कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इंग्ल्यान्ड नकआउटमा

केनको ह्याट्रिक
रोयटर्स

निझ्नी नोभगोरोड — इंग्ल्यान्डको युवा र आक्रामक टोलीले ह्यारी केनको ह्याट्रिकसहित आइतबार पानामामाथि ६–१ को जित हात पार्दै विश्वकपको अन्तिम १६ मा पुगेको छ । इंग्ल्यान्डले विश्वकपमा सबैभन्दा ठूलो विजय हात पार्दा दुई पेनाल्टी गोलको सहयोग लियो, दुवै पेनाल्टीलाई केनले सदुपयोग गरेका थिए ।

इंग्ल्यान्ड नकआउटमा

अर्को गोल केनको कुर्कुच्चामा डिफ्लेक्सन भएर आएको थियो । यो सँगै केन जारी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनिसकेका छन् । टयुनिसियाविरुद्ध पनि दुई गोल गरेका केनले बेल्जियमका रोमेलु लुकाकु र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई पछाडि पारिसकेका छन् । लुकाकु र रोनाल्डोसँग समान ४ गोल रहेको छ ।

समूह ‘जी’ बाट इंग्ल्यान्ड र बेल्जियम नकआउट चरणमा पुगेका छन् । दुवैले पहिलो दुई खेल जित्दा समान गोलभिन्नता रहेको छ । यी दुई टोली अर्को साता समूहको अन्तिम खेलमा प्रतिस्पर्धा गर्दै छन् । पहिलोपल्ट विश्वकप खेलिरहेको मध्यअमेरिकी टोली पानामाले २ खेलमा ९ गोल खर्चिसकेको छ । टोली टयुनिसियासँगै समूह चरणबाटै बाहिरिसकेको छ । विश्वकपमा पानामाको तर्फबाट पहिलो गोलका रूपमा ७८ औं मिनेटमा बैकल्पिक खेलाडी फिलिप बालोयले गरेको गोल रह्यो ।

हालैका अन्तर्राष्ट्रिय प्रतियोगितामा इंग्ल्यान्ड अन्तिममा आएर कमजोर देखिने गरेको थियो । तर पानामासँगको खेलमा टोलीले मध्यान्तरमै ५–० को अग्रता बनायो । रक्षक जोन स्टोन्सले आठौं मिनेटमै कर्नरमा आएको बलमा हेड गरी इंग्ल्यान्डको खाता खोले । २२ औं मिनेटमा जेसी लिङ्गार्डलाई फिडेल इस्कोबारले लडाएपछि प्राप्त पेनाल्टीमा केनले गोल गरे ।

लिङ्गार्डले ३६ औं मिनेटमा पेनाल्टी बक्सबाहिरबाट उत्कृष्ट गोल गरी ३–० को अग्रता बनाएको ४ मिनेटपछि स्टोन्सले चलाखीपूर्ण फ्रिकिकमा आएको बलमा चौथो गाल गरे ।

मध्यान्तरको ठीकअगाडि केनले पेनाल्टीमा पाँचौं गोल थपे । रुबेन लाफ्टस चेकको प्रहार केनको खुट्टामा लागेर डिफ्लेक्ट भएपछि टोटेनहमका स्ट्राइकरको ह्याट्रिक पूरा भएको थियो ।

व्यक्तिगत तीन गोल गरेलगत्तै केनको स्थानमा जेमी भार्डीलाई परिवर्तन गरिएको थियो । इंग्ल्यान्डका कप्तान केनले विश्वकपमा पोस्टमा प्रहार गरेको पाँच आक्रामण नै गोल भएको छ । जेफ हस्र्टले १९६६ को विश्वकप फाइनल र ग्यारी लिनेकरले १९८६ मा पोल्यान्डविरुद्ध ह्याट्रिक गरेयता केन विश्वकपमा इंग्ल्यान्डका ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् ।

प्रकाशित : असार ११, २०७५ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?