कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जानकी मन्दिर : भव्य तर भद्रगोल

जनकपुर — विक्रम संवत १४१७ मा भारत, मध्यप्रदेश लोहागढका सुरकिशोर दास सीताको स्वर्णमूर्ति खोज्दै जनकपुर आइपुगे । उनी साधु थिए । सपनामा सीतामाताले 'मेरो स्वर्णमूर्ति जहाँ भेटिन्छ, त्यही नै जनकपुर हो' भनेपछि उनी मूर्तिको खोजीमा निस्केका थिए । सीताको स्वर्णमूर्ति भेटिएको ठाउँमा उनले कुटी बनाए । र, त्यहि बस्न थाले ।

जानकी मन्दिर : भव्य तर भद्रगोल

त्यतिबेला घना जंगलभित्रको सानो बस्ती थियो, जनकपुर । सीताको स्वर्णमूर्ति भेटिएको खबर फिँजिएपछि भारत, मध्यप्रदेशकै टिकमगढकी रानी बृषभानु कुँवर जनकपुर आइन् । उनले सन्तान प्राप्तिको भाकल गरिन् । सन्तान प्राप्तिपछि रानी बृषभानुले झोपरीमा रहेको सीताको मन्दिरलाई आलिशान बनाइदिइन् । ९ लाख चाँदीका असर्फी खर्चेर सन् १८९४ मा शिलान्यास गरिएको जानकी मन्दिरको निर्माण सन् १९११ मा सकियो ।


मुगलशैलीको जानकी मन्दिरको निर्माणपछि जनकपुर घना बस्तीमा परिणत हुन थाल्यो । क्षेत्रफलमा नेपालकै सवभन्दा ठूलो मन्दिर र हिन्दूको पवित्र धर्मस्थल जानकी मन्दिर भने अस्तव्यस्त बन्दै गयो । मन्दिर महन्थको एकल व्यवस्थापनमा रेखदेख भइरहेको जानकी मन्दिरमा दिनहुँ २ हजार भन्दा बढी मानिस पूजाअर्चनाका लागि आउँछन् ।


हेर्दै, आकर्षक र बैभवशाली लाग्ने जानकी मन्दिरको परिसर भने फोहर र अस्तव्यस्त छ । सोमबार विहानैदेखि जानकीको दर्शन र पूजाका लागि मन्दिरमा मानिसको ओइरो थियो । मन्दिर प्रवेशको भित्रि ढोका नै ढाक्ने गरी जुत्ता–चप्पलको चाँङ थियो । जथाभावी जुत्ता–चप्पल फुकालिएकै नजिक रहेको निशुल्क जुत्ता–चप्पल राख्ने स्टोरमा भने ताला लगाइएको थियो । मन्दिर परिसरमै पूजा समाग्री बेच्नेको एकहोरो कोलाहाल । पसलेहरु एकसुरले कराइरहेका थिए, ‘पूजा समाग्री लिएर मन्दिरमा प्रवेश गर्नुस ।’ धेरैले त दर्शनार्थीसम्म पुगेर पूजा समाग्री भिडाउन खोज्थे ।


हिन्दुको धार्मिक आस्थाले जोडिएको जानकी मन्दिरको वाहिरी परिसरमा जताततैं फोहरको डंगूर छ । मन्दिरको भित्रि परिसरमा फोहर र पूजा समाग्री राख्ने कन्टेनरको व्यवस्था रहेपनि वाहिरी परिसर फोहर र धुलोमय छ । मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले जानकी मन्दिर पुग्ने सहरका सबै सडक निर्माणाधिन रहेकाले दर्शनार्थीसंगै धुलो र माटो आइरहेको बताए । ‘सडक नबनेसम्म मन्दिरको बाहिरी परिसरलाई व्यवस्थित गर्न मुस्किल छ,’ दासले कान्तिपुरसंग भने, ‘दैनिक २ हजार भन्दा बढी आउने दर्शनार्थीसंगै निर्माणाधिन सडकको धुलो र माटो मन्दिरमा भित्रिरहेको छ ।’


मन्दिर परिसरको पसलहरु ।


जानकी मन्दिरको पूर्वी–उत्तरी मोहडा भन्दा दक्षिणी र पश्चिमको पछाडीको क्षेत्र बढी फोहर र अव्यवस्थित छ । मन्दिरको दक्षिणी क्षेत्रमा शौचालय रहेपनि बाहिरै पिसाव फेर्नेको ताँती लाग्छ । मन्दिरका उत्तराधिकारी महन्थ दासले सरकारी सहयोगमा मन्दिरलाई दुई वर्षभित्रमा व्यवस्थित र आकर्षक बनाइने दाबी गरे । उनले देखिने गरी परिवर्तन दुई–चार महिनामै सुरु हुने बताए ।


प्रदेश २ को सरकारले जानकी मन्दिरको सौन्दर्यकरणमा अर्को सातादेखि साढे ७ करोड रुपैयाँ खर्चिंदै छ । वाहिरी–भित्रि परिसरलाई आकर्षक र व्यवस्थित बनाउन जानकी मन्दिरमा मार्वल ओछ्याइँदै छ । ‘मार्वल ओछ्याएपछि मन्दिरभित्र रहेको बजार हट्छ,’ उत्तराधिकारी महन्थ दासले भने, ‘जुत्ता–चप्पल लगाएर मन्दिर प्रवेशमा रोक लाग्छ । गाडीको भित्रि प्रवेश रोकिन्छ ।’


उनका अनुसार विशेष अवसरमा आकस्मिक गाडि प्रवेशका लागि मन्दिरको पूर्वी ढोका मात्र प्रयोग हुनेछ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मंसिर १३ गते जानकी मन्दिर सौर्न्दयकरण योजनाको शिलान्यास गर्दैछन् । दासले भने मन्दिरको सौन्दर्यकरण र व्यवस्थापनका लागि मास्टर प्लान नै तयार गरेर कार्यान्वयन गर्नुपर्ने बताए ।


सौन्दर्यकरणका दुई योजना


मन्दिरको सौन्दर्यकरणका लागि सार्वजनिक गरिएको स्केच ।


१ सय ४० वर्ष पुरानो जानकी मन्दिरलाई सौन्दर्यकरण गर्न दुई योजना अघि सारिएको छ । दुबै योजनाको स्केच हेर्दा ‘आहा ! कति सुन्दर जानकी मन्दिर’ भन्न कर लाग्छ ।


प्रदेश २ को सरकार र गैरआवासीय नेपाली संघ (एनआरएन) ले जानकी मन्दिरको सौन्दर्यकरणका लागि योजनासहित लगानी गर्न तयार देखिएको छ । प्रदेश सरकारले साढे ७ करोड रुपैयाँ खर्चेर जानकी मन्दिरमा मार्वल ओछ्याउँदै छ । एनआरएनले करिब ५ करोड रुपैयाँको खर्चमा मन्दिरलाई लाइटिङ जडान गर्ने सम्झौता गरिसकेको छ ।


प्रदेश सरकारले सौन्दर्यकरणपछि देखिने मन्दिरको स्वरुपको स्केच समेत तयार पारेको छ । मन्दिर प्रवेशलाई व्यवस्थित बनाउन नयाँ र आकर्षक गेटको निर्माण गरिने योजना छ ।


गैरआवासिय नेपाली संघ(एनआरएन)ले बिद्युतीयकरण गर्न तयार भएपछि १ सय ४० वर्ष पुरानो जानकी मन्दिर रातको समयमा झकिझकाउ देखिनेछ । मुगलशैलीको जानकी मन्दिरलाई रातको समयमा झकिझकाउ बनाउन एनआरएन र जानकी मन्दिर छुट गुठीबीच सम्झौता भइसकेको छ ।


जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास र एनआरएनका अध्यक्ष भवन भट्टले सम्झौतापत्रमा हस्ताक्षर गर्दै बिद्युतीयकरणले जनकपुरमा पर्यटकको आगमन बढ्ने दाबी गरे । जनकपुरको जानकी मन्दिर मुलुककै ऐतिहासिक, साँस्कृतिक र धार्मिक धरोहर रहेकाले पर्यटकलाई अझ आकर्षित गर्न बिद्युतीयकरण गरिने एनआरएनको भनाई छ । जानकी मन्दिर परिसरमा प्रकाश प्रज्जवलित गर्न एनआरएनले बिस्तृत योजना तयार पारेको छ । जानकी मन्दिरमा गरिने बिद्युतीयकरण सोलर र बिद्युत दुबैबाट सञ्चालित हुने छ । बिद्युत नभएको बेला पनि सोलारबाट जानकी मन्दिरको लाइटिङ कायमै रहने छ । कम बिद्युत खपत हुने एलइडी ब्लव सौन्दर्यकरणमा प्रयोग गरिनेछ । जानकी मन्दिरमा लगाइने लाइटिङसंगै धार्मिक कथावस्तु समेटिएको दृश्य पनि चल्ने छ ।

जानकी मन्दिरमा लाइटिङ लगाउने अभियानको अगुवाई गरेका मनिष झाले पुरातत्व बिभागबाट स्वीकृतसहितको डकुमेन्ट मन्दिरलाई पठाइसकिएको बताए । उनले एनआरएनको आन्तरिक तयारीका कारण लाइटिङको परियोजनामा ढिलाइ भएपनि अव केही दिनमै काम सुरु हुने दाबी गरे । जानकी मन्दिरले भने एनआरएनको लाइटिङ योजनाबारे पछि केही जानकारी नआएको बताउँछन् ।


भद्रगोलले खिन्नता


भारत, पटनाका राजन अग्रवाल छठपर्वमा चार दिन घुम्ने योजनासहित परिवारै बोकेर जनकपुर आए । जनकपुर आएकै दिन जानकी मन्दिर, राम मन्दिरमा पुजाअर्चना गरे । र, साँझ पवित्र तलाउ गंगासागरको आरती हेरेर रमाए ।


तर, जनकपुरको फोहर र जानकी मन्दिर नै ढाँकिनेगरी बनाइएको पन्डाल र अग्ला घरले उनलाई खिन्न बनायो । सहरको बजार पनि उनले ग्राहकमैत्री पाएनन् । राम–जानकी विवाहपञ्चमीका लागि निर्माण भइरहेको बिशाल पन्डालले जानकी मन्दिरलाई ढाकेको छ । अग्रवालको इच्छा थियो, पृष्ठमूमिमा मन्दिर आउने गरी परिवारको तस्बीर खिचाउने । पन्डालका कारण उनले खिचेको तस्बीरमा मन्दिरको पूर्ण कद अटेन । अनि उनले सुझाए, ‘मन्दिरको बैभव नै छेकेर पन्डाल लगाउनुको अर्थ हुन्न । जानकी मन्दिरको दायाँ र बायाँतर्फ रहेको खाली स्थानमा पन्डाल लगाउँनु पर्थ्यो ।’

मन्दिर परिसरमा सुस्ताउँदै ।


साताअघि मात्रै चीनबाट २१ जना फोटोग्राफरको टोली जानकी मन्दिरको पूर्ण कदको तस्बीर खिच्न जनकपुर आइपुगे । तर, मन्दिर अगाडि थुप्रिएको फोहरकच कारण उनीहरुले नाक खुम्चाए । खाल्डैखाल्डा भएको सडकले उनीहरुलाई मन्दिरसम्म पुग्न समस्या पर्‍यो । उनीहरुको योजना थियो, मन्दिरको बाहिरी परिसरमा बच्चालाई रंग–अविर उडाउन लगाएर जानकी मन्दिरको पूर्ण कदको तस्बीर कैद गर्ने । मन्दिरमा बन्दै गरेको पन्डालले उनीहरुको मनसाय पुरा हुन सकेन ।


सीताको जन्मभुमि जनकपुर दर्शनमा आउने पर्यटकको पहिलो गन्तव्य जानकी मन्दिर हुन्छ । मन्दिर परिसरमा पुग्दा पुजापाठपछि मन्दिर अगाडी फोटो खिचाउन सबै चाहन्छन् । तर, धार्मिक प्रवचन र कार्यक्रमका लागि मन्दिर परिसरमा बनाइने पन्डालका कारण पर्यटकले मनलाग्दी तस्बीर खिच्न पाउँदैनन् । पण्डालकै कारण फोटोमा जानकी मन्दिरको पुर्ण भाग आउँदैन ।


जानकी मन्दिर परिसरमा बनाइने पन्डाल, परिसरभित्रै लागेको बजार, मन्दिर परिसरमा भिक्षा माग्नेहरु र विभिन्न धर्म प्रचार गर्ने शैलीले मन्दिरमा दर्शन गर्न आउनेलाई समस्या छ । मन्दिर परिसरमा लाग्ने बजार र पन्डालले पर्यटकमा नकारात्मक असर परेको जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा राख्न अभियान चलाएका भोरका अध्यक्ष राजकुमार महतो बताउँछन् ।


जनकपुरका होटल व्यवसायी अभिषेक झुनझुनवालाले जानकी मन्दिरभित्रको फोहरबारे पर्यटकले गुनासो गर्ने गरेको बताए । ‘जानकी मन्दिरका कारण जनकपुर आउने पर्यटक बढेको छ,’ उनले भने, ‘तर, जानकी मन्दिर वरिपरि फोहरको डंगूर छ । पर्यटकको एउटै गुनासो फोहर नै हो ।’


प्रकाशित : मंसिर ३, २०७५ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?