१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

स्पेनसँग लय समात्ने रुसी प्रयास

रोयटर्स

मस्को — एक महिनाअगाडि विश्वकप २०१८ को अन्तिम १६ मा स्पेन र रुस भिड्ने छन् भन्दा त्यसमा एकपक्षीय खेल हुने डर हुन्थ्यो । तर जब आइतबार यिनै दुई टिम मुखामुख हुन्छन्, त्यतिबेला सन् २०१० को विश्वकप विजेताका लागि पक्कै सजिलो हुने छैन । यता रुस भने प्रतियोगितामा पाएको उत्कृष्ट सुरुआतको लय समात्ने प्रयासमा हुनेछ ।

स्पेनसँग लय समात्ने रुसी प्रयास

रुसको विश्वकप तयारीले पनि राम्रो सुरुआत लिन सकेन । प्रतियोगिता सुरु हुन केही दिनमात्र बाँकी छँदा प्रशिक्षक जुलेन लोपेटेगुई बखास्तगीमा परे । उनको स्थानमा आए फर्नान्डो हिएरो । यिनै हिएरोको नेतृत्वमा स्पेनले लिग चरणमा ५ अंकमात्र बटुल्यो, तर समूह विजेता बन्यो । रुस प्रतियोगितामा सर्वाधिक तल्लो वरीयताको टोली थियो ।

उसले सुरुका दुई खेलमा साउदी अरेबियालाई ५–० र इजिप्टलाई ३–१ ले हरायो । सोभियत संघको विघटनयता रुस नकआउट चरण पुगेको यो पहिलोपल्ट हो । स्टानिस्लाभ चेर्चेसोभको टिम लिगको अन्तिम खेलमा भने उरुग्वेसँग ३–० ले हारेर फेरि सतहमै झरेको थियो । राष्ट्रिय भावनाले प्रेरित हुने लुजनिकी स्टेडियममा रुसले सुरुका दुई खेलमै जस्तै खेल्ने हो भने स्पेन समस्यामा पर्नसक्छ ।

स्पेनी डिफेन्डर डानी कार्भाजलले रुसविरुद्ध आफ्नो टिमले बलियो रक्षापंक्ति तेस्र्याउन आवश्यक भएको मान्छन् । स्पेनले पोर्चुगलसँग ३–३ र मोरक्कोसँग २–२ को बराबरी खेलेको स्थितिमा उनको तर्क ठीक पनि देखिन्छ । उनी भन्छन्, ‘आयोजक देशविरुद्धको खेल सजिलो हुन्न । पूरा देश टिमको पछाडि हुनेछ । यो त्यही टिम हो, जसले दुई खेलमा ८ गोल गरेको छ ।’

उनले थपेका छन्, ‘रुस बलियो टिम छ, यसले छरिटो पनि खेल्छ । त्यसैले उसलाई सजिलै बलमाथि नियन्त्रण राख्न दिनुहुन्न । हामी आफ्नो खेलमा केन्द्रित हुनुपर्छ । हाम्रो उद्देश्य उनीहरूले गर्ने भुलबाट फाइदा लिनुमा हुनुपर्नेछ ।’ कार्भाजलले के पनि मान्छन् भने नकआउट चरण पुग्न रक्षापंक्ति मात्र बलियो भएर हुन्न, आक्रमण पनि उत्तिकै सटिक हुनुपर्छ ।

‘अबदेखि नकआउट चरणका प्रत्येक खेल गर या मरको स्थितिमा हुनेछ । अब बराबरी खेल्न सकिन्न । खेल जित्नुपर्छ । अगाडि बढ्ने हो । होइन भने घर फर्कने हो,’ उनको थप विश्लेषण छ, ‘जतिबेला खेलको स्वरूप र परिस्थिति फेरिएको छ, हामी आफ्नो उत्कृष्ट लयमा फर्कने छौं नै ।’ पछिल्लो नोभेम्बरमा यी दुई देशले मैत्रीपूर्णमा ३–३ को रोचक बराबरी खेलेका थिए ।

सन् २००८ को युरो सेमिफाइनलमा भने स्पेनले रुसमाथि ३–० को प्रभावशाली जित निकालेको थियो । त्यो खेल खेलेका तीन खेलाडी अहिले पनि टिममा छन्, जसमा भेट्रान डिफेन्डर सर्गेइ इग्नासेभिच पनि पर्छन् । उनको भनाइ छ, रुसले त्यो तथ्यलाई राम्रोसँग जाँचेको छ । जसले भन्छ, स्पेनलाई इरान र मोरक्कोले कसरी दु:ख दिएको थियो ।

‘स्पेनी डिफेन्डरहरू तीव्र गतिमा आक्रामक भएर खेल्छन् । सकेसम्म बढीभन्दा बढी मौका सिर्जनाको प्रयास गर्छन्,’ उनको भनाइ छ, ‘यो खेलको उद्देश्य काउन्टर आक्रमणका लागि स्थिति तयार पार्नु हो । तर यो नै स्पेनको सबैभन्दा ठूलो समस्या हो । समूह चरणमा यस्तै देखिएको छ । इरान र मोरक्कोले यसैअनुसार रणनीति बनाए, हामी पनि यस्तै गर्नेछौं ।’

प्रकाशित : असार १७, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?