ह्याम्समा ओस्टियोपोरोसिस रोगको नि:शुल्क शिविर सम्पन्न

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालभर नै बढ्दै गइरहेको जेष्ठ नागरिकहरुको जनसंख्यालाई मध्यनजर गर्दै वृद्ध अवस्थामा धेरैमा देखिने ओस्टियोपोरोसिस र हाडजोर्नीको विभिन्न समस्यालाई बेलामा नै पहिचान गरी उपचार गर्नका लागि काठमाडौंको धुम्बराईस्थित ह्याम्स अस्पतालले नि:शुल्क शिविरको आयोजना गरेको छ ।

अस्पतालले ५० वर्ष माथिका महिला तथा पुरुषका लागि भदौ ७ देखि ९ गतेसम्म अस्पतालमै संचालन गरेको उक्त शिविरमा ४०० भन्दा बढीले आफ्नो स्वास्थ्य परिक्षण गराएका थिए।

Yamaha

उक्त शिविर स्वास्थ्य परिक्षणमात्र नभइ सहभागीहरुलाई ओस्टियोपोरोसिस र हाडजोर्नी रोग र त्यसको रोकथामका उपाय बारे केही सामान्य ज्ञान पनि दिइएको थियो। त्यहाँ कार्यरत हाडजोर्नी रोगका विशेषज्ञ चिकित्सकहरु डा. भाष्करराज पन्त, डा. विज्ञान भण्डारी, डा. प्रशान्त अधिकारी, डा. सन्दीप भण्डारी र डा. रबिन्द्रबस्नेत (फिजियाेथेरापी) ले नै स्वास्थ्य परिक्षणमा सहभागीहरुसँग अन्तरक्रिया गर्दै उनीहरुलाई वृद्ध अवस्थामा हुनसक्ने ओस्टियोपोरोसिसका साथै हाडजोर्नीका विभिन्न समस्या र त्यसको उपचार पद्दतीबारे जानकारी गराएका थिए।

अस्पतालमा कार्यरत हाडजोर्नी तथा मेरुदण्डरोग विशेषज्ञ डा. विज्ञान भण्डारीका अनुसार विशेष गरेर महिनावारी बन्द भएका महिला तथा वृद्धहरुमा बुढ्यौलीका कारण ओस्टियोपोरोसिस र विभिन्न प्रकारका हाडजोर्नीका समस्याहरु देखापर्छन्।

‘बुढेसकालमा धेरैमा देखिने समस्या भनेको ओस्टियोपोरोसिस हो,’ उनले भने, ‘यो महिलाहरुमा महिनावारी बन्द भएपछि इस्ट्रजेनको कमी कारण देखा पर्छ भने पुरुषहरुमा उमेर ढल्किँदै गएपछि देखिन्छ। यस्तै छारे रोग, दम र बाथका औषधीहरु लमो समयसम्म प्रयोग गर्नेहरुमा पनि यो समस्या देखिन सक्छ।’

उनका अनुसार त्यसैले स्वास्थ्य परिक्षण गराउन आएकाहरु सबैको नि:शुल्क ‘क्याकानियल डेन्सिटोमेट्री’ (हाड्डीको बलियोपन)को परिक्षण तथा परामर्श दिइएको थियो।उक्त अस्पतलमा हाडजोर्नीसँग सम्बन्धित सम्पूर्ण रोगहरुको उपचार पनि हुने उनले बताए।

प्रकाशित : भाद्र १०, २०७५ ०९:२७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मिथिलाञ्चलमा रक्षाबन्धनको रौनक

सन्तोष सिंह

जनकपुर — जनकपुरको जानकी मन्दिर परिसर रक्षबन्धनका गीतले शनिबार बिहानैदेखि गुन्जायमान बनेको छ । भाइ–बहिनीको प्रेमको प्रतीकका रूपमा मनाइने रक्षाबन्धन यस वर्ष आइतबार परेकाले मिथिला क्षेत्रमा रौनक छाएको हो ।

जनकपुरधामको जानकी मन्दिर परिसरमा रक्षाबन्धनका लागि राखी खरिद गर्दै सर्वसाधारण (माथि) र वीरगन्जको बजारमा राखिएको राखी पसल र राखी छान्दै महिलाहरू । मिथिलाञ्चलमा यो पर्वमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिएर दीर्घजीवन तथा रक्षाको कामना गर्छन् भने दाजुभाइले दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा तथा उपहार दिने प्रचलन छ ।तस्बिर : सन्तोष सिंह र शंकर आचार्य

श्रावण शुक्लपक्ष सुरु हुनासाथै मिथिलाक्षेत्रका गाउँ घरमा भाइ बहिनी बीचको गाढा प्रेम दर्शाउने रक्षाबन्धनका गीत गुञ्जिन थालेका थिए । मिथिला क्षेत्रमा यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । भाइ–बहिनीबीच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यो पर्व मिथिलाञ्चल क्षेत्रको सांस्कृतिक पर्व हो ।

ग्राहकको रोजाइमा परेका राखीको डिजाइनको माग र त्यसको आपूर्ति बजारमा व्यापारीलाई भ्याइ नभ्याइ भएको छ । पर्वको पूर्वसन्ध्यामा रक्षाबन्धनका जनकपुरको बजार राखीले ढाकिएको छ ।

रक्षा बन्धनमा दिदी–बहिनीले राखी बाँधेर दाजु–भाइलाई मिष्ठान भोजन खुवाउने चलन छ । दाजु–भाइले दिदी–बहिनीलाई उपहार दिने परम्परा छ । राखीका लागि दाजुभाइ कार्यरत क्षेत्रबाट घर फर्किने गर्छन । दाजुभाइ राखी बाँध्न पुग्ने गर्नाले चेली र माइती पक्षबीच रक्षाबन्धनले सम्बन्ध सुधारमा समेत विशिष्ट भूमिका निर्वाह गर्छ ।

सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल) को अधिपति दानवराज बलिलाई उनका बहिनी गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा राखी बाँधिदिएको र युद्धमा बलिको जित भएको सम्झनामा प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिन रक्षबन्धन बना बनाइन्छ । दिदी–बहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधीदिने परम्परा बसेको मिथिला क्षेत्रमा जनविश्वास छ ।

श्रावण शुक्लपक्ष पूर्णिमाका दिन ब्राह्मण पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित डोरा यजमानलाई बाँधीदिने परम्परा पनि छ । तर, मिथिलाञ्चलमा भने मुख्य आकर्षण चाहि दिदीबहिनीकै हातबाट राखी बाँधिनु रहेको देखिन्छ ।

यता, प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले रक्षाबन्धनको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै आइतबार सार्वजनिक बिदा दिएको घोषणा गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जारी गरेको विज्ञप्तिमा रक्षाबन्धनको दिन आइतबार प्रदेश २ मा सार्वजनिक बिदा रहेको उल्लेख छ ।

प्रकाशित : भाद्र १०, २०७५ ०९:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT