कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देश यात्रा

पछिल्ला वर्ष दसैं मनाउने तौरतरिका बदलिँदै गइरहेका छन् । टीका जमरा, नयाँ लुगा, मीठो खाना, पारिवारिक भेटघाट र मनोरञ्जनमा मात्र सीमित नभई यो पर्व छोटो–लामो घुमफिर र पदयात्राको समेत उपयुक्त अवसर बन्दै गएको छ ।
सुरज कुँवर

काठमाडौँ — पात्रोलाई दसैंले ढपक्कै ढाकिसक्यो । दिन दसैंमय भइसके । बाध्यताले वर्षभर छुट्टिएर बसेका परिवार, आफन्तजन, स्कुले साथीसंगी, दौंतरी घर सम्झेर फर्किने लहर छ । यो सबैलाई एकैथलोमा भेटाउने साइतको पर्व पनि हो ।

देश यात्रा

टाढा भूगोलमा रहेकाहरू यो सिजनमा अनेकन अड्चन छल्दै घर आइपुग्छन् । आफन्त भेट्छन् । जीवनका कथाव्यथा सुन्छन्/सुनाउँछन् । सँगै बेसर मिठोमसिनो खान्कीको स्वाद लिन्छन् । ठूलाबडाबाट आशिष थापेपछि विस्तारै फेरि अर्को दसैंमा भेट्ने वाचा गरी छुट्टिन्छन् । खास दसैं यस्तैयस्तै बसिबियाँलोमा बित्दै आएको छ ।

तर, पछिल्ला वर्ष दसैं मनाउने तौरतरिका बदलिँदै गइरहेका छन् । प्रविधिमा आएको चामत्कारिक विकास, जिल्ला होइन गाउँगाउँ जोड्ने सडकरेखा, पूर्वाधार अनि अन्य अतिथि सत्कारका सुविधाको विस्तारले दसैं घुमफिर, भम्रण, पदयात्रा आदिमा फैलिँदै गएको छ ।

पर्यटकीय गन्तव्यहरूमा दसैंताका घुमफिर गर्ने आन्तरिक पर्यटकको भीडभाड बाक्लै हुन्छ । ‘पहिले दसैं भनेको घर जाने, परिवारसँग बस्ने छरछिमेकमा मात्रै रमाउने पर्व थियो,’ नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले भने, ‘अहिले दसैं भन्नेबित्तिकै धेरै नेपाली भ्रमण, घुमघाममा निस्कन थालेका छन् र यसको गति ह्वात्तै बढ्दो देखिन्छ ।’

‘आममानिस किन र कहिले घुम्छन् ?’ ट्राभलबारे लेखिएका अनलाइनहरूका अनुसार, यो प्रश्नको फिरन्ते मान्छेपिच्छै फरक–फरक जवाफ हुन्छन्/बन्छन् । मानिसहरू जीवनको कुनै मोडमा कुनै न कुनै कारणले भ्रमणमा निस्किन्छन् । त्यो भावनात्मक पनि हुन सक्छ वा कुनै विषयबाट प्रभावित भएर पनि हुन सक्छ ।

अधिकांश मानिसका लागि भ्रमण जीवन बदल्ने टर्निङ प्वाइन्ट पनि हो । किनकि घर छाडेर निस्किनु भनेको मानिसले आफूले आफूलाई चुनौती दिनु हो । नयाँ ठाउँमा देखिने फरक भूगोल, बनोट, बस्ती, संस्कृति, खानपान, कलाले मानिसलाई सोच्न बाध्य बनाउँछ भने सिकाउँछ पनि । कतिपयले यात्रा गर्नुलाई पुनर्जागरण, थकान–तनावबाट मुक्ति दिलाउने उपायका रूपमा लिन्छन् ।

यो पनि भ्रमण किन गर्ने भन्ने प्रश्नका धेरै कारणमध्येको एक हो । तर भम्रण, यात्रा भन्नेबित्तिकै त्यहाँ सुखद कारण हुन्छ । अर्थात् यसलाई सेलिब्रेसनभन्दा पनि हुन्छ ।

अहिले अधिकांश गाउँघर सडकरेखाले जोडिइसकेका छन् । सडक विस्तारसँगै निजी/सार्वजनिक सवारी साधनमा धेरैको पहुँच बढेको छ । टीकाको अघि र पछि केही दिनका लागि परिवार वा साथीसंगीसँग मिलेर फरक अनि नयाँ गन्तव्यमा घुमफिरमा जाने चलन बढेको छ । फेरि पर्यटन बोर्डका सीईओ जोशीकै अनुभवलाई यहाँ लिनु सान्दर्भिक हुन्छ । ५० वटा मुलुक घुमिसकेका उनी भन्छन्, कुनै बेला नेपालमा यस्तो जुग थियो कृषि, शिक्षक र कर्मचारीको जमाना । उनीहरू मात्रै थिए ।

तर, अहिले कर्पोरेटलगायत अन्य पेसागत जिम्मेवारीमा हजारौं नेपाली जागिरे वा कुनै रूपमा जोडिएका छन् । आममानिसको सरकारीको दाँजोमा निजी क्षेत्रका कर्पोरेट हाउस वा आफ्नै उद्यममा बढ्दो सहभागिताले पनि आन्तरिक र बाहय घुमफिर बढेको देखिन्छ । यसै बेला मुद्रा चलायमानको ग्राफ पनि उकालो लाग्छ । अर्थविद्हरू दसैंका बेला प्रतिव्यक्ति नेपालीले औसत खर्च १५ हजार खर्च गर्ने जिकिर गर्छन् । राष्ट्र बैंकले पनि ६५ अर्ब रुपैयाँका नयाँ नोट बजारमा पठाउने भनेको छ । अर्थतन्त्र सहरबाट गाउँसम्म लहराउँछ ।


दसैंमा मनसुनमा जस्तो रुझ्दै/भिज्दै हिँड्नु पर्दैन । नयाँ लुगामा परिवारसँग घुम्नु स्मरणीय इभेन्ट बनिदिन्छ । विकसित मुलुकमा ‘पेड भ्याकेसन’ को व्यवस्था छ । तर, हाम्रो मुलुकमा यो अझै व्यवहारमा आइसकेको छैन । केन्द्रीय र प्रदेश सरकारले इनबाउन्ड वा आउट बाउड ट्राभलको योजना बनाउनेलाई प्रोत्साहन गर्न सकेको पनि छैन । तर, पर्यटन बोर्डले गत वर्ष पहिलो पटक मनाएको घुमफिर वर्ष अनि भूकम्पपछि नेपालीहरू स्वस्फूर्त भम्रणमा निस्किँदै आएका छन् ।

फुर्सदिला मानिसहरू घट्दै जानु अनि व्यवसायीहरू बढ्नुले पनि दसैं र तिहारमा घर छाडेर निस्किनेको जमात बढेको छ । यस पटकको दसैंमा कता जाँदै हुनुहुन्छ ? सायद तपाईंहरूको ट्राभल एडभाइजरी बनिसक्यो होला । तर, पदयात्रासँग सम्बन्धित व्यवसायीको साझा संस्था टानका अध्यक्ष नवराज दाहाल ५ देखि ८ दिनको यात्राका लागि हेलम्बु, लाङटाङ, गोसाइँकुण्ड, अन्नपूर्ण, घोडेपानी, जोमसोम, मुक्तिनाथ, रारा, इलाम उपयुक्त हुने सुझाउँछन् ।


उनी भन्छन्, ‘काठमाडौंवासीका लागि हेलम्बु बेस्ट डेस्टिनेसन हो ।’ हेलम्बु जान नुवाकोटबाट वा मेलम्चीबाट गरी दुई स्थानबाट पस्न सकिन्छ । मेलम्चीसम्म सवारी साधनमा जाने अनि त्यहाँबाट तिम्बु हुँदै सेर्माथाङ, हेलुम्बु, घोप्टेभीर, सुन्दरीजल निस्कन सकिन्छ । लामो बिदामा हुनेले घोप्टेभीरबाट रसुवाको गोसाइँकुण्ड पुगेर धुन्चे, नुवाकोट, ककनी फन्को लगाउन सक्छन् । यो रुटमा तामाङ संस्कृति, खानपानको अनुभव लिन सकिन्छ ।


अर्को चलेको अहिले अन्नपूर्ण रुट हो । यो सदावहार रुटमा पर्छ । हिमालहरू हेरेर आनन्द लिन चाहनेहरूले घान्द्रुक, घोडेपानी हुँदै पुनहिल जान सक्छन् । समय कम्तीमा ५ देखि ८ दिन लाग्छ । गुरुङ संस्कृति र स्थानीय स्वाद यो रुटको विशेषताभित्र पर्छन् । मुख्यगरी हिमालको दृश्वालोकनका लागि यो रुट बेस्ट हुने अध्यक्ष दाहालले बताए । गोल्डन ट्रयांगल भनिने काठमाडौं, पोखरा, चितवन त छँदैछन् । यी रुटमा मनसुनदेखि हिउँदसम्म सधैं आन्तरिक र बाहय पर्यटक हुन्छन् नै । पछिल्लो सरकारी तथ्यांकअनुसार, लुम्बिनी सर्वाधिक पर्यटक पुग्ने गन्तव्य हो । यहाँ पदयात्रा हुँदैन । साइट सिनका लागि उपयुक्त छ ।

काठमाडौंभित्र एक दिनमै सकिने अर्को नयाँ रुटका रूपमा अहिले ककनी–सूर्यचौर–गुर्जे भञ्ज्याङ–झोर रुट हो । दुई साताअघि पर्यटनमन्त्रीसहित करिब ५ सय जनाले यो रुटमा पदयात्रा गरेका थिए । ककनीपछि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको बाक्लो वनबाट हिँड्नुपर्छ । करिब ११ किलोमिटरको पदयात्रामा चराहरूको चिरबिर आनन्ददायी सुनिन्छ । सूर्यचौरमा सानो बजार छ । त्यहाँ क्याम्पिङ वा टी हाउस दुवैको सुविधा छ ।

यो रुट काठमाडौंमा व्यस्त जीवन बिताउनेका लागि उपयुक्त हुने बोर्डका सीईओ जोशीले बताए । त्यसैगरी एकदेखि तीन दिन यात्राका लागि काठमाडौं आसपासका चिसापानी, नगरकोट, नमोबुद्ध, पनौती, चन्द्रागिरी, कुलेखानी पनि उपयुक्त गन्तव्य हुन । सीईओ जोशीले काठमाडौं उपत्यकाभित्र दसैंका बेला ‘ठिमी एक्सप्रोलर’ गर्न सकिने बताए । नेवारी संस्कृतिमा रुचि हुनेका लागि यो सही समय हो । यो बेला भीडभाड पनि हुँदैन ।


तराईंमा दसै आउनुअघिदेखि रामलीला खुबै चर्चामा सुनिने शब्द हो । स्थानीय कलाकारले सार्वजनिक विद्यालय वा बस्ती नजिकै बजारमा रामलीला आयोजना गर्छन् । यो मध्य र पश्चिम तराईमा प्रख्यात छ । नेपालगन्जमा १ सय ५० वर्षदेखि रामलीला मञ्चन भइरहेको छ । त्यहाँका रैथानेले यसपटकको दसैंमा १ सय ५१ औं शृंखला मञ्चन गर्दै छन् । कथामा राम र सीता समेटिन्छन् ।

बाकेबगियाको खुला चौरलाई रामलीला मैदान भनिन्छ, त्यहाँ रावणको वध, धनुष भाँच्ने आदि नाटक रोचक हुन्छन् । भारतको मथुराबाट कलाकार आउँछन् । पश्चिम भेगमा पदयात्रा नजानेका लागि यो ऐतिहासिक प्रोडक्ट हो । नाटक, कलामा रुचि राख्ने बालबालिकाका अभिभावकले आफ्ना सन्तानलाई रामलीला मैदान पुर्‍याउँदा उपलब्धि नै हुनेछ । ‘दुई दशकअघि मधेसतिर रामलीला खुबै सुनिन्थ्यो । अहिले अलि पातलिएको छ, यसलाई हामीले प्रचारमा ल्याउनुपर्छ, यो पहिचान हो,’ सीईओ जोशीले भने ।

कर्णाली प्रदेशले यो वर्षलाई भ्रमण वर्षका रूपमा मनाइरहेको छ । रारा र डोल्पा कर्णालीमा आकर्षक गन्तव्य हुन् । नेपालकै सबैभन्दा उचाइमा पर्ने रारामा एक सातामा कम्तीमा ६ हजार आन्तरिक पर्यटक पुग्ने गरेका छन् । दसैंपछि कर्णाली राजमार्गमा काठमाडौं, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेतबाट बाइकमै युवाहरू पुग्छन् । जसरी जोमसोम मुक्तिनाथमा जान्छन् ।

सरकारले पनि पहिले देश अनि विदेश नारालाई आत्मसात् गर्दै आएको छ । त्यसैले दसैंमा पदयात्रा गर्ने वा बाइकिङ, हाइकिङ तपाईंहरूको इच्छा । दसैंको शुभकामना ।

प्रकाशित : आश्विन २५, २०७५ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?