कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र: प्रत्यारोपणबाहेक मुटुका सबै उपचार

अतुल मिश्र

काठमाडौँ — सहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रले मुलुकमा प्रत्यारोपणबाहेक मुटुको सबै प्रकारको उपचार सेवा प्रदान गरिरहेको छ । दुई सय शय्याका माध्यमले उपचार सेवा दिइरहेको यो केन्द्र २२ वर्षअघि नौ शय्याबाट सुरु भएको हो ।

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र: प्रत्यारोपणबाहेक मुटुका सबै उपचार

‘हामी प्रत्यारोपणबाहेक मुटुको सबै प्रकारको अन्तर्राष्ट्रिय गुणस्तरको उपचार सेवा दिइरहेका छौं,’ केन्द्रका कार्यकारी निर्देशक डा.ज्योतीन्द्र शर्माले कान्तिपुरसँग भने ।


उनले अब केन्द्रको लक्ष्य विभिन्न क्षेत्रमा सेवा विस्तारसँगै एकेडेमिक प्रतिष्ठानका रूपमा विकसित गरी उपचार सेवालाई दिगो बनाउनु रहेको जनाए । गंगालाल राजधानीमा मात्र केन्द्रित नरहेर मुलुकको अन्य भागमा समेत सेवा विस्तार गर्ने प्रक्रिया सुरु गरेको छ । यसअन्तर्गत हाल नेपालगन्जको भेरी
अञ्चल अस्पताल र जनकपुरको जनकपुर अञ्चल अस्पतालसँग सहमतिमा काम अगाडि बढिसकेको छ ।


उच्चस्तरीय मुटु उपचार सेवाको विकेन्द्रीकरणको सोचअनुसार अगाडि बढिरहेको केन्द्र हालसम्म एकेडेमिक प्रतिष्ठानका रूपमा सञ्चालन नहुँदा मुलुकलाई चाहिने जनशक्तिको उत्पादनसँगै शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकेको छैन । ‘एकेडेमिक प्रतिष्ठानका रूपमा अगाडि नबढे गंगालालको भविष्य अन्योलपूर्ण हुनुका साथै नेपाली जनताले यसको वास्तविक फाइदा पाउँदैनन्,’ केन्द्रका वरिष्ठ कन्सल्टेन्ट कार्डियोलजिस्ट डा. दिवाकर शर्माले भने ।


एक दशकभित्रै आम नेपालीका लागि जनस्वास्थ्यको प्रमुख समस्याका रूपमा मुटुसम्बन्धी रोग देखिने आकलन केन्द्रको छ । यो समस्यासँग जुध्न सकारात्मक जीवनशैली, उचित स्वास्थ्यकर खानपान, सक्रिय जीवनशैली, मानसिक शान्तिलगायत दीर्घ रोगहरूमा नियन्त्रण आवश्यक छ । सरकारले मुटु रोग रोकथामका लागि गुणस्तरीय उपचार प्रक्रिया मुलुकका विभिन्न भागमा सहज पार्नुका साथै जनचेतना अभिवृद्घिमा समेत थप जोड दिनुपर्ने आवश्यकता त्यहाँ कार्यरत चिकित्सकहरू औंल्याउँछन् ।

हालसम्म के गर्‍यो गंगालालले ?
-१४ लाख ४० हजार बिरामीको बहिरंग सेवामार्फत उपचार
-५६ हजार बिरामीको विभिन्न प्रकारको क्याथ प्रोसिड्योर
-२० हजार बिरामीको मुटुको शल्यक्रिया
-१४ हजारभन्दा बढी ओपेन हर्ट सर्जरी

सन् २०१७ मा के गर्‍यो ?
-बहिरंग सेवामार्फत स्वास्थ्य परीक्षण– १५३४६२
-ईसीसी– ५९३४३
-मुटुको भिडियो एक्स–रे– ६२४३४
-एक्स–रे– ६०६६८
-ट्रेड मिल टेस्ट– १३११७
-गर्भमै बच्चाको मुटु परीक्षण– ६६३
-कैरोटिड डप्लर– ६७५
-क्याथ प्रोसिड्योर– ७८२४

के–के नि: शुल्क ?
-७५ वर्षमाथि र १५ वर्षमुनिका बालबालिकाको मुटुरोगसम्बन्धी सबैखाले उपचार नि:शुल्क
-विपन्न तथा असहाय बिरामीको मुटु रोगको उपचारका लागि एक लाखसम्म सरकारबाट अनुदान
-बाथ, मुटु रोगीको नि:शुल्क शल्यक्रिया
-अस्पतालको १० प्रतिशत शय्या नि:शुल्क
-मुटुको भल्भ साँघुरो भएर खोल्ने प्रविधि नि:शुल्क

उपलब्ध सेवा
-ह्दयाघात भएर तुरुन्त अस्पताल आउने बिरामीका लागि २४ घण्टा प्राइमरी एन्जियोप्लास्टी सेवा
-मुटुको चालमा गडबढी भएकाका लागि ‘थ्री डी’ म्यापिङबाट रोगको निदान र उपचार
-मुटु कमजोर भएका बिरामीका लागि विशेष प्रकारको पेस मेकर सेवा
-मुटुमा जन्मजात प्वाल, भल्भ साँघुरो भएकाका लागि शल्यक्रियाबिनाको उपचार सेवा
-मुटुसम्बन्धी सबै प्रकारको शल्यक्रिया
-सबै प्रकारको क्याथ प्रोसिड्योर

छिट्टै सुरु हुने सेवा
-यस वर्षदेखि सानो घाउ बनाएर मुटुको शल्यक्रिया दिने सेवा सुरु हुने
-यस वर्ष ६ सय ४० स्लाइसको अत्याधुनिक सिटीक्यान जडान हुने
-यस वर्षदेखि थप एक क्याथ ल्याब सुरु हुने

समस्यासाग जुध्न सकारात्मक जीवनशैली, उचित स्वास्थ्यकर खानपान, सक्रिय जीवनशैली, मानसिक शान्ति हुनुका साथै दीर्घ रोगहरूमा नियन्त्रण आवश्यक छ ।

प्रकाशित : चैत्र १, २०७४ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?