सहज बन्दै सार्वजनिक सवारी

बसको सिट सफा, फराकिलो होस्, उभिएरै  यात्रा गर्दा पनि समाउने ठाउँ, सिट खाली होस् वा भरि बसस्टपमा यात्रु चढाउने र ओराल्ने मात्रै गरोस्, यात्रुसँग गर्ने व्यवहार नम्र होस् भन्ने यात्रुको चाहना हुन्छ
मकर श्रेष्ठ

काठमाडौँ — जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसी सार्वजनिक यातायातमै यात्रा गर्छन् । स्वास्थ्य जाँच गराउन अस्पताल जाँदा होस् या कपनस्थित पार्टी कार्यालय जान । उनी सधैं भाडाकै सवारीमा यात्रा गर्छन् । उनी कहिले टेम्पो र माइक्रोमा कोचिएर यात्रा गर्छन् भने कहिले ठूलो बसमा । पछिल्लो समय कोचिएर भए पनि ठूला बसमा यात्रा गर्न पाउँदा अलि सहज भएको उनी महसुस गर्छन् ।

‘कोचाकोचमा यात्रा गर्ने बाध्यता हटेको छैन,’ उनले भने, ‘अझै सुधार गर्नुपर्ने धेरै छ ।’ यातायात व्यवसायीले सेवाभन्दा पनि नाफालाई जोड दिएको उनको आरोप छ । उनीजस्तै सार्वजनिक यातायातमै यात्रा गर्नेमा डा. गोविन्द केसी पनि हुन् । कामबाट फुर्सद मिलेपछि भेटघाटमा हुँदा होस् या किनमेल गर्न बजार जाँदा । उनी भाडाकै बस चढ्छन् । राजधानीमा ठूलो बस सञ्चालन गर्न थालेपछि कष्टपूर्ण यात्रा केही हदसम्म कमी भएको उनको अनुभव छ ।


‘विगतको तुलनामा सार्वजनिक यातायातमा केही सुधार भएको पक्कै हो,’ उनी भन्छन्, ‘१० सिटको सानो माइक्रोमा समाउनै नमिल्ने गरी कोचिएर हिँड्नुपर्ने बाध्यता हट्दै गएको छ ।’ केसी रत्नपार्क, पुल्चोकतिर आउनुपर्‍यो भने साझा यातायात चढ्छन् भने सुकेधारामा आमा र आफन्तलाई भेट्न जाँदा भने नेपाल यातायातलगायत अरू ठूला बसमा यात्रा गर्छन् ।
बसका स्टाफले यात्रुसँग गर्ने व्यवहार सुधार गर्नुपर्ने उनको सुझाव छ । ट्राफिक नियमको उल्लंघन गर्नेमा भाडाका सवारी पनि उत्तिकै रहेको उनी बताउँछन् । ‘यात्रु चढेकै कारण उनीहरूको जीविकोपार्जन भइरहेको हुन्छ,’ उनी भन्छन्, ‘बसका स्टाफले यो कुरा बुझ्नु जरुरी छ ।’
***

Yamaha


उमेरले पाका चित्रबहादुर केसी र डा. गोविन्द केसीले पछिल्लो केही वर्ष सार्वजनिक यातायातमा सुधारको संकेत देखेजस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी वसन्त पन्त पनि ठूलो बसको व्यवस्थासँगै सर्वसाधारणको सहज यात्रा हुन थालेको बताउँछन् । ‘ठूलो बसले केही हदसम्म सहज भएको छ,’ उनी भन्छन्, ‘कुन रुटमा कति बस चाहिन्छ ? अहिले कसरी सञ्चालन भइरहेका छन् ? अध्ययन पनि सुरु भएको छ । यसले थप सुधार गर्न सघाउ पुग्ला ।’ सर्वसाधारण सहज रूपमा यात्रा गर्न चाहन्छन् । उभिएरै भए पनि सहजै यात्रा गर्न होस् भन्ने सबैले चाहन्छन् । बसका सिट सफा, फराकिलो होस्, उभिएरै यात्रा गर्दा पनि समाउने ठाउँ, सिट खाली होस् वा भरि बस स्टपमा यात्रु चढाउने र ओराल्ने मात्रै गरोस्, यात्रुसँग गर्ने व्यवहार नम्र होस् भन्ने यात्रुको चाहना हुन्छ । तर, यातायात व्यवसायीले यात्रुको चाहना बुझ्ने कोसिस अझै गर्न सकेको छैन । सरकारले पनि यात्रुको भावनाअनुुसार यातायात नीति बनाउन सकेको छैन । अरू व्यवस्था केही गर्न नसके पनि सरकारले पछिल्लो पटक ठूलो बस सञ्चालन गर्न व्यवसायीलाई प्रोत्साहन भने गरेको छ । यसले केही हदसम्म सुधारको संकेत देखिएको छ ।
***


०७० वैशाख १ देखि हरियो रङको १६ वटा बस काठमाडौंको सडकमा गुड्न थाल्दा सिन्डिकेट लाद्ने र सर्वसाधारणलाई असहज यात्रा गराउने यातायात व्यवसायी विरोधमा उत्रिए । साझाको बस लगनखेलबाट महाराजगन्ज, नयाँ बसपार्कर कलंकीबाट एयरपोर्ट चल्दा तोडफोड गर्नसमेत पछि परेनन् । साझाका नयाँ बस फराकिलो, उभिएर यात्रा गर्दा पनि सहज थियो । यो सुविधा अरू बस र साना सवारीमा थिएन । सर्वसाधारणले कुरेरै भए पनि साझाकै बस चढ्न थाले ।


सर्वसाधारणले भाडाको सवारीमा छिटो यात्रा गर्न चाहन्छन् । भाडाका बस होस् या माइक्रो सिट फुल भएर पनि यात्रु उभिएपछि मात्रै भरिएको ठान्छन् । यही बीचमा चक्रपथ परिक्रमा गर्ने गरी महानगर यातायात सुरु भयो । महानगरको नयाँ बसमा यात्रा गर्दा नयाँ बस, छिटो र सहज यात्राले यात्रुलाई लोभ्यायो । यात्रुको चाहना महानगर भएपछि कतिपय थोत्रा बसले पनि महानगरको बसमा लगाइएको रङ नै लगाएर यात्रु तान्नसमेत खोजे । सरकारले सिन्डिकेट खारेज गरेपछि सार्वजनिक यातायातमा सुधार हुन लागेको छ ।


यातयात व्यवस्था कार्यालय एकान्तकुनाका प्रमुख वसन्त पन्तका अनुसार पछिल्लो केही महिनायता २ सयभन्दा बढी ठूला बस सञ्चालन हुन थालेका छन् । काठमाडौंको भित्री सडक हुँदै थानकोट, साँखुसम्म बस चल्न थालेको छ । काठमाडौंको भित्री सडकबाट यात्रु लिएर साँगा नाका हुँदै पाँचखालसम्म एसीसहितको बस चल्न थालेको छ ।


रत्नपार्क–लैनचौर–बसपार्क खण्डमा चल्ने २६ वटा माइक्रोबस र सिनामंगल–पुरानो बानेश्वर–रत्नपार्क खण्डको चल्ने ३५ वटा टेम्पोलाई हटाएर ठूलो बस सञ्चालन गरिएको छ । यसरी ५० यात्रु क्षमताका बस मात्रै गुड्ने रुट सिनामंगल–पुरानो बानेश्वर–मैतीदेवी–डिल्लीबजार–रत्नपार्क–लैनचौर–सामाखुसी–गोंगबु हुँदै नयाँ बसपार्कसम्म रुट कायम गरिएको छ । सोही बस नयाँ बसपार्कबाट गल्कोपाखा–लैनचौर–जमल–तीनधारा–कमलपोखरी–ज्ञानेश्वर–मैतीदेवी–पुरानो बानेश्वर हुँदै सिनामंगल पुग्नेछ । पुरानो रुटमा चल्ने माइक्रो र टेम्पोलाई अन्यत्र स्थान्तरण गर्ने काम भइरहेको पन्तले बताए । साझा यातायातमा पछिल्लो समय काठमाडौं उपत्यका र काभ्रेको पनौती, धुलिखेलसम्म सेवा दिने ४७ वटा बस छन् । साझाका प्रबन्धक महेन्द्र पाण्डेका यी बसबाट स्वयम्भूबाट पनौती, धुलिखेल, लामाटारबाट लगनखेल हुँदै नयाँ बसपार्क, गोदावरीबाट रत्नपार्क, बूढानीलकण्ठबाट बुङ्मती र रत्नपार्कबाट थानकोटसम्म साझा यातायात चल्न थालेको छ । यसबाहेक यूरो ५ मापदण्डका २० वटा बस काठमाडौं उपत्यकाको विभिन्न स्थानमा सञ्चालन गर्ने गरी आउँदै छन् । काठमाडौं महानगरको सहयोगमा यी बस ल्याइन लागेको हो ।


साझा यातायातले साँगासम्म सेवा सुरु गरेलगत्तै भक्तपुर मिनी बसले समेत २० वटा ठूलो बस सञ्चालन गर्‍यो । समितिको बस भक्तपुरबाट बानेश्वर कलंकी, अर्को गौशाला हुँदै नयाँ बसपार्क सञ्चालन हुन्छ । मिनी बस समितिका सचिव प्रकाश बस्नेतले थप ३० वटा बस आउने क्रममा रहेको बताए । अन्नपूर्ण यातायातलेएकान्तकुना, धोबीघाट, बल्खु, कालिमाटी, कोटेश्वर, एकान्तकुना चल्ने लालुपाते यातायातका १० वटा ठूला बस सञ्चालनमा ल्याएको छ । यही यातायातले शोभाभगवती, कालीमाटी, जमल, गौशाला, कोटेश्वर र सातबाटो बल्खुबाट कुलेश्वर हुँदै शोभावगती पुग्ने १२ वटा ठूला बसबाट सेवा सुरु गरेको छ ।


हामी सबैको यातायातले लभु, ग्वार्को, सातदोबाटो, लगनखेल, रत्नपार्क हुँदै बूढानीलकण्ठसम्म चल्ने ठूला १२ वटा बस सञ्चालन गरेको यातायात व्यवस्था कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मयुर यातायातले ४२ वटा बस सञ्चालनमा ल्याएको छ । यी बस चक्रपथ परिक्रम गर्दै धुलिखेलसम्म सञ्चालित छन् ।


बाबा गोकर्णेश्वरले साँखुबाट गौशाला, रत्नपार्क, कालिमाटी, बल्खु हुँदै दक्षिणकालीसम्म सेवा दिन १० वटा आधुनिक बस सञ्चालन गरेको छ । त्यस्तै रिद्धिसिद्धि यातायातले पनि १० वटा ठूला बस सञ्चालनमा ल्याएको छ । यातायात कार्यालयका अनुसार यी बसले मञ्जुश्री पार्क, एकान्तकुना, लगनखेल, रत्नपार्क, नारायणगोपाल चोक हुँदै बूढानीलकण्ठसम्म सेवा दिन्छन् । यही कम्पनीका ११ वटा बस थली, गोठाटार पेप्सीकोला, कोटेश्वर, नयाँबानेश्वर, कलंकी हुँदै नागढुंगासम्म सञ्चालन भइरहेको कार्यालयले जनाएको छ । समृद्ध यातायातले कलंकी, कालिमाटी, बानेश्वर, काटेश्वर हुँदै पाँचखालसम्म १० वटा बस सञ्चालन गरेको छ । ‘१० भन्दा कम गाडी हुने यातायात कम्पनीले पनि सेवा सुरु गरेको छ,’ वाग्मती यातायात कार्यालयका प्रमुख पन्त भन्छन्, ‘काठमाडौं उपत्यकामा यातायात सेवा दिन २५ वटा यातायात कम्पनी दर्ता भएका छन् ।’

Esewa Pasal

प्रकाशित : भाद्र २६, २०७५ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्

ढोकामै उपचार

भक्तपुर नगरपालिकाले स्वास्थ्यसेवामा स्थानीयको पहुँच बढाउन वडैपिच्छे घरदैलो नर्सिङ सेवा सञ्चालन गरिरहेको छ ।
मकर श्रेष्ठ

काठमाडौँ — ‘घरमा कोही बिरामी छन् कि ?’ कसैले एकाबिहानै ढोका ढकढक्याएर यस्तो सोध्दा अनौठो लाग्न सक्छ । तर भक्तपुर नगरवासीका लागि सामान्य भइसक्यो । 

गत असार २० को बिहान जगातीका हरिकृष्ण शिल्पकार माथिल्लो तलामा चिया खाँदै थिए। तल घण्टी बज्यो। कान्छी छोरी रिनाले झ्यालबाट नियालिन्। तल थिए– स्टाफ नर्स सरिता गोसाईं र स्वास्थ्य स्वयंसेविका रत्नमाया खायमली। उनीहरुले सोधे– ‘तपाईंको घरमा कोही बिरामी छन् कि?’ भक्तपुर नगरपालिकाबाट सञ्चालित घरदैलो नर्सिङ सेवामा खटिएका थिए उनीहरु।

रिना सुरुमा छक्क परिन्। कुरा बुझेपछि बुबा हरिकृष्ण, आमा रामलक्ष्मी, दाइहरू राकेश र राजेश तथा बहिनी सुप्रभाको उमेर, पेसा र शिक्षाबारे जानकारी गराइन्। यतिन्जेलमा हरिकृष्ण दम्पती पनि तल ओर्लिए। नर्स गोसाईंले पहिले रामलक्ष्मीलाई भर्‍याङको खुडकलो बसाइन्। अनि उनको रक्तचाप जाँचिन्। उपकरणले माथि १४० र तल ८० देखियो, जुन अलि उच्च हो। ‘तपाईंले नुन र चिल्लो कम खानुपर्छ,’ गोसाईंले सुझाइन्। त्यसपछि हरिकृष्णको रक्तचाप जाँचिन्। उनको सामान्य रहेछ।

अहिले नगरपालिकाका १० वटै वडामा घरदैलो नर्सिङ सेवा सञ्चालनमा छ। बिहान ७ देखि ९ बजेसम्म घरघरै पुगेर नर्स र स्वास्थ्य स्वयंसेविकाले नगरवासीको स्वास्थ्य जाँच गर्छन्। टोलीले मधुमेह, स्त्रीरोग, बालरोग, दम र खोकीका बिरामीलाई पनि निगरानी गर्छ।

उपचार नगराई घरमै बसेकालाई नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवाकेन्द्रमा पठाइन्छ। रक्तचाप र मधुमेहका बिरामीलाई नियमित औषधि खान र बढी नै च्यापेकालाई अस्पताल जान सुझाइन्छ। टोलीले सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमबारे पनि नगरबासीलाई जानकारी दिन्छ। सरकारले भक्तपुरसहित ४२ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ।

नर्स र स्वयंसेविकाले नगरका बिरामीको तथ्यांक पनि संकलन गरिरहेका हुन्छन्। गत जेठसम्म १ हजार ६ सय ६३ परिवारको स्वास्थ्य परीक्षण गर्दा ४ सय ३५ जनालाई उच्च रक्तचाप, १ सय ७७ लाई मधुमेह, ८० जनालाई दम, ८० जनालाई हाडजोर्नी समस्या, ४१ जनालाई ग्यास्ट्रिक, १३ जनालाई थाइराइड, ३१ जनालाई मुटुरोग र ९ जनालाई क्षयरोग पाइएको छ। त्यस्तै सुस्त मनस्थितिका ३, प्यारालाइसिस भएका ७, मिर्गौला रोगका ५, पत्थरी भएका ४, कोलेस्ट्रोलका १४, क्यान्सरका ७ बिरामी र अशक्त–अपाङ्गता भएका १ जना रहेको नगरपालिकाको अभिलेख छ। टोली वडाका सबै घरमा एक चरण पुगेपछि दोहोर्‍याउँछ।

वडैपिच्छे फरकफरक टोली छ। नर्सहरू दैनिक कम्तीमा २० घर पुग्छन्। संकलित तथ्यांक लिएर उनीहरू बिहान साढे ९ बजे नगरका तीनवटा जनस्वास्थ्य सेवाकेन्द्रमा हाजिर हुन्छन्। तथ्यांक अद्यावधिक गर्छन्।

जनस्वास्थ्य सेवा केन्द्रहरूमा बिरामीको भीड लागिसकेको हुन्छ। च्यामासिंह, पाँचतल्ले मन्दिर भगवतीस्थान र ब्यासी गरी तीन ठाउँमा यस्ता केन्द्र छन्। च्यामासिंहमा ५० रुपैयाँको टिकट काटेर विशेषज्ञ चिकित्सासेवा पाइन्छ। दोहोर्‍याएर जाँदा ३० रुपैयाँ तिरे पुग्छ। त्यहाँ बालरोग, स्त्रीरोग, हाडजोर्नी, दाँत, नाक, कान र घाँटी, छालासम्बन्धी उपचार उपलब्ध रहेको केन्द्रप्रमुख डा. रत्नसुन्दर लासिवाले बताए।

च्यामासिंहमा छिमेकी सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका बासिन्दा पनि उपचार गराउन आउँछन्। यहाँ दैनिक ३ सय हाराहारीमा बिरामीको उपचार हुन्छ। यो केन्द्रमा नियमित स्वास्थ्य जाँच गराउनेमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे पनि छन्। बिजुक्छे असार १९ गते बिहान ९ बजेतिर केन्द्रमा आइपुगे। आधा घण्टाजति कुरेपछि उनको पालो आयो। केन्द्रको १ सय १ नम्बर कोठामा गई घुँडाको फिजियोथेरापी गराए। घुँडाको हड्डी खिइएकाले उनी एक वर्षदेखि केन्द्र धाइरहेका छन्। ‘विशेषज्ञ सेवा नगरमै पाएपछि बाहिर किन जानुपर्‍यो?,’ उनले भने।
भक्तपुर नगरपालिका र आसपासका बासिन्दालक्षित यी स्वास्थ्य केन्द्रमा ९ जना विशेषज्ञ डाक्टर र १४ जना मेडिकल अधिकृत छन्। नर्स र अन्य कर्मचारी ६१ जना। ‘भक्तपुर नगरवासीको औसत आयु कम देखिएको र औषधोपचार सर्वसुलभ नभएकाले जनस्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको हो,’ नगरप्रमुख सुनील प्रजापतिले भने।

रैथाने भाषामै परामर्श
नेवार समुदायको बाहुल्य रहेको भक्तपुरका अधिकांश बासिन्दाले नेपालभाषा बोल्छन्। त्यसैले नगरपालिकाले बिरामीले खुलस्त समस्या राख्न सकून् भनेर सकेसम्म नेपालभाषा नै जान्ने चिकित्सक, नर्स र स्वयंसेविका खटाउने गरेको छ। औषधि खाने तरिका सिकाउन स्थानीय भाषा झन् बढी आवश्यक पर्ने भएकाले नेवारी नबुझ्ने चिकित्सकलाई सघाउन सहयोगीसमेत खटाइएको च्यामासिंह केन्द्रप्रमुख डा. लासिवाले बताए।

नगरका जनस्वास्थ्य सेवा केन्द्रमा ३ सय रुपैयाँमा एक्सरे र १ सय २५ मा ईसीजी गरिन्छ। जेठ ७ देखि २४ घण्टे आकस्मिक उपचार कक्ष पनि व्यवस्था गरिएको छ।
गत वर्ष साउनदेखि आयुर्वेदिक उपचार सेवासमेत सञ्चालनमा ल्याएको नगरले एक वर्षमा ९ हजारभन्दा बढीलाई यो सेवा दिएको छ। चालू आर्थिक वर्षसँगै मिर्गौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, मस्तिष्कघात, क्यान्सरको उपचार लिनुपर्नेलाई १० हजार रुपैयाँ सहयोग गर्न थालेको छ।

घरदैलोमा खटिने स्वास्थ्य स्वयंसेविकालाई नगरले दैनिक एक सय रुपैयाँ भत्ता दिन्छ। यहाँ ९० जना स्वयंसेविका छन्। बहिरंग सेवामा कार्यरत विशेषज्ञ चिकित्सकलाई प्रति दिन १५ सय र मेडिकल अफिसरलाई आंसिक सेवाबापत मासिक १५ हजार रुपैयाँसम्म भत्ता दिने गरिएको नगरले जनाएको छ। ‘नगरवासीलाई प्रभावकारी स्वास्थ्यसेवा दिन यस वर्ष साढे ३ करोड रुपैयाँ छुटयाएका छौं,’ नगरप्रमुख प्रजापतिले भने।

नगरले यस वर्ष आफ्नै लगानीमा २५ शय्याको ख्वप अस्पताल बनाउने प्रक्रिया अघि बढाएको छ। यसका लागि अनुमतिसमेत लिइसकेको छ। अस्पताल बनाउन १४ करोड रुपैयाँ विनियोजन गरिएको प्रजापतिले बताए। ‘बहिरंग सेवाजस्तै विशेषज्ञ सेवासमेत सस्तोमा आफ्नै ठाउँमा दिन लागेका हौं,’ उनले भने।

नगरका विभिन्न ६ स्थानमा शिशु स्याहार केन्द्र चलाइएको छ। हरेक वडामा शिशु स्याहार केन्द्र राख्ने नीति छ। केन्द्रमा बच्चा राख्न चाहनेले मासिक १ हजार तिर्नुपर्छ। १५ बच्चा बराबर एक आया व्यवस्था गरिएको छ।

राम्रो छ तर एकलौटी छ : विपक्षी
भक्तपुर नगरले अन्य स्थानीय सरकारको जस्तो आर्थिक स्रोत कहाँबाट जुटाउने भन्ने चिन्ता गर्नुपर्दैन। पुरातात्त्विक सम्पदा घुम्न आउने पर्यटकबाटै वार्षिक २५ करोड रुपैयाँभन्दा बढी राजस्व उठ्छ। भौगोलिक रूपमा विकट नभएकाले पनि नगरले प्राथमिकता दिएको क्षेत्रमा चाहेजति खर्चन सक्छ। नगरपालिकामा नेपाल मजदुर किसान पार्टीबाहेक अन्यको प्रतिनिधित्व शून्य छ।

नेमकिपाले अरू पार्टीको अस्तित्व स्वीकार नगर्ने समस्या रहेको विपक्षीहरूको आरोप छ। नेकपा र कांग्रेसका नेताहरू राम्रो काम भए पनि नेमकिपाकै आम्दानीबाट गरेजस्तो गरिएको बताउँछन्। कांग्रेसका स्थानीय नेता अली भुजू भन्छन्, ‘नगरवासीको करबाट भएको काममा एउटै पार्टीको मात्रै हालीमुहाली किन? अरूको विचार र अस्तित्व पनि स्वीकार्न सक्नुपर्छ।’

(खोज पत्रकारिता केन्द्रको सहयोगमा)

प्रकाशित : भाद्र २२, २०७५ २०:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT