कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कौसी कौशल

विमल खतिवडा

काठमाडौँ — रातोपुलका ६७ वर्षीय दिलीप श्रेष्ठ अहिले कौसी खेतीमा रमाइरहेका छन् । २० वर्ष नेपाल खाद्य संस्थानमा काम गरी स्वैच्छिक अवकाश लिएका उनको दिनचर्या तरकारी रेखदेखमै बित्छ । १५ वर्षअघि अवकाश लिएका उनले कौसी खेती थालेको भने दुई दशक नाघ्यो ।

कौसी कौशल

उनको घरभित्र पस्नसाथ किबी र कागती देख्न पाइन्छ । किबी लटरम्म फलेको छ । कागतीका दाना लागेका छन् । किबीको लहरो साढे ३ तले घरको छतसम्म पुगेको छ । पाहुनालाई स्वागत गर्ने कक्षमा पनि हरियाली छ । गमलामा फूल फुलेका छन् । छतमा पुग्दा भने व्यावसायिक तरकारी फार्ममै पुगेको आभास हुन्छ । उनको छतमा एकातिर काउली, प्याज, लसुन, जिम्बु, खुर्सानी हुर्कंदै छन् भने अर्कातिर साग, भान्टा, घिरौंला र बोडी टिप्ने बेला भएको छ । अनार, अम्बा पनि छन् । ‘पहिला सोखका रूपमा लगाएँ, अहिले आवश्यकता भयो,’ उनी भन्छन् । कुनै रात असिना पानी पर्‍यो भने उनलाई निद्रा लाग्दैन । उठेर छतमा पुग्छन् । परिवारमा चारजना छन् । अध्ययनका लागि छोरी अमेरिका छन् । ‘हामीले गमलामा फूल लगाउँछौं, त्यसले सुन्दरता दिन्छ,’ उनले भने, ‘तरकारी लगाए सुन्दरतासँगै स्वस्थ राख्न सहयोग गर्छ ।’


पानीको जार, दूध राख्ने क्रेट, ड्रम काटेर छतमा लगी त्यसमा माटो भरेर तरकारी लगाइएको छ । फलामको डन्डी राखेर थाक्रो पनि बनाएका छन् जसमा लहरे तरकारी झुन्डिएका छन् । ‘४ वर्ष भयो तरकारी किन्नुपरेको छैन,’ उनकी पत्नी वन्दनाले भनिन्, ‘कहिलेकाहीं ल्याइयो भने पनि स्वादै लाग्दैन ।’


डाँडापाखा, कुनाकाप्चा, जता हेर्‍यो घरैघर । कुनै बेला राम्रो कृषि उत्पादन हुने काठमाडौं उपत्यकामा अहिले घर मात्रै फलिरहेका छन् । खाली जग्गा पाउन मुस्किल छ ।


खेती गरी जीविका चलाउँछु भन्दा जग्गा पाइने अवस्था छैन । बजारमा भने तरकारीको भाउ बढेको बढ्यै छ । त्यही पनि स्वस्थ्यकर पाइँदैन । कि सडेगलेको भेटिन्छ, कि विषादीको भारी बोकेका । न ताजा न स्वादिलो ।


दिलीपलाई लाग्छ यसको विकल्प ‘कौसी खेती’ हुन सक्छ । उनी मात्र होइन, काठमाडौंमा कौसी खेती गर्नेको संख्या बढो छ । नयाँ घरहरूमा त यसका लागि छुट्टै ठाउँ बनाउन थालिएको छ ।


‘घरमै हरियाली छ, आफन्त आउँदा कोसेलीका रूपमा अग्र्यानिक तरकारी दिएर पठाउन पाइएको छ,’ वन्दनाले भनिन् । कौसी खेती हेर्न र सिक्न पनि मानिसहरू आउने गरेको उनले बताइन् । दिलीप घरमै मल बनाउँछन्, विषादी प्रयोग गर्दैनन् । ‘भान्साबाट निस्किएको फोहोर नै मल बन्छ,’ उनी भन्छन्, ‘कुहिनेजति सबै फोहोर मल बन्ने गरेको छ ।’ कम्पोस्ट मल बनाउन उनी पिना र हड्डीको धूलो प्रयोग गर्छन् । गड्यौला मल पनि घरमै बनाएर तरकारीमा लगाउने गरेका छन् ।
***


काठमाडौं १९, डल्लु पुलका शेषनारायण महर्जनको परिवार हलचोकमा तरकारी खेती गथ्र्यो । पछि अन्यत्र बसाइँ सरे पनि उनले पुरानो पेसा छाडेनन् । कृषि र बागवानीसम्बन्धी तालिम लिए । अहिले उनी कृषिसम्बन्धी तालिम दिँदै हिँड्छन् । उनले कौसी खेती गरेका छन् । ५ तले घरको चौथो तलामा गमला र पाँचौं तलामा ढलानमा माटो राखेर खेती गरेका छन् ।


५ वर्षअघि कौसीखेती थालेका महर्जनले तरकारीका अलावा जापानी सुन्तला, हलुवावेद, सुन्तला, ड्राइगन फ्रुट, अम्बा, कागती पनि लगाएका छन् । वर्षामा आकासे पानी जम्मा गर्छन् । चैत/वैशाखमा भान्साको बेसिनमा खेर गएको पानी प्रयोग गर्छन् । ४ जनाको परिवारलाई चाहिने ७५ प्रतिशत तरकारी घरमै फलाएका छन् । मलका लागि उनी घरबाटै निस्किएको फोहोर प्रयोग गर्छन् । आफूले तालिम दिएका प्राय: लाई उनी घरमै ल्याएर कसरी खेती गर्ने देखाउँछन् । पछिल्लो ४ वर्षमा काठमाडौंमा कौसीखेतीले व्यावसायिक रूप लिँदै गएको उनी बताउँछन् ।


काठमाडौं महानगरपालिकाका वरिष्ठ बाली संरक्षण अधिकृत रामचन्द्र पौडेलले १ हजार ६ सयलाई कौसीखेतीबारे तालिम दिइसकेका छन् । कसरी खेती गर्ने, खेती गर्दा केमा ध्यान दिने, कुन सिजनमा के तरकारी लगाउने, कस्तो भाँडामा लगाउने भन्नेबारे उनले महानगरका प्रत्येक वडा पुगेर सिकाए । ‘भूकम्पपछि १/२ वर्ष कौसी खेतीसम्बन्धी कार्यक्रम भएन,’ उनले भने, ‘२०७२ सालमा कौसी खेती गर्नेको संख्या १ हजार २ सय पुर्‍याउने लक्ष्य थियो, भूकम्पका कारण हुन सकेन ।’ उनले दिने तालिममा फोहोर व्यवस्थापन, कम्पोस्ट मल निर्माण, गड्यौला मल र खेतीका विधि सिकाइन्छन् । गत वर्ष पुसबाट महानगरले ३२ वटै वडामा २/२ तालिम गरायो । सहभागीलाई खेती गर्नलाई क्रेट र गड्यौला मलसमेत अनुदानमा दिइएको पौडेलले बताए । उनका अनुसार यसमा गृहिणीका अलावा अवकाश प्राप्त र पेसा व्यवसाय नभएकाहरू पनि आकर्षित छन् ।


पौडेल घरको बिममा लहरे बाली लगाउने सुझाव दिन्छन् । ‘होचा जरा भएका बाली उपयुक्त हुन्छ । सुन्तला र कागती लगाउँदा माटो धेरै चाहिन्छ, जसले १ वर्ष मात्र फल दिन्छ,’ उनी भन्छन्, ‘घरलाई कम भार पर्ने गरी दैनिक खान मिल्ने तरकारी रोप्दा राम्रो हुन्छ ।’ उनले आफ्नै गोंगबुको घरमा पनि कौसी खेती गरेका छन् ।


तरकारी बाली विकास केन्द्र खुमलटारका वरिष्ठ तरकारी विकास अधिकृत अरुण काफ्ले ०६६/६७ बाट विभिन्न तरकारीका बिरुवा वितरण गर्न थालिएको बताउँछन् । ०७४/७५ मा २४ लाख वितरण गरियो । तीमध्ये १४ लाख कौसीमा रोपिएको उनको दाबी छ । ‘यो साउनमा मात्र साढे ४ लाख बेर्ना वितरण गरी सकिएको छ,’ काफ्लेले भने, ‘यो आवभित्र ३० लाख बिरुवा वितरण गर्ने लक्ष्य छ ।’


कसरी गर्ने कौसी खेती ?
कौसी खेतीका लागि प्रशस्त घाम लाग्ने तथा सजिलैसँग पानी दिन सकिने ठाउँ चाहिन्छ । गोडमेल गर्न सकिने, निकासको उचित प्रबन्ध भएका घरको छत हुनुपर्छ । घरले थाम्न सक्ने तौललाई ध्यान दिई कोकोपिट र माटो वा प्रांगारिक मलको मिश्रण गरी खेती गर्न सकिन्छ । पक्की घरमा निकालिएका कौसीहरूमा उपयुक्त आकारका भाडा गमला, फ्रेम, बाकस तथा अन्य संरचना राखी तरकारी खेती गर्न सकिन्छ ।


माटोका गमला, बिस्कुटका खाली टिन, आधा काटिएका ड्रम, मालसामान प्याक भएर आएका काठका बाकस, माछा प्याकिङ भएर आएका स्टाइरोफोम, पुराना बोरा र प्लास्टिकका थैला आदीलाई कौसी खेतीमा प्रयोग गर्न सकिन्छ । लगाइने तरकारीको बोटको फैलावटका आधारमा भाँडाको छनोट गर्न सकिन्छ । यी भाँडाको पिँधमा पानी निथ्रेर जाने ससाना प्वाल हुनुपर्छ । खर्चको दृष्टिकोणले प्लास्टिक थैला वा बोरा सस्तो पर्छन् तर यो एकपटक मात्र प्रयोग गर्न सकिन्छ । जरा धेरै नफैलिने र धेरै नझयांगिने बिरुवाको छनोटलाई राम्रो मानिन्छ ।


तस्बिरहरुः किरण पाण्डे

प्रकाशित : भाद्र ३०, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?