संकल्प स्वास्थ्य

अतुल मिश्र

काठमाडौँ — ०७५ साललाई हालसम्मकै सबैभन्दा स्वस्थकर वर्ष बनाउनुस् । यसका लागि खासै केही गर्नु पर्दैन, तपाईंले पूरा गर्ने गरी सामान्य संकल्प लिए पुग्छ । हामी नयाँ वर्षमा केही संकल्पसमेत लिने गरेका छौं तर धेरैजसो कायम रहँदैन । यसको मूल कारण, ती संकल्प पूरा गर्न मन, मस्तिष्क र इच्छाले तयार नहुनु हो ।

तपाईं, हामीले देख्नै नै गरेका छौं, नयाँ वर्षमा धेरैजसो मदिरा, खैनी, चुरोट, पान, गुटखालगायतका नशा त्याग गर्ने जीवनशैलीसँग सम्बन्धित संकल्प लिइन्छ । तर यो सकल्पमध्ये अधिकांश छिट्टै तोडिन्छन् ।

हामीले लिने यी सबै संकल्प पछाडि जीवनको गुणस्तर बढाउने, बढी समयसम्म स्वस्थ रहेर राम्ररी बाँच्ने इच्छा नै हो । तर यी संकल्पहरूमा कायम रहन नसक्दा हामीले बाँच्ने जीवनको गुणस्तर खस्कँदै गएर विस्तारै हामी जटिल स्वास्थ्य स्थितिसहित रोगी भएर जीवनयापन गर्न बाध्य हुन्छौं । यसैले नव वर्षमा स्वस्थ रहने संकल्प लिनोस् र जीवनमा कायम गर्नुस् । यो वर्ष स्वास्थ्य परीक्षण, खोप (भ्याक्सिन) र स्क्रिनिङका लागि समेत समय छुट्याउन मुटु रोग विशेषज्ञ डा.ओममूर्ति अनिलको सल्लाह छ । हाल बालबालिका मात्र नभई बूढापाकाहरूका लागि समेत रोग, संक्रमणहरूबाट जोगाउन विभिन्न प्रकारका खोप छन् । यस्ता खोपले स्वास्थ्यसम्बन्धी जटिलताबाट बँच्न सघाउँछ ।

तपाईंले नियमित रूपमा गर्ने चिकित्सकीय परीक्षणले समस्या देखिनुअगावै रोग/स्वास्थ्य समस्याको पहिचान गर्न सकिन्छ । यस्ता परीक्षणले गर्दा त्यो बिन्दुमै समस्याको पूर्व पहिचान हुन्छ र निको हुने सम्भावना धेरै बढी हुन्छ । शारीरिक सक्रियतासँग कुनै सम्झौता नगर्नुस् । गत वर्षको दाँजोमा यो वर्ष आफ्नो सक्रियता बढाउनुस् । दिनहुँ करिब ५ किलोमिटर हिँड्ने बानी बसाल्नुस् । सहरी क्षेत्रमा रहेकाहरूले लिफ्टको सट्टा भर्‍याङ उपयोग गर्नु स्वास्थ्यका लागि धेरै राम्रो हुन्छ । डा.ओममूर्तिका अनुसार शारीरिक सक्रियता, हिँडाइ, उपयुक्त व्यायाम, पौडी खेल्नु, साइकल चलाउनु आदि तपाईंको स्वस्थ जीवनतर्फको सुनौलो यात्रा हो । यति तपाईं कुनै पनि रूपमा चुरोट सेवन गर्नुहुन्छ भने, छोडनुस् । सूर्ती, गुटखा, सुपारीजस्ता पदार्थ खाने बानी भए त्याग्नुस् । मदिरा सेवन नगर्नुस्। यसो गर्दा आफैंले अनुभव गर्ने गरी स्वास्थ्य सम्बन्धित सकारात्मक परिवर्तन अनुभव गर्न सकिने डा.ओममूर्ति बताउँछन् । भागदौडपूर्ण दैनिकीमा आरामसँग निदाउन पाउनु पनि ओखतीजस्तै हो । वयस्क व्यक्तिले दिनुहँु ७–८ घण्टा निदाउनुपर्छ । हाल रात्रिकालीन चर्या वृद्घिसँगै निद्रा प्रभावित हँुदा मधुमेह, उदासी रोग, मुटु र रक्तनलीसम्बन्धी रोग, मोटोपनालगायत नसर्ने रोग देखिएका छन् ।

नव वर्षमा नियमित उपयुक्त रूपले आवश्यकताअनुसार साबुन–पानीले हात धुन नबिर्सने प्रण गर्नुस् । कुरा अति सामान्य लागे पनि यो एउटा सामान्य प्रयासले गर्दा थुप्रै प्रकारका संक्रमण र रोगबाट बाँच्न सकिने डा. शेरबहादुर पुन बताउँछन् । हात धुने बानीले गर्दा रुघाखोकी, झाडापखाला, जण्डिस, टाइफाइड लगायत संक्रमणबाट जोगाउँछ ।
स्वस्थकर खानपान, शारीरिक क्रियाशीलता, सकारात्मकतालाई उच्च प्राथमिकतामा राख्नुस् । ईष्र्या, द्वेष, नकारात्मकता, चिन्ताबाट बँच्नुस् । हरियो सागपात, फलफूललगायत स्वस्थकर खानपानलाई महत्त्व दिनुस् ।

सकारात्मक जीवनशैली अपनाऔं
आयुर्वेद अर्थात् जीवनको विज्ञानले नसर्ने वा सर्ने रोगको जोखिम कम गर्न हजारौं वर्षदेखि सकारात्मक जीवनशैलीमा जोड दिएको छ । हाम्रो मुलुकमा समेत हाल करिब ६० प्रतिशत नसर्ने र ४० प्रतिशत सर्ने रोगको जोखिम छ । नसर्ने रोगको जोखिम कम गर्न वा जुध्न हजारौं वर्षदेखि आयुर्वेदले बताउँदै आएको सकारात्मक जीवनशैली र उपयुक्त खानपान नै महत्त्वपूर्ण औजारको रूपमा देखिएको छ ।

‘आयुर्वेदमा वर्णित स्वस्थ दिनचर्या र ऋतुचर्याअनुसार अगाडि बढदै रोग लाग्नबाट बँच्न सकिन्छ,’ राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा.सिद्घार्थ ठाकुर भन्छन्, ‘आयुर्वेदले दैनिक जीवनचर्या र खाने बानीलाई विशेष महत्त्व दिन्छ । मौसमअनुसार जीवनशैलीलाई अनुकूल बनाउनुस् ।’

दिनहुँ ध्यान गर्नुस् । मनको प्रत्यक्ष सम्बन्ध स्वस्थ शरीरसँग छ । ध्यान (मेडिटेसन) ले मनलाई शान्त राख्छ र तपाईंलाई रिल्याक्स अनुभव गराउँदै तनावसमेत कम गर्छ । श्वासप्रश्वाससम्बन्धी व्यायाम, प्राणायाम, योगले हामीलाई स्वस्थ रहन सघाउँछ । हालको परिवर्तित समयमा रहनसहन, खानपान, क्रियाकलापसमेत बदलिएको छ । हामी एका बिहानै ब्रह्म मुहूर्तमा उठदैनौं । दिनहुँ मौसमअनुसारको सागसब्जी, फलफूल आदि सेवन गर्दैनौं । अबेर सुत्छौं र घाम लागिसकेपछि उठ्छौं ।

प्रकृतिबाट टाढिएर आधुनिकताको नाममा हामी अस्वस्थता बोक्न थालेको आंैल्याउँदै डा. ठाकुर भन्छन्, ‘हजारौं वर्षदेखि हाम्रो मुलुकको उपचार पद्घति आयुर्वेदमा स्वस्थ रहनुको अर्थ मानसिक, शारीरिक, आध्यात्मिक र सामाजिक रूपमा स्वस्थ रहनु हो, जसलाई हाल विश्व स्वास्थ्य संगठनले पनि विश्वसनीय मानेको छ ।’ पूर्ण स्वस्थ रहन, खुसी रहन, आनन्द मनाउन, सन्तोष गर्न, अर्काको सकारात्मक उपलब्धिको प्रशंसा गर्न, ईष्र्या, द्वेष, क्रोध आदि नकारात्मकताबाट बाँच्नसमेत सिक्नुपर्छ । डा. ठाकुरका अनुसार मनको स्थुल रूप शरीर र शरीरको सूक्ष्म रूप मन भएकोले शरीरद्वारा गरिएको कर्मको मनमा र मनमा आउने विचारको शरीरमा महत्त्वपूर्ण प्रभाव पर्छ ।

आफूखुसी औषधि खान बन्द गरौं
यो वर्ष चिकित्सकीय सल्लाहबिना आफूखुसी औषधि सेवन नगर्ने संकल्प गर्नुस् । हामीहरू धेरैजसो स–साना शारीरिक समस्याका लागि चिकित्सकको सल्लाहबिना आफूखुसी घरमै औषधि सेवन गर्छौं । यसो गर्नु स्वास्थ्यका लागि खतरनाक हुन सक्छ । सामान्य रुघाखोकीदेखि लिएर ज्वरो, दुखाइ जस्ता समस्याका लागि आफ्नो पूर्वानुभव वा पसलमा सोधेर औषधि सेवन गर्ने गर्छौं । यस्ता ‘सेल्फ मेडिकेसन’ स्वास्थ्यका लागि घातक मानिन्छ । औषधि लिनुभन्दा अगावै परीक्षण नगराउँदा रोगबारे थाहा पाइँदैन । अन्दाजी औषधि सेवन गर्दा उपयुक्त औषधिको अभावमा रोग झन् बल्झिने मात्र होइन, गम्भीर रूपसमेत धारण गर्न सक्छ ।

प्रकाशित : वैशाख १, २०७५ ०८:४७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

एउटै मस्यौदाको प्रयास

ईपीजी बैठक
सुरेशराज न्यौपाने

नयाँदिल्ली — नेपाल र भारतका प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) ले दुई देशबीचका असमझदारी र असहमति हटाउन थप विषय समेट्नु नपर्ने गरी विस्तृत सुझाव प्रतिवेदनको मस्यौदा तयार पारेको छ । यद्यपि, उक्त प्रतिवेदनलाई अन्तिम रूप दिन केही बैठक गर्नुपर्ने निष्कर्षमा समूहका सदस्यहरू पुगेका छन् ।

नयाँदिल्लीमा बिहीबार र शुक्रबार बसेको समूहको बैठकमा दुवै समूहले तयार पारेको प्रतिवेदन आदानप्रदान गरिएको छ । साथै एकअर्काको मस्यौदा प्रतिवेदन अध्ययन गर्ने र आवश्यक परे सुझावसमेत दिने गरी आगामी जेठ १८–२० सम्म काठमाडौंमा नवौं बैठक गर्ने सहमति भएको छ ।

प्रबुद्ध समूहको नेपाली टोलीका संयोजक डा. भेखबहादुर थापाले थप विषयवस्तु समेट्न नपर्ने गरी सूक्ष्म तरिकाले तयार पारिएको मस्यौदा एकअर्काको समूहलाई आदानप्रदान गरेको बताए । ‘यो बैठकमा विस्तृत रूपमा मस्यौदामाथि छलफल भएको छ । त्यो निकै सकारात्मक रह्यो, अब सकेसम्म आगामी बैठकलाई अन्तिम बनाउने प्रयासमा हामी जुटेका छौं ।

त्यसअघि मस्यौदालाई निखार्न आ– आफ्ना विज्ञ समूह र सरोकारवालाबाट सुझाव लिनेछौं,’ थापाले भने । थापाले विभिन्न असमझदारी र अडानका बीच पनि साझा प्रतिवेदन बनाउने गरी गृहकार्य भइरहेको समेत जानकारी दिए । उनका अनुसार मस्यौदा विशेषगरी नेपाल–भारतबीचको १९५० को शान्ति तथा मैत्री सन्धिमा सबैभन्दा धेरै केन्द्रित छ । साथै, सीमा, जलस्रोत, व्यापार तथा पारवहनलगायत विषयलाई महत्त्व दिइएको छ । यी विषयमाथिको छलफल अत्यन्तै संवेदनशील तर सकारात्मक रूपमा अघि बढेको थापाले दाबी गरे ।

नेपाली पक्षले १९५० को सन्धि र त्यसपछिको लेटर अफ एक्सचेन्जमा भएको हातहतियार खरिद गर्दा भारतलाई जानकारी दिनुपर्नेजस्ता असमान व्यवस्थाको खारेज गर्नुपर्ने अडान लिएको छ । त्यस्तै उक्त सन्धिमा भएको नेपालमा बसोबास गर्ने भारतीय नागरिकलाई भारतमा बस्ने नेपालीलाई पाएकै जस्तो सुविधा पाउनुपर्ने भारतीय पक्षको अडानमा पनि नेपाली पक्षको असहमति छ । भारतको जनसंख्या र भूगोल दुवै हिसाबले उक्त अडान व्यावहारिक नहुने नेपाली पक्षको तर्क छ ।

ईपीजी बैठकको छलफलमा सीमा व्यवस्थापनमा पनि सहमति जुट्न बाँकी छ । स्रोतका अनुसार मानव तस्करी, जाली नोटको कारोबार लगायतका समस्या खुला सिमानाका कारण बढेको भन्ने भारतको गुनासो सम्बोधन गर्न पनि सीमा नियमन हुनुपर्ने तर्क नेपाली पक्षले राखेको छ । ‘नेपाल–भारतबीचको सम्बन्धलाई कमजोर बनाउने काम सीमाले पनि गरिरहेको छ । खुला सिमानालाई अब अन्तर्राष्ट्रिय अभ्यासअनुसार नियमन गर्नुपर्ने नेपाली पक्षको अडान छ,’ स्रोतले भन्यो । यस पटकको बैठकमा प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला भएका जलमार्गका विषयमा समझदारी र सहमतिका एजेन्डाले पनि स्थान पाएका छन् ।

प्रकाशित : वैशाख १, २०७५ ०८:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT