कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुथु बहालका सँझ्या कथा

‘मल्लकालीन सम्पदा सर्वसाधारणका घरमा भए पनि बहालहरूको पुरानै शैलीमा पुनर्निर्माण गरिनुपर्छ ।’

भक्तपुर — घरको तेस्रो तलामा सँझ्या । एउटा झ्याल बन्द छ, बीचको झ्यालबाट विष्णु लवजू तलतिर नियालिरहेका छन् भने अर्काेबाट सानो कुकुर भुकिरहेको छ । दोस्रो तलामा चाहिँ ससाना प्वाल भएका कलात्मक बुट्टेदार आँखीझ्याल ।

कुथु बहालका सँझ्या कथा

झ्यालको देब्रेतिर कृष्ण मुरली बजाइरहेका छन्, दाहिनेतिर राधा नाचिरहेकी छन् । झ्यालकै मुनि काठेप्लेटमा लेखिएको छ– ‘श्री खौमा टोलु नम्बर ३३’ ।


भक्तपुर दरबार क्षेत्रको पश्चिमपट्टि तापालाछीबाट वंशगोपालतर्फ जाँदै गर्दा ७५ वर्षीय लवजूको यो घरले जोकोहीको ध्यान तान्छ । वरिपरि कंक्रिटका घरहरू ठडिँदै गर्दा यसले भने काष्ठकलाको अनुपम शिल्प प्रदर्शन गरिरहेको छ, वर्षाैंदेखि । लवजूका अनुसार यो घर मल्लकालीन हो ।


उनीहरू यसलाई ‘कुथु बहाल’ पनि भन्छन् । नेपाल भाषामा ‘कुथु’ भनेको तल्लो वा पुछारको हो । पहिले यो घर मल्ल राजखलकको थियो । उनीहरूले बेच्दै गएपछि २६ वर्षअघि लवजूले यो घर पाँच लाख रुपैयाँमा किने । त्यतिखेर उनलाई बढ्दो परिवारका लागि राम्रो घर चाहिएको थियो । घर बिक्रीमा भएपछि उनले एक रोपनी खेत बेचेर चार लाख रुपैयाँ जम्मा पारे ।


‘यस्तो काष्ठकला भएको घर किन्न पाउनु मेरो लागि ठूलो कुरा थियो,’ उनले भने, ‘आफ्नो घर हेरेर आफै मक्ख पर्छु । मेरो पाँच जनाको परिवार यही घरमा बस्दै आएका छौँ ।’


२०७२ को विनाशकारी भूकम्पले मल्लकालीन सम्पदाले युक्त यो घरलाई पनि बाँकी राखेन । पुनर्निर्माणपछि चारतले घर तीनतले भयो, छानामा टायलको सट्टा जस्ता हालिए, चर्किएका भित्ताहरू माटोले टालिए ।


‘तर ढुक्कै बस्ने अवस्था छैन,’ लवजूको लवज मलिन भयो, ‘पुरानो शैलीमा बनाउने अवस्था पनि छैन ।’

उक्त घरको सँझ्यामा दुई झ्याल मात्रै लवजूको भागमा पर्छन् । अर्काे एउटा झ्याल कृष्ण प्रधानांग मल्लको हो । कृष्ण मल्लकालका राजा भुवन मल्लका सन्तान हुन् । उनी १६ औं पुस्तामा पर्छन् । ५१ वर्षे कृष्णका जिजुबाजे हेमबहादुरले सत्तरी रुपैयाँमा यो घर एक शताब्दीपहिले नै किनेका थिए । कृष्णका चार पुस्ताले यहाँ जीवन गुजारिसकेका छन् ।


क्षतिग्रस्त घरलाई धेरैले भत्काउन नभनेका होइनन् । तर प्रधानांगले भत्काएनन् । ‘नभत्काएसम्म त इतिहास बाँच्छ नि !’ उनले भने ।


भक्तपुरमा यस्ता सांस्कृतिक महत्त्व बोकेका सर्वसाधारणका घरहरू धमाधम नासिँदै गइरहेका छन् । बदलामा कंक्रिट घर बन्दै छन् । मन हुनेले पुराना झ्यालढोका हाल्छन्, नहुनेले हालेका छैनन् । खौमा टोलमा मात्रै यस्ता थुप्रै घर भत्किँदै गएका छन् ।


‘भक्तपुरको पहिचान भनेको मठमन्दिर र पाटी पौवा मात्रै हैन, सर्वसाधारणका घरमा भएका अनुपम कलाहरू पनि हुन्,’ प्रकानांगले भने, ‘हामीले मासिदियौँ भने त यसको इतिहास मेटिन्छ । नभत्काई राखे यो संस्कृति बच्छ । भित्र कंक्रिट बाहिर कलात्मक मात्रै भएर कसरी संस्कृति बच्छ ?’


प्रधानांगहरूको घरसँगै रहेको पुरानो कन्या स्कुल सञ्चालित कुथु बहालकै एक अंश फागुनदेखि भत्किँदै छ । तीन सय वर्षअघि बनेको घर अहिले शैली फेरेर कंक्रिटको बनाइँदै गरेकामा उनले दु:खमनाउ गर्दै थपे, ‘हामीले मौलिक प्रविधि चिनेनौं ।’


यही कुथु बहालका केही हिस्सा बाबुकाजी चौगुठीले पनि किनेका छन् । उनको घरभित्र दुई चोक छन्, त्यो मल्लहरूको आगम छेँ (पूजाघर) हो । ५६ वर्षे चौगुठीका अनुसार भूकम्प जानुअघिसम्म दिनहुँ ब्राह्मणहरू आएर त्यहाँ नित्यपूजा गर्थे । तर भूकम्पले जीर्ण बनाएपछि यहाँ कोही आउँदैनन् । घरको भुइँतलामा बेलुका भजनकीर्तन हुन्छ । अनि आक्कलझुक्कल विवाह–व्रतबन्ध समारोहका बेला पूजा गर्न मल्ल समुदायहरू आउने गरेका छन् ।


यो बहाल पहिले सुविधायुक्त रहेको चौगुठीले जनाए । ‘मल्लकालीन बहालमा बाहिर निस्किन नपर्ने गरी चोकभित्रै गणेश देवता, धान, चिउरा कुट्ने प्रविधिदेखि इनारसम्म छन्,’ उनले भने, ‘घरको अगाडि तीनवटा तबेला अझै छन् ।’


उनका अनुसार, मल्लकालीन सँझ्याहरू दुई प्रकारका हुन्थे । सीधा र अलि ढल्केको । उनले बच्चैदेखि सुन्दै आएको किंवदन्ती मान्ने हो भने तत्कालीन मल्लराजाहरूले मन पर्ने रानीका लागि सीधा र अरू रानीका लागि ढल्केको झ्याल बनाउने गरेका थिए । यस्ता बहालहरू छोराहरूलाई मात्रै नभई छोरीहरूलाई पनि दाइजोमा दिन्थे ।


संस्कृतिविद् लीलाभक्त मुनकर्मीको पुस्तक ‘नेपालको सांस्कृतिक तथा ऐतिहासिक दिग्दर्शन’ मा उल्लेख भएअनुसार, रणजित मल्ली विवाहिता रानी वृद्धिलक्ष्मीतर्फका छोरा वीरनरसिंह मल्ल थिए भने ल्याइते पत्नीका तर्फबाट सात राजकुमार थिए । ती सात राजकुमारको नाम ‘बहाले’ भनेर प्रख्यात थियो । ती राजकुमार थिए– मनोरथसिंह, धनसिंह, उपेन्द्रसिंह, अच्युतसिंह, अवधूतसिंह, लक्ष्मीनरसिंह र जयनारायणसिंह मल्ल ।


उनीहरूका लागि रणजितले दरबारको पश्चिमी भागमा थुथु बहाल, दथु बहाल, कुथु बहाल, दुवसी बहाल, शान्त बहाल, खौमा बहाल र नासमना बहाल नाममा भव्य महल बनाइदिएका थिए । यी बहाले राजकुमारसँग उत्तराधिकारीका विषयमा रणजितको सधैं मतभेद भइरहन्थ्यो । रणजितका खास उत्तराधिकारी वीरनरसिंहलाई यी बहाले राजकुमारहरूले रणजित छँदै मारिदिएका थिए ।


गृहकलह भए पनि सात भाइ छोराले राजदरबारको लोभले घर छोड्न सकेका थिएनन् । यता वीरनरसिंहको हत्याले गर्दा राजकाजमा ठूलो चिन्ता भई रणजित उदास रहेका बेला गोरखाका राजा पृथ्वीनारायण शाहले आक्रमण गरी जितेका थिए ।


अर्का संस्कृतिविद् ओम धौभडेलका अनुसार, रणजितले बहालहरू भक्तपुरको दरबारजत्तिकै भव्य बनाइदिएका थिए । यी बहालहरू गोप्य, रहस्यमय, सुरक्षित स्थान रहेको उनले बताए । मल्लकालीन सम्पदा सर्वसाधारणका घरमा भए पनि बहालहरूको पुरानै शैलीमा पुनर्निर्माण गरिनुपर्नेमा जोड दिँदै उनले भने, ‘स्थानीय बासिन्दाले सक्दैनन् भने सम्बन्धित निकाय, सम्पदा संरक्षण गर्ने निकायले यो काम गर्नुपर्छ । पर्यटकीय दृष्टिले पनि यी घरहरू पुरानै शैलीमा निर्माण गराउनुपर्छ ।’

प्रकाशित : पुस ९, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?