कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एउटा अधुरो हात्तीको कथा

सुनीता साखकर्मी

भक्तपुर — चाँगुनारायण मन्दिरको ढोकै छेउ ढुंगामा बन्दै गरेको एउटा हात्तीको मूर्ति छ । यसलाई स्थानीयहरू ‘सिम धनिगु किसी’ भन्छन् । अर्थात् अधुरो हात्ती । झट्ट हेर्दा बनाउँदाबनाउँदै छाडिएको एउटा ढुंगोजस्तै देखिन्छ यो ।

एउटा अधुरो हात्तीको कथा

मन्दिर आउने भक्तजनले वर्षाैँदेखि यो हात्तीलाई समेत पूजा गर्दै आएका छन् । रोचक के भने, यो हात्ती रातिराति हिँड्छ भन्ने स्थानीयको विश्वास छ । बाबुबाजेले यो हात्तीबारे रोचक किंवदन्तीहरू सुनाएको याद छ स्थानीय रमेश श्रेष्ठसँग ।


उनका अनुसार धेरै कालअघि यो मन्दिर परिसरमा हात्तीको मूर्ति बनाउने निधो भयो । विधि पुर्‍याएर पूजापाठ गरेपछि कलाकारहरूले हात्ती बनाउन थाले । जसै हात्तीको मूर्ति तयार हुँदै गयो, यो हिँड्न थाल्यो । ‘हिँडेर दु:ख दिन थालेपछि यसलाई त्यत्तिकै छोडेर अर्काे बनाएको रे,’ उनले किंवदन्ती सुनाए, ‘तर अहिलेसम्म हामीले भने यो हात्ती हिँडेको देखेका छैनौं । यो एउटा विश्वास मात्रै हो ।’


इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठको मत फरक छ । उनका अनुसार यो हात्तीको प्रतिमा मल्लकालीन समयको हो । त्यति बेला चाँगुनारायण मन्दिर क्षेत्रलाई मल्लकालीन राजाहरूले राजनैतिक अधिकार स्थापित गर्ने थलोको रूपमा प्रयोग गर्थे । यसै क्रममा काठमाडौंका तत्कालीन राजा प्रताप मल्लले चाँगुलाई सैनिक छाउनीको रूपमा प्रयोग गर्न थाले ।


‘यसपछि काठमाडौंका राजा प्रताप मल्ल र भक्तपुरका राजा जगत्प्रकाश मल्लबीच युद्ध सुरु भयो, थुप्रै पटक भएको युद्धमा प्रताप मल्ल विजयी बनेपछि उनले चाँगुनारायण मन्दिरवरपरका भूभागलाई अधीनमा लिई चाँगुमा मूर्तिकला थप्दै गएको पाइन्छ । यही क्रममा राजा जगत्प्रकाशले पुन: आक्रमण गरी प्रतापको सेनादेखि मूर्ति बनाइरहेका कालिगढहरूलाई भगाए । ‘अनि मूर्ति अधुरो रहेको हो,’ श्रेष्ठको दाबी छ ।


प्रताप मल्लले चाँगुनारायणमा राख्न लगाएको मूर्ति भक्तपुर ताथलीको हलाल गाउँबाट लगेको श्रेष्ठ दाबी गर्छन् । उनका अनुसार तत्कालीन समयमा भक्तपुरको पूर्वी क्षेत्र ढुंगा खानीका लागि प्रसिद्ध मानिन्थ्यो । केही वर्षअघि श्रेष्ठले ताथलीको चट्टान अभिलेख पनि पत्ता लगाएका थिए । उनले चाँगुका यी मूर्तिलाई ताथलीको चट्टान अभिलेखसित जोडदै भने, ‘नेपाल सम्वत् ७७८ मा प्रताप मल्लको पालामा कुँदिएको अभिलेखमा यहाँको ढुंगाहरू मन्दिरका गरुड, नारायण, सिंह, हात्ती बनाउन प्रयोग गरिने उल्लेख छ । प्रताप मल्लले यहाँको ढुंगा यताउता गर्न नपाउने र गरेमा पञ्च पापको भागीदार हुनुपर्ने कानुन नै बनाएको पनि अभिलेखमा छ ।’


प्रताप मल्लले यहाँका ढुंगाहरू भक्तपुर मात्रै नभई काठमाडौंमा समेत लगेको हुन सक्ने उनको अनुमान छ । जगत्प्रकाशको आक्रमणपछि काठमाडौंका सेना र कालिगढ रातारात भाग्नुपरेपछि र हात्तीको काम अधुरो रहेको बारे श्रेष्ठले ‘चट्टान अभिलेख र अन्य सम्पदा’ पुस्तकमा उल्लेख गरेका छन् । ‘इतिहासका तथ्यहरू सही रूपमा बाहिर आउन नपाएपछि त्यो किंवदन्तीको रूपमा रहस्यमय बन्दै जान्छ,’ उनले भने, ‘यो अधुरो हात्तीको कथा पनि यस्तै हो ।’

प्रकाशित : मंसिर १६, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?