जंगलतिर इ–रिक्सा

शिव पुरी

रौतहट — पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुर–लमाहा खण्डमा हरेक बिहान दाउरा बोकेर फर्किएका इ–रिक्साको लाम लाग्छ । दिनभर यात्रु बोक्दाभन्दा धेरै कमाइ हुन थालेपछि इ–रिक्सा चालकहरू जंगल पस्न थालेका हुन् ।

रौतहटको चन्द्रपुर नगरपालिकास्थित लमाह–चन्द्रनिगाहपुर खण्डको जंगलबाट इ–रिक्सामा दाउरा ओसारिँदै । एक रिक्साको २ हजारसम्ममा बिक्री हुन्छ । तस्बिर : शिव

उनीहरू दैनिक दुई टिप दाउरा ओसार्छन् र ४ हजार रुपैयाँसम्म कमाउँछन् । बजारका होटल व्यवसायी र पाउरोटी कारखानाले एक रिक्सा दाउराको दुई हजारसम्म दिन्छन् ।

पछिल्लो समय चन्द्रनिगाहपुरमा तीन पाङ्ग्रे सवारी अत्यधिक भित्रिएकाले यात्रु पाउनै हम्मे पर्छ । दिनभर कुद्दा हजार रुपैयाँ पनि कमाइ नहुने चालकहरू बताउँछन् । तीन पाङ्ग्रेको संख्या धेरै भएपछि आम्दानी हवात्तै घटेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन इ–रिक्सा इकाई समिति चन्द्रनिगाहपुरका पूर्वअध्यक्ष केदार तिमल्सिनाले बताए । ‘५० वटा इ–रिक्सा भए पुग्ने चन्द्रनिगाहपुर क्षेत्रमा ३ सयभन्दा बढी भइसक्यो,’ उनले भने, ‘दिनभरि थकाइ मारेर बस्नुभन्दा केही साथीहरू जंगलमा दाउरा लिन जानुहुन्छ र यात्रु ओसारेको भन्दा दोब्बर आम्दानी गर्नुहुन्छ ।’

Yamaha

दैनिक २ दर्जन इ–रिक्सा दाउरा लिन जान्छन् । उनीहरू बिहान र बेलुकी राष्ट्रिय वनभित्र प्रवेश गर्छन् । चालकहरूले घरायसी प्रयोजनका लागि भन्दै जंगलबाट दिनहुँ दाउरा ओसार्न थालेपछि पछिल्लो समय वन कार्यालयले कडाइ गर्न थालेको छ । ‘घरायसी हो भन्दै धेरैले व्यवसायजस्तै गर्न थालेकाले कडाइ गरेका छौं,’ जिल्ला वन अधिकृत दीर्घनारायण कोइरालाले भने, ‘दाउराको नाममा काँचो काठ ल्याएको पाइए पक्रेर कारबाही गर्छौं ।’

चन्द्रनिगाहपुरमा सुरुमा पाइडल रिक्साको एकछत्र राज थियो । पछि त्यसलाई विस्थापित गरेर ब्याट्रीबाट चल्ने इ–रिक्सा भित्र्याइयो । दुई वर्षअघिसम्म ५० वटा इ–रिक्सा थिए । अहिले ३ सय ५० को हाराहारीमा छन् । तीमध्ये २ सय ९० वटा मात्र इकाई समितिमा दर्ता छन् ।

धेरै इ–रिक्सा चालकको अनुमतिपत्र (लाइसेन्स) छैन । बिनालाइसेन्स चलाउने चालकलाई कारबाही गर्दै आएको ट्राफिक प्रहरी निरीक्षक विजय श्रेष्ठले बताए । ‘हामीले लाइसेन्सबिना चलाउन पाइँदैन भनेका छौं,’ उनले भने, ‘यातायात कार्यालयमा लाइसेन्स खुलेकै छैन, कसरी बनाउने भनेर प्रश्न गर्छन् ।’

यातायातले अटो टेम्पो भनेर लाइसेन्स दिने गरेको छ । इ–रिक्सा चलाउनेलाई समेत यस्तै अनुमतिपत्र दिइन्छ । ‘यातायात कार्यालयबाट लाइसेन्स खुलाइएको छैन, कसरी बनाउने,’ एक इ–रिक्सा चालक भन्छन्, ‘तीन वर्षअघि खुलेर बन्द भएपछि यातायात कार्यालयले आवेदन मागेकै छैन ।’

प्रकाशित : भाद्र १८, २०७५ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सधैं डुंगाकै भर

शिव पुरी

रौतहट — राजदेवी नगरपालिका ४ गढैयाका गौरिशंकर पासवान बागमती नदीमा डुंगा चलाउन एका बिहान बतसपुर घाट पुगिसकेका हुन्छन् । नदी पारी खेतमा काम गर्न जाने स्थानीयलाई वारपार गर्न उनी घाटमा डुंगा राखेर कुर्छन् ।

बागमतीमा पुल नबन्दा नदीमा स्थानीयलाई सधै डुंगाकै भर छ । लालबकैया र बागमतीमा डुंगा चढेर स्थानयि वारपार गर्छन् । शनिबार डुंगा दुर्घटनामा परेको टिकुलीया जस्तै यो घाटको अवस्था पनि उस्तै छ ।

राजदेवीको बसतपुर, बडहर्वा, चण्डिया लगायतका गाउँका स्थानीयको खेत बागमती पारि छ । खेतमा काम गर्न उनीहरू डुंगा चढेर जान्छन् । २०५० सालमा बागमती नदीमा आएको
बाढीले अधिकाशको खेत कटानमा पारेको थियो ।

नदीले धार बदलेपछि उनीहरूको खेत पारि परेको छ । अहिले त्यहाँ पुग्न खोला तर्नुपर्छ । त्यो पनि डुंगामा जोखिम मोलेर । ‘अरू बेला खासै डर हुँदैन,’ डुंगा चालक पासवान भन्छन्, ‘बाढीका बेला डुंगा बगाउने निकै खतरा हुन्छ । यस्तो बेला होसियारपूर्वक डुंगा खियाउनुपर्छ ।’

उनी २ वर्षदेखि यही घाटमा डुंगा चलाउँदै आएका छन् । दिनमा ६/७ पटकसम्म वारपार गर्नुपर्छ । खेतीको समय भएकाले किसानलाई लैजाने र ल्याउने जिम्मा उनकै छ । डुंगामा एकपटकमा ८० जनासम्म अटाउँछन् । घाँस लिन, खेत गोड्न र अन्य कामले स्थानीय ओहोर दोहोर गरिरहन्छन् । नदीको चैडाइ झन्डै ५ सय मिटर छ । कुनै बेला डुंगाका क्षमताभन्दा बढी मानिस चढ्ने गर्छन् । यसले पनि समस्या निम्त्याउने गरेको उनले जनाए ।

समयमा पुल नबन्दा सर्लाहीका स्थानीय समेत यही बाटो भएर डुंगा चढेर पारि जान्छन् । उनीहरू मोटरसाइकल, साइकल डुंगामा राखेर वारपार गर्छन् । त्यस बापत डुंगा ठेकेदारले प्रतिमोटरसाइकल ५० रुपैयाँ लिने गर्छ । मानिस चढेमा २० रुपैयाँ रेट तय गरिएको छ ।

धान रोप्ने समयमा डुंगामा वारपार गरेको पैसा लिइँदैन । डुंगा चढे बापत किसानले पैसाको साटो उनीहरूले एकमुष्ट धान दिने गरेका छन् । अन्य बेला डुंगा चढे बापत मानिसको २० रुपैयाँ तिनुपर्छ । ठेकेदारले तीन वटै घाटको ३ वर्षको १० लाखमा ठेक्का सकार गरेको छ ।

यो घाटमा पानीको सतहको अवस्था हेरी डुंगा चलाउने गरिन्छ । ‘हिउँदमा पानीको सतह कम हुने हुँदा खासै डर हुँदैन,’ स्थानीय सुनिता देवीले भनिन्, ‘वर्षाका बेला ज्यानै जाने खतरा अधिक हुन्छ । यो हाम्रो रहर होइन बाध्यता हो । पुल कहिले नबन्ने भयो, सधैं डुंगाकै भर छ ।’ उनी दिनहुँ खेतमा घाँसका लागि जाने गर्छिन् ।

बडहर्वा गाउँ नजिक बागमतीमा पुल बनेपछि खतरा टर्ला भन्ने धेरैको सोचाइ थियो । ठेकेदारले काम गर्न नमानेपछि अहिले त्यस क्षेत्रका स्थानीय थप समस्यामा परेका छन् । रौतहट–सर्लाही सीमा क्षेत्रको बागमती नदीमा निर्माणाधीन अवस्थामा काम रोकिएको बडहर्वा पुलको निर्माण सुरु गर्न सम्बन्धित ठेकेदारले अस्विकार गरेको छ ।

उक्त पुलको ठेक्का लुम्बिनी बिल्डर्सको नाममा भए पनि लगानी पप्पु कन्स्ट्रसनले गरेको हो । पुलको काम ४ वर्षदेखि बन्द छ । हुलाकी आयोजना निर्देशनालयले २ महिनाअघि नै काम सुरु गर्न निर्माण कम्पनीलाई पत्राचार गरिसकेको थियो ।

पुलको २०६७ जेठ ३१ गते सम्झौता भएको हो । २०७० जेठ ३० गते निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । पुलको लम्बाइ ६३३ मिटर हो । चौडाइ डबल लेन्थको छ । पुलको १७ वटा पिलरको काम सकिएको छ ।

अब सुपर स्टक्चरको काम
बाँकी छ । निर्देशनालयका अनुसार अहिलेसम्म ६० प्रतिशत बढी काम सकिएको छ । लुम्बिनी बिल्डर्स प्रालि सिद्धार्थनगरले ३५ करोड ८९ लाख ९ हजार ४ सय ३३ रुपैयाँमा ठेक्का सकार गरेको हो ।

बनेन भत्केको पुल
बारा– बारा–रौतहटको सीमानामा पर्ने अडुवा खोलाको पुल भत्केको एक वर्ष बित्यो । व्यस्त सडकमा पर्ने पुल बनाउन अझै कसैले कतैबाट चासो दिएको छैन ।

१० वर्षअघि यी पुल तत्कालीन रौतहट जिविसले स्थानीय नेताको मागले उपभोक्त समितिमार्फत निर्माण गरेको थियो । तर १० वर्ष नबित्दै पुल गत वर्ष आएको बाढीले पुल भत्कायो । दुवै जिल्ला जोड्ने यो पुल नहुँदा आवागमनमा समस्या भएको स्थानीय बताउँछन् । ‘कृषि उत्पादन ढुवानीका लागि समस्या भएको छ,’ पुल छेउकै गाउँ सोनरनियाका भोला पटेलले भने, ‘कति प्रयासले पुल बनेको थियो ।’

बाराको हरनहिया र रौतहटको मौलापुर सोनरनिया जोड्ने यो पुल भत्किँदा उत्तरदक्षिण तामागढी–सिम्रौनगढ र पूर्वपश्चिम हुलाकी मार्गसित सम्बन्ध टुटेको छ । पुल नभएर आवागमन ठप्प छ । साना र हलुका सवारीका लागि पुल छेउमा डाइभर्सन बनाइएको छ ।

१० वर्षअघि तत्कालीन माओवादीले रातारात ती सडक बनाउँदा जिविसले पुल निर्माण गरेको थियो । ‘जिविसले गुणस्तरहीन पुल बनायो, त्यसैले १० वर्ष नपुग्दै भत्कियो,’ पुल छेउकै अर्का गाउँ भटिनियाका स्थानीय वीवेककुमार यादवले भने, ‘पुल भत्केदेखि अहिलेसम्म वेवारिसे छ ।’

प्रकाशित : भाद्र १६, २०७५ ०९:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT