कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्रोएसियाको ऐतिहासिक यात्रा

क्रोएसिया दुई घण्टाको प्रतिस्पर्धामा इंग्ल्यान्डलाई २–१ ले हराएर पहिलोपल्ट विश्वकपको फाइनल पुगेको छ । टोलीले आइतबार हुने फाइनलमा पूर्व च्याम्पियन फ्रान्सको सामना गर्नेछ ।
राजु घिसिङ

मस्को — लियोनल मेसी नेतृत्वको अर्जेन्टिनालाई समूह चरणमा ३–० ले पराजित गरेपछि क्रोएसियाका कप्तान लुका मोड्रिचले भनेका थिए, ‘सन् १९९८ को उपलब्धि उछिन्ने यसपालिको हाम्रो अभियान हो ।’ मारियो मान्जुकिचले अतिरिक्त समयमा गोल गरेपछि क्रोएसिया २–१ ले इंग्ल्यान्डलाई हराएर बुधबार विश्वकप फाइनलमा प्रवेश गरेसँगै मोड्रिच टिमको लक्ष्य पनि पूरा भयो ।

क्रोएसियाको ऐतिहासिक यात्रा

क्रोएसिया पहिलोपलट विश्वकपको फाइनल पुगेको हो । सेमिफाइनल पार गर्ने लक्ष्य पूरा भए पनि अब उसको योजना आइतबार लुजनिकी रंगशालामा फ्रान्सलाई हराएर विश्वविजेता बन्ने हुनेछ । स्वर्णम पुस्ताका रूपमा लिइएका दुई टिम बेल्जियम र इंग्ल्यान्ड भने तेस्रो स्थानका लागि शनिबार सेन्ट पिटर्सबर्गमा प्रतिस्पर्धा गर्नेछन् ।

डाभोर सुकरप्रेरित क्रोएसिया विश्वकप १९९८ मा सेमिफाइनल पुगेको थियो, जहाँ उसलाई आयोजक फ्रान्सले फाइनल पुग्नबाट रोक्यो । त्यस विश्वकपमा ६ गोलसहित गोल्डेन बुट जितेका सुकर अहिले क्रोएसियाली फुटबल महासंघका अध्यक्ष छन् । सुकरको नाममा क्रोएसियाका लागि सर्वाधिक ४५ गोलको कीर्तिमान यथावत छ । तर, विश्व फुटबलको महाकुम्भमा भने उनको टिमको कीर्तिमानलाई मोड्रिच नेतृत्वको समूहले यसपालि रुसमा सुधार गरिदियो ।

लुजनिकी रंगशालामा भएको दोस्रो सेमिफाइनलमा जितको हकदार इंग्ल्यान्डलाई मानिएको थियो । अग्रता पनि उसैले लियो । विंगर काइरन ट्रिपियरले २० यार्डबाट प्रहार गरेको फ्रि–किक पाँचौं मिनेटमै सुन्दर गोलमा परिणत भएको थियो । उनले मानवीय पर्खाल नघाएर दाँयातर्फ ‘टप कर्नर’ मा बललाई जालीको सम्पर्कमा पुर्‍याए । त्यसलाई रोक्ने प्रयास गरे पनि क्रोएसियाका गोलकिपर डानियल सुबासिचको केही सीप चलेन र ट्रिपियरले विश्वकपमा गोलको खाता खोले ।

प्रतियोगितामा ट्रिपियरको पहिलो गोलको खुसीयालीले रंगशालामा लामो समयसम्म गुन्जिएको थियो । इंग्ल्यान्डबाट विमान चार्टर गरेरसमेत आएका उसका समर्थकले फाइनल यात्रा पक्का भइसकेजस्तै गरी खुसीयाली मनाएर ‘थ्री लायन्स’ लाई हौसला दिइरहेका थिए । अर्कोतर्फ क्रोएसियाली समर्थक ‘गोल गोल क्रोएसिया’ भन्दै मोड्रिचको टिमको जोश बढाइरहेको थियो ।

जितपछि सामूहिक खुसीमा क्रोएसियाली टोली ।

अन्तिम १६ मा कोलम्बिया र क्वाटरफाइनलमा स्वीडेनलाई पराजित गरेको इंग्ल्यान्डले क्रोएसियाविरुद्ध पहिलो हाफमा आकर्षक खेल पस्कँदै ५२ वर्षपछि विश्वकपको फाइनल खेल्ने सम्भावना बलियो बनाएको थियो । पहिलो हाफमै इंग्ल्यान्डले अग्रता दोब्बर पार्ने अवसर पनि पाएको हो । तर जेसी लिङगार्डको पासमा कप्तान ह्यारी केनको फितलो प्रहार गोलरक्षक सुबासिच रोकिदिए र रिबाउन्डमा उनले खाली पोस्टमा हानेको बलमा पोल बाधक बन्यो ।

अन्तिम १६ मा डेनमार्क र क्वाटरफाइनलमा आयोजक रुसविरुद्ध पेनाल्टी सुटआउटमा जित हात पारेकाले क्रोएसियाली खेलाडी थकित भएको अनुमान गरिएको थियो । त्यसको फाइदा इंग्ल्यान्डलाई हुनसक्थ्यो । तर, दोस्रो हाफमा क्रोएसिया खेलमा फर्कियो । उसले बल नियन्त्रणमा राख्दै आक्रमणका लागि उपयुक्त अवसर खोजिरह्यो ।

राइट ब्याक सिमे भारसाल्कोको क्रसमा इभान पेरिसिचले इंग्ल्यान्डका डिफेन्डर केली वाकरलाई उछिनेर प्रहार गरेको बलले क्रोएसियालाई ६८ औं मिनेटमा १–१ को बराबरीमा पुर्‍यायो । पेरिसिचको बुट हेडर गर्ने प्रयासमा रहेका वाकरको टाउकोमा लागेको भए प्रतियोगितामा उनको दोस्रो गोलले मान्यता पाउने थिएन, खेलको कथाले पनि अर्कै मोड लिन सक्थ्यो ।

खेल सकिएपछि गोलरक्षक ड्यानियल सुबासिच र डिफेन्डर डोमागोज भिडा ।

बराबरी गरेको चार मिनेटभित्रै क्रोएसियाले अग्रता लिने अवसर पाएको हो । तर, पेरिसिचले सेकेन्ड बार च्याप्दै प्रहार गरेको बल पोलमा लागेर फर्कियो । रिबाउन्डमा एन्टे रेबिकले हान्दा बल सिधै गोलकिपर जोर्डन पिकफोर्डको हातमा पुग्यो ।

इंग्ल्यान्डको डिफेन्समा जोन स्टोन्स, ह्यारी मगायर र एस्ले योङको तुलनामा वाकरको प्रदर्शन अलि कमजोर थियो । त्यसैले पनि क्रोएसियाली आक्रमणको निसानामा वाकर नै परेका थिए । हुन त एस्ले योङलाई पनि एन्टे रेबिकले बारम्बार उछिनेका थिए । मोड्रिच, इभान राकिटिच, रेबिक र पेरिसिचले पूर्ण रूपमा मिडफिल्डमा कब्जा जमाएका थिए । इंल्यान्डका डेले अली, लिङगार्ड, जोर्डन हेन्डरसन पनि कमजोर देखिए । मिडफिल्डमा ट्रिपियरमात्रै लयमा थिए ।

६ गोलसहित गोल्डेन बेटको होडमा अगाडि रहेका ह्यारी केन पनि डेजान लोभरेनको निगरानीबाट उम्कन सकेनन् । रहिम स्टर्लिङले पहिलो हाफमा डोमागोज भिदालाई दबाबमा राखे पनि उनी दोस्रो हाफमा फिक्का देखिए । उनको स्थानमा ७४ औं मिनेटमा मार्कस रासफर्ड मैदानमा प्रवेश गरे पनि उनले आफ्नो प्रभाव देखाउन सकेनन् । गारेथ साउथेगटको टिमका जोन स्टोन्स, मगायर, ट्रिपियर र पिकफर्डको प्रदर्शनमात्रै उस्तै देखिएको थियो । यसअघि दुई गोल गरिसकेका स्टोन्सले ९८ औं मिनेटमा गरेको हेडरलाई खाली पोस्टबाट सिमे भारसाल्कोले क्लियर गर्दै संकट टारेका थिए ।

क्रोएसियाली समर्थकको उत्साह ।

युभेन्ट्सका ३२ वर्षीय फरवार्ड मारियो मान्जुकिचले बारम्बार इंग्ल्यान्डको डिफेन्सलाई दु:ख दिइरहेका थिए । म्यान अफ द म्याच पेरिसिचको क्रसमा अतिरिक्त समयको पहिलो हाफको इन्ज्युरी टाइममा क्रसमा मारियो मान्जुकिचले गरेको प्रहारमा पिकफर्डले लोभलाग्दो बचाउ गर्दै इंग्ल्यान्डलाई जोगाएका थिए । तर, पिकफर्डले १०९ औं मिनेटमा भने मान्जुकिचलाई रोक्न सकेनन् ।

सब्स्टिच्युट जोसिप पिवारिचको क्रसमा वाकरले क्लियर गर्न नसकेको बल पेरिसिचको खुट्टामा पुग्यो । उनले पेनाल्टी क्षेत्रमा बल मान्जुकिचलाई दिए । मान्जुकिचको बायाँ खुट्टाको फिनिसिङ उत्कृष्ट रहयो । त्यही २–१ को अग्रता जोगाएर क्रोएसिया पहिलोपल्ट विश्वकपको फाइनलमा प्रवेश गर्‍यो । विश्वकपमा उसको यो पाँचौं सहभागिता हो ।

इंग्ल्यान्ड फाइनलमा पश्चिम जर्मनीलाई हराएर सन् १९६६ मा च्याम्पियन भएको थियो । त्यतिबेला क्रोएसियाले स्वतन्त्र देशको रूप पनि लिएको थिएन । फुटबलको जन्मदाता इंग्ल्यान्ड दोस्रोपल्ट सेमिफाइनलमा रोकिएको हो । उसलाई विश्वकप १९९० मा जर्मनीले अन्तिम चारमा हराएको थियो ।

तथ्यहरू
-क्रोएसिया विश्वकपको पाँचौं सहभागितामा पहिलोपल्ट फाइनल प्रवेश गरेको हो ।

-इंग्ल्यान्डले २१ औं शताब्दीमा सर्वाधिक तीन खेलमा क्रोएसियाविरुद्ध हार बेहोर्‍याो, जुन अरु कुनै टिमसँग भन्दा बढी हो ।

-इंग्ल्यान्ड ठूला प्रतियोगिताको सेमिफाइनलमा पाँचमध्ये चार खेलमा हारेको हो । सेमिफाइनलमा उसलाई युरो २०६८ मा युगोस्लाभिया, विश्वकप १९९० मा पश्चिम जर्मनी, युरो १९९६ मा जर्मनी र विश्वकप २०१८ मा क्रोएसियाले पराजित गरेको हो ।

-क्रोएसिया सन् १९९० मा इंग्ल्यान्डपछि विश्वकपमा लगातार तीन खेलमा अतिरिक्त समयमा प्रतिस्पर्धा गर्ने पहिलो टिम हो ।

-यस विश्वकपमा पाँच खेल अतिरिक्त समयमा पुगेको थियो । त्यसमध्ये चार खेलमा क्रोएसिया र इंग्ल्यान्ड सहभागी थिए । अर्को एक खेल स्पेन र रुसबीच भएको थियो ।

-इंग्ल्यान्डले सेट पिसमा यसपालि ९ गोल गरेको छ, जुन कुनै पनि टिमले १९६६ यता सेट पिसमा गरेको भन्दा धेरै गोल हो ।

-काइरन ट्रिपियर इंग्ल्यान्डका फ्रि–ककमा सिधै गोल गर्ने डेविड बेकहयाम (विश्वकप २००६ मा इक्वेडरविरुद्ध) यताका पहिलो खेलाडी हुन् ।

-इभान पेरिसिच ठूला प्रतियोगितामा सबैभन्दा धेरै १० गोल (६ गोल, ४ एसिस्ट) मा सहभागी हुने क्रोएसियाली खेलाडी हुन् । उनले डाभोर सुकर (९ गोल, १ एसिस्ट) लाई उछिने ।

प्रकाशित : असार २९, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?