कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आइसल्यान्डसँग सचेत नाइजेरिया

एएफपी

गेलेन्डझिक — नाइजेरियाले शुक्रबार आइसल्यान्डसँग खेल्नेछ । विश्वकप यात्रामा कमजोर सुरुआत गरेको नाइजेरिया विशेषगरी आइसल्यान्डले देखाएको जुझारु प्रदर्शनप्रति सचेत रहेको छ । जेर्नोट रोहरको प्रशिक्षणमा रहेको सुपर इगल्स रुस विश्वकपको सबैभन्दा युवा टोली हो ।

आइसल्यान्डसँग सचेत नाइजेरिया

टोलीका खेलाडीहरूको औसत उमेर २५ वर्ष रहेको छ । नाइजेरियाले विश्वकपको पछिल्ला १३ खेलमा एउटामात्र जित हात पार्न सकेको छ । २०१४ को विश्वकपमा नकआउट चरणमा पुगेको नाइजेरिया यसपटक समूह चरणको पहिलो खेलमै क्रोएसियासँग २–० ले पराजित भएको थियो ।


कालिनिङराडमा ओघेनेकारो इटेबोले गरेको आत्मघाती गोलमा पछाडि परेको नाइजेरियाविरुद्ध लुका मोड्रिजले पेनाल्टीमा दोस्रो गोल गरेका थिए । नाइजेरियाको गोलरक्षकमा १९ वर्षे फ्रान्सिस उजोहो छन् । १६ वर्ष अगाडि फ्रान्सले नाइजेरियालाई पराजित गर्दा उनको बारेमा कोही परिचित थिएनन् ।


‘कहिलेकाहीँ हामी सेट पिसमा अनुभवहीन देखिन्छौं, तर हामीले यसमा मिहिनेत गर्नुपर्ने हुन्छ,’ रोहरले भने । लियोनल मेसीको अर्जेन्टिनालाई पहिलो खेलमा १–१ को बराबरीमा रोकेपछि आइसल्यान्डका प्रशिक्षक हेइमिर हलग्रिमसन उत्साहित मुद्रामा छन् र उनी सहज उदाहरण बनेका छन् । मेसीले आइसल्यान्डले खेल्न नचाहेको आरोप लगाएका छन् । तर विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा गरिरहेको आइसल्यान्डलाई त्यस्तो आलोचनाले खासै फरक पारेको छैन ।


‘हामीले आक्रामक फुटबल खेलेर नतिजा ५–० ले गुमाएको भए उनी खुसी हुन्थे होला । मान्छेको आ–आफ्नै विचार हुन्छ । तर हामी त्यसलाई वास्ता गर्दैनौं,’ आइसल्यान्डका गोलरक्षक हानेस हाल्डोर्सनले भने । भोल्गोग्राडमा हुने नाइजेरियासँगको खेलमा आइसल्यान्ड केही खुलेर खेल्न सक्ने ३४ वर्षे गोलरक्षकले बताउँछन् । उनले एकपछि अर्को बचाउ गर्नुका साथै मेसीको पेनाल्टी पनि रोकेपछि २०१४ को उपविजेता अर्जेन्टिना निराश बनेको थियो ।


‘नाइजेरिया पराजित गर्न कठिन टोली हो, उनीहरू अर्जेन्टिनाभन्दा छिटो र सिधा खेल्छन् । त्यसैले यो धेरै हिसाबमा फरक खेल हुनेछ,’ हाल्डोर्सनले भने । निकै कठिन मानिएको समूहबाट आफ्नो टोली अझै अगाडि बढ्न सक्ने विश्वास रोहरको छ । ‘हामी आइसल्यान्डभन्दा १ अंकमात्र पछाडि छौं र अझै सबै हाम्रो हातमा छ । क्रोएसियाको खेलबाट हामीले अझै सिकौं र अझ राम्रो गरौं,’ बोर्डोका पूर्वप्रशिक्षकले भने ।

प्रकाशित : असार ८, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?