कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिखरमा महिला 

किम्फ
‘हिमाल चढेका पुरुषहरूले खिचेका तस्बिरहरूमा प्राय: हिमालभन्दा पनि आफ्नो बहादुरी र साहस देखाउँथे । तर यी महिलाहरूले आफूहरूलाई भन्दा पनि हिमाललाई फोकस गरेको मन पर्‍यो ।’
सुनीता साखकर्मी

काठमाडौँ — नामै पपकर्न । खुम्बु ग्लेसियरभित्र पर्ने खतरनाक क्षेत्र ।

शिखरमा महिला 

‘सगरमाथा चढ्दै गर्दा यो क्षेत्रमा सूर्यको किरणले तातेका हिउँका ठूल्ठूला ढिक्काहरू हाँडीमा मकै भुटेजस्तै गरी पड्किन्थे,’ भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा सगरमाथा आरोहणसम्बन्धी तस्बिर प्रदर्शनी हेर्न पुगेकी प्रधानमन्त्री–पत्नी राधिका शाक्यलाई पत्रकार एवं आरोही रोजिता बुद्धाचार्यले साहसिक कथा सुनाइन्, ‘सँगै जानुभएका शेर्पा दाइहरू हिउँसित हामीले गरेको संघर्षको साक्षी हुनुहुन्छ । हिँड्न नसक्दा उहाँहरू हामीलाई याकलाई जस्तै स्योस्यो गरेर हौसला दिनुहुन्थ्यो ।’


रोजिताको यो अनुभव सुनेपछि शाक्य निकै बेर तस्बिरछेउ रोकिइन् । त्यसपछि उनले रोजितालाई भनिन्, ‘मुटु त दह्रो नै रहेछ नानीहरूको । तपाईंहरूको हिम्मतलाई सम्मान गर्छु ।’


राजधानीमा जारी काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) अन्तर्गत पाँच महिला पत्रकारहरूले सगरमाथा आरोहणका क्रममा खिचेका तस्बिरहरू ‘वुमन इन टप’ शीर्षकमा प्रदर्शनीमा राखिएका छन् । आइतबार तस्बिर अवलोकनका लागि प्रधानमन्त्रीपत्नी शाक्य पुगेकी थिइन् । तस्बिर हेरिसकेपछि शाक्यले भनिन्, ‘हामी पनि उमेर भएको भए जानु हुन्थ्यो । जाउँmजाउँm लागेर आयो तस्बिरहरू हेर्दा ।’


केही महिनाअघि महिला पत्रकारहरू रोशा बस्नेत, रोजिता बुद्धाचार्य, कल्पना महर्जन, प्रियालक्ष्मी कार्की र देउराली चाम्लिङले सगरमाथा चढेका थिए । आरोही बस्नेतका अनुसार पपकर्न क्षेत्र एकदमै खतरनाक स्थान हो ।


‘एउटा सानो आइसको ढिक्का खस्यो भने पनि ऐय्या भन्न नपाई मर्छ’ भनेर सँगै गएका शेर्पाहरूले बारम्बार सुनाउँथे । घरको दुई–तीन तला जस्तो हिउँको कडा ढिक्काले थिच्दा कस्तो होला भन्ने सोच्दा उनलाई डर लाग्थ्यो । मध्यरात साढे दुई बजेदेखि हिँडेका उनीहरू आठदेखि दस घण्टामा खुम्बु आइसफल पार गरेर क्याम्प वान पुगे । ‘पपकर्न एरियामा निकै चनाखो भएर हिँडियो,’ उनले भनिन्, ‘यहाँ चढ्न स्टामिना, स्पिरिट, आत्मबलसँगै स्पिडले पनि म्याटर गर्छ । एउटा क्याम्पदेखि अर्काे क्याम्प आठदेखि दस घण्टामा पार गरेन भने आरोहण सफल नहुने रहेछ ।’


प्रदर्शनीमा राखिएका झन्डै पचास तस्बिरहरूमा पाँच महिला आरोहीले हिमाल चढ्न गरेका संघर्षका कथाभन्दा पनि हिमालको अवस्था, व्यवस्था र टेक्निकहरूलाई फोकस गरेको देख्दा खुसी लागेको संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि भ्यालरी जुलियन्टले बताइन् । ‘हिमाल चढेका पुरुषहरूले खिचेका तस्बिरहरूमा प्राय: हिमालभन्दा पनि आफ्नो बहादुरी र साहस देखाउँथे,’ उनले भनिन्, ‘तर यी महिलाहरूले आफूहरूलाई भन्दा पनि हिमाललाई फोकस गरेको मन पर्‍यो ।’


प्रदर्शनीमा आफ्नो भन्दा पनि हिमालका लुकेका पक्षलाई अगाडि राख्ने प्रयास गरेको रोशाले बताइन् । नेपालमा आउने ८० प्रतिशत पर्यटक ट्रेकिङ, हिमाल आरोहण, एडभेन्चर गर्न आउने भएकाले उनीहरूलाई प्रोत्साहन गर्न यो प्रदर्शनीमा भाग लिएको उनले थपिन् । ‘यी पत्रकारले त गर्न सके भने हामीले किन नसक्नु भन्ने सकारात्मक सोच युवामा पलाओस् भन्ने चाहन्छौं,’ उनले भनिन् ।


सगरमाथा चढ्नुअघि रोजिता भाग्यमा विश्वास गर्दिनथिन् रे । तर सगरमाथा पुगेर आएपछि भाग्यमा विश्वास गर्ने भएकी छन् । मेहनतसँगै भाग्य पनि बलियो हुनुपर्छ । रंगकर्मीसमेत रहेकी रोजिताले राति हिँडदा बाटो बिराएकोदेखि हिमखाल्डोमा परेकोसम्म अनुभव सुनाइन् । ‘अब ममा हिम्मत भरिएको छ,’ उनले भनिन्, ‘सगरमाथा साँच्चिकै साहसको प्रतीक रहेछ ।’


रोशाका अनुसार, कतिपय समयमा मानिसकै कारण पनि दुर्घटना हुने गरेको छ । ‘हेलिकप्टरको कम्पन र हावाले गर्दा माथिको हिउँ पहिरो खस्ने सम्भावना धेरै हुन्थ्यो । त्यो बेलामा शेर्पाहरू रिसाउनुहुन्थ्यो,’ पुमरी फेसको हाइक्याम्पमा उडिरहेको हेलिकप्टरको फोटो देखाउँदै उनले सुनाइन्, ‘तर हेलिकोप्टर उडाउनै हुन्न भन्ने होइन । त्यो हेलिकप्टर रेस्क्यु गर्न र सामान पुर्‍याउन आएको हुन्थ्यो ।’


रोशाका अनुसार हिमाल चढदा प्राकृतिक चुनौतीसँगै आफ्नो स्वास्थ्य राम्रो र हँसिलो रहनु पनि चुनौती हो । जतिसुकै राम्रो कौशल र उपकरण भए पनि यदि आरोही हँसमुख भएन, स्वस्थ भएन भने उसको आरोहण राम्रो हुन्न । उनले भनिन्, ‘हाइ अल्टिच्युडको कारण टाउको दुख्नु सामान्य हो, तर त्यसलाई बढ्न नदिन ताता कुराहरू, रेसादार खानेकुरा, क्यालोरी टाइमटेबल फलो गर्दै खानुपर्छ । र साथै, मानसिक रूपमा हट्टाकट्टा हुनु जरुरी छ । नत्र सकिँदैन ।’


फिल्म फेस्टिभलअन्तर्गत आइतबार महिलामा हुने महिनावारीसम्बन्धी डकुमेन्ट्री ‘ब्रेकिङ कोड रेड’ देखाइयो । पश्चिम नेपालका सात युवतीले महिनावारी हुँदा गर्ने गरेका क्रियाकलापहरू उनीहरूकै माध्यमबाट क्यामेरामा कैद गरिएका थिए ।


डकुमेन्ट्री देखाइसकेपछि भएको अन्तरक्रिया कार्यक्रममा डकुमेन्ट्रीकी एक पात्र कञ्चनपुरकी कविता जोशीले आफ्ना अनुभव सुनाइन् । पहिले त गाउँमा कसैले केही भन्ला कि भन्ने डर लागेको थियो रे † उनले बताइन् । त्यसपछि उनीहरूमा परिवर्तन आयो र सात जना मिलेर गत वर्षदेखि महिला विकासका लागि काम गरे । ‘पहिले महिलाहरू घरदेखि टाढाको गोठमा बस्थे, अहिले केही नजिक आएका छन्,’ उनले भनिन्, ‘त्यसैगरी घरमै बस्न थाल्नेछन् र पछि यो प्रथा नै हट्ने विश्वास हामीले लिएका छौं ।’


आइतबारै ‘सोलो रोप्ड पार्टी’, ‘शामन’, ‘टाइम ट्राइल’, ‘रुबिना बाई नाइट’, ‘राशलीला’ र ‘द आब्सेन्स अफ एप्रिकट्स’ फिल्म देखाइए । फेस्टिभल मंगलबारसम्म चल्नेछ ।

प्रकाशित : मंसिर २४, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?