ लाखको  ‘फगिङ्ग मेसिन’ भित्र्याएको छ । बजार क्षेत्रमा २ दिन बिराएर औषधि छर्कन थालेपछि लामखुट्टे निक्कै कम भएको नगरपालिकाले जनाएको छ । 


गाडीमा मेसिन राखेर मुख्य बाटो र सहायक बाटोमा धुवाँ फाल्ने गरिन्छ। हावामा औषधियुक्त धुवाँ मिसिएर पुग्ने ठाउँका लामखुट्टे मर्ने गर्छन्। ‘यो प्रविधिबाट लामखुट्टे कम गर्ने प्रयोग नेपालमै पहिलो पटक कपिलवस्तु नगरपालिकाले गरेको हो’ मेयर किरण सिंहले भने, ‘यसको प्रभाव निक्कै राम्रो छ।’ उनले २ सातायतादेखि लामखुट्टेको गुनासो नआएको बताए।

१२ वडामध्ये १ र ४ को पुरै बस्ती सहरी क्षेत्र हो। वडा नं. ३ को आधी बस्ती पनि बजार हो। गाडी पुगे कुना काप्चासम्म पनि औषधि छर्केने गरिएको नगरपालिकाले जनाएको छ।

‘अत्यधिक लामखुट्टे लागेर साँझ परेपछि घर बस्नै नहुने अवस्था हुन्थ्यो। तर, अब निक्कै सजिलो भएको छ’ कपिलवस्तु नगरपालिका ५ तिलौरीकी सुरक्षा गिरीले भनिन्।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलराज आर्चायले २ घण्टामा ८ हजार खर्च हुने जानकारी दिए।

मुख्यत: २ हजार लिटर पर्ने केमिकल नै लामखुट्टे मार्ने औषधि हो। मेसिनसँग रहेको टयाङ्कीमा ५० लिटर डिजल, १० लिटर पेट्रोल, ५० लिटर पानी र २ सय मिलिलिटर केमिकल राखेर औषधि बनाइन्छ। यो औषध कम्तीमा पनि लगातार २ घण्टासम्म छर्कन सकिन्छ। मिसाइल छोडेजस्तै मेसिनबाट धुवाँ निस्कन्छ। त्यही धुवाँ जमिन, कुनाकाप्चा र घरवरपर पुग्दा लामखुट्टे भटाभट मर्ने गरेका छन्।

प्रकाशित : भाद्र १, २०७५ १८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT