कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोनाल्डोको सनसनीपूर्ण ह्याट्रिक

एएफपी

सोची — क्रिस्टियानो रोनाल्डोले सनसनीपूर्ण रूपमा ह्याट्रिक गर्दै पोर्चुगललाई स्पेनविरुद्ध ३–३ को बराबरी दिलाउँदै विश्वकपलाई आफ्नो बिजनेस भएको स्पष्ट पारेका छन् । यसले उनको करिअरमा अर्को उपलब्धि थपेको छ । यो विश्वकपमा उनले गरेको ५१ औं ह्याट्रिक हो ।

रोनाल्डोको सनसनीपूर्ण ह्याट्रिक

रियल म्याड्रिडका सुपरस्टार रोनाल्डोले ८८ औं मिनेटमा फ्रि–किकले युरोपेली च्याम्पियनलाई समूह ‘बी’ को पहिलो खेलमा अंक दिलाएका हुन् । त्यसअघि दोस्रो हाफमा नाचोले स्पेनी टिमलाई ३–२ को अग्रता दिलाएका थिए । पहिलो हाफमा रोनाल्डोले पोर्चुगललाई दुईपल्ट अग्रता दिलाए, जसलाई डिएगो कोस्टाले हरेकपल्ट बराबरी गरिदिएका थिए । स्पेनी टिम ‘ब्ल्याक सी’ मा केही दिनयता तनावपूर्ण रहे पनि कोस्टाले उत्कृष्ट प्रदर्शन गरे ।

स्पेनी प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गरेपछि फर्नान्डो हिएरोले डेब्यू गरे पनि खेलमा रोनाल्डो नायक रहे । पछिल्ला तीन विश्वकपमा तीन गोलमात्र गरेका उनले एकै रातमा प्रतियोगितामा आफ्नो गोलसंख्या दोब्बर बनाए । किशोर छँदाको युरो २००४ देखिका लगातार ठूला आठ प्रतियोगितामा उनले गोल गरे ।

उनी पेले, जर्मनद्वय युवे सिलर र मिरोस्लाभ क्लोजलाई पछयाउँदै चार विश्वकपमा गोल गर्ने चौथो खेलाडी बने । ‘व्यक्तिगत कीर्तिमान राम्रो हो, मेरो करिअरमा अर्को एक थप भएको छ,’ रोनाल्डोले भने, ‘विश्वकप जित्ने दाबेदार टिमविरुद्ध के गर्न सकियो भन्ने नै मेरा लागि सबैभन्दा महत्त्वपूर्ण हो ।’

कर छलेको आरोपमा स्पेनमा २ करोड डलर जरिबाना तिर्न सहमति जनाएको एक घण्टामै रोनाल्डोले ह््याट्रिक गरेका हुन् । तर त्यस जरिवानाबाट रोनाल्डोको ध्यान तोडिएन । उनका सहकर्मी बर्नाडो सिल्भाले खेलपछि भने, ‘जब उनले यस्तो खेल्छन्, तब सबैकुरा सम्भव हुन्छ ।’ रियलका सहकर्मी नाचोले आफैंलाई लडाएपछि पाएको पेनाल्टीमा रोनाल्डोले गोल गर्दै चौथो मिनेटमै पोर्चुगललाई अग्रता दिलाएका थिए ।

स्पेन प्रशिक्षक फर्नान्डो हिएरोले प्रदर्शनप्रति गर्व गरेको बताए । ‘खेलाडीप्रति हामीले धेरै गर्व गर्नुपर्छ । हामीले कठिन अवस्थाबाट खेललाई दबल्न सक्यौं । हामीले आफ्नो गर्विलो विशषेता देखायौं,’ प्रशिक्षकको सीमित अनुभव भएका स्पेनका पूर्वस्टार हिएरोले भने, ‘यो परिपक्व टिम हो । उनीहरूले लामो समयदेखि एकसाथ खेलिरहेका छन् । यसमा खेलाडीसँग खुसी मान्नुपर्छ ।’

विश्वकप २०१० को विजेता स्पेनले पहिलोपल्ट २४ औं मिनेटमा बराबरी गरेको थियो । सेन्टर फरवार्ड डिएगो कोस्टाले पेपेको चुनौती पन्छाउँदै आफ्नै शैलीमा गोल गरेका थिए । पहिलो हाफको अन्त्यमा स्पेनी गोलकिपर डेविड डे हेया रोनाल्डोले २० यार्डबाट गरेको प्रहारमा सिधा आएको बलमा स्पष्ट नभएपछि युरोपेली च्याम्पियन फेरि अगाडि बढेको थियो ।

तर स्पेनले दोस्रो हाफको १० औं मिनेटमै ‘टेक्स्ट बुक सेट पिस काउन्टर’ मा सर्जियो बुस्केटले प्रहार गरेको फ्रि–किकमा कोस्टाले गोल गरेका थिए । त्यसको तीन मिनेटमै नाचोले २२ यार्डबाट गोल गर्दै स्पेनलाई अग्रता दिलाए तर रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अंक दिलाए ।‘क्रिस्टियानोजस्ता खेलाडीविरुद्ध खेल्दा यस्तो हुने गर्छ । जोसँग उनी हुन्छन्, त्यो भाग्यमानी हो,’ हिएरोले भने ।

प्रकाशित : असार ३, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?