स्तनपान

‘आमाको दूध शिशुलाई ६ महिनासम्म चाहिने हरेक पोषकतत्त्वले परिपूर्ण हुन्छ ।’
अतुल मिश्र

काठमाडौँ — हाम्रो मुलुकमा जन्मको एक घण्टाभित्र आमाको दूध खान नपाएका कारण धेरै शिशु भविष्यमा मृत्यु र रोगको उच्च जोखिममा छन् ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको पछिल्लो तथ्यांकअनुसार, मुलुकमा अझै एक सयमध्ये ४५ बालबालिका जन्मेको एक घण्टाभित्र स्तनपान गर्नबाट वञ्चित छन् । त्यसमाथि मुलुकमा १० बालबालिकामध्ये तीन जनालाई, आमाको दूध मात्र खुवाउनुपर्ने अवधि अर्थात् जन्मेदेखि ६ महिनासम्म, अन्य खानेकुरासमेत खुवाइने गरिएको छ ।

जन्मको पहिलो एक घण्टाभित्र स्तनपान नगराइएको शिशुको जीवन मृत्यु र रोगको उच्च जोखिममा हुने युनिसेफ र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को नयाँ प्रतिवेदनले समेत उजागर गरेको छ । यस्तै, जन्मेको एक घण्टाभित्र स्तनपानबारे ‘क्याप्चर द मोमेन्ट’ नामक प्रतिवेदनले ७६ मुलुकको तथ्यांक विश्लेषण गरेको छ । त्यसअनुसार, जन्मेको एक घण्टाभित्र स्तनपान गराउन सुरु गरिएका शिशुहरूका तुलनामा जन्मेको दुईदेखि २३ घण्टाभित्र स्तनपान गराइएका शिशुहरूको ज्यान जाने जोखिम ३३ प्रतिशतले बढी हुने अघिल्ला अध्ययनहरूले देखाएका छन् । एक दिन वा त्योभन्दा पछि स्तनपान थालिएका नवजात शिशुमा यो जोखिम दुई गुणा बढी हुने गर्छ ।

Yamaha

‘परम्परागत विश्वासले गर्दा शिशुहरूलाई जन्मको छ महिनाभित्र मह, पानी, मिश्री पानी, गाई–बाख्रा आदिको दूध पनि ख्वाइने गरिएको हो,’ चिफ कन्सल्टेन्ट पेडियाट्रिसियन डा. चन्द्रेश्वर महासेठ भन्छन्, ‘जबकि आमाको दूध शिशुलाई ६ महिनासम्म चाहिने हरेक पोषकतत्त्व लगायत सबै कुराले परिपूर्ण हुन्छ ।’

आमाको दूधमा भएका तत्त्वहरू शिशुको आन्द्राका लागि अनुकूल भएकाले यो सहजै पच्ने गर्छ । यसमा लाभदायक ब्याक्टेरिया (प्रोबायोटिक) हुन्छ, जसले शिशुको पाचन प्रणालीमा भएका समस्यालाई निर्मूल पार्छ । यति मात्र नभई, स्तनपानले शिशुको शरीरको तापक्रमलाई समेत सामान्य राख्न सघाउँछ ।

बच्चा शल्यक्रियाद्वारा जन्मेको भए पनि जन्मको एक घण्टा वा जतिसक्दो चाँडो आमाको दूध खुवाउन सुरु गर्नुपर्ने परिवार कल्याण महाशाखाका निर्देशक एवं वरिष्ठ बालरोग विशेषज्ञ डा. रामपदारथ बिच्छा बताउँछन् । शल्यक्रियाबाट शिशु जन्माउने आमाले सुरुका दिनमा स्तनपान गराउन नर्सको सहयोग लिनुपर्छ ।

जन्मको ६ महिनासम्म मात्र आमाको दूध नदिँदा शिशुको शारीरिक र मानसिक विकास पूर्ण रूपमा नहुने उल्लेख गर्दै वरिष्ठ पोषणविद् राजकुमार पोखरेल भन्छन्, ‘यसबाट सरुवा रोगको जोखिम बढ्छ, कुपोषण हुन सक्छ र अन्तत: बाल मृत्युदर बढ्छ ।’

विज्ञहरूका अनुसार, शिशुलाई रुघाखोकी हुँदा त्यसको विषाणु शिशुका माध्यमले आमाको शरीरमा समेत पुग्छ । यस्तो अवस्थामा आमाको शरीरले ती विषाणुविरुद्घ लड्ने क्षमतासहितको दूध निर्माण गर्छ अनि त्यही खाएर शिशु निको हुन्छ ।

‘आमाको दूधमा शिशुलाई संक्रमणबाट रोक्न सक्ने रोगप्रतिरोधी क्षमता हुन्छ । यसले रुघाखोकी, छातीको संक्रमण, ग्यास्ट्रोएन्टराइटिस, झाडापखाला जस्ता समस्याबाट जोगाउँछ,’ डा. महासेठ भन्छन् । उनका अनुसार आमाको दूधमा पहिलेदेखि नै भएको रोग प्रतिरोधक क्षमतासँगै शरीर कुनै संक्रमणको सम्पर्कमा आएलगत्तै नयाँ रोगप्रतिरोधी क्षमतासमेत निर्माण हुन्छ । ६ महिनासम्म स्तनपान मात्र गराउने गरे शिशुहरूमा हुने एक्कासि मृत्युको समस्यालाई समेत कम गर्न सघाउने डा. महासेठ बताउँछन् ।

मधेसमा गर्मीयाममा ६ महिनामुनिका बालबालिकालाई पानीसमेत खुवाउने गरिन्छ, शरीरमा पानीको कमी नहोस् भनेर । पछिल्लो जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणअनुसार, दुई नम्बर प्रदेशमा जन्मेका शिशुहरूमध्ये आधाजतिलाई उनीहरूको जीवनको पहिलो तीन दिनमा मह, पानी, अन्य दूध जस्ता पदार्थहरू खुवाउने गरिएको छ ।

आमाको दूधमा ८८–९० प्रतिशतसम्म पानी हुन्छ । यो दूधलाई उपयुक्त रूपमा खुवाए शिशुमा पानीको कमी हुन नपाउने जनाउँदै डा. महासेठ थप्छन्, ‘केही खास रोगबाहेक सबै अवस्थामा ६ महिनासम्म आमाको दूध मात्र दिनुपर्छ । यसरी आमाको दूध नदिनुपर्ने अवस्था दुर्लभै हुन्छ ।’

बालबालिकाका लागि आमाको दूध नै यस्तो खाना हो, जुन सधैं सही समय, सही ठाउँ, सही मात्रा र सही तापक्रममा उपलब्ध हुने गर्छ । यसमा सबै प्रकारका आवश्यक तत्त्व हुन्छन् । यसमा भिटामिन, फयाट, कार्बोहाइड्रेट, खनिज आदि प्रशस्त मात्रामा हुन्छन् । दूधमा न्यूनतम चार सय पोषकतत्त्वसँगै हार्मोन र रोगसँग लड्ने पदार्थसमेत हुन्छ । आमाको दूधमा भएको प्रोटिन सहजै पच्ने मात्र गर्दैन, सजिलै शरीरमा अवशोषित पनि हुन्छ ।

दूधमा भएका विभिन्न एन्टिबडी, इम्युनोग्लोबिनले शिशुको रोगप्रतिरोधी क्षमता बढाउन सघाउँछ । सँगसँगै संक्रमण र एलर्जी हुने सम्भावनासमेत कम गर्ने डा. बिच्छा बताउँछन् ।
डब्लूएचओको सुझावअनुसार, ६ महिनासम्म आमाको दूध मात्र खुवाउनैपर्छ । ६ महिनादेखि आमाको दूधसँगै अन्य पूरक आहारा खुवाउनुपर्छ । दुई वर्षसम्म आमाको दूध खुवाउनु शिशुका लागि राम्रो मानिन्छ ।

कतिखेर गराउने स्तनपान
तपाईंलाई शिशुले जतिखेर स्तनपान गर्न मन गरेको अनुभूति हुन्छ, त्यतिखेर गराउनुस् । शिशुले जति समयसम्म स्तनपान गर्न रुचाउँछ, गर्न दिनोस् । यो प्रक्रिया धेरैजसो शिशुका लागि सही हुने डा. बिच्छा औंल्याउँछन् ।

उसो त स्तनपानको कुनै निश्चित नियम हुँदैन, तर जन्मेको एक सातापछि धेरैजसो शिशु दिनमा सातआठ पटकसम्म स्तनपान गर्छन् । स्तनपानको एउटा निर्धारित तालिकाअनुसार, शिशुले रुचाए अनुसार उसलाई दूध खुवाउनु नै राम्रो हुन्छ ।

तपाईंको शरीरमा उत्पादन हुने दूध शिशुको आवश्यकताअनुसार हुन्छ । कम तौलको शिशु जन्मँदा चिकित्साकर्मीले हरेक दुई घण्टामा स्तनपान गराउने सल्लाहसमेत दिन सक्छन् । शिशुको तौल बढाउन यस्तो सल्लाह दिने गरिन्छ ।

तपाईंको शरीरले पर्याप्त दूध उत्पादन गर्नलाई समय पनि पर्याप्त नै चाहिन्छ । यसैले तपाईंले पोसिलो खाना खानुसँगै आफ्नो शरीरको राम्ररी ख्यालसमेत राख्नुपर्छ ।

स्तनपानबाट आमालाई फाइदा
-आमाछोराको सम्बन्ध बलियो बनाउँछ ।
-आमाको छालामा निखार आउँछ ।
-पाठेघर खुम्चिएर पुरानो अवस्थामा फर्कन्छ ।
-शरीरको तौल धेरै घटबढ हुन पाउँदैन ।
-उदासी रोग (डिप्रेसन) हुन पाउँदैन ।
-केही समयसम्म महिनावारी हुँदैन ।
-तुरुन्त गर्भ रहन पाउँदैन ।
-रोगप्रतिरोधी क्षमता बढ्छ ।
-भविष्यमा स्तन र पाठेघरको क्यान्सर हुने जोखिम कम हुन्छ ।
-टाइप २ मधुमेह हुने खतरा घट्छ ।
-हाड कमजोर हुने खतरा कम हुन्छ ।
-मुटु रोगको जोखिम घटाउँछ ।

-atulmishra7@gmail.com

प्रकाशित : श्रावण १९, २०७५ ०८:३९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

चुकन्दर

कान्तिपुर संवाददाता

काठमाडौँ — चुकन्दर अर्थात् बिटरुट निकै लाभदायक र पौष्टिक तरकारी हो । हेर्दा नै लोभलाग्दो, रातो देखिने यो तरकारीले सबै उमेर समूहका लागि उत्तिकै फाइदाजनक मानिन्छ ।

प्राचीन कालमा चुकन्दरको उपयोग यौन स्वास्थ्य बलियो बनाउन गरिन्थ्यो । यसैले यसलाई प्राकृतिक भियाग्रासमेत भनिन्छ । यसबाट नाइट्रिक अक्साइड निस्किन्छ, जसका कारण रक्तवाहिनी फुक्छ र यौनांगमा रगतको प्रवाह बढ्दै जान्छ । यसबाहेक चुकन्दरमा धेरै मात्रामा भोरान नामक रसायन पाइन्छ, जुन मानिसको यौन हार्मोन निर्माणमा सहयोगी हुन्छ ।

चुकन्दरको जुस खानाले व्यक्तिविशेषको स्टामिना १६ प्रतिशतसम्म बढ्ने दाबी गरिन्छ । यसो हुनुका पछाडि यसमा भएको नाइट्रेट तत्त्व कारक हुन्छ । शरीरमा अक्सिजनको वृद्घिले गर्दा मस्तिष्कले राम्ररी काम गर्न सक्छ ।

चुकन्दर खाँदा डिमेन्सिया (बिर्सने रोग) बाट आराम पाउन सकिने मान्यता छ ।

चुकन्दर खाँदा यसमा भएको नाइट्राइटस नाइट्रिक अक्साइडमा परिवर्तित हुन्छ । यी दुवै तत्त्वले धमनीलाई फराकिलो पार्न र रक्तचाप कम गर्न सघाउँछ । अनुसन्धानमा पाइएअनुसार, दिनहुँ ५ सय ग्राम चुकन्दर खाने गरे छ घण्टामा व्यक्तिविशेषको रक्तचाप कम हुन्छ ।

यसमा धेरै बढी मात्रामा रेसा (फाइबर), फ्लेभेनाइडस र भेटासायनिन हुन्छ । शक्तिशाली एन्टिअक्सिडेन्ट भेटासायनिनले गर्दा नै यसको रंग रातो भएको हो । यो भेटासायनिनले एलडीएल कोलेस्ट्रोलको अक्सिडेसन कम गर्न सघाउँछ, जसले गर्दा यो धमनीमा जम्दैन । अनि ह्दयाघातको जोखिम कम हुन्छ ।

चुकन्दर खाँदा शरीरमा रगतको कमी हुन पाउँदैन । यसमा धेरै मात्रामा आइरन हुन्छ । यही आइरनले रक्तअल्पतासँग लड्न सघाउँछ । आइरनको सहयोगले हेमोग्लुटनिन बन्छ, जो रगतकै एउटा खण्ड हुन्छ । यसले अक्सिजन र अन्य पोषक तत्त्वलाई शरीरको अन्य अंगसम्म पुर्‍याउन सघाउँछ ।

यसमा मिनरल सिलिकासमेत हुन्छ ।

यही तत्त्वले गर्दा हाम्रो शरीरले क्याल्सियमको प्रभावकारी रूपमा उपयोग गर्न सक्छ । यसको निरन्तर सेवनले अस्टियोस्पोरोसिस, हाड आदिको समस्याबाट बँच्न सकिन्छ ।

यसमा फलिक एसिड उच्च मात्रामा पाइन्छ । यो पोषक तत्त्व गर्भवती र शिशुको लागि महत्त्वपूर्ण हुन्छ । यसले गर्भस्थ शिशुको मेरुदण्ड बनाउन सहयोग गर्छ । यति मात्र होइन, यसले गर्भवतीलाई अतिरिक्त ऊर्जा पनि दिन्छ ।

प्रकाशित : श्रावण १९, २०७५ ०८:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT