कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डिफेन्डिङ च्याम्पियन स्तब्ध

मेक्सिकोसँग जर्मनीको हार
रोयटर्स

मस्को — विश्वकप उपाधिको रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रेको जर्मनी समूह चरणको पहिलो खेलमा आइतबार मेक्सिकोसँग १–० ले पराजित भएको छ ।

डिफेन्डिङ च्याम्पियन स्तब्ध

हर्भिङ लोजानोले काउन्टर अटयाकमा जर्मन डिफेन्सको कमजोरीमा फाइदा उठाउँदै गरेको गोलसँगै मेक्सिकोले ऐतिहासिक जित दर्ता गरेको थियो । मेक्सिकोले जर्मनीविरुद्ध खेलेका १२ खेलमा यो दोस्रो जित हो । जर्मनीले सन् १९८२ को विश्वकपयता पहिलोपल्ट आफ्नो पहिलो खेलमा हार बेहोरेको हो ।

लुजनिकी रंगशालामा खेलको सुरुआती आधा घण्टा मेक्सिकोले जर्मन डिफेन्सलाई चिर्दै केही मौका सिर्जना गरेको थियो । अन्तिम क्षणमा लगातार चुकेको मेक्सिकोका लागि लोजानोले ३४ औं मिनेटमा भने कुनै गल्ती गरेनन् । हाभियर हर्नान्डेजको पासमा पेनाल्टी क्षेत्रभित्रबाट पोस्टको तल्लो कर्नरमा गरेको उनको प्रहार गोलमा परिणत भएको थियो ।

जर्मनीले पहिलो हाफको अन्त्यतिर नै खेल बराबरीमा ल्याउने मौका पाएको थियो । टोनी क्रुसको फ्रिकिकलाई मेक्सिकोका गोलरक्षक गिइलेर्मो ओचोआले पञ्च गर्दै पोस्टमा लागेपछि जर्मन टोली अभागी साबित भयो । दोस्रो हाफमा मार्को रिउसको आगमनसँगै थप बलियो देखिएको जर्मनीले लगातार आक्रमण जारी राख्यो ।

मेक्सिकोका लागि विजयी गोल गरेका हर्भिङ लोजानो

फिनिसिङमा पाएको अवसर सदुपयोग गर्न नसक्दा गोलरक्षक ओचोआ बिरलै व्यस्त भए । मेक्सिकोले अत्तिम समय रक्षात्मक रणनीति अपनाउँदै जर्मनीलाई खेलमा फर्कने मौका दिएन । यस हारसँगै जर्मनी प्रतियोगिता पहिलो चरणबाटै बाहिरिने डर पनि बढेको छ । कमजोर तयारी र विवादले घेरिएको जर्मनीको विश्वकप सेरोफेरोमा यो अर्को खराब क्षण हो ।

समूह ‘एफ’ मा रहेको जर्मनीले जुन २३ मा स्वीडेनसँग खेल्नेछ । त्यही दिन मेक्सिकोको भेट दक्षिण कोरियासँग हुनेछ ।

लुजनिकी स्टेडियममा जर्मनीविरुद्ध जित पाएपछि उत्साही मेक्सिकन समर्थक ।

हारबाट निराश जर्मनीका थोमस मुलर, मारियो गोमेजलगायतका खेलाडी ।

निराश जर्मन समर्थक ।

प्रकाशित : असार ४, २०७५ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?