पाइप जोगाउन ढुंगाको भुवा

राजेन्द्र मानन्धर

दोलखा — जिल्लामा सिँचाइका पाइप डढेलोबाट जोगाउन नौलो प्रयोग थालिएको छ– ‘ढुंगाको भुवा’ ।ढुंगालाई भट्टीमा गालेपछि सिसाजस्तो वस्तु बन्छ । यसैलाई ‘रकउल’ अर्थात् ‘ढुंगाको भुवा’ भनिएको हो ।

सिँचाइका पाइपलाई आगो, बाँदर र टुट्नफुट्नबाट जोगाउन ढुंगाको भुवाले बाहिरबाट ढाकिँदै । तस्बिर सौजन्य : डिभिजन सिँचाइ कार्यालय

यो सिमेन्टभन्दा सस्तो पर्छ । यसको प्रयोग मुलुकमै पहिलोपटक गरिएको सिँचाइ डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालयलाई यस वर्ष जिल्लाको करिब ७० किमि सिँचाइ पोलिथिन पाइपबाटै गर्नुपर्ने बाध्यता छ । यस्तोमा जंगलको बीचबाट पाइप लैजाँदा डढेलोले नष्ट हुने जोखिम रहन्छ ।

Yamaha

यही समस्याको भरपर्दो उपाय खोज्दै ‘रकउल’ प्रविधि अपनाइएको हो । ‘यो प्रविधि नौलो हो,’ सिँचाइ डिभिजन प्रमुख कृष्णप्रसाद रिजालले भने, ‘४४ मिटर पोलिथिनलाई अग्निनिरोधक बनाइसकिएको छ ।’

भूकम्पपछि जिल्लामा ढुंगा, गिट्टी, बालुवाको अभावसँगै मूल्य बढ्यो । सिमेन्ट, बालुवा र ढुंगाको कुलो बनाउन डकर्मीसमेत पाइएन । यस्तोमा कार्यालयसँग पोलिथिन पाइप बिछ्याउनुको विकल्प रहेन ।

अहिले डढेलोले बढी प्रभावित नाम्दुस्थित बेताने जंगली क्षेत्रमा उक्त प्रविधि प्रयोग गरिँदै छ । पाइपलाई रकउल, त्यसमाथि जाली र प्लेनसिटले बेरेर आगो लगाई परीक्षणसमेत गरिँदै आएको छ ।

रकउल छुँदा जिउ चिलाउने र खटिरा आउने भएकाले बाँदरले पनि पाइप बिगार्न पाउँदैन । मानिसले पनि हत्तपत्त काट्न सक्दैन । रकउल प्रयोग गर्दा प्रतिमिटर २ हजार रुपैयाँ खर्च लागेको छ । यो ढुंगा, सिमेन्ट र बालुवाको प्रयोगबाट कुलो बनाउनुभन्दा सस्तो रहेको सम्बद्ध अधिकारीहरू बताउँछन्।

रकउल गरिएको पाइपमा ‘लाइफटाइम ग्यारेन्टी’ रहने कार्यालयको दाबी छ । उक्त डिभिजनअन्तर्गत सिँचाइका १ सय ६ वटा योजना छन् । सबै योजनामा रकउल प्रयोग बढाउँदै लैजाने कार्यालयको तयारी छ ।

Esewa Pasal

प्रकाशित : भाद्र १४, २०७५ ०७:०५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ठूलो पानी परे पालको बास

राजेन्द्र मानन्धर

दोलखा — बाउबाजेको पालादेखिको समस्या कालिञ्चोक सुन्द्रावती मेहेलेमा अहिले पनि उस्तै छ । वर्षा लागेपछि बढी त्रास हुन्छ, पानी पर्न छाडेपछि पहिरोको कुरै चल्दैन । यसपाला अधिक पानी परेकाले त्यहाँका एक सय १४ घरपरिवार समस्यामा छन् ।

जिल्ला दैवीप्रकोप उद्धार समिति अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले उक्त ठाउँका पहिरोपीडितहरू ठूलो पानी पर्दा पालमा बस्न जाने र अरू बेला घरमै बसिरहेको बताए । सुन्द्रावती मेहेलेका पहिरोपीडितहरू बसाइँ सर्ने विकल्प नभएकाले पुर्खांैदेखि पहिरोको खतरा भएको ठाउँमै बस्दै आएका हुन् ।


बस्ती स्थानान्तरणको उपाय नभएकाले पहिरोको संकट टार्न बर्सेनि त्यहाँ भूमेपूजा हुन्छ । सिमान्कृत थामीको सबैभन्दा ठूलो देवता भूमेको यस वर्ष पनि पूजा गरिएको अगुवा मानबहादुर थामीले बताए ।


यस वर्ष पनि पटक–पटक आएको भीषण वर्षाले त्यहाँका घरहरू र चौपायलाई क्षति पुर्‍याएको छ । स्थानीय गणेश थामीका अनुसार राति ११ बजे पूर्वसूचनाको आवाज तीन पटक सुनिएपछि पहिरो आइहाल्यो । हावाहुरी, वर्षा र हुस्सुले पूर्वसूचना दिँदा पनि भाग्न सकेनन् । कतिपयले पूर्वसूचना बजेकै थाहा नपाएको गुनासो गरेका छन् ।


परीक्षण उपकरण बग्यो
पहिरो आइरहने भएकाले वन मन्त्रालयअन्तर्गत जलाधार तथा भूसंरक्षण विभाग र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको साझेदारीमा उक्त बस्तीमा पहिरोको पूर्वसूचना प्रणाली जोडिएको थियो । शुक्रबारको पहिरोले उक्त उपकरणको नामोनिसानै मेटाइदिएको छ । पहिरो जानेबारे पूर्वसूचना दिने उपकरण परीक्षणको रूपमा जडान गरिएको थियो ।


त्यहाँका वडाअध्यक्ष रामप्रसाद मैनालीले जोखिममा परेकाहरूलाई तत्काल स्थानान्तरण गर्नुपर्ने बताए । सुन्द्रावती क्षेत्रको मेहेले, च्यानडाँडा, मानेडाँडा, बिस्टोल, जोगीकोटे, कोठेटोलका कतिपय बासिन्दा पहिरोको त्रासले बारीका पाटा र छिमेकी बस्तीमा सर्न थालेको वडाअध्यक्ष मैनालीले जानकारी दिए । ‘वडाभरि करिब दुई सय परिवार पहिरो र बाढीको जोखिममा फसेका छन्,’ मैनालीले तत्काल बासका लागि शनिबार ६५ जनालाई ओताउने पाल वितरण गरिएको छ । तल्लो गाउँ र छापटोलमा खोला पसेर ठूलो क्षति भएको उनले बताए । बाढी र पहिरोपीडित क्षेत्रमा निरीक्षणपछि उद्धार र राहतका लागि तयारी गरिरहेको गाउँपालिका अध्यक्ष विनकुमार थामीले बताए ।


१३ बस्ती उच्च जोखिममा
दोलखाको १३ वटा बस्तीहरू बाढी र पहिरोको उच्च जोखिममा छन् । प्रमुख जिल्ला अधिकारी पाठकका अनुसार ३ सय ५० परिवारले पहिरो र बाढीबाट हुने जोखिमको सामना गरिरहेका छन् । जोखिमयुक्त बस्तीको स्थलगत निरीक्षण गरेर राहत र जीवन सुरक्षाको उपायहरू अपनाउन सुरु गरिएको जानकारी दिए । दोलखामा पहिचान भएका १ हजार २६ बस्ती छन् । भिरालो जमिन बढी भएकाले प्राय: आधाजसो बस्तीमा पहिराको खतरा छ । तर उच्च जोखिमका समस्यामा हालसम्म १३ वटा बस्ती परेको सूचना आएको छ ।

प्रकाशित : भाद्र १३, २०७५ ०९:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT