म्याग्दीका साढे ११ हजार जनाको स्वास्थ्य विमा

रासस/याेन्हाप

म्याग्दी — डेढ वर्षको अवधिमा जिल्लाका दुई हजार ६ सय परिवारले स्वास्थ्य बिमा गराएका छन् । यसको कुल संख्या साढे ११ हजार भन्दा धेरै पुगेको छ । 

विपन्न र गरीब समुदायका नागरिकको गुणस्तरीय स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले २०७३ पुस १३ देखि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको हो । यस क्रममा ११ हजार ७३० जनाले स्वास्थ्य बिमा गराएको समितिको बेनीस्थित कार्यालयले जनाएको छ ।

अघिल्लो आवमा बिमा गरेका छ हजार २९६ जनाले नविकरण गरेका छन् । आव २०७४/७५ मा पाँच हजार ४३४ जनाले स्वास्थ्य बिमा गराएका थिए । बिमा गरेकाहरुले नौ हजार ३२३ पटक सो सेवा लिएका छन् । बेनी अस्पताल, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र, धौलागिरि अञ्चल अस्पताल बागलुङले सिफारिश गरेमा बिमा गराएका नागरिकले सूचीकृत भएका मुलुकका विभिन्न अस्पतालबाट स्वास्थ्य सेवा पाउने व्यवस्था छ ।

पाँच जनासम्मको परिवारले वार्षिक रूपमा प्रतिपरिवार रु दुई हजार ५०० तिर्नुपर्ने र परिवारका सदस्य पाँचभन्दा बढी भएमा प्रतिसदस्य रु ४२५ का दरले थप शुल्क तिरेर एक वर्षका लागि स्वास्थ्य बिमामा आवद्ध हुन सक्नेछन् । पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक रु. ५० हजारसम्मको स्वास्थ्य सेवा पाइने तथा पाँचभन्दा बढी सदस्य भएमा रु एक लाखसम्मको सेवा पाउने प्रावधान छ ।

कार्यक्रमबाट बिमाकर्ताले बहिरंग, प्रसूति, एक्सरे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखाको उपचारलगायत ३२ किसिमका स्वास्थ्य सेवा पाउनेछन् । वडास्तरमा खटिएका दर्ता सहयोगीमार्फत स्वास्थ्य बिमा गराउन सकिन्छ । जिल्लामा ४३ दर्ता सहयोगी परिचालित छन् ।

प्रकाशित : श्रावण २५, २०७५ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

विश्वकर्मा गिरफ्तारीबारे गृहमन्त्रीले भने 'उनी वान्टेड हुन्, हत्कडी स्वभाविक'

रमेशकुमार पौडेल

चितवन — गृह जिल्ला चितवन आएका गृहमन्त्री रामबहादुर थापालाई शुक्रबार बिहान पत्रकारहरूले भरतपुर विमानस्थलमा सोधे, 'तपाईं गृहमन्त्री हुँदा तपाईंकै साथी खड्कबहादुर विश्वकर्मा पक्राउ पर्दा हत्कडी किन ?

मन्त्री थापाले जवाफ दिए, 'म गृहमन्त्री हो, समातिएको व्यक्ति कानुन उल्लंघन गर्ने आरोपित हुन् । आरोपितलाई हत्कडी स्वभाविक नै हो ।'

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्टका प्रवक्ता विश्वकर्मा हालै मात्र काठमाडौंमा गिरफ्तार भएका थिए । उनलाई हत्कडीसहित अदालत लगिएको थियो । थापा र बिक कुनै समय एउटै पार्टीमा थिए ।

बिक कानुन उल्लंघन गरेर ध्वंस मच्चाएको र चन्दा असुली गरेका कारण वान्टेड भएकोले पक्राउ गरिएको गृहमन्त्री थापाले बताए । कुनैसमयका आफ्नै सहकर्मीहरूले नेतृत्व गरेको पार्टीसँग संसदबाट आव्हान गर्नु बाहेक वार्ताका विषयमा ठोस काम नभएको उनले बताए । 'वार्ताका लागि खुला नै छौं । प्रशासनिक रूपमा पनि हामी अगाडि बढ्छौं । कानुन विपरित चल्ने जो सुकै होस समातिन्छन, कारवाही हुन्छ,' गृहमन्त्री थापाले भने । उनले हालै काठमाडौंमा अपहरणकारीको मुठभेडमै मृत्यु भएको र 'फेक इन्काउटर' भनेर हल्ला फैलाएको बताए ।

प्रकाशित : श्रावण २५, २०७५ १०:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT