‘बुलाकीसँग सेल्फी खिच्न्या हो ?’

मधु शाही

बाँके — झुम्के बुलाकी नौलो गहना भइसक्यो । आजकाल यो लगाउने महिला आक्कलझुक्कल भेटिन्छन् । झुम्के बुलाकी लगाउनेको अनुहारको चमकै अलग्गै हुन्छ । नलगाउने भने सेल्फीमै भए पनि रमाउन थालेका छन् ।

तुलसी बुढा र जयासरी राउत

जाजरकोटकी तुलसी बुढा र जयासरी राउतको झुम्के बुलाकीले धेरैलाई आकर्षित गरिरहेको छ । उनीहरूलाई देखेर धेरैले अचेल बुलाकीबारे सोध्छन् र ‘सेल्फी खिच्छौं है बज्यै’ भन्दै मोबाइल तेस्र्याइहाल्छन् ।

Yamaha

खुम्चिएको मुहारमा टलक्क टल्किने बुलाकी र छाते फुलीमा उनीहरू खुलेका देखिन्छन् । कोहलपुर खडगवार गाउँपालिकामा बसोबास रहेका छोराबुहारी भेट्न जयासरी र तुलसी बेलाबखत आउने गर्छन् । ‘यहाँ आएपछि देखे जतिकाले फोटो खिच्छु बज्यै भन्छन्,’ ७५ वर्षीया तुलसीले भनिन्, ‘बजारमा त जानै हुन्न कहिल्यै बुलाकी नदेखेझैं हेरिरहन्छन् ।’ यहाँ यस्ता गहना लगाएका देखिन छाडे । आधुनिक गहनामा आकर्षित भएपछि परम्परागत लोपोन्मुख छन् ।

जयासरी तुलसीकी काकी हुन् । एउटै उमेरका काकी–भतिजी बालकैदेखि छुट्टिएका छैनन् । जहाँ जाँदा पनि सँगै हुन्छन् । हेर्नेका लागि उनीहरूको झुम्के बुलाकी रमाइलो होला । यसमा दुवैका बालापन, जवानी र बितेका क्षणका सम्झना गाँसिएका छन् । तुलसीका लागि आमाले गहुँ बेचेर सानैमा फुली बनाएकी थिइन् । त्यो केटाकेटीमै हराएछ ।

बिहेपछि श्रीमान्को घर आउँदा राम्रै बुलाकी पाइन् । २५ वर्षको उमेर पुग्दा बुलाकीको डिजाइन फेरिएको रहेछ । ‘पातैपाता परेको बुलाकीमा पत्थर जोड्ने चलन चल्न थाल्यो,’ तुलसीले जाजरकोटे लवजमा भनिन्, ‘सबुईले लाउँदा मुलाई’नि रहर लाग्यो ।’ त्यतिबेला ८ मोहरमा आधा तोला सुनको बुलाकी बनाएको उनले बताइन् । तुलसीको नाकमा अझै त्यही बुलाकी छ ।

जयासरीको बुलाकी तुलसीको भन्दा अलिक सानो छ । ‘सुन थोरै छ, उनको भन्दा मेरो बुलाकीमा,’ जयासरीले भनिन्, ‘यिनको नाक अलि ठूलो छ, मेरो भन्दा, त्यसैले सुन थपेकी होलिन् ।’ बुलाकीसित जयासरी र तुलसाको रमाइला क्षण समेटिएका छन् । पोलेको मकै दाँतले कोपर्दा एकपटक बुलाकी नै मुखमा परेको घटना तुलसीले सुनाइन् । जयासरीले बुलाकी धुने बेला सुन टुक्रिएको बताइन् । नाक छोप्ने गरी लगाउँदा उनीहरूलाई कहिल्यै झन्झट लागेन ।

नाकमा बुलाकी नभए कस्तो होला ? यो कुरा तुलसा र जयासरी कल्पनासमेत गर्न चाहँदैनन् । ‘लौ न बुलाकी नभए त नाकै नरहला,’ उनीहरूले भने । गुन्यूचोली, कम्मरमा पटुकी र कपालमा रुमाल बेरेका दुई बज्यैका आफ्नै फेसन छन् जुन अरूसँग मेल खाँदैनन् । अरूभन्दा अलग देखिन्छन् । झुम्के बुलाकीको चलन अहिले विस्तारै हराउँदै गएको दुवैलाई थाहा छ ।

जाजरकोटमा पनि नयाँ पुस्ताले लगाउन छाडे । नातिनातिनालाई काखमा खेलाउँदा पनि त्यही बुलाकीले भुलाउन सजिलो हुन्छ तुलसीलाई । जाजरकोट फर्किएपछि बुलाकी देखेर दंग परेका मान्छेहरूका कुरा छिमेकीलाई सुनाउने गरेको उनी बताउँछन् । देख्नेहरूले फोटो खिच्न प्रस्ताव राखे उनीहरू मख्ख पर्दै खित्का छोडेर हाँस्छन् र भन्छन्, ‘ए, बुलाकीसँग सेल्फी खिच्न्या हो ?’

प्रकाशित : मंसिर १७, २०७५ ०७:३१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्राध्यापक संघ अधिवेशनमा ढिलाइ

कान्तिपुर संवाददाता

काठमाडौँ — चौतर्फी दबाबपछि आगामी पुस ११ का लागि तोकिएको त्रिवि प्राध्यापक संघको अधिवेशन हुनेमा प्राध्यापकहरूले आशंका व्यक्त गरेका छन् ।

हरेक तीन वर्षमा गर्नुपर्ने प्रावधान रहे पनि २०६८ जेठमा चौथो राष्ट्रिय अधिवेशन भएयता अर्को अधिवेशन हुन सकेको छैन । आठ वर्षसम्म संघ चलायमान हुन नसक्दा त्रिवि सिनेटमा प्राध्यापकहरूको आधिकारिक प्रतिनिधित्व हुन सकेको छैन ।

‘तीन वर्षअघि संघको अवधि सकिनेबित्तिकै हामीले सम्मेलन गर्न ध्यानाकर्षण गरायौं र सद्भावपूर्ण ढंगले तयारी पनि भयो,’ तत्कालीन एमालेनिकट प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष यादव लामिछाने भन्छन्, ‘सबै क्याम्पसबाट प्रतिनिधि चयन भई प्रतिनिधि रकमसमेत बुझाइसकेपछि अन्तिम घडीमा स्थगित गरियो ।’

अध्यक्ष लामिछानेले संघको सम्मेलन हुन नसक्दा ६–६ महिनामा हुने त्रिवि सभामा प्राध्यापकहरूको प्रतिनिधित्व हुन नसकेको र हकहितबारे त्रिवि पदाधिकारीले आफूअनुकूल निर्णय गरेको बताए । ‘आगामी पुसमा सम्मेलन डाकिएको छ तर फेरि पनि विश्वास गरिसक्ने वातावरण बनेको छैन,’ उनले भने । प्राध्यापक संघको नेतृत्वमा अहिलेसम्म ६० प्रतिशत प्रजातान्त्रिक विचारधाराका र ४० प्रतिशत प्रगतिशील विचारधाराका शिक्षकको प्रतिनिधित्व रहने गरेको छ ।

तत्कालीन माओवादी केन्द्रनिकट राष्ट्रिय प्राध्यापक संघका महासचिव पूर्ण लामिछानेले संघको अधिवेशन तोकिएको मितिमा हुनुपर्ने बताए । ‘संघको अधिवेशनलाई लक्षित गरी मंसिर २५ भित्र सबै क्याम्पसमा प्रतिनिधि चयन गर्न/गराउन निर्देशन जारी गरिएको छ, अधिवेशन जसरी पनि हुनुपर्ने हाम्रो अडान छ ।’ कांग्रेसनिकट प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष जगत तिम्सिना व्यक्तिगत र राजनीतिक स्वार्थका कारण त्रिवि प्राध्यापक संघ गुज्रिएको बताउँछन् ।

‘वैचारिक प्राध्यापक संघ/संगठनको द्वन्द्व, आन्तरिक स्वार्थले गर्दा त्रिवि प्राध्यापक संघ अघि बढेन,’ तीनवटा नेतृत्व बदलिइसक्नुपर्ने तर हुन नसकेको उल्लेख गर्दै अध्यक्ष तिम्सिनाले भने, ‘अबचाहिँ निकास दिन जरुरी छ ।’ संघको नेतृत्वमा त्रिवि करार सेवामा कार्यरत शिक्षकसमेत छन् ।

संघ विश्वविद्यालयमा कार्यरत शिक्षकको हकहित उठान गर्ने आधिकारिक संस्था हो । त्रिवि नियमावलीअनुसार ६० आंगिक क्याम्पसबाट संघको प्रतिनिधि चयन गरिन्छ । २०६८ को अधिवेशनबाट नेतृत्वमा आएका अध्यक्ष योगेन्द्रनारायण बडबरियाले आफ्नो कार्यकाल बढाएर राजनीतिक गतिविधिमा लागेपछि तीव्र विवादसमेत उब्जिएको छ ।

बडबरिया सिरहाको सूर्यनारायण सत्यनारायण मरवैता क्याम्पस दरबन्दी रहेका सहप्राध्यापक हुन् । उनी कांग्रेसनिकट प्रजातान्त्रिक प्राध्यापक संघका तर्फबाट तीन वर्षका निम्ति संघको नेतृत्वमा आएका हुन् ।

प्रकाशित : मंसिर १७, २०७५ ०७:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT