कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्याराडोनाले गरे आलोचना

एएफपी

ब्रानिट्सी — अर्जेन्टिनी लेजेन्ड डिएगो म्याराडोनाले आइतबार विश्वकप २०१८ मा आफ्नो टिमको प्रदर्शनलाई लिएर चर्को आलोचना गरेका छन् ।

म्याराडोनाले गरे आलोचना

आइसल्यान्डविरुद्धको खेल बराबरीमा टुंगिएपछि टिमका व्यवस्थापक जोर्गे साम्पाओलीलाई इंगित गर्दै म्याराडोनाले भनेका छन्, ‘प्रशिक्षकले आफ्नो रणनीति नफेर्ने हो भने उनलाई देशमा स्वागत गरिने छैन ।’

‘टिमले यसरी नै खेलिरहेको हो भने यी प्रशिक्षक आफ्नो देशमा फर्कन सक्ने छैन,’ सन् १९८६ को विश्वकप विजेता खेलाडीले भेनेजुएलाको टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भने । समूह ‘डी’ को मस्कोमा भएको त्यो खेल १–१ को बराबरीमा टुंगिएको थियो । त्यसमा लियोनल मेसी पेनाल्टीमा गोल गर्नबाट चुकेका थिए ।

‘यो निकै खराब नतिजा रह्यो । अर्जेन्टिनाले आइसल्यान्डका सबै खेलाडी १.९० मिटर अग्ला छन् भनेर पनि त्यसअनुसार रणनीति तयार गर्न सकेनन् । मेरो विचारमा टिममा एकखाले रिस छ,’ म्याराडोनाले भने । उनी अर्जेन्टिनी टिमका पूर्वप्रशिक्षकसमेत हुन् । अर्जेन्टिनाले त्यस खेलमा सर्जियो अगुइरोको गोलले १९ औं मिनेटमा अग्रता लिएको थियो ।

त्यतिबेला स्पार्टाक स्टेडियममा म्याराडोना सिगार खाँदै फुटबल हेरिरहेका थिए । तर पहिलोपल्ट विश्वकप खेलिरहेको आइसल्यान्डले अर्जेन्टिनाले अग्रता लिएको चार मिनेट बित्न नपाउँदै बराबरी गोल फर्काउन सफल रह्यो । आइसल्यान्डका लागि अल्फ्रेड फिन्बोगासनले गोल गरे । मेसीको सफल खेलजीवनमा विश्वकप सफलता भने लेखिन बाँकी छ ।

मेसी ६३ औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्न असफल रहेका थिए । उनको प्रहारलाई आइसल्यान्डका गोलरक्षक हान्स पोर हाल्डरसनले जोगाएका थिए । म्याराडोनाले यसक्रममा मेसीको आलोचना गर्नुको साटो प्रशिक्षक साम्पाओलीमाथि नै प्रश्न खडा गरेका छन् । ‘म खेलाडीलाई दोष दिन चाहन्न,’ म्याराडोनाले भने, ‘मेसीलाई पनि दोष दिनुहुन्न । उनले त सक्दो खेले ।’

उनले थपे, ‘मैले स्पेनमा पाँच पेनाल्टी गुमाएँ, तर पनि म डिएगो म्याराडोना नै रहें । मेसीले पेनाल्टीमा गोल गर्न नसक्नुकै कारण अर्जेन्टिनाले दुई अंक गुमाएको होइन ।’ सन् २०१० को विश्वकपमा अर्जेन्टिनाले म्याराडोनाको नेतृत्वमा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो । यसपल्टको विश्वकपमा अर्जेन्टिनाले अब सेन्ट पिटर्सबर्गमा क्रोएसियाको सामना गर्नेछ ।

प्रकाशित : असार ५, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?