फ्रिकिकको गोलमा सर्बियाको जित

रोयटर्स

समारा — एलेक्जेन्डर कोलारोभले कप्तानी प्रदर्शन गर्दै उत्कृष्ट फ्रिकिकलाई गोलमा परिणत गरेपछि सर्बियाले विश्वकपअन्तर्गत समूह ‘ई’ को पहिलो खेलमा आइतबार कोस्टारिकालाई १–० ले पराजित गरेको छ । 

कोस्टारिकाले संयमित भएर डिफेन्स गर्दा सर्बियाको लगातार आक्रमण विफल भएको अवस्थामा कोलारोभले ५६ औं मिनेटमा २५ मिटर टाढाबाट फ्रिकिकमा गोल गरेका थिए ।

Yamaha

सर्बियाले कोस्टारिकालाई खेल अवधिभर दबाबमा राखे पनि थप गोल गर्न भने सकेन । ब्राजिलसम्मिलित समूहमा सर्बियाले महत्त्वपूर्ण ३ अंक हासिल गरेसँगै दोस्रो चरणमा पुग्ने सम्भावनामा थप सहयोग पुगेको छ । खेलको सुरुआतमा दुवै टोलीले लगातार आक्रमण बुने पनि खेल अगााडि बढेसँगै आक्रमणका मुभ पातलिएको थियो । बल पोसेसनमा सर्बियाले मिडफिल्डरद्वय नेमान्जा माटिच र सर्गे मिलिङ्कोभिच साभिचलले सर्बियालाई बलियो स्थितिमा राखेका थिए ।

इटालियन क्लब लाजियोबाट खेल्दै आएका साभिचले धेरै आक्रमण सिर्जना गर्न मदत गरेका थिए । उनले पहिलो हाफमा गोल गर्ने मौका पाए पनि त्यसमा सफल हुन सकेनन् । पहिलो हाफको अन्त्यमा उनको उत्कृष्ट ओभरहेड किक कोस्टारिकाका गोलरक्षक केलर नाभासले बचाएका थिए ।

शारीरिक रूपमा बलिया एलेक्जेन्डर मित्रोभिचले कोस्टारिका डिफेन्सका लागि टाउको दुखाइ बने पनि पाएको मौका भने सदुपयोग गर्न असफल रहे । दोस्रो हाफको सुरुआतमै पाएको मौकामा उनले सोचेजस्तो प्रहार गर्न सकेनन् । यद्यपि उक्त गल्तीले खेलमा सर्बियालाई घाटा भएन । कप्तान कोलारोभले बायाँ खुट्टाले प्रहार गरेको फ्रिकिक विपक्षी वाल र गोलरक्षक नाभासलाई बिट गर्दै गोलमा परिणत भयो ।

प्रकाशित : असार ३, २०७५ २१:३४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

नारायणगढ-मुग्लिन सडकमा पहिरो रोक्नै चुनौती

पहिरो रोक्न १४ करोड खर्चेर ३२ ठाउँमा काम हुँदैछ । दुई ठाउँमा रक बोल्टिङ, नौ ठाउँमा रक नेटिङ र बाँकीमा बायोइन्जिनियरिङ प्रणाली अपनाइएको छ । 
रमेशकुमार पौडेल

चितवन — पछिल्लो तीन वर्षयता मुग्लिन–नारायणगढ सडकका यात्रीले भोगेको कष्ट बयान गरिसाध्य छैन । एसियाली मापदण्डअनुरुप विस्तार गर्ने क्रममा खनिएको सडक बर्खामा हिलोले पार गर्नै मुस्किल थियो । त्यसमाथि पहाड काटिँदा ठाउँठाउँमा पहिरो खस्नु सामान्य हुन पुग्यो । 

रक नेटिङ, बोल्टिङ : पहिरो नियन्त्रणका लागि नाङ्गो पहाडमा रक नेटिङ र रक बोल्टिङको काम हुँदै । तस्बिर : रमेशकुमार पौडेल–कान्तिपुर । 

गत बुधबार उक्त सडकमा पहिलो तहको कालोपत्रे विछ्याउने काम सम्पन्न भएको छ। बिहीबार बिहान भरतपुरको आँपटारी हुँदै मुग्लिनतर्फ निस्कँदा सडक साँच्चै नै हिलो, धूलो र खाल्डोबाट मुक्त देखियो। यो उपलब्धिपछि मुग्लिनस्थित नारायणगढ–मुग्लिन सडक आयोजनाको कार्यालयमा सडक विभागका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठसहितका अधिकारीहरू निकै प्रसन्न थिए।

‘प्रधानमन्त्रीज्यूले अस्ति सय दिनको उपलब्धि सार्वजनिक गर्दा नारायणगढ–मुग्लिन सडकमा जेठ २५ भित्र कालोपत्रे हुने भन्नुभएको थियो। हामीले दुई दिन पहिल्यै पूरा गर्‍यौं,’ श्रेष्ठले भने। अब उक्त सडकमा पहिलेजस्तो अवरोध नहोला त? यसबारे भने आयोजनाका अधिकारीहरू नै ढुक्क छैनन्। पहिरोको जोखिम अझै टरेको छैन। यसपालि पनि सामान्य वर्षामै पहिरो खसेर एकाध–घण्टा बाटो रोकिइसकेको छ।

‘सबैतिर कालोपत्रे भएकाले तत्काललाई बाटो निकै राम्रो छ,’ लु२ख २७४ नम्बर ट्रकका चालक मोहनलाल सुवेदीले भने, ‘तर, ठाउँठाउँमा पहाड काटिएकाले पहिरो खस्ला कि भन्ने चिन्ता लाग्छ।’

यो बाटोमा २३ वर्षदेखि गाडी चलाउँदै आएका उनीसँग पहिरोले १८ घण्टासम्म थुनिनुपरेको अनुभव छ। असार–साउनको झरीमा फेरि त्यही नियति दोहोरिने हो कि भन्ने चिन्ता उनीसँगै आयोजनाका अधिकारीहरूमा पनि देखियो।

२०७२ माघमा मुग्लिनदेखि लगभग पाँच किमि पश्चिम कालीखोलामा ठूलो सुक्खा पहिरो खस्यो। मानवीय क्षति नभए पनि ट्रक कच्याककुचुक भए। १८ घण्टा बाटै रोकियो। सुक्खा पहिरोको त्योभन्दा ठूलो असर २०७३ चैत २१ मा देखियो। घुमाउनेमा खसेको पहिरोमा दुई जनाको ज्यान गएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दियो।

गत वर्ष असार ९ गते राति कालीखोला नजिक पहिरोले प्रहरीको गाडी नै बगायो। दुई जनाको शव घटनास्थलमै र अर्काे शव केही समयपछि नवलपुरमा फेला पर्‍यो। एक प्रहरी अझै बेपत्ता छन्।

आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार गत वर्ष मात्रै ३१४ वटा ठूला पहिरा गए। एकपटकमा २५० घनमिटरभन्दा धेरै बालुवा, माटो, ढुंगा निस्कनुलाई आयोजनाले ठूलो पहिरो मान्ने गरेको छ। यीमध्ये ५३ वटा पहिरो २ हजार घनमिटरभन्दा ठूला थिए। पहिरोका कारण गत वर्ष लगातार ४३ घण्टासम्म बाटो बन्द भएको खनालले बताए।

पहाडबाट ढुंगा बाटोमा खस्दा बिहीबार बिहान सिमलतालभन्दा अघि केहीबेर भए पनि गाडी रोकिएका थिए।तस्बिर : रमेशकुमार पौडेल–कान्तिपुर।
रक नेटिङ र रक बोल्टिङ
पहिरोले अहिलेसम्मकै ठूलो क्षति भएको कालीखोला खण्डमा भेटिए इन्जिनियर प्रकाश भण्डारी। ‘अघिल्लो वर्ष यहाँ त्यस्तो नराम्रो घटना भयो। परिवारले आफ्ना सदस्य गुमाए। अब त्यस्तो घटना दोहोरिन नदिने उद्देश्यले काम गर्दै छौं,’ उनले भने। झन्डै सय मिटर चौडा र दुई सय मिटर अग्लो नाङ्गो डाँडालाई फलामे डन्डीले बाँध्ने काम हुँदै थियो। त्यहाँ पहिरो रोक्न रक नेटिङ र रक बोल्टिङ गरिँदै छ। यसका लागि थुप्रै कामदार एकसाथ परिचालन गरिएका छन्।

‘१० सेमिभन्दा ठूला तर औसतमा साना चट्टानलाई सिधै सडकमा आउनबाट रोक्ने प्रविधि रक नेटिङ हो,’ सूचना अधिकारी शिव खनालले भने, ‘यसमा पहरोमा चार मिटर प्वाल पारेर डन्डी छिराउने र तिनमा ग्याभिन जाली राखेर छोप्ने काम हुन्छ।’ नेटमा धेरै ढुंगा थुप्रिएपछि विस्तारै झिक्न मिल्ने इन्जिनियर भण्डारीले जानकारी दिए।

रक बोल्टिङ भनेको चिरिएका घरभन्दा ठूला ढुंगालाई सडकमा झर्नबाट रोक्ने प्रविधि हो। ‘यसमा ६ देखि ८ मिटर ड्रिल गरेर रड राख्ने र जोखिमपूर्ण चट्टानको ढिक्कालाई स्थिर सतहमा जोड्ने काम गरिन्छ। यसो गर्दा सडकमा आउने सम्भावना भएको चट्टान रोकिन्छ,’ खनालले भने।

२०३६ सालमा चीन सरकारको सहयोगमा बनेको यो सडक बढीमा साढे पाँच मिटर फराकिलो थियो। एसियन हाइवे (एएच–४२) को एक महत्त्वपूर्ण अंश भएका कारण यसलाई नौदेखि ११ मिटर फराकिलो बनाउन नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत सन् २०१५ को अप्रिलबाट काम सुरु भएको हो। त्रिशूली नदी र पहाडको खोंचमा रहेको सडक नदीतर्फ बढाउन सक्ने सम्भावना छैन। त्यसैले पहाडै काट्नुपर्दा पहिरोको जोखिम ह्वात्तै बढेको हो। जोखिम रहेका मुख्य २९ ठाउँमध्ये जलबिरेदेखि चार किलोसम्म ठूला पहिरो गएका छन्।

पहिरो जटिल समस्या बन्दै गएकामा परम्परागत पद्धति बायोइन्जिनियरिङ अर्थात पहाड काटेर खुला ठाउँमा खर, काँस, बाबियो र साना खाले बाँस रोप्ने काममात्र हुँदै थियो। गत साउनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले स्थलगत निरीक्षण गर्दा पहिरो रोक्ने उन्नत प्रविधि अपनाउन सरकारले सहयोग गर्नुपर्ने माग उठ्यो।

त्यसपछि रक नेटिङ, रक बोल्टिङजस्ता प्रविधि अपनाउन सुझाव आएको सूचना अधिकारी खनालले बताए। पहिरो रोकथामका लागि अहिले १४ करोड रुपैयाँ खर्च गरिंदै छ। ३२ ठाउँमा काम भइरहेको छ। आयोजना कार्यालयका प्रमुख रोहितकुमार बिसुरालका अनुसार दुई ठाउँमा रक बोल्टिङ र नौ ठाउँमा रक नेटिङ भइरहेको छ। अन्य ठाउँमा विशिष्ट खालको बायोइन्जिनियरिङ हुँदै छ। काटेको पहाडलाई स्थिर बनाउने (स्लोप स्टेबलाइजिङ) को काम वैशाखबाट सुरु भएको हो। तीन महिनाभित्र काम सक्ने सम्झौता छ।

अहिलेसम्म ३९ प्रतिशत हाराहारी काम भएकामा असारभित्र पूरा भइसक्ने आयोजना प्रमुख बिसुरालले बताए। यद्यपि उनी पहिरो पूरै थामिनेमा ढुक्क हुन सकिरहेका छैनन्। ‘मुग्लिनदेखि नारायणगढतर्फ चार किलो भन्ने ठाउँ र त्यस आसपासको भालु खोला क्षेत्रमा जुन खालको सक्रिय पहिरो छ, त्यसले यो वर्ष पनि पक्कै दु:ख दिन्छ,’ बिसुरालले भने, ‘त्यसलाई रोक्न निकै गाह्रो देखेको छु।’ पहिरो हटाउने यन्त्र–उपकरण ठाउँ–ठाउँमा तयारी अवस्थामा राखिने उनले बताए।


प्रकाशित : असार ३, २०७५ २१:२८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT