कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँमै रमाइलो

वेदराज पौडेल

विराटनगर — दसैं सबै उमेर समूहका लागि उत्तिकै उल्लासमय हुन्छ  । बालबालिका, वृद्धवृद्धा सबै उसै गरी रमाउँछन्  ।

गाउँमै रमाइलो

दसैं सबै उमेर समूहका लागि उत्तिकै उल्लासमय हुन्छ । बालबालिका, वृद्धवृद्धा सबै उसै गरी रमाउँछन् । युवायुवतीको सहभागिताले पर्वको रौनक नै बेग्लै हुन्छ । कलेजले दसैं आउनुभन्दा दुई साताअघि नै छुट्टी गर्ने र विद्यालयले पनि आवधिक परीक्षा सकाएर घटस्थापना अघि नै बिदा दिने भएकाले उनीहरूमा पढाइको तनाब रहँदैन ।

काठमाडौंमा बीबीए पढ्दै गरेकी सुनसरी, इनरुवाकी लुनिका पोखरेल यो दसैं मज्जाले मनाउने योजनामा छिन् । पोहोर जुठो परेकाले दसैं मनाइनन् । यस पटक भने साथीभाइहरूसँग विभिन्न कन्सर्टमा सहभागिता जनाएर सांगीतिक आनन्द उठाउने योजनामा छिन् । नयाँ लुगा किन्ने र साथीहरूसँग घुम्न जाने योजना त छँदैछ ।

राजधानीको कोलाहलभन्दा गाउँको स्वच्छ हावापानी नै उनलाई मन पर्छ । भन्छिन् ‘फेस्टिबल आएपछि आफ्नो गाउँभन्दा रमाइलो अन्त लाग्दैन ।’ इटहरीकी रोजिना घिमिरे पनि साथीभाइसँग किनमेल गर्ने र दसैंमा रमाइलो गर्ने योजनामा छिन् । घरमा टीका लगाइसकेपछि मामाघर जान्छिन् । दसैंमा मामाघर जाँदा छुट्टै रमाइलो हुने उनले बताइन् ।

एमबीबीएसको इन्ट्रान्स पास गरेर कलेजबारे अध्ययन गरिरहेका भोजपुरका शिवराज ढकाल यो दसैं भोजपुरमै मान्ने योजनामा छन् । इन्ट्रान्स पास गरेको खुसीसँगै दसैंको रौनक थपिएको छ । घर पुगेर मार हान्ने र खसी ढाल्ने योजना सम्झदा उनी फुरुङ्ङ हुन्छन् ।

किनमेल राजधानीमै सकेका उनी गाउँका अरू साथीभाइको अगाडि नयाँ स्टाइलिस लुक देखाउन चाहन्छन् । दसैंको रौनकसँगै घरमा पाहुनाको चहलपहल र लिंगेपिङको मज्जा बेग्लै हुने ढकाल बताउँछन् । घरमा टीका थापेपछि उनी पनि मोरङमा रहेको मावली घर पुग्छन् । भन्छन्, ‘आशीर्वाद र भेटघाटसँगै प्राप्त हुने दक्षिणाले पनि दसैंलाई थप रोमाञ्चक बनाउँछ ।’

संखुवासभाका मिलम दाहाल यस पटक घरमै दसैं मनाउन उकालो लाग्दै छन् । उनी इटहरीमा बसेर उच्च शिक्षा हासिल गरिरहेका छन् । जनता क्याम्पसमा बीबीएस पढ्छन् । अघिल्लो दसैंमा जुठो परेकाले यसपाली भने भव्य तरिकाले मनाउने तयारीमा छन् ।

‘दिदीबैनी भेला हुने, आफन्तको आउजाउको रौनक नै बेग्लै हुन्छ,’ उनले भने । साथीभाइसँग पिङ, लंगुरबुर्जा र म्यारिज खेल्न निकै मजा लाग्छ दाहाललाई । लामो बिदा हुने, धेरै दिनपछि गाउँका साथीहरूसँग जमघट हुने, विगतका कुरा गर्दै मीठो मसिनो खाने पर्व भएर होला, उनलाई तिहारभन्दा दसैं नै बढी मन पर्छ ।

‘आशीर्वाद थाप्न आफन्तकहाँ जाँदाको क्षण पनि निकै रमाइलो हुन्छ,’ उनले भने ।

मोरङ, जेफालेका जीबी गजल दसैं बिदामा तीन–चारवटा पुस्तक पढिसक्ने र पूर्वकै पर्यटकीय स्थल घुम्ने योजनामा छन् । घरमा टीका लगाएर उनी इटहरीमा रहेको मामाघर पुग्छन् । साथीभाइसँग भेटघाट, भलाकुसारी र घरलौरी रमाइलो त छँदैछ । यस पटक दसैं अलि पछि भएकाले तराईमा शीतल छ ।

यसले पनि थप रमाइलो बनाएको छ । बजारमा खुलेका विभिन्न अफर, सांगीतिक कार्यक्रम, मनोरञ्जनका खेलिने तास, जुवा र लंगुरबुर्जाले पनि दसैं भित्रिसकेको छनक दिन थालेको गजलले बताए । ‘दसैं सहरभन्दा गाउँमै बढी आत्मीय हुन्छ,’ उनले भने, ‘सहरमा आ–आफ्नै व्यस्तता भए पनि गाउँघरमा सबैजना को–को आउलान् भनेर पर्खन्छन् ।’

प्रकाशित : आश्विन २४, २०७५ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?