कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वका शक्तिपीठ

कान्तिपुर संवाददाता

मोरङ — देवीको आराधना गरिने दसैंमा विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लाग्छ  । कतिपय पीठहरुमा नवरात्रभरि मेला नै लाग्ने गरेको छ  ।

पूर्वका शक्तिपीठ

पाथीभरा धाम
पूर्वका शक्तिपीठमा ताप्लेजुङको प्रसिद्ध पाथीभरा प्रमुख हो । यसलाई हिन्दु एवं बौद्धहरूको महत्त्वपूर्ण धार्मिकस्थल मानिन्छ । १२ हजार फिट उचाइमा रहेको पाथीभरामा अरू बेला पनि श्रद्धालुको जमघट हुन्छ । अन्न भरिएको पाथीझैं लाग्ने मनमोहक आकृति बोकेको पाथीभराको शिरमा यो धार्मिकस्थल छ । पाथीभरा देवीको उत्पत्तिसम्बन्धी थुप्रै किंवदन्ती तथा जनश्रुति छन् । यहाँ भेडा, बोका, पाठीको बलि दिइन्छ । यहाँ विदेशबाट समेत श्रद्धालुहरू आउने गरेका छन् । सौभाग्यकी प्रतीक, विश्वास आस्था एवं पवित्रताकी देवी मानिने पाथीभरामा जात, धर्म वा लिंगको भेदभाव छैन । काटमार नगर्नेहरू फलफूल र मिठाई चढाउँछन् ।

त्रिवेणी
उदयपुरको कटारी बजारबाट ६ किमि पश्चिममा ककरु, तावा तथा कमला नदीको संगममा रहेको शक्तिपीठमा पनि भक्तजन उल्लेख्य संख्यामा जान्छन् । माघे संक्रान्तिका दिन यहाँ मेला लाग्छ । दसैंको अष्टमीमा उक्त स्थानमा नुहाउने परम्परा छ । यसैगरी झापाको कन्काई माईमा पनि श्रद्धालु जाने गर्छन् । झापा सदरमुकाम चन्द्रगढीदेखि करिब २८ किलोमिटर दूरीमा रहेको उक्त स्थानमा माघे संक्रान्ति अनि दसंैका बेला नुहाउने चलन छ । धनकुटाको छिन्ताङ पनि अर्को शक्तिपीठका रूपमा मानिन्छ । धनकुटा बजारबाट करिब १६ किमि पश्चिममा रहेको यो मन्दिरलाई जालपादेवी भनिन्छ ।

माईपोखरी
माईपोखरी इलामको उत्तरी क्षेत्रमा छ । यसको नवरात्रसँग बेग्लै सम्बन्ध छ । नौकुने पोखरीका नौवटै कुनामा दुर्गाको नौ स्वरूपको पूजा गरिन्छ । हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म माईपोखरीका नौवटै कुनामा मण्डप बनाई ब्राह्मणहरूद्वारा सप्तसती पाठ गर्ने चलन पनि छ ।


इलामकै दक्षिण–पश्चिम क्षेत्रमा रहेको पाथीभरामा पनि दसैंका बेला उल्लेख्य उपस्थिति हुने गरेको छ । ‘सानो पाथीभरा’ भनेर चिनिने यहाँ अरू बेलाका दिनमा पनि उत्तिकै चहलपहल हुन्छ । दसैंका बेला अझ विशेष रूपमा पूजाआजा गरिन्छ ।

संसारी माईस्थान
मोरङको पुरानो सदरमुकाम रंगेलीमा रहेको संसारी माईस्थानमा पनि विशेष धार्मिक अनुष्ठान गरिन्छ । खासगरी दसैंको नौरथाभरि यहाँ विशेष पूजाआजा गर्ने चलन छ । फूलपातीका दिन नेपाली सेना र प्रहरीले बढाइँ गर्छन् । रंगेलीकै काली मन्दिर पनि अर्को चर्चित शक्तिपीठका रूपमा स्थापित छ । यहाँ दसैंका बेला विशेष चहलपहल हुन्छ । यी मन्दिरमा बलि पनि चढाउने चलन छ ।

दन्तकाली


धरानको विजयपुर डाँडाको मध्यभागमा रहेको दन्तकाली पूर्वको अर्को शक्तिपीठ हो । मध्यकालतिर कालिकाका नामले चिनिने यो मन्दिर शिवले सतीदेवीको शव बोकेर हिंड्दा दन्तपतन भई शक्तिपीठका रूपमा स्थापित भएको मानिन्छ । मन्दिरमा सतीदेवीका दाँतको प्रतीकस्वरूप एउटा कालो प्रस्तर राखी पूजा गरिँदै आएको छ । बोका, राँगा आदिको बलि दिने चलन छ । यो मन्दिरका सम्बन्धमा स्वस्थानी व्रतकथामा पनि उल्लेख भएको पाइन्छ । मन्दिर पहिले सामान्य स्वरूपमा थियो । पछि भव्य तले शैलीको मन्दिर बनाइयो । दन्तकाली क्षेत्रमा दसैंको नौरथामा मेला लाग्छ । तीज र स्वस्थानी पूर्णिमाका अवसरमा पनि घुइँचो हुन्छ । यो स्थानबाट धरान बजारको रमणीय दृश्यसाथै मोरङ, सुनसरीका विभिन्न भाग, उदयपुर, सप्तरीका केही क्षेत्रका साथै कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रको पनि अवलोकन गर्न सकिन्छ ।

बराहक्षेत्र


कोका नदी र कोसी नदीको संगमस्थल सुनसरीको बराहक्षेत्रमा पर्ने यो धार्मिकस्थल प्राचीन मानिन्छ । यहाँ इन्द्र ब्रह्मा, कोका, सूर्य, बद्री, मुक्तेश्वर, गुरुब्रह्मालगायत १० वटा मन्दिर छन् । हिन्दुहरूका देवता पहाड, गुफा, रूख तथा नदी किनारजस्ता स्थानमा बस्ने गरेको इतिहासअनुसार यहाँ बसेको विश्वास गरिन्छ । यहाँ पनि दसैंजस्ता चाडपर्व र विभिन्न तिथिमा मेला लाग्ने गरेको छ ।

प्रकाशित : आश्विन २४, २०७५ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?