कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पौष्टिकताको पर्व

नेपाली संस्कृतिमा जमराको निकै ठूलो अर्थ छ । हिन्दु ग्रन्थमा पहेंलो रङ शान्ति र सुन्दरताको प्रतीक मानिन्छ ।
कान्तिपुर संवाददाता

विराटनगर — नेपाली संस्कृतिमा जमराको निकै ठूलो अर्थ छ  । हिन्दु ग्रन्थमा पहेंलो रङ शान्ति र सुन्दरताको प्रतीक मानिन्छ  ।

पौष्टिकताको पर्व

अघि नेपालमा मान्छेभन्दा धेरै देवीदेवता, घरभन्दा धेरै मन्दिर र वर्षभरका दिनभन्दा धेरै चाडबाड थिए भनिन्थ्यो । तत्काल मूर्ति, मन्दिर र चाडबाड नेपालका पहिचान थिए । विश्वमा यति धेरै चाडपर्व मनाइने देश अन्यत्र पाइँदैन । प्रत्येक महिना र प्रत्येक दिन केही न केही पर्व परेकै हुने ।

देवताको उत्पत्ति, अवतरण, ठूला व्यक्ति जन्मिएको, क्रीडा गरेको र जनहितमा काम गरेको, रोगव्याधिलगायत अदृश्य शक्तिलाई परास्त गरेको या मानव हितका लागि गरिएको कार्य सफल भएको सबै अवसर हाम्रा चाडबाड हुन् ।

खेतीपातीको काम सकिएको अवस्था होस् या अन्नपात थन्क्याउने समय, सबै चाडबाड मनाउने अवसर मानिन्छन्, नेपालमा । ऋतु परिवर्तन, उँधौली र उँभौलीमा पनि चाडबाड नमनाउने सवाल नै भएन । वर्तमानको शुभ अवस्था तथा भविष्यको सुखसयलको कामना चाडबाडका मुख्य उद्देश्य हुन् ।

आनन्दको सूचक भएकाले नै मानिसले सफलता, सुख, शान्ति र विजय पाएको स्मरणमा चाडबाड मनाउन सुरु गर्‍यो । धेरै चाडबाडको अभ्युदय कहिले भयो भन्ने कुराको खासै प्रमाण पाउन नसकिए पनि चाडबाडहरू मनोरञ्जनसँग सम्बन्धित छन् र तिनीहरूको सांस्कृतिक आधार पनि निकै बलियो हुने गरेको छ ।

चाडबाड धर्मसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुने गर्दछ र अलगअलग धर्मावलम्बीले मनाउने चाडबाडमा विभेद रहने गरेको छ । बेग्लाबेग्लै चाडबाडमा पुजिने देवीदेवता पनि फरक छन् । पर्वअनुसार धेरै चाडबाडका अवसरमा देवीदेवता र केहीमा पितृपूजन हुने गर्दछ ।


चाडबाडको सुरुवात हाम्रा पुर्खाले विभिन्न अवसरमा अज्ञात समयमा गरेका हुन् । नेपालका चाडपर्व घरमा र धार्मिक स्थलमा मनाउने गरी दुई प्रकारका छन् । तिनीहरू ज्यादा मनोरञ्जनात्मक र सांस्कृतिक महत्त्वका पनि छन् । यहाँको सबैभन्दा लामो समय मनाइने चाड दसैं हो । दस दिन मनाइने पर्वका रूपमा यसलाई दसैं भनिएको छ ।

घटस्थापनाबाट देवीको पूजाआराधना सुरु गरी दशमीको दिन विसर्जन गरिने हुँदा दसैं मनाइने मुख्य दसवटा दिनमात्र हुन् । तर व्यवहारमा भने आश्विन शुक्ल प्रतिपदा या घटस्थापनादेखि पूर्णिमासम्म जम्मा पन्ध्र दिनसम्म यो पर्व मनाउने चलन छ । दसैं पनि चैतेदसैं र बडादसैं गरी जम्मा दुई प्रकारका हुन्छन् । लामो समय र हर्षोल्लाससाथ मनाइनेचाहिँ बडादसैं हो ।

नेपालीहरूले चाडपर्व यति धेरै हर्षोल्लासाथ मनाउनुका पछाडि सांस्कृतिक र वैज्ञानिक कारण छन् । दसैंको सुरुवात गर्दाको समयमा अहिलेको जस्तो यातायात तथा सञ्चारको विकास भएको थिएन । तसर्थ उद्योग, व्यापार, शिक्षा, तीर्थयात्रा र रोजगारीका सिलसिलामा परदेश गएको मानिस वर्षौंसम्म घरमा नफिर्न सक्तथ्यो ।

कुनै कारणले यात्री परदेशमा आपतविपत्मा परे या उसको मृत्यु भए पनि परिवार लामो समय बेखबर रहने अवस्था थियो । तसर्थ परदेशमा गएका आफन्त घरपरिवारमा फिर्ने र उसको हालखबर आफन्तले थाहा पाउन सकुन् भनी दसैं मनाउन लागियो । यो पर्व परदेशीको परिवारसँग भेटघाटको माध्यम बन्यो । दसैं मनाउनुको सांस्कृतिक पक्ष पनि मजबुत थियो ।


परदेशमा पुगेर जोखिमी कार्य र यात्रा गर्दासमेत सुरक्षित रहन आफूभन्दा ठूला या मान्यजनको आशीर्वाद आवश्यक थियो, जुन देवीदेवतालाई साक्षी राखेर गर्न आवश्यक ठानिन्थ्यो । यसैको परिपूर्तिका लागि दसैंको समयमा देवीको पूजाआजा गर्ने तथा देवीको प्रसादका रूपमा मीठा खानेकुरा खाने, राम्रा लुगा लगाउने र टीका तथा जमरा लगाएर मान्यजनबाट आशिक लिने प्रचलन थालिएको हो ।

नौ दिनसम्म नवदुर्गाको पूजाआजा गर्नु शक्ति प्राप्तिका लागि थियो । त्यसपछिको टीका विजय पाउने आशीर्वाद तथा देवीको प्रसाद मानिन्थ्यो । दसैंमा देवीलाई पूजाआजा गर्दा जमरा राख्ने चलन बस्यो, जसको पनि सांकेतिक अर्थ छ । जमरा जौको राख्नुपर्ने मान्यता छ । जौ पवित्र अन्न मानिन्छ ।

देवीलाई नौ दिनसम्म पूजाआजा गर्दै जाँदा सुरुमा चढाएको फूल ओइलाउने र कुहिने भएकाले समापनमा ताजा फूलको आवश्यकता थियो । यसका लागि मानिसले जमरा प्रयोग गरे ।

नौ दिनसम्म देवीको पूजाआजा गर्दा क्रमिक रूपमा उम्रिँदै र बढ्दै जाने जमरालाई पवित्र मानियो र देवीको प्रसादका रूपमा यसलाई लगाउने चलन बसाइयो । नेपाली संस्कृतिमा जमरा लगाइने पर्व दसैंमात्र हो, जसको धार्मिक, सांस्कृतिक र मनोवैज्ञानिक महत्त्व हुन्छ ।

नेपाली संस्कृतिमा जमरा ग्रहणको निकै ठूलो अर्थ र महत्त्व छ । हिन्दु धारणामा पहेंलो रङ सौम्यता, शान्ति र सुन्दरताको प्रतीक मानिन्छ । विष्णुले पीत वस्त्र लगाउने मान्यता राखिन्छ भने देवताले सुनकै गहना लगाउँछन् भन्ने मान्यता छ ।

तिनीहरूलाई पीत वस्त्र लगाएको रूपमा प्रस्तुत गर्नुको मूल कारण पनि यही हो । जमरा पहेंलो रङको हुन्छ, जसले सुन्दरता र शान्ति दिने मान्यता राखिन्छ । स्वास्थ्यका लागि अति महत्त्वपूर्ण तथा आवश्यक वस्तुलाई नेपाली संस्कृतिमा पूजा, संरक्षण र सेवन गर्ने चलन छ । जौलगायत अन्नका टुसा या जमरा विभिन्न प्रकारका रोगनाशक भएकाले यसलाई ग्रहणमात्र गर्नाले पनि धेरै प्रकारका रोगव्याधिबाट मुक्त हुन सकिने मान्यता छ ।


घरमा तुलसी रोप्ने संस्कृतिको विकास पनि यसै मान्यतामा भएको हो । दसैंमा लगाइने टीका विजय, आनन्द र हर्षोल्लासको प्रतीक हो । टाढा गएका परिवार सदस्य फिरेर आउँदा हर्षोल्लास हुनु स्वाभाविक छ । तसर्थ त्यसको खुसियालीमा देवीको पूजा आराधना गर्ने चलन चलेको हो । यसको उद्देश्य परदेश गएका आफन्तलाई घरमा फिर्न शक्ति मिलोस् र परदेश जाँदा रोगव्याधि र शत्रुहरूलाई परास्त गर्न सकियोस् भन्ने कामना गर्नु हो ।

वर्षभरिको खेतीपातीको चटारोबाट छुट्कारा पाएपछि दसैं मनाउने गरिन्छ । वर्षाको हिलो, पानी, अन्धकार तथा असहज परिस्थितिबाट छुट्कारा पाउनु तथा लगाएको बालीनाली लहलह हुँदै बाला या दाना लाग्न थाल्नु साँच्चै खुसियालीको क्षण हुने गर्दथ्यो ।

यस खुसियालीलाई चाडका रूपमा मनाउन लागियो, जुन दसैं थियो । अन्धकारको समय सकिएको, अर्को सालका लागि अन्नपात तयार हुन लागेको तथा फुर्सद भएको स्मरणमा सबैभन्दा ठूलो चाड दसैं मनाउने गरिएको हो ।

दसैं हिन्दुको चाड मानिने भए पनि अन्य धर्मावलम्बीमा पनि कुनै न कुनै रूपमा मनाउने चलन छ । दसैं यहाँका आदिवासी जनजातिको मौलिक चाड हो भन्ने राय केही आदिवासी विद्वान्हरूको पाइन्छ । उनीहरूको तर्क छ कि अघि मानिसहरूले आफन्त र सम्पत्तिको सुरक्षाका लागि सधैं अर्को समूहसँग लड्नु पथ्र्यो र त्यसका लागि आफ्ना हातहातियार चुस्तदुरुस्त राख्न आवश्यक पनि थियो ।

तसर्थ तिनीहरू खेतीपातीको काम सकिएपछि आफ्ना हतियार उद्याउने या तिनको खिया हटाउने, देवीलाई पशुबलि दिने तथा त्यसको रगतमा अक्षता मुसेर रातो टीका लगाई युद्धका लागि तयार हुने गर्दथे । यसैको स्मरणमा दसैंमा रातो टीका लगाउने गरिएको हो भन्ने मान्यता उनीहरूको छ । रातो टीका वीरता र विजयको प्रतीक भएकाले उनीहरूले यस्तो तर्क गरेका हुन् ।

यो पर्वमा मनोरञ्जन, देवपूजन, पौष्टिकता, धर्म र संस्कृति सबै पक्ष जोडिएको छ । पिङ खेल्नु मनोरञ्जन, देवपूजन, नयाँ लुगा, टीका तथा जमरा ग्रहण संस्कृति तथा मिठो भोजन गर्नु पौष्टिकता हुन् । देवीको पूजाआजा शक्ति प्राप्ति र सुरक्षाका पक्ष मानिन्छन् । यथार्थमा दसैं नेपाली संस्कृतिभित्र धर्म, संस्कृति, आवश्यकता, मनोरञ्जन, पौष्टिकता, मान्यजन सत्कार र आत्मसम्मान सबै विषयवस्तु समावेश गरिएको चाड हो । यसले पारिवारिक एकताको पनि काम गरेको छ ।

नेपाली समाजमा दसैं मनाउँदा देवीका नाममा पशुबलि दिइने भए पनि सबैमा यो चलन छैन । सांस्कृतिक रूपमा बलिको मतलब देवतालाई चढाउने नैवेद्य या प्रसाद हो, पशुलाई वध गर्नु नै भने होइन । हाम्रा पुर्खाले पशुबलि दिँदा मात्र देवी खुसी हुने गर्दछिन् र सुख तथा शान्ति हुन्छ भनेको पनि होइन । तर मानिसले जे रुचाउँछ, त्यसैलाई समाजले स्वीकार गर्ने कार्य चल्यो र मानिसले मासु सेवनलाई रुचाएपछि त्यसको परिपूर्तिका लागि दसैंजस्ता चाडबाडका अवसरमा देवीलाई पशुबलि दिने परम्परा बसाइएको हो ।

पुराना संस्कृति, साहित्यका ग्रन्थहरूमा देवीलाई पशुबलि दिनुपर्ने उल्लेख कतै पाइँदैन । मानिसले मासु खाने कार्यलाई महत्त्व दिन लागेपछिका ग्रन्थहरूमा मात्र देवीलाई सुरा र मासु सेवन गर्ने मानिएको हो । यसरी पशुबलि पनि मानिसको आवश्यकतास्वरूप चलेको मानिन्छ । यही नेपाली चाडबाड संस्कृतिको विशेषता पनि हो ।

प्रकाशित : आश्विन २४, २०७५ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?