कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

[विश्लेषण] अर्जेन्टिनालाई अझै गाह्रो 

नवीन न्यौपाने

काठमाडौँ — अर्जेन्टिनाका लागि सोमबार राति नाइजेरियाविरुद्धको खेल निकै महत्त्वपूर्ण थियो, किनभने यसले नै विश्वकप २०१८ मा उसको यात्रा निर्धारण गर्ने तय थियो । त्यसैले समूह ‘डी’ को यो खेल अगाडि अर्जेन्टिना निकै दबाबमा थियो ।

[विश्लेषण] अर्जेन्टिनालाई अझै गाह्रो 

अर्जेन्टिनामाथि जित्नै पर्ने दबाब थियो । यो दबाब टिममा मात्र थिएन, सायद त्यो भन्दा पनि चर्को दबाब कप्तान लियोनल मेसीमाथि थियो ।

यस्तै परिस्थितिमा अर्जेन्टिनाले नाइजेरियाविरुद्ध बल नियन्त्रणमा राखेर आक्रमण गर्ने रणनीति लियो । यसअघिका दुई खेलको तुलनामा अर्जेन्टिनाले यसपल्ट धेरै राम्रो खेल्यो पनि । खराब प्रदर्शनको आरोप झेलिरहेका लियोनल मेसीले पनि यो खेलमा राम्रो गरे । उनकै गोलको मदतले अर्जेन्टिनाले सुरुआती अग्रता लिन सफल रह्यो ।

उनले १४ औं मिनेटमा गोल गरेका हुन् । यो गोलपछि उनमा दबाब कम भएको महसुस गरेको हुनु पर्छ र यो खेलको क्रममा उनको अनुहारबाट प्रस्टै देखिन्थ्यो । उनले गरेको गोल पनि आफैमा उत्कृष्ट थियो । नाइजेरिया भने बलियो रक्षापंक्ति राख्दै काउन्टर–एटयाकमा जोड दिइरहेको थियो । यसैक्रममा उसले पेनाल्टी पनि पायो र गोल पनि गर्‍यो ।

खेलको निर्णायक गोल भने मार्कोस रोजोको नाममा रह्यो, त्यो पनि ८६ औं मिनेटमा । त्यसयता नाइजेरियासँग खेलमा फर्कने समय नै थिएन् । जितसँगै अन्तिम १६ को चरणमा प्रवेश गरेयता अर्जेन्टिनाले धेरै राहत महसुस गरिरहेको हुनु पर्छ । तर नकआउट चरणमा अर्जेन्टिनाले लिग चरणमा जस्तै खेल्ने हो भने टिमलाई निकै गाह्रो हुने तय छ ।

यसै समूहको अर्को खेलमा क्रोएसियाले आइसल्यान्डलाई २–१ ले हरायो । क्रोएसियाले यो खेल विना कुनै दबाब खेलेको थियो र यसका लागि आफ्नो केही नयाँ खेलाडीलाई पनि मौका दिएको थियो । तर पनि क्रोएसिया जित निकाल्न सफल रह्यो । नाइजेरिया र आइसल्यान्ड घर फर्कने छन् र तिनलाई यो तथ्यमा दु:ख हुनेछ ।

यसअघि समूह ‘सी’ मा फ्रान्स र डेनमार्कले गोलरहित बराबरी खेले । दुवै टिमले यो खेलमा बराबरी खेल्ने मनसायले मैदानमा उत्रेको जस्तै देखियो । दुवै टिमले पर्याप्त आक्रमण गर्न गरेनन् । यसै समूहको अर्को खेलमा अस्ट्रेलिया पेरुको हातबाट पराजित रह्यो । पेरु यसअघिका दुई खेलमा पराजित रहेर प्रतियोगिताबाट बाहिरिसकेको थियो ।

अस्ट्रेलियासामु भने अझै मौका थियो, नकआउट चरण पुग्ने । तर यसमा पेरु नै विजयी रह्यो, २–० ले । त्यसैले अस्ट्रेलियाका लागि पनि यो निराशाजनक नतिजा रह्यो । यो खेलको सामान्य विश्लेषण के रह्यो भने दुवै टिमले यस खेलमा अवसर सिर्जना गरे । खालि फरक के भन्दा पेरुले ती मौकाको सदुपयोग गर्न सक्यो, अस्ट्रेलियाले भने सकेन ।


(न्यौपाने राष्ट्रिय टिमका पूर्व खेलाडी हुन्। उनी हाल त्रिभुवन आर्मी क्लबका प्रशिक्षक छन्। उनले केही समय अगाडि मात्र एसियाली फुटबल महासंघको प्रशिक्षक ‘ए’ लाइसेन्स कोर्स उतीर्ण गरेका छन्।)

प्रकाशित : असार १३, २०७५ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?