कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्रान्ड हब

राजु चौधरी

काठमाडौँ — अमिर गुरुङ थिए दरबार मार्गको रिबकको सो रुममा । ब्रान्डेड सामान किन्न आएका रहेछन् । ‘अन्तर्राष्ट्रिय ब्राण्डका कपडाहरू पाइने हुँदा यहाँ खरिद गर्दा गुणस्तरमा ठगिने सम्भावना न्यून हुन्छ,’ उनले भने, ‘केही महँगो भए पनि चाहिएका सामान यहीँ किन्दै आएको छु ।’

ब्रान्ड हब

ब्रान्डेड सामानका लागि दरबारमार्ग नै पुग्ने उनी एउटा प्रतिनिधि पात्र मात्रै हुन् । चर्चित ब्रान्डका लत्ताकपडा र अन्य सामग्रीप्रतिको लगाव बढेसँगै ब्रान्डेड पसलहरूको क्षेत्र दरबारमार्ग आफैंमा एउटा ब्रान्ड बनेको छ ।

दरबारमार्ग सँगै बढेको सपिङ कल्चरकै कारण उपत्यकामा मात्रै दुई दर्जनभन्दा बढी ठूला सपिङ मल सञ्चालन हुन पाएका छन् । तिनमा पनि अन्तर्राष्ट्रिय ब्रान्डको ट्याग लगाएका सामग्री भेटिन्छन् । तर, पनि ब्राण्डेड सामग्री किन्नुपरे दरबारमार्ग उपयुक्त गन्तव्य ठान्नेमा अचेल उच्च वर्गका मात्रै छैनन् । यही आकर्षणका कारण दरबारमार्गका १६५ आउटलेटमा प्राय: चर्चित ब्रान्डकै पसल छन् । रिबक, नाइक, पुमा, एन्टा, ली, युएस पोलो, ग्लोरडानो, बेन्ट्ली लगायतका ब्रान्डेड उत्पादन दरबारमार्गमै पाइन्छन् । कपडासँगै इलेक्ट्रोनिक्स र गहनाका पसल पनि यहाँ छन् ।

पछिल्लो समय व्यापारमा प्रतिस्पर्धा बढेसँगै पसलहरूले ग्राहक तान्न विभिन्न योजना ल्याउन थालेका छन् । ‘ग्राहक आकर्षण गर्न सेल अफर सार्वजनिक गरेका छौँ,’ वाच एन्ड सी पसलका भरत चौलागाईले भने । वाच एन्ड सी स्टोरमा इटालियन, अमेरिकन, डेनिस ब्रान्डका घडी बिक्री हुन्छन् । चौलागार्इंका अनुसार, दरबारमार्गका पसलहरूमा पहिले मुख्यत: नेपाली उच्च घराना र विदेशी ग्राहकलाई लक्ष्य गरिएको हुन्थ्यो । तर, अचेल नेपाली मध्यम वर्गीय उपभोक्तालाई पनि तान्ने उपाय गर्न थालिएको छ ।

‘हाम्रोमा रहका ब्रान्डेड घडीहरू १० हजार देखि २५ हजार रुपैयाँसम्मका छन्,’ चौलागाईंले भने, ‘त्यसमा पनि केही छुट छ । तर, चाडबाड आए पनि ग्राहक त्यत्ति आइहालेका छैनन् । यस वर्ष दरबारमार्गको व्यापारमा मन्दी देखिएको छ ।’न्यु ब्यालेन्सका ऋषभ गुरुङको अनुभव पनि फरक छैन । ‘हामीले अमेरिकन ब्रान्ड दुबईबाट आयात गरी बिक्री गर्दै आएका छौँ । बिगसेल अन्तर्गत ६० प्रतिशतसम्म छुट दिएका छौँ,’ उनले भने, ‘तर, ग्राहक नै छैनन् ।’

न्यु ब्यालेन्स स्टोरमा १५ सयदेखि २ हजार रुपैयाँसम्मको क्याप पाइन्छ । जुत्ता ७ हजारदेखि १० हजार रुपैयाँसम्मका छन् । टिसर्ट २२ सयदेखि २४ सय रुपैयाँसम्मका पाइन्छन् बिक्री हुन्छ । उक्त मूल्यमा कपडाअनुसार ६० प्रतिशतसम्म छुट दिएको गुरुङले बताए । ‘बिगतका वर्षभन्दा यसपाली भिडभाड कम छ,’ उनले भने ।
दरबारमार्गमा ग्राहक घट्दै जानुमा उनी गत वर्षको सरकारी अनुगमनलाई दोष दिन्छन् । ‘अनुगमनको क्रममा व्यवसायीहरूले बढी मूल्य लिँदा रहेछन् भन्ने हल्ला फिँजियो । भ्याटबाट ठगी गरे भन्ने हल्ला भयो,’ उनले भने, ‘त्यसैले ग्राहकहरू दरबारमार्गबाट भडकिए ।’

ग्राहकको अनुहार देखिन कम हुँदै गएपछि केही पसलले ‘सेल’ ट्याग झुन्ड्याउनुपरेको छ । केहीले ‘एउटा खरिद गर्दा अर्को फ्री’ भन्नेसम्मको सूचना राखेका छन ।
चाडबाडका बेला धेरै सरसामान किन्ने आम नेपाली उपभोक्ताको बानी हुन्छ । यो मनोविज्ञान बुझेका दरबारमार्गका व्यापारीहरू पनि आउँदो दसैँतिहारलाई लक्ष्य गरेर ग्राहक तान्ने नयाँ उपाय अपनाउँदै छन् ।

‘केही नयाँ अफर सार्वजनिक गर्ने योजनामा छु,’ इटालियन ब्रान्डका चस्मा बिक्री गर्दै आएका अप्सन पसलका राजु शाक्यले भने, ‘बिगतको तुलनमा कारोबार नभएकाले मन्दी छाएको छ । दरबारमार्गमा सामान सक्कली नै पाइन्छ । त्यसैले महँगो पनि हुन्छ । तर, नक्कली सामग्री सस्तोमा बेच्नेको कारोबार राम्रो भइरहेको छ । यो कुरा उपभोक्ताले बुझ्न जरुरी छ ।’ उनका अनुसार, उनको पसलमा ८ हजारदेखि २५ हजारसम्मका इटालियन ब्रान्डका चस्मा पाइन्छन् ।

निड्स स्टोरका फुर्वा तामाङले पनि उपभोक्ता आकर्षण गर्न छुटको स्किम ल्याएका छन् । ‘हङकङ र चीनबाट आयात गरेर ४० प्रतिशतसम्म छुट दिएका छौँ,’ उनले भने, ‘छुट दिँदा ग्राहकको आकर्षण बढिरहेको छ ।’ निड्स कलेक्सन सेन्टर हो । यसमा लिभाइज, रिबक, ली लगायत सबै ब्रान्डका टिसर्टहरू पाइन्छन् ।
दरबारमार्गमा गत वर्ष दसैंअघि कारोबार निकै खस्किएको थियो । सरकारले अनुगमन गर्दा ‘अचाक्ली ठगी’ गरेको भन्दै केही पसलमा सिलबन्दी नै गरेको थियो । त्यसको असर यस वर्ष पनि देखिएको हो । यो कारणले पनि विगतका वर्षहरूको तुलनामा यस वर्ष छुट र सेलका योजना धेरैजसो पसलमा देखिन्छ ।

जोर्डिक स्टोरका दिनेश शर्माले आफूले ५० प्रतिशतसम्म छुट दिएको सुनाए । उक्त स्टोरमा अमेरिकन ब्रान्डका कपडा पाइन्छन् । स्टकमा रहेको एउटा कपडा किन्दा अर्को सित्तैँमा † ‘हाम्रो पसलको कारोबार राम्रै भइरहेको छ । गत वर्षको अनुगमनको त्यस्तो असर छैन,’ उनले भने, ‘बिगतमा यस्तो असर बढी नै थियो ।’रिबकका मनोज रायले पनि कारोबार निकै कम रहेको बताए । ‘पहिले जस्ता ग्राहक छैनन्,’ उनले भने, ‘ग्राहक तान्न बिग सेल अन्र्तगत ५० प्रतिशतसम्म छुट अफर गरेका छौँ ।’ उक्त स्टोरमा ७ हजार रुपैयाँसम्मका टिसर्ट छन् ।

दरबारमार्गमा रहेको अर्को ग्लोबल ब्रान्ड हो– बिइङ ह्युमन । यसले पनि ५० प्रतिशत छुटको अफर ल्याएको छ । बिइङ ह्युमन छुट्टै ब्रान्ड र सस्तो पनि भएकाले सेल्स राम्रो भएको पसलका कृष्ण लामगादेले बताए । ‘ब्रान्डकै कारण पनि उपभोक्ताको आकर्षण छ,’ उनले भने, ‘मुख्यत: टिर्सटलाई प्राथमिकता दिएका छौँ । त्यो लगत्तै ज्याकेटलाई सार्वजनिक गरेका छौँ ।’

प्रकाशित : आश्विन ६, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?