[विश्लेषण] जापान भाग्यमानी सावित

नवीन न्यौपाने

काठमाडौँ — विश्वकप २०१८ मा बिहीबारदेखि लिग चरणका खेल समाप्त भए । अब अन्तिम १६ मा पुग्ने सबै टिमको निर्णय भइसकेको छ । बिहीबार अन्तिम दुई समूहमा लिग चरणका अन्तिम खेल थिए ।

समूह ‘एच’ बाट कोलम्बिया र जापान दोस्रो चरण पुग्ने । कोलम्बियाले लिग चरणको यात्रालाई सुखद अन्त्य गरेको छ, पहिलो खेल हारेर पनि ।

Yamaha

जापान भने भाग्यमानी रह्यो, फियर–प्लेको नियममा रहेर सेनेगलसँग समान अंक र गोल अन्तरमा पनि अर्को चरण पुग्यो । सेनेगेलका लागि स्थिति दुखद रह्यो । कोलम्बियाले सेनेगललाई १–० ले हरायो । सेनेगललाई त्यो खेल जित्नु थियो, अथवा बराबरीले पनि फाइदा गर्न सक्थ्यो । त्यसैले उसले सायद सुरक्षित रहेर खेल्न ठीक सम्झे जस्तै देखिन्छ ।
यसक्रममा सेनेगलले आक्रामणहरू बुनेपनि त्यो निर्णायक हुन सकेन । उसले कप्तान सादिओ मानेलाई लक्ष्यमा राखेर लामो लामो पास खेलिरहेको थियो । फेरि कोलम्बियाको डिफेन्स पनि मजबुत छ, यसलाई तोड्न सजिलो छैन । कोलम्बियाका लागि येरी मिनाले गरेको गोल उत्कृष्ट थियो । अर्को खेलमा पोल्यान्डले जापानलाई १–० ले नै हरायो ।

जापानले यो खेल बराबरीका लागि खेलेको जस्तो देखिन्थ्यो । खासै जोखिम उठाइरहेको थिएन् । जापानले एक गोल खाएपछि अझ सुस्त खेलेको देखियो । यता पोल्यान्डले पनि एक गोल गरेपछि थप आक्रमणका लागि प्रयास गरेको देखिएन् । उसलाई पनि एक जितसँग घर फर्कनु राम्रो थियो । पोल्यान्डको रणनीति पनि दबाबमा नआउने जस्तै देखियो ।

उसले प्रायस् आफ्ना प्रमुख खेलाडी रोबर्ट लेवनडोस्कीतिर बल पास मिलाउन खेलिरहेको जस्तो देखिन्थ्यो । हिजो नै राति समूह ‘जी’ का खेल पनि भए । यस समूहबाट बेल्जियम र इंग्ल्यान्ड यस अगाडि नै दोस्रो चरण पुसिसकेको थिए । यस्तोमा यी दुई टिमको खेल समूह कसले जित्ने हो भन्ने बारे नै थियो । यसमा बाजी मार्‍यो, बेल्जियमले ।

बेल्जियम १–० ले विजयी रह्यो । उसले आफ्ना प्रमुख खेलाडीलाई आराम दिएको थियो । ट्युनिसिया र पानामाबीचको खेल प्रतिष्ठाको लडाइ थियो, यसमा ट्युनिसिया विजयी रह्यो । पानामाले सुरुमै अग्रता लिएर पनि त्यसलाई बचाउन सकेन । दुवै यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको हुँदा यसै मानसिकताले उनीहरूको खेललाई प्रभावित पारेको देखियो ।

(न्यौपाने राष्ट्रिय टिमका पूर्व खेलाडी हुन्। उनी हाल त्रिभुवन आर्मी क्लबका प्रशिक्षक छन्। उनले केही समय अगाडि मात्र एसियाली फुटबल महासंघको प्रशिक्षक ‘ए’ लाइसेन्स कोर्स उतीर्ण गरेका छन्।)

प्रकाशित : असार १५, २०७५ ०७:४१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

[विश्लेषण] जर्मनी बाहिरिनु स्तब्धपूर्ण

नवीन न्यौपाने

काठमाडौँ — विश्वकप २०१८ मा जर्मनी उपाधिको एक प्रवल दाबेदर थियो । त्यसमाथि डिफेन्डिङ च्याम्पियन पनि । तर जोचिम लोको यही टिम लिग चरणको समाप्तिमा घर फर्कने भएको छ र यो धेरै फुटबल प्रशंसकका लागि स्तब्धपूर्ण नतिजा भएको छ ।

बुधबार राति समूह ‘ई’ मा जर्मनीलाई कुनै पनि स्थितिमा खेल जित्नु थियो, तर मेरो दृष्टिकोणमा टिम जित्ने मनसायले मैदानमा उत्रेकै देखिएन।

जर्मनीले दक्षिण कोरियामाथि लगातार आक्रामक त बन्यो, तर यो आक्रमण विपक्षी टिमको पेनाल्टी एरियामा भन्दा मिडफिल्डमा बढी केन्द्रित रह्यो। जर्मनीसँग राम्रा स्ट्राइकरको स्पष्ट कमी देखियो। यसपल्टको विश्वकपबाट जर्मनी बाहिरिनुको कारण ‘ल्याक अफ स्ट्राइकर’ प्रमुख कारण रह्यो। जर्मनीको ‘फिनिसिङ’ वास्तवमै कमजोर देखियो।

दक्षिण कोरियाका लागि २–० को जित ऐतिहासिक रह्यो, भलै एसियाको यो टिम दोस्रो चरण पुग्न सकेन, तर लिग चरणको अन्तिम खेलमा प्राप्त जितले उसलाई खुसी तुल्याएको हुनुपर्छ। जर्मनीविरुद्धका उसका दुवै गोल इन्ज्युरी समयमा भए। त्यति बेला जर्मनीलाई जसरी भएपछि गोल चाहिरिएको थियो र सबै अगाडि बढेर खेलिरहेका थिए।

जर्मन गोलरक्षक म्यानुएल नोया समेत अगाडि आएर खेलिरहेका थिए। यस्तोमा दक्षिण कोरियाले काउन्टर आक्रमण रच्न सक्ने स्थिति बन्यो। दक्षिण कोरियाका लागि ह्वेन मिन–सुनले गरेको दोस्रो गोल ‘गुड मुभ, गुड पास, गुड फिनिसिङ’ को नमुना बन्यो। यता यही समूहको अर्को खेलमा स्विडेनले मेक्सिकोलाई ३–० ले हरायो र समूहको विजेता बन्न सफल रह्यो।

स्विडेनलाई यो खेल जसरी पनि जित्नु थियो र त्यँही अनुसार खेल्यो पनि। बलमाथि नियन्त्रण राखेर स्विडेनले लगातार आक्रमण गरिरहेको थियो र गोल निकाल्न सफल पनि रह्यो। मेक्सिकोले त्यस खेलमा सायद छनोट भइसकेको मानसिकताले खेलेको हुुनु पर्छ, जबकी त्यस्तो स्थिति थिएन्। यसअघिका दुई खेलमा राम्रो गरेको मेक्सिकोले त्यस्तै खेल पस्कन सकेन्।

प्रतियोगिता सुरु हुन अगाडि यो समूहबाट स्विडेन र मेक्सिको दोस्रो चरण पुग्ने छन् र जर्मनी अन्तिम स्थानमा हुनेछ भनेर धेरै कमले मात्र सोचेको होला। जर्मनीको यो प्रदर्शनले त्यहाँको फुटबललाई धेरै घाटा हुनेछ। हिजो नै जित्ने दबाबमा रहेको ब्राजिलले त्यसै अनुसार खेलेर नतिजा निकाल्न सफल रह्यो र अन्तिम १६ को चरणमा पुग्यो।

ब्राजिल सात अंकसहित समूहको शीर्ष स्थानमा रह्यो। सर्बियाविरुद्ध ब्राजिलले गरेका दुई गोल स्तरीय थिए। त्यसमा ब्राजिलका लागि थिएगो सिल्भाले गरेको दोस्रो गोल निकै राम्रो थियो। यो पनि ‘गुड मुभ, गुड पास, गुड फिनिसिङ’ को अर्को उदाहरण बनेको छ। स्विटजरल्यान्ड यो समूहको दोस्रो स्थानमा रहेर अगाडि बढ्न सफल रह्यो।

उसले अन्तिम खेलमा कोस्टारिकासँग २–२ को बराबरी खेल्यो। स्विस टिमले दुई पल्ट अग्रता लिएर पनि दुवै अवसरमा त्यसलाई गुमाएर दबाबमा आयो। समूहमा सायद सर्बिया भाग्यमानी रहेन कि !जे होस, बुधबारराति विश्वकपमा निकै रोमाञ्चक खेलहरू भए। जसरी डिफेन्डिङ च्याम्पियन जर्मनी विश्वकपबाट बाहिरियो, आउने धेरै दिनसम्म यसबारे चर्चा हुनेछ।

(न्यौपाने राष्ट्रिय टिमका पूर्व खेलाडी हुन्। उनी हाल त्रिभुवन आर्मी क्लबका प्रशिक्षक छन्। उनले केही समय अगाडि मात्र एसियाली फुटबल महासंघको प्रशिक्षक ‘ए’ लाइसेन्स कोर्स उतीर्ण गरेका छन्।

प्रकाशित : असार १४, २०७५ ०७:५८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT