कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजनैतिक प्रतिवद्धता भए रेविजले हुने मृत्यु शुन्यमा झार्न सकिने

अतुल मिश्र

काठमाडौँ — विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) ले विश्वमा हरेक ९ मिनेटमा एक व्यक्तिको दर्दनाक मृत्युको कारण रहेको रेविजलाई समाप्त गर्ने प्रयासमा तिव्रता ल्याउन सदस्य राष्ट्रहरुलाई आह्वान गरेको छ ।

राजनैतिक प्रतिवद्धता भए रेविजले हुने मृत्यु शुन्यमा झार्न सकिने

शतप्रतिसत वचाउ गर्न सकिने रेविजको संक्रमण वाट नेपालमा वर्षेनी करिव एक सय भन्दा बढी व्यक्तिको मृत्यु हुने आकलन गरिएको छ ।

डव्लुएचओले राजधानीमा आयोजना गरेको तीनदिने अन्तर्राष्ट्रिय रेविज बैठकको अन्तिम् दिन बिहीवार दक्षिण–पुर्व एशियाली मुलुकलाई उक्त आव्हान गरेको हो । बैठकमा एशियाली, अफ्रिकी, अमेरिकन र युरोपेली मुलुकका २० जना विशेषज्ञको सहभागिता छ ।


‘रेविज समाप्त पार्न नेपाललगायतका मुलुकमा राजनितिक प्रतिवद्धता चाहिन्छ’, डव्लुएचओ, दक्षिण–पुर्व एशिया कार्यालयका डा. ज्ञानेन्द्र गोगलले कान्तिपुरसंग भने,‘रेविजको प्रमुख श्रोतको रुपमा रहेको कुकुर मै रेविज नियन्त्रण गर्नुपर्छ ।’


विश्वभरीमा रेविजले वर्षेनी ५९ हजार व्यक्तिको मृत्यु हुन्छ । मृत्यु हुनेहरुमा धेरै जसो बालवालिका र गरिव छन् ।


डा. गोगलका अनुसार नेपालमा करिब २५ देखि ३० लाख कुकुर छन् । नेपालमा सरकारी तथ्याङ्क अनुसार वर्षेनी करिव ३७ हजार कुकुरको टोकाइ हुने गरिएको उल्लेख भएपनि विशेषज्ञहरुले यो संख्या ५० हजार भन्दा बढी हुनुपर्ने अनुमान गरेका छन् ।


दक्षिण–पुर्व एशियाका ११ मध्ये ८ मुलुकमा रेविजले गर्दा वर्षेनी २६ हजार जनाको मृत्यु हुन्छ । यो विश्वव्यापी रुपमा रेविजले हुने मृत्युको ४५ प्रतिशत हो । यो क्षेत्रमा १५ लाख भन्दा बढी व्यक्ति रेविजको जोखिममा छन् ।


डव्लुएचओले रेविजको खोपलाई इन्ट्रामस्कुलर (मांपपेशीमा दिने खोप) बाट इन्ट्राडर्मल (छालामा दिइने खोप) तर्फ लिएर जान वकालत गर्दै आएको छ । छालामा दिइने खोप ६० देखि ८० प्रतिशत सस्तो मात्र नभएर यसमा मात्र एक सातामा उपचार गर्न सकिन्छ ।


‘डव्लुएचओका नयाँ सिफारिस अनुसार एक सातामा रेविज खोपको पुरा कोर्स लगाउनु पर्छ’, डा. गोगल भन्छन–‘यो खोप कुकुरले टोकेको दिन, त्यस पछि तेश्रो दिन र अन्तमा सातौ दिन ०.१ मिलिलिटर गरी दुवै वाहुलाको छालामा लगाउनु पर्छ ।’


पहिला इन्ट्रामस्कुलर रेविजको खोप लगाउँदा एक जनामा चार देखि पाच भाइलसम्म खोप लाग्ने गरे पनि इन्ट्राडर्मल खोप एक व्यक्तिको लागि एक भाइल भए पुग्छ । एक भाइल रेविज खोपको मुल्य करिव ९ अमेरिकी डलर पर्छ ।


थाइल्याण्डमा सन १९८७ देखि इन्ट्राडर्मल खोप शुरु भएपनि नेपालमा भने यो सन २०१७ को डिसेम्वर देखि प्रचलनमा आएको हो । डा. गोगलका अनुसार काठमाडौं, पोखरा, विराटनगर, जनकपुर, नेपालगंज, धनगढीमा डव्लुउचओको सहयोगमा रेविजको इन्ट्राडर्मल खोप दिन शुरु गरिएको हो ।


डव्लूएचओ दक्षिण–पुर्व एशिया क्षेत्रका धेरै जसो राष्ट्रले हाल रेविज खोपको लागि इन्ट्राडर्मल प्रकृया उपयोग गरिरहेका छन् । कुकुरबाट हुने रेविजलाई सन २०३० सम्ममा शुन्यमा झार्ने रणनीति डव्लुएचओको छ ।


भाइरसद्वारा हुने रोग रेविज विश्वको एक सय ५० भन्दा बढी देश र क्षेत्रमा हुन्छ । यो रोगको लक्षण देखिए पछि यो प्राणघातक हुन्छ । मनुष्यमा हुने रेविजको संक्रमण अन्तर्गत कुकुरबाट हुने यो रोगको संक्रमण ९९ प्रतिशत हो ।


शंकास्पद पागल जनावरवाट टोकिएका ४० प्रतिशत १५ वर्ष मुनीका वालवालिका हुने गर्छन् । खोप उपलब्धता, टोकाइपछिको उपचारले रेविज शतप्रतिशत रोक्न सकिन्छ ।

प्रकाशित : वैशाख २०, २०७५ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?