कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमावर्ती दसैं मेला

जितेन्द्र साह

(जहदा, मोरङ) — निधारमा रातो टीका लगाएका र शिरमा जमरा सिउरेका आदिवासी । वरिपरि लोकनृत्यको गुञ्जन । शक्तिपीठमा श्रद्धालुको ओइरो । भर्खरै हालिएका टहरामा समोसा, कचौरी, छोला, प्याजी, पकोडा, मिठाईको आनन्द लिँदै गाउँले ।

सीमावर्ती दसैं मेला

मोरङका दक्षिणपूर्वी गाउँहरूमा विजया दशमी र एकादशीमा लाग्ने मेलामा यस्ता दृश्य सामान्य बन्छन् । ‘हामीले थाहा पाएदेखि दसैंमा मौलिक वेशभूषामा परम्परागत बाजा बजाउँदै र नाच्दै आएका छौं,’ ४५ वर्षीय वीरेन्द्र मुरमुरले भने ।


जहदा गाउँपालिका–४, रामचोकस्थित दुर्गा मन्दिर अघिल्तिर एकादशी मेलामा मुरमुर आदिवासी सन्थाल समूहको नेतृत्व गर्दै लोकनृत्य प्रस्तुत गरिरहेका थिए । जहदा–२, भीमपुर बेरियाका मुरमुर पेसाले सवारीचालक भए पनि दसैंमा गाउँ आएकै हुन्छन् ।
‘कसैले केही देला भन्दा पनि जातीय परम्परा जोगाउने प्रयास गरिरहेका छौं,’ मुरमुरले भने । उनको समूहमा बालकदेखि वृद्धसम्म छन् । स्वस्फूर्त रूपमा नयाँ पुस्तामा लोकसंस्कृति हस्तान्तरण भइरहेको उनको बुझाइ छ ।


स्थानीय निकायले उत्कृष्ट नृत्य प्रस्तुत गर्ने पहिलो चार समूहलाई पुरस्कृत र अन्य सहभागीलाई कदरपत्र पनि प्रदान गर्छ । ‘सम्मानले प्रोत्साहित गर्छ,’ विक्रम मुरमुरले भने, ‘तर यो नाच हाम्रो पहिचानसँग जोडिएको छ, केही नपाए पनि जगेर्ना गर्नैपर्छ ।’


एकादशीको साँझपख मुख्य सडकको लोहन्द्रा पुल र नजिकै निर्मित काठबाँसको अस्थायी पुलमा मेला भर्न आउनेजानेको लामै लाइन लागिसकेको थियो । आदिवासी सन्थाल नृत्य, मीठो खानपान र दुर्गादर्शनबिना यहाँको दसैं अधुरो हुने गरेको स्थानीय बासिन्दा बताउँछन् ।


आवागमनका क्रममा कच्ची पुल भाँचिए पनि मेला भर्न आउनेको उत्साह कम देखिएन । उपस्थित अधिकांश आदिवासी एवं मधेसी समुदायको निधारमा रातो टीका तथा कान र शिरमा जमरा देखिन्थ्यो ।


कटहरी गाउँपालिकाको नयाँ बजार, कटहरी चोक, धनपालथान गाउँपालिकाको कर्सिया बजार, रंगेली र सुनवर्षी नगरपालिकाका चोकमा पनि दशमी र एकादशीमा विशाल मेला लाग्छ ।


परम्परागत वाद्यवादनसहित भवानीको आराधना हुन्छ । ‘म घटस्थापनादेखि दशमीसम्म ड्रम बजाउँछु,’ जहदा–५ लक्ष्मिनियाँका मकेश्वर रामले भने । उनी जहदाको दुर्गा मन्दिर र कटहरीको दुर्गा पण्डालमा बाजा बजाउँछन् । ‘पारिश्रमिक पाउँछु । नपाए पनि बजाउन छाड्दिनँ । मातामा श्रद्धा छ,’ रामले भने ।


भारतको विहारका सीमावर्ती गाउँसहरका बासिन्दासमेत मेला भर्न वारि आइपुग्छन् । ‘तराई–मधेसमा जस्तो दसैं कतै मनाइन्न भन्ने प्रमाण हो यो,’ सुनवर्षी–६, खिकिरडाँगीका प्राध्यापक चतुर्भुजलाल दासले भने, ‘भिन्न परम्परा बुझ्न कोठाबाट निस्केर मधेसका यी मेला घुम्नुपर्छ ।’ आदिवासी सन्थाल एवं झाँगड समुदायको नृत्यकलाले मेलामा तरंग ल्याउँछ । ‘सबै समुदाय यो नृत्य हेर्न आइपुग्छन्,’ दासले भने । रंगेलीमा बडादसैंमा आदिवासीको सांस्कृतिक झाँकीसहित मेला लाग्छ ।


‘होस सम्हालेदेखि सन्थाल र झाँगड समुदायको नृत्य हेरिरहेको छु,’ मिठाई व्यवसायी ज्ञानु शर्माले भने ।


विजया दशमीमा झाँगड समुदायका महिलापुरुष यहाँका मन्दिरअगाडि नाच्दै बजार परिक्रमा गर्छन् । सन्थाल समुदायबाट भने पुरुष मात्र नाच्छन् । महिलाहरू उनीहरूलाई नाच्न हौस्याउँछन् । ‘दशमी मेला हाम्रो मौलिक पहिचान हो,’ शर्माले भने, ‘फूलपातीदेखि द्वादशीसम्म व्यापार पनि बढी हुन्छ ।’


यी मेलामा बिहानदेखि दिउँसोसम्म चहलपहल केही घटे पनि बेलुकीदेखि रातिसम्म ठूलो भीड लाग्छ । स्थानीय बासिन्दा मेला भर्दै बिहान मात्रै घर फर्कन्छन् । तराईमा दसैं पनि ठूलो सांस्कृतिक उत्सव रहेको यी मेलाले छर्लंग्याउने समाजशास्त्री मुकेश सिंहले औंल्याए ।


‘स्थानीय बासिन्दा धर्म, परम्परा र संस्कृतिप्रति धेरै लगाव राख्छन्, बदलिँदो परिवेशले पनि असर पार्न सकेको छैन,’ उनले भने, ‘शिक्षा, चेतना र प्रविधिले यो भावनालाई झनै मजबुत बनाइरहेको छ ।’

प्रकाशित : कार्तिक ६, २०७५ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?