कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्वोच्चबाट पुन: स्थापित स्वास्थ्य सचिव भन्छिन्, 'म पीडाबाट गुज्रिरहेकी छु'

भिषा काफ्ले

काठमाडौँ — शुक्रबार बिहान स्वास्थ्य मन्त्रालयको कोठा नम्बर २०८ को सचिवको कुर्सीमा केदारबहादुर अधिकारी थिए, दिउँसो जाँदा डा. पुष्पा चौधरी । एउटै कुर्सीमा बिहान एक जना र दिउँसो अर्को बस्ने यो दृश्य अनौठो छ । डा. चौधरीसँग सोधियो, बिहान एक जना र दिउँसो अर्को एउटै सचिवको कुर्चीमा बस्दा अनौठो लागेको छैन ?

सर्वोच्चबाट पुन: स्थापित स्वास्थ्य सचिव भन्छिन्, 'म पीडाबाट गुज्रिरहेकी छु'

अहिले स्वास्थ्य मन्त्रालयमा दुई सचिव छन् । डा. पुष्पा चौधरी सर्वोच्चको आदेशमा मन्त्रालयको स्वास्थ्य सचिव छन् भने केदारबहादुर अधिकारी सरकारले प्रशासन सचिवको अस्थायी दरबन्दी बनाएर पठाएका सचिव हुन् ।


सरकारले २८ असोजमा स्वास्थ्य सचिव चौधरीलाई प्रधानमन्त्री कार्यालयमा फाजिलमा राख्ने निर्णय गर्‍यो । सो निर्णय विरुद्ध सर्वोच्च गएकी उनले १६ कार्तिकमा अन्तरिम आदेशमार्फत फाजिलमा राख्ने निर्णय तत्कालको लागि रोक्का गराउन सफल भइन् । पुस ३ गते सर्वोच्चका न्यायधीसद्वय मिरा खड्का र ईश्वरीप्रसाद खतिवडाको इजलासले अन्तरिम आदेशलाई नै निरन्तरता दिएपछि उनी स्वास्थ्य मन्त्रालय गएर सचिवको कार्यकक्षमा बसेकी छन् ।


शुक्रवार बिहान मन्त्रालयको कोठा नम्बर २०८ को सचिवको कुर्सीमा अधिकारी थिए । दिउँसो भने चौधरी थिइन् । एउटै कुर्सीमा बिहान एकजना र दिउँसो अर्को बस्ने यो दृष्य अनौठो छ । बाहिर ढोकामा भने अधिकारीकै नाम प्लेट छ । यही सन्दर्भमा अदालतको आदेश पाएर पुनर्बहाली भएकी सचिव चौधरीसँग कान्तिपुरका लागि भिसा काफ्लेले गरेको कुराकानी:


बाहिर सचिव केदार अधिकारीको नाम प्लेट छ भित्र तपाईँ कार्यकक्षमा हुनुहुन्छ कस्तो लागि रहेको छ ?


अदालतको अन्तरिम आदेश पाएदेखि नै नियमित रूपमा म मेरै कार्यकक्षमा बसिरहेकी छु । उहाँलाई मैले सुरुमा नै भनेकी थिएँ, मेरो दुई तीन दिनमा अदालतबाट डिसिजन भइहाल्छ, त्यतिन्जेल डिस्टर्व नगर्नुहोस् । म कसैले यो स्थान दिएर हैन कानुनी हिसाबले कानुनको सम्मान गर्न बसेकी हुँ । उहाँ आउनसाथ मेरो बोर्ड हटाउनु भयो र आफ्नो राख्न लगाउनुभयो । मैले उहाँको बोर्ड हटाउने भन्दा पनि दुवै जनाको राख्न भनेकी थिएँ । तर प्रशासन हिच्किचायो । अव पर्सी मन्त्री आउनुहुन्छ अनि कुरा होला । मलाई कुनै हतारो छैन ।


बाहिर अर्को मान्छेको नेमप्लेट छ भित्र तपाईँ हुनुहुन्छ अप्ठ्यारो लागेको छैन?


अहिलेको अवस्था सबै अप्ठ्यारो नै छ । कहाँ सजिलो छ र? मैले उहाँलाई धेरै अनुरोध गरेकी थिएँ । म पनि एउटा पीडाबाट गुज्री रहेकी छु र थिएँ । उहाँ मन्त्रिपरिषद्को निर्णय अनुसार आउनुभयो । मलाई उता लगेको थियो, त्यो निर्णय कतिको कानुनी हो त्यो त सबैलाई सर्वोच्चले बताइदियो । उहाँले केही दिन पर्खेर हेर्न सक्नु हुन्थ्यो या सर्वोच्चको आदेश पछि म पुनर्बहाली भएको कुरा पनि उहाँले सोच्न सक्नुहुन्थ्यो । त्यो कुरा मैले उहाँलाई भनेको पनि हो । मलाई तलको एउटा सानो चेपको कोठामा राखियो । अँध्यारो थियो । मैले मानिन ।


अव, स्वास्थ्य मन्त्रालयमा सचिव बिहान केदारबहादुर अधिकारी दिउसो पुष्पा चौधरी हो ?


हेर्दै जाऊँ आइतबारसम्म पर्खौँ केही होला की ।


स्वास्थ्य मन्त्रीले त उहाँलाई नै सबै कामको अख्तियारी दिनुभएको छ, तपाईँ मन्त्रालयमा के गरेर बस्नुहुन्छ ?

मन्त्रीले उहाँलाई अख्तियारी दिनुभएको छैन । मेरो मन्त्रीसँग कुराकानी भइरहेको छ । मैले अहिलेसम्म केही पनि गरेकी छैन । आइतबार केही निकास आउला भन्नेमा छु ।


मन्त्रालयका नियमित काम काज त उहाँले नै गरिरहनुभएको छ नि ?


गरिराख्नु त भएको छ । तर अख्तियारी पाउनुभएको छैन ।

सरकार विरुद्ध सर्वोच्च गएर लड्नुभयो, मन्त्रिपरिषद्को निर्णयलाई नै उल्टाएर पुन: स्वास्थ्य मन्त्रालयमा आउनुभयो, यही बसेर काम गर्न गाह्रो हुन्छ भन्ने लाग्दैन?


सजिलो भन्ने त केही पनि हुँदैन । यो मेरो व्यक्तिगत कुरा होइन । अदालत जानु मेरो व्यक्तिगत भए पनि मुद्दा मेरो मात्र नभएर देशभर काम गर्ने स्वास्थ्यकर्मीको हक हितको कुरा हो किनभने यो सरुवा स्वास्थ्य सेवा ऐनलाई नै मिचेर भएका थियो ।

स्वास्थ्यमन्त्रीको यहाँसँग के कुरामा असहमति भयो?


व्यक्तिगत रूपमा त्यस्तो केही देखिँदैन । उहाँको भन्दा पनि सरकारको नै स्वास्थ्यमा प्रशासनको सचिव ल्याउने चाल मात्र हो ।

प्रधानमन्त्री कार्यालयमा स्वास्थ्य सचिव दरबन्दी नभएकाले जिम्मेवार विहीन हुने भन्दै मुद्दा हाल्नुभयो र स्वास्थ्य मन्त्रालयमा नै पुनर्बहाली हुनुभयो, अव सरकारले त्यहाँ दरबन्दी बनाएर पुन: तान्यो भने के गर्नुहुन्छ ?

अहिले म सबै कुरा भन्न सक्दिन । अहिले अदालतको जुन आदेश छ म त्यही अनुसार काम गर्छु । अदालतको आदेशलाई अवज्ञा गरेर फेरी दरबन्दी थपघटको खेल होला भन्ने लाग्दैन । त्यो वेला के गर्ने भन्ने त्यही बेला निर्णय होला । कानुनी परामर्श गरेर अगाडी बढ्छु । पहिले नै दरबन्दी बनाएर राखेको भए कुरै फरक हुन्थ्यो । अव अदालतको आदेश आइसकेपछि त्यसको औचित्य नहोला । पहिले पनि सरकारले अन्तरिम आदेशलाई मानेन । तर, सरकारलाई अन्तरिम आदेश खारेज होला भन्ने लागेको थियो होला । त्यो भन्दा विपरीत भयो । मैले कानुनसम्मत अदालत गएकी थिए र न्याय पाएकी छु ।

स्वास्थ्य मन्त्रालयमै लामो समय जिम्मेवार विहीन हुने अवस्था आए के गर्नुहुन्छ ?

मैले पर्खिरहेकै छु । मन्त्रीसँग बारम्बार यो विषयमा मैले ध्यानाकर्षण गराइरहेकी छु । मैले अघि नै भनिसकेँ यो व्यक्तिगत कुरा नै रहेन । यो सम्पूर्ण स्वास्थ्यकर्मीहरूको हकहितको कुरा हो । त्यसको लागि जे गर्नुपर्छ त्यसको लागि तयार छु ।

झन्डै दुई महिनादेखिको सचिव र मन्त्रीको टकराबले मन्त्रालयमा कति असर गर्‍यो?


अहिलेको जटिल अवस्थामा यस्तो हुनु दुर्भाग्य हो । अहिले सबै मिलेर आएका अफ्ठ्याराहरुलाई हल गर्नुपर्ने बेलामा आफै एक आपसमा अदालतसम्म पुग्नुपर्ने अवस्था आउनु पक्कै पनि राम्रो हैन । तर मेरोतर्फबाट हेर्दा यो भन्दा विकल्प नै थिएन । निमित्तले नियमित काम गरिरहनु भएकै होला ।

प्रकाशित : पुस ६, २०७५ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?