कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मास हिस्टेरिया : वेवास्ता गरे आफै निको हुन्छ

प्रदीप मेन्याङ्बो

काठमाडौँ — उत्तरी मोरङको केरावारी गाउँपालिका–९ भलुवास्थित लक्ष्मी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक स्थीर चापागाईले बुधबार आतिंदै फोनमा भने, ‘विद्यार्थीहरु एकसातादेखि एकपछि अर्को गर्दै मुर्छा पर्न थाले, घरी रुने, कराउने, चिच्याउने अनि वेहोस हुने गरेकाले अभिभावकहरु आत्तिएर हैरान भएका छन् । के भएको हो यस्तो ?’

मास हिस्टेरिया : वेवास्ता गरे आफै निको हुन्छ

एकसातादेखि विद्यार्थीहरुले अनौठो मानसिक र शारीरिक लक्षण देखाउदै आएकाले समाधानको उपाय खोज्न चापागाईले संचारकर्मीलाई फोन गरेका थिए । पहाड र तराईको संगमस्थलको विद्यालयमा अध्ययरत टिनएज विद्यार्थीमा अनौठो लक्षण देखा पर्नुलाई धेरै अभिभावकले अन्धविश्वासको साहारा लिंदै भूतप्रेतले सताएको, बोक्सी लागेको, विद्यालय परिसरको बास्तुशास्त्र ठीक नभएको, कसैले भेदेको, छारे रोग (मृगी) लागेको अनुमानसम्म गरे । कतिपयले यस्तै हुनसक्ने टिप्पणी गर्न पनि भ्याए ।

केराबारीको उक्त विद्यालयमा कक्षा सातमा अध्ययरत एक छात्रा एकसाताअघि अचानक चिच्याउदै वेहोस भएको देखेपछि अरु छात्रछात्रा पनि यस्तै लक्षणकासाथ विरामी पर्न थालेका थिए । कक्षा सातदेखि १० सम्मका छात्रमा कम र छात्रा बढी विरामी पर्न थालेपछि गाउँमा रहस्यमय अनौठो रोग लागेको हल्लाले व्याप्त भयो ।


सहप्राध्यानध्यापक चापागाईले दिएको लक्षणको विवरण हुवहु विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख चिकित्सक प्रा.डा. निदेश सापकोटालाई सुनाउदा उनले ‘मास हिस्टेरिया’ भएको र यो एक अनौठो रोग हो जस्मा एकैचोटी धेरै मानिसहरु एकै प्रकारको लक्षण देखाई विरामी पर्ने गरेको बताए । खासगरी, करिव डेढ दशक अघि कान्तिपुर मै मास हिस्टेरिया र यसको इतिहासको बारेमा एउटा लेख मैले नै प्रकाशित गरेको थिएँ । त्यसबेलादेखि नै मानसिक रोग र मास हिस्टेरिया बारेमा थोरबहुत जानकारी भएकाले मनोचिकित्सक प्रा.डा. सापकोटाको हवाला दिंदै सहप्राध्यानध्यापक चापागाईलाई मास हिस्टेरिया कुनै ज्यानमारा रोग नभएकाले नआत्तिन सुझाव दिएँ ।

डेढ दशक अघिसम्म यो मानसिक समस्या किशोरी वा बयस्क महिलाहरुमा देखिएमा यौनसंग जोडिन्थ्यो । अनि भनिन्थ्यो, ‘यौन प्यास मेट्न नपाएर पागल भएको हो ।’ यी कुतर्कहरु अहिले चिकित्साशास्त्रले खारेज गरिसकेको छ ।

सामान्यतया मनोचिकित्सकहरुले कन्भर्सन डिसअर्डर भन्ने यो समस्या उत्पन्न हुँदा काम्ने, चिच्याउने, कराउने, ढल्ने, वेहोस हुने, हातखुट्टा झट्कार्ने, बर्बराउने, श्वास फेर्न गाह्रो हुने, आत्तिने लक्षणहरु देखाउने गर्छन् । डा. सापकोटा भन्छन्, ‘मास हिस्टेरिया समुहमा पहिला एकजनालाई सुरु हुन्छ । उसको अवस्था देखेपछि त्यो अवस्थाबाट प्रभावित भएर संगै रहेका अरु मानिसमा एक प्रकारको डर पैदा हुन्छ अनि एक पछि अर्कोमा पनि यस्तै लक्षण देखापर्न थाल्छ । जसलाई मास हिस्टेरिया भनिन्छ ।’ उनका अनुसार मानिसको पीडादायी भावना वा तनाव शारीरिक लक्षणका रुपमा परिणत हुने भएकाले कन्भर्सन डिसअर्डर भनिएको हो ।


मनोचिकित्सकहरुका अनुसार मनमा रहेको आन्तरिक पीडाहरु विभिन्न लक्षणका रुपमा देखिने रोगलाई कन्भर्सन डिस्अर्डर अर्थात मास हिस्टेरिया भनिन्छ । मनभित्रका अनेक पीडाहरु एकाएक शारीरिक लक्षणका रुपमा देखाउदा सध्देलाई अनौठो लाग्न पुग्छ । हिस्टेरिया आफैमा अनौठो रोग मानिन्छ । हिस्टेरिया वा मास हिस्टेरिया भएका बिरामीले केहि घण्टासम्म अनौठो लक्षण देखाएको केही घण्टामा होसमा फर्किन्छ ।


गाउघरमा मास हिस्टेरिया भएका विरामीको उपचार वा झारफुक गर्न धामीझाँक्री पनि लगाउने गरिन्छ । धामी झाक्रीले बोक्सी लागेको, शरीरमा प्रेतआत्मा पसेको वा कुनै देउता लागेको भन्दै शरीरबाट कुचोले, सिस्नुले पिट्नेदेखि आगोले झोस्ने चलन अझै हराएको छैन । यता चिकित्सा विज्ञानले हिस्टेरिया वा मास हिस्टेरिया मानिसमा बिभिन्न कारणले हुने भनेर प्रमाणित गरेको छ । विषेशगरी मनको आन्तरिक अन्तरद्वन्दका कारण हिस्टेरिया हुने गरेको चिकित्सा विज्ञानले प्रमाणित गरेको छ ।


मास हिस्टेरिया भएमा बिरामीले देखाउने अनौठा अनौठा लक्षणलाई एकाग्र भएर ध्यान दिन नहुने चिकित्सकहरुले सुझाव दिने गरेका छन् । विरामीप्रति बढी ध्यान दिएमा एक पछि अर्को लक्षणसहित झन् विरामी पर्ने हुनाले उसले पत्याउने, मान्ने, वा उसले आदर्श मानेका व्यक्तिको मुखबाट ‘तिमिलाई केही भएको छैन । ठीकै छौ । यसरी आत्तिनु, बेहोस हुनु, कराउनु चिच्याउनु ठीक होइन’ भनेर विश्वस्त तुल्याउनु जरुरी रहेको डा सापकोटाको सुझाव रहेको छ ।


प्रकाशित : जेष्ठ ३१, २०७५ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?