फोहोरबाट मोहोर

विद्या राई

काठमाडौँ — स्वयम्भुकी सानुमाया महर्जन भान्साबाट दैनिक निस्कने फोहोरलाई कुहिने र नकुहिने गरेर दुई भागमा छुट्याउँछिन् । कुहिने फोहोर जति भेला पारेर मल बनाउँछिन् । उनले दुई खाले मल बनाउँछिन्, पहिलो बिन कम्पोष्टिङ्ग र अर्को भर्मि कम्पोष्टिङ्ग मल ।

‘बिन’ प्लाष्टिकको भाँडो हो। त्यसैमा कुहाएर बनाएको मललाई नै बिन कम्पोष्टिङ्ग मल भनिन्छ। उनी भान्सामा काम नलाग्ने सागसब्जी, फलफुल, खानेकुरालाई भाडोमा जम्मा गर्छिन्। बेला–बेला फोहोरलाई ओल्टाइपल्टाइ गर्ने, हावा, पानी र ठोसको मात्रा मिलाउँछिन्। यसो हुँदा भाडोभित्र सड्न थालेको फोहोर सजिलै मल बन्छ। चुहिने, गन्हाउने, हिलाम्मे हुनबाट जोगिन्छ।

Yamaha

माथिल्लो कौसीमा भर्मि कम्पोष्टिङ्ग मल तयार पार्छिन्। यसलाई गड्यौला मल पनि भनिन्छ। गड्यौलालाई फोहोर खुवाएर पचाएपछि बिष्टाएको पदार्थ नै भर्मि मल हो। कौसीको एकछेउमा चारवटा क्याबिनेट छन्। दुईवटामा नयाँ फोहोर जम्मा हुन्छ। सागसब्जी र फलफुललाई स–साना टुक्रा पारेर गड्यौलालाई खान दिइएको छ। गड्यौलाले बिष्टाएर तयार भएको मल अर्को दुईवटा क्याबिनमा छन्। गड्यौला र मललाई बोरा र प्लाष्टिकले छोपेर हावापानीको मात्रा मिलाइएको छ। त्यसलाई त्रिपालले राम्ररी छोपिएको छ। यसलाई पनि बेला बेला ओल्टाइल्टाइ गर्नुपर्छ।

भान्साबाट निस्कने कुहिने फोहोरमध्ये ‘फ्रेस’ फोहोरलाई भर्मिको लागि प्रयोग गर्छिन्। अन्य सडेगलेका र भर्मिका लागि अनुपयुक्त मललाई बिन कम्पोष्टिङ्ग गर्छिन्। तयारी मल कौसी खेतीमा प्रयोग गर्छिन्। उभ्रेको भर्मि मल प्रतिकिलो ५० रुपैयाका दरले वर्षेनी हजार किलो बिक्रिसमेत गर्छिन्। गड्यौला पनि प्रतिकेजी तीन हजार रुपैयाँसम्ममामा बिक्री गर्छिन्।
घरबाट निस्कने फोहोरलाई मोहोर बनाउने उदाहरणीय पात्र हुन्, उनी। उनले घरैमा यसरी मल बनाउन थालेको झण्डै डेढ दशक हुँदैछ। भन्छिन्, ‘मल तयार पार्नुपनि एक्वैरियमको माछालाई स्याहारे जस्तै हो, समयमा हेरचाह गर्‍यो भने राम्रै फाइदा हुन्छ, नभए बेकारको बिकार बन्छ।’ फोहोरबाट मल बनाउनु सामान्य लागेपनि प्रक्रिया केहि झन्झटिलो छ। जाडो महिनामा मल तयार गर्न तीनदेखि साढे तीन महिना लाग्छ भने गर्मीमा ४५ दिनभित्रैमा बन्छ। उनी दैनिक १० देखि २० मिनेट मलका लागि समय छुट्याउँछिन्।

बिन कम्पोष्टिङ्ग र भर्मि कम्पोष्ट मल बनाउने अवधारणाको करिब १६ वर्षअघि सुरुवात काठमाडौं महानगरपालिकाले थालेको थियो। महानगरमा फोहोरको मात्रा बढेर व्यवस्थापनमा चुनौती थपिएपछि बैकल्पिक समाधान स्वरुपमा यी दुई अवधारणा ल्याएको थियो। घरैमा फोहोरको मल बनाउने रहर भएका तर खुल्ला स्थान नभएका महानगरबासीलाई बिन कम्पोष्टिङ्ग गर्न तालिम तथा जनचेतना जगाउने काम गरेको थियो। महानगरपालिकाले दिएको तालिमबाटै उनले सिकेकी हुन्।

सुरुवातीकालमा ३० प्रतिशत अनुदानमा बिन उपलब्ध गराइन्थ्यो। अहिले ५० प्रतिशत अनुदान छ। हालसम्म महानगरले ८ देखि १० हजार बिन वितरण गरिसकेको छ।

बिन कम्पोष्टिङ्ग पछि भर्मि मलको अवधारणा आयो। २०५५ सालमा भारतको बैग्लोरबाट आइसिनिया फेडिरा जातिको गड्यौला ल्याएर अनुसन्धान गरियो। इच्छुक महानगरबासीलाई आवश्यक तालिम दिएर भर्मि मल बनाउन महानगरले नै हौसाएको थियो। विश्वमा झण्डै तीन हजार बढि प्रजातिका गड्यौला पाइन्छन्। त्यसमध्ये पाँचले मात्रै मल बनाउँछन्।

सिसडोलको ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न समस्या थपिंदै गएपछि फोहोर संकलन गर्दै आएका निजी संस्थाले पनि कम्पोष्ट मल व्यावसायिक रुपमा उत्पादन थालेका छन्। नेपाल प्रदूषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र (नेप्सेम्याक) ले २०५४ बाट फोहोर उठाउन थालेको थियो। कुहिने फोहोरलाई ०५९ सालदेखि मल बनाउन सुरु गर्‍यो। नकुहिने फोहोरलाई पुन:प्रयोग केन्द्रमा लगेर बिक्री गर्छन्। कुल फोहोरको झण्डै २५ प्रतिशत फोहोर पुन: प्रयोग हुने खालका हुन्छन्।

फोहोर कागजलाई प्रशोधन गरेर प्रयोग गर्न मिल्ने कागज तयार पार्छन्। जोरपाटीमा आफ्नै कागज कारखाना छ। भक्तपुरको राधेराधेमा कम्पोष्ट मल बनाउने कारखाना छ। जावलाखेल चिडियाखानामा १० वर्षदेखि कम्पोष्ट मल बनाइरहेको छ। चोभारको १३ रोपनी क्षेत्रफलमा ८ वर्षदेखि कम्पोष्ट मल बनाउदै आएका थिए। फास्टट्र्याकमा परेकोले हटाउन थालिएको छ।

नेप्सेम्याकले काठमाडौं, ललितपुर र भक्तपुरको १० वटा नगरपालिकाबाट दैनिक दुईसय टन फोहोर उठाउँछ। तयारी मल बनाउन दुई महिना जति मेहनत लाग्छ। त्यसमध्ये दैनिक तीन देखि चार टन कम्पोष्टिङ गर्छन्। यहाँ करिब चार सय जनाले रोजगारी पाएका छन्। फोहोर संकलन गर्ने निजी संस्था काठमाडौंमा झण्डै दर्जन छन्।

प्रभावकारी भएन बिन कम्पोष्टिङ
सकेसम्म फोहोर उत्पादन कम गर्न तथा फोहोरबाट मल बनाउन सहुलियत अनुदानमा महानगरले वितरण गर्दै आएको बिन कार्यक्रम भने खासै प्रभावकारी हुन सकेको छैन। ‘कुहिने र नकुहिने छुट्याऊ, कुहिनेलाई कम्पोष्ट मल बनाऊ र कौसी खेती गर भनी बिन दिएका छौं, कमैले मात्र जिम्मेवारीबोध गरेका छन्, धेरैले बिनलाई घरैमा थन्क्याएर राखेका छन्,’ महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला भन्छन्।

महानगरबासीलाई लक्षित गर्दै वातावरण विभाग अन्तर्गत नमुनाको रुपमा स्रोतमा नै फोहोर वर्गिकरण गर्ने, मल बनाउने, पुन:प्रयोग गर्ने कार्यक्रम सञ्चालन तथा अनुगमन गर्न गत वर्ष १० लाख रुपैया खर्चेको थियो। यसवर्ष कुहिने फोहर जन्य मल बनाउन कम्पोष्ट बिन खरीदका लागि ५० लाख रुपैया विनियोजन गरिएको छ।

फोहोर व्यस्थापनका चुनौतीलाई कम गर्न कार्यक्रम ल्याएपनि महानगरबासीहरुले बेवास्ता गरिदिंदा प्रभावकारी नभएको महानगरका अधिकारीहरुको भनाई छ। यसमा पानीको समेत समस्या दर्शाएका छन्। सरसफाई तथा घरायसी काममा प्रयोग गर्न अपुग भैरहेका बेला कौसी खेती गर्न पानीको जोहो हुन नसकेको स्थानीयको गुनासो छ।

‘फोहोर बनाएर मात्रै नहुने, काठमाडौंमा खानालाई त पानी पुग्दैन, मल हालेर कौसी खेती गर्ने पानी कहाँबाट ल्याउनु?’ रहर भएपनि प्राविधिक तथा भौतिक समस्याहरुले बिन कम्पोष्टिङ प्रभावकारी नभएको उनीहरु बताउँछन्।

महानगरले हालसम्म ८ देखि १० हजार बिन अनुदानमा वितरण गरेको बताएपनि कतिले प्रयोग गरिरहेका छन् भन्ने बारेमा महानगर अनविज्ञ छ। धेरै थोरैले मात्रै प्रयोग गरेको अधिकारीहरु स्वीकार्छन्।

घरैमा मल बनाए फाइदै फाइदा
कुहिने र नकुहिने फोहोरलाई छुट्याउने, कुहिनेलाई बिनमा हालेर कम्पोष्ट मल बनाउने र नकुहिनेलाई पुन: प्रयोग गर्ने वा कवाडीलाई विक्री गरी लाभ आर्जन गर्न सकिन्छ। उपत्यकामा दैनिक एक हजार ११ मेट्रिक टन फोहोर उत्पादन हुन्छ। जसमा ६ सय ६ मेट्रिक टन कुहिने फोहोर निस्किन्छ। कुहिने फोहोरलाई घरैमा व्यवस्थापन गर्ने हो भने मात्रै पनि ल्याण्डफिल्ड साइटमा बिसर्जन गर्नुपर्ने फोहोर निकै कम हुन जान्छ। उपत्यकामा प्रदुषणको मात्रा कम हुन सहयोग पुग्ने तथा रोजगार सिर्जना गर्ने नेप्सेम्याकका अध्यक्ष टिकाराम दाहाल बताउँछन्।

कम्पोष्ट मल बनाएर कौसी खेती गर्ने हो भने विदेशबाट तरकारी आयात घट्छ, स्वच्छ ताजा तरकारी सेवन गर्न सकिन्छ, समय र खर्चको बचत हुन्छ, फोहोर उत्पादन पनि घट्छ। ‘आफैंले उत्पादन गरेको तरकारी खाँदा जति सन्तुष्टि लिन सकिन्छ उति नै वरपरको हरियाली वातावरणले पनि आनन्द दिलाउँछ,’ रातोपुलमा कौसी खेती गर्ने दिलिप श्रेष्ठको अनुभव छ। कौसी खेतीबाट चार/पाँच जनाको परिवारलाई पुग्ने तरकारी उत्पादन गर्न सकिन्छ। घरैमा मल उत्पादन गर्दा खर्च गरेर अन्यत्रैबाट किन्नुपर्दैन। रासायनिक मल खरिदमा लाग्ने खर्च पनि कटौती हुन्छ।

प्रकाशित : मंसिर १४, २०७५ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

किशोरी मृत भेटिइन्

गणेश चौधरी

टीकापुर — कैलालीको टीकापुर नगरपालिका–१ ब्लक १६ की १६ वर्षीया पुजा थापा मृत अवस्थामा भेटिएकी छन् ।

घरदेखि करिब २ सय मिटर उत्तरतर्फ एक निर्माणाधीन घर नजिकैको खुल्ला चौरमा शुक्रबार उनको शव भेटिएको हो ।

उनी बिहीबार टीकापुरको ब्लक नं. १२ मा हजुरआमालाई भेट्न भन्दै बिहान १० बजे घरबाट निस्केकी थिइन् ।

मृतक थापा मावली घरमा बसेर जनजागृति मावि सितापुरमा कक्षा १२ मा अध्ययनरत थिइन् । उनका बुवा हर्कबहादुर थापा र आमा कामको सिलसिलामा भारतमा रहेका आफन्तले बताएका छन् ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।

प्रकाशित : मंसिर १४, २०७५ १३:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT