कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकातर्फ ठूला टोली

एएफपी

मस्को — इंग्ल्यान्ड विश्वकप २०१८ को अन्तिम आठमा पुग्ने अन्तिम टिम बन्यो मंगलबार राति । इंग्ल्यान्डले कोलम्बियामाथि टाइब्रकेरमा नाटकीय जित निकालेको हो । अन्तिम आठमा पुग्ने अरु दुई ठूला टिममा ब्राजिल र फ्रान्स रहेका छन् ।

एकातर्फ ठूला टोली

हुनसक्छ, सेमिफाइनलमा यिनै दुई टिम एक आपसमा भिड्ने छन् । गारेथ साउथगेटको टोलीले जसरी कोलम्बियालाई हरायो, लाग्छ उसले स्वीडेनलाई पनि हराउन सक्छ ।

स्वीडेनले यसअघि स्वीट्जरल्यान्डलाई १–० ले हराएको थियो । इंग्ल्यान्ड र स्वीडेन दुवै यस प्रतियोगिताको तल्लो छेउमा छन् । ‘बटम–हाफ’ भने हुन्छ यसलाई । यसमा आयोजक रुस पनि छ अनि क्रोएसिया । यसमा पूर्व विश्वकप विजेता इंग्ल्यान्डमात्र हो । माथिल्लो छेउ अर्थात ‘टप–हाफ’ मा भने ठूला टिम छन् हेभिवेटहरू । यी हुन् सन् १९९८ को विजेता फ्रान्स र दुईपल्टको विजेता उरुग्वे । यिनीहरू नै एक आपसमा भिड्ने छन् ।

पाँचपल्टको विजेता ब्राजिलले भने बेल्जियमको सामना गर्नेछ । एरिक डायरको स्पट–किकले विश्वकपमा इंग्ल्यान्डलाई पहिलो पेनाल्टी सुटआउट जित दिलाएको थियो । योसँगै टुंगिएको छ इंग्ल्यान्डलाई टाइब्रेकरले दिने दु:ख पनि । एक अर्थमा इंग्ल्यान्डले ठूलै खटो काटेको छ । साउथगेटले भने यसमै अल्झेर बस्नुभन्दा शनिबारको क्वाटरफाइनलमा आँखा लगाएका छन् ।

सामरामा यो खेल स्वीडेनविरुद्ध छ । अर्को खेलमा क्रोएसिया र रुस खेल्दै छन् । ‘कोलम्बियामाथिको जित विशेष छ, तर म अगाडि बढ्न चाहन्छुं,’ साउथगेटले भनेका छन् । उनले नै सन् १९९६ को युरो सेमिफाइनलमा जर्मनीविरुद्ध पेनाल्टीमा गोल गर्न चुकेपछि इंग्ल्यान्ड बाहिरिएको थियो । त्यो खेल वेम्बलीमा भएको थियो । ‘स्वीडेनविरुद्ध पनि हाम्रो प्रदर्शन खराब छ, त्यसैले हामी उनीहरूलाई कम आँक्ने छैनौं,’ साउथगेट मान्छन् ।

जेन एन्डरसनको स्वीडेनले भने जर्मनीविरुद्ध अन्तिम समयमा बेहोरेको हारबाट मुक्ति पाइसकेको देखिन्छ । समूह चरणको त्यस स्तब्धपूर्ण हारपछि स्वीडेनले मेक्सिको र स्वीट्जरल्यान्डलाई हराएको छ । आरबी लेप्जिप मिडफिल्डरले स्वीस टिमविरुद्ध एकमात्र गोल गरे काउन्टर आक्रमणमा । स्वीडेन सन् १९९४ यता पहिलोपल्ट अन्तिम आठमा पुगेको हो ।

केन्द्रमा नेयमर
इंग्ल्यान्डमाथि सबैको ध्यान केन्द्रित भए पनि विश्वकप विजेता सम्भवत: माथिल्लो छेउबाट नै आउने छ । यसमा रहेका टिमले संयुक्त रूपमा आठपल्ट विश्वकप जितिसकेको हुनाले पनि यो दाबी गर्न सकिन्छ । कजानमा हुने खेलमा ब्राजिलको सामना हुनेछ, ‘स्वर्णिम पुस्ता’ का खेलाडीबाट गुज्रिइरहेको बेल्जियमविरुद्ध । केलियन एमबाप्पेसहितको युवा फ्रान्सेली टिमले भने निज्नी नोभ्गोरोडमा उरुग्वेविरुद्ध खेल्नेछ ।

ब्राजिल कीर्तिमानी छैटौंपल्ट विश्वकप उपाधिको अभियानमा छ । यो अभियानको केन्द्र हुनेछन् नेयमर । तर विश्व फुटबलका सर्वाधिक महँगा खेलाडी भने गलत कारणले समाचारमा छाइरहेका छन् । मैदानमा उनीमाथि अभिनय गरेको आरोप लागेको छ । एउटा तथ्य के भने ब्राजिलले तय गरेको यहाँसम्मको यात्रामा खासै ठूलो चुनौती पनि सामना गर्नुपरेको छैन ।

तर मेक्सिकोका प्रशिक्षक हुँवा कार्लोस ओसारियोले नेयमरले नै चोट लागेको अभिनय गरेर जुन समय खर्चे, त्यसै कारणले पनि आफ्नो टिमको हारको आधार तयार भएको माने । कार्लोसले म्यागुइल लयनको टयाकलमा जसरी चोट लागेको अभिनय गरे, यसलाई ‘विश्व फुटबलकै लज्जा’ को संज्ञा दिएका छन् । बेल्जियम भने जापानविरुद्ध एक समय निकै खराब मोडमा थियो । अन्तत: टोली जित निकाल्न सफल रह्यो ।

अर्कोतर्फ फ्रान्सले समूह चरणमा त खासै प्रभाव पार्न सकेन । तर अर्जेन्टिनामाथि प्राप्त ‘क्लासिक’ ४–३ को जितमा भने निकै राम्रो प्रदर्शन गर्‍यो । ‘हामीले यस्तो खेलका लागि अहिले होइन, धेरै अगाडिदेखि अभ्यास गरिरहेका थियौं । भनौं साता होइन, महिनौं अगाडिदेखि,’ फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्पले भनेका छन् ।

उरुग्वेले अहिलेसम्म प्राप्त गरेको सफलता भने धेरे हदसम्म ठोस रक्षापंक्तिमा टिकेको छ । यसको नेतृत्व गरिरहेका छन् एट्लेटिको म्याड्रिडका खेलाडीद्वय जोसे जिमिनेज र डिएगो गोडिन । अनि टिमको आक्रामणमा लुइस स्वारेज र एडिन्सन काभानीको जोडीले पनि गज्जब गरिरहेको छ । उनीहरूले संयुक्त रूपमा ५ गोल गरिसकेका छन् ।

केलियन एमबाप्पे, फ्रान्स
उमेर–१९, खेल–४, गोल–३

लुइस स्वारेज, उरुग्वे
उमेर–३१, खेल–४, गोल–२

नेयमर, ब्राजिल
उमेर–२९, खेल–४, गोल–२

इडेन हाजार्ड, बेल्जियम
उमेर–२७, खेल–३, गोल–२

ह्यारी केन, इंग्ल्यान्ड
उमेर–२४, खेल–३, गोल–६

लुका मोड्रिच, क्रोएसिया
उमेर–३२, खेल–४, गोल–२

प्रकाशित : असार २१, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?