कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

‘जापानको उत्कृष्ट प्रदर्शन’

काठमाडौँ — जापानी टोलीले विश्वकप सुरु हुनु दुई साताअघि मात्र नयाँ प्रशिक्षक अकिरो निशिनो नियुक्त गरेको थियो । कम समयका कारण उनले यसअघि तीन खेलमा मात्र टोलीबारे बुझ्ने मौका पाए ।

‘जापानको उत्कृष्ट प्रदर्शन’

पहिलो खेलमा तीन डिफेन्सको प्रयोग गरेका उनले दोस्रो खेलमा अर्कै रणनीति अपनाए । अन्तिम तयारी खेलमा सबै नयाँ खेलाडी प्रयोग गरेका अकिरोलाई खेलाडीबारे राम्रोसँग बुझ्न सहयोग पुग्यो ।

मैले खेल हेर्दा पछिल्ला प्रशिक्षकभन्दा उनले खेलाएको खेल राम्रो लाग्यो । उनी जापानकै भएकाले पनि लामो समयदेखिका खेलाडी चिन्छन् । उनले जापानिज टोलीको खेल्ने शैलीबारे पनि राम्ररी बुझेका छन् । कोलम्बियाविरुद्ध खेलाडीले पूरै समय डटेर खेले । त्यसैले राम्रो नतिजा निस्केको हो ।

खेलको सुरुआतमै विपक्षी टोलीले रातो कार्ड पाउनुले निकै फाइदा पुग्यो । यदि त्यो निर्णय फरक भएको भए सायद नतिजा पनि अर्कै हुने थियो । जापानको भाग्य भन्नुपर्छ, खेलको सुरुआतमै एक खेलाडी र एक गोलको अग्रता प्राप्त भयो । यसका बाबजुद जापानका खेलाडीले योजनाअनुसार खेल्दै जितसम्म डोर्‍याए ।

दक्षिण अमेरिकी टोलीविरुद्ध एसियाली राष्ट्रले जित दर्ता गर्नु निकै राम्रो संकेत हो । व्यक्तिगत रूपमा खेलाडीको स्तर धेरै फरक भए पनि एकत्रित भएर खेल्दा खासै भिन्नता देखिन्न । राष्ट्रिय टोलीबाट खेल्दा उचित समय पनि पुगेको हुँदैन । सबै टोलीले आफ्नो उत्कृष्ट एघार छनोट गर्न समय लाग्छ र त्यसैमा नतिजा दिनुपर्ने दबाब हुन्छ ।

अर्को चरणमा पुग्ने सम्भावना छ तर सहज भने हुँदैन । पहिलो खेलमा जित हात पारेपछि टोलीको आत्मविश्वास चुलिएको छ । अर्को खेल सेनेगललाई पराजित गरे दोस्रो चरणमा स्थान पक्का हुन्छ । बराबरी खेले अन्तिम खेलसम्म सम्भावना हुनेछ । तर मेरो विचारमा जापानले जितका लागि खेल्छ ।

– कोजी नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक हुन्

प्रकाशित : असार ७, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?