एउटै वस्तुबाट जोगिँदा दीर्घायु

कान्तिपुर संवाददाता

काठमाडौँ — हालैको एउटा अध्ययनको दाबीअनुसार, यदि तपाईं लामो जीवन पाउन चाहनुहुन्छ भने, खानपानमा कार्बोहाइड्रेटको मात्रालाई सीमित गर्नुस् ।

खानामा आवश्यकताभन्दा कम वा बढी कार्बोहाइड्रेट लिनेहरू अल्पायु मृत्युको जोखिममा हुने गर्छन् ।

४५–६४ वर्ष उमेर समूहका १५ हजार ४ सय २८ व्यक्तिमा गरिएको यो अध्ययन ‘ल्यान्सेट’ मा प्रकाशित छ । सहभागीहरूमध्ये पुरुषले दिनहुँ ६००–४२०० किलो क्यालोरी ऊर्जा ग्रहण गर्थे भने महिलाले ५००–३६०० किलो क्यालोरी ।

Yamaha

अनुसन्धानअनुसार, कार्बोहाइड्रेटमा ४० प्रतिशतभन्दा कम वा ७० प्रतिशतभन्दा बढी ऊर्जा ग्रहण गर्नाले मृत्युको जोखिम बढछ । तर कार्बोहाइड्रेटका रूपमा ५०–५५ प्रतिशत ऊर्जा लिनेहरूको छिटो मृत्यु हुने सम्भावना कम हुन्छ ।

अनुसन्धानको आकलन अनुसार, सीमित मात्रामा कार्बोहाइड्रेट खानेहरूको आयु आवश्यकताभन्दा कम कार्बोहाइड्रेट खाने व्यक्तिको तुलनामा चार वर्ष बढी पाइयो ।

Esewa Pasal

प्रकाशित : भाद्र १६, २०७५ ०८:१५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रमुख अतिथि को ?

राजनीतिक नेतालाई अनुष्ठानहरूमा प्रमुख अतिथिको सम्मान दिने कार्यमा केही समयदेखि कमी आउन थालेको छ । किन ?
भैरव रिसाल

काठमाडौँ — राजनीति सर्वोच्च र सर्वोच्च हुनैपर्छ । राजनीति कथं सर्वोच्च स्थानमा आसिन हुनसकेन भने किन यसो भो भनी गम्भीर हुनैपर्छ । नीतिले पनि भन्छ– नीतिहरूको पनि राजा राजनीति हो । ‘राजा’ सर्वेसर्वा एवं सर्वोच्च स्थानमा रहने हुँदा ‘राजा’को प्रतीकात्मक रूपमा या विम्बका रूपमा प्रस्तुत भएको हो भन्ने लाग्छ ।

यदि यो नीति गणतन्त्र कालखण्डमा आविष्कार भएको भए कि वा उत्पादन भएको भए दृष्टान्तमा राजा शब्द प्रयुक्त हुँदैनथ्यो । सर्वोच्चको प्रतीकात्मक अर्कै शब्द प्रयुक्त हुन्थ्यो । यो साधारण हो ।

केही समय यतादेखि नेपालमा आयोजना गरिने सार्वजनिक सभा, समारोह, अनुष्ठान आदिमा सरकारमा भएका विशिष्टतम व्यक्तित्व वा पार्टीका प्रमुख, उपप्रमुख, नेताहरू, नेतृत्वमा भएका नेताहरूलाई निम्तो नै नगर्ने, बोलाउँदै नबोलाउने, बेवास्ता गर्ने, उपेक्षा गर्ने प्रवृत्ति विकास हुँदै आएको छ । त्यस्ता ठाउँमा समाजमा यसो चलनचल्तीमा आएका सामाजिक, सांस्कृतिक, साहित्यिक, बौद्धिक र अरु नपाए पत्रकारिता क्षेत्रकै होस्, बरु तिनलाई प्रमुख अतिथिको आसनमा आसिन गराउने प्रवृत्ति बढ्न लागेको देखा पर्दैछ ।

दृष्टान्तका लागि शताब्दी पुरुष सत्यमोहन दाइलाई लिन सकिन्छ । ९९ सय वर्षमा हिँडिरहेको ज्येष्ठतम नागरिकलाई दिनको सालाखाला दुइटा कार्यक्रममा प्रमुख अतिथि वा सभापति बन्नुपर्छ होला । त्यो उमेर ठन्डा वा तातो हावापानीमा उहाँले कसरी भ्याउनुहुन्छ, छक्क लाग्छ । शौच लाग्दो हो, लघुसङ्का, दीर्घसङ्का लाग्दो हो, ओखती खानुपर्दो हो, प्यास लाग्दो हो, भोकै पनि लाग्दो हो । आयोजकहरूको ध्यान त्यता गएको प्राय: देखिँदैन ।

उत्कृष्ट अनुष्ठान
मेरो तर्कको एउटा उपमा प्रस्तुत गरौं । गएको शनिबार (भदौ ९ गते) बिहानै नेपाल नदी संरक्षण संस्था (एनआर सीटी) ले ‘वागमती जलमहोत्सव २०१८’ नाममा एउटा पानी उत्सवको आयोजना गरेछ । यो उत्सवको यो अठारौं चरण रहेछ । बिहानैको कार्यक्रम जलयात्रा नभन्दै रातिदेखि नै दर्के पानी वैरिएर साँच्चैको ‘जलयात्रा’ भो ।

उक्त महोत्सवको अर्को उत्कृष्ट आकर्षण नेपालका १८ नदीबाट पानी ल्याइएको रहेछ, सीसी–बोतलहरूमा । ती १८ नदीमा महाकाली, हुम्ला कर्णाली, मुगु कर्णाली, तिला कर्णाली, पश्चिम सेती, भेरी, राप्ती, कालीगण्डकी, बुढीगण्डकी, मस्र्याङ्दी, त्रिशूली, भोटेकोशी, तामाकोशी, दूधकोशी, सुनकोशी, तमोर, अरुण र मेची हुन् ।

बडो गर्व लाग्छ, यी १८ वटै नदी पार गर्ने मौका पाएको छु । त्यसरी ल्याइएको पानी पञ्चकन्या लगायत १८ जनाले एउटा तामाको मझौला आकारको खड्कौलामा हाली त्यो परम पावन पानी पुनित वागमतीमा मिसाएर एउटा उत्तम कार्य सम्पन्न भयो । वास्तवमा यो एउटा विम्ब थियो । थियो, वागमतीको पानी पनि ती नदीको जस्तै स्वच्छ, निर्मल र पिउनयोग्य हुनुपर्छ भन्ने मौन सन्देश ।

त्यत्रो दर्के पानीमा त्यत्रो जनसहभागिता मेघ आलेको चोखो प्रयत्न, स्वार्थरहित संघर्ष र फ्रेन्डस क्लब कुपन्डोलको अनुकरणीय क्रियाशीलताको नतिजा हो । कति चोखो अनुष्ठान ! त्यो दिनभरको जलमहोत्सव तयारी, बाद्यवादन लगायतको जोरजाम, खेर गएका वस्तुहरूबाट पुन: उत्पादित जीवनोपयोगी वस्तुहरूको सूक्ष्म प्रदर्शनी, पाल, सामियाना, मञ्च, १८ डुङ्गा आदिको जोरजाम हेर्दामात्र सजिलो बन्दोबस्त कति कठिन हुन्छ भन्ने कुरा सेतो कपाल भएको तालु खुइलिएकाहरू राम्ररी जान्दछन् ।

वाग्मतीका ३ सन्तानको सम्मान
त्यो जलयात्रा समारोहमा आयोजकहरूले मलाई किन हो, प्रमुख अतिथिको ठाउँमा बसाले भने वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलाई विशिष्ट अतिथिमा वरण गरे । सांसदहरू पम्फा भुसाल, तेजुलाल चौधरी, अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा शेर्पा लगायत विभिन्न क्षेत्रका शीर्ष व्यक्तित्वहरू रुझिभिजी, हिलाम्यै भई उपस्थित हुनुहुन्थ्यो ।

उहाँहरूमध्ये कतिजनाले आ–आफ्नो प्रतिबद्धता पनि सार्वजनिक गर्नुभो, वागमती र अन्य नदी सफा गर्नेबारे । वन तथा वातावरण मन्त्री बस्नेतले त झनै ओजस्वी मन्तव्य राख्नु भो र साविकभन्दा बढी सरकारी भाषण गर्नु भो, विभिन्न आश्वासन दिन शेष राख्नु भएन । मैले पनि यथामति आफ्नो दृष्टिकोण राखेँ ।

त्यस अघि यो संसार छोडिसकेका वागमतीका ३ सन्तान हुतराम वैद्य, पं. मदनमोहन मिश्र र भगवानदास मानन्धरको तस्बिरमा मालाबाट सम्मान गरिएको थियो । उहाँहरू तीनैजनाले आ–आफ्नो गच्छे अनुसार वाग्मतीलाई स्वच्छ, सफा, निर्मल र निरापद पार्न आफूलाई समर्पित गर्नुभएको थियो । अँ त † त्यत्रो महत्त्वपूर्ण आयोजनाको प्रमुख अतिथिको गरिमामय दर्जा दिएकोमा म फुलेल भएँ ।

सबैको मेरो वामपुड्के आकृतिमा आँखा र म के भन्छु भन्नेमा कान केन्द्रित थिए । तर फर्कंदा मैले विचार गरेँ । त्यो समारोहमा म अतिथिमात्र भएको भए राम्रो हुने थियो । प्रमुख अतिथि मन्त्री बस्नेत र विशिष्ट अतिथि अरु कुनै राजनीतिक व्यक्तित्व भएको भए अत्युत्तम हुने थियो भन्ने लाग्यो । किनकि नेतृत्व त राजनीतिले गर्ने हो ।

किन पत्याएनन्, पुनरावलोकन गर्ने कि ?
राजनीतिक नेता र नेतृत्वलाई अनुष्ठानहरूमा प्रमुख अतिथिको सम्मान दिने कार्यमा केही समयदेखि कमी आउन थालेको छ । किन यस्तो अवस्था आएको हो ? राजनीतिक नेतावर्ग, मन्त्रीगण तथा पार्टी नेतृत्वका जिम्मेवार तहका महानुभावहरूले सोच्ने बेला आयो भन्ने लाग्यो मलाई ।

सोचाइ पनि झारा टार्नेमात्र होइन, गम्भीर सोचाइ हुनुपर्‍यो । किन मन्त्री बस्नेतलाई प्रमुख अतिथि नबनाएर सामान्य मान्छे वा साधारण पत्रकार भैरव रिसाललाई प्रमुख अतिथि बनाए नदी संरक्षण संस्थाका मेघ आले र फ्रेन्डस क्लब कुपन्डोलले ? त्यसको कठोर चिरफार गर्नुपर्‍यो राजनीतिक नेतृत्वले र राजनीतिले नै । एउटा छेस्को भनिहालौं । मलाई लागेको तपाईं प्रधानमन्त्रीदेखि प्राय: सबै मन्त्री, पार्टी प्रमुखदेखि पार्टीका नेतृवृन्द समयमा आउनुहुन्न ।

समयमा आउन अनुकूल भएन यदाकदा भने मोबाइल थिचेर कम्तीमा खबर गर्ने र म आउँदैछु । कार्यक्रम सुरु गर्नोस् भन्ने किन नगर्ने ? किनकि समयमा सुरु नहुँदा धेरै जनाको महत्त्वपूर्ण समय खेर जान्छ । त्यति किन भन्न सक्नुहुन्न नेताहरू र प्रधानमन्त्रीदेखि अरु मन्त्रीहरू ? यति गरिदिनोस् त तपार्इंलाई प्रमुख अतिथि बनाउँछन् ।

तपाई नेताहरूप्रति मेरो सम्मान छ, किनकि कठिन समयमा तपाई नेताहरूले महत्त्वपूर्ण योगदान गर्नुभएको छ । जेल पर्नुभएको छ, निर्वासित हुनुभएको छ । मोजमजा गर्ने उमेर झ्यालखानामा बिताउनुभएको छ । तपाई नेताहरू नै हो, अब पनि यो देश बनाउने, विकास गर्ने । म जस्ता व्यक्तिले आमूल परिवर्तन गर्न त्यस्तो ठूलो योगदान गर्न सक्छु र ? तर संस्थाहरू किन तपाईहरूलाई आफ्ना कार्यक्रममा प्रमुख अतिथि बनाउन पनि मन गर्दैनन् ? मेघ आलेहरूसँग रिसाएर हुँदैन । आफूमा के कमी छ, पुनरावलोकन गर्नोस् ।

भुइँ नछोड्नोस्
भदौको सुरुतिर बबरमहलस्थित कलाकेन्द्रमा कृष्ण केसीको क्रियाशीलतामा चित्रकलाको प्रदर्शनी आयोजित थियो । ९९ सय वर्षका संस्कृतिविद् सत्यमोहन जोशी सभापतित्वका लागि आमन्त्रित हुनुहुँदो रहेछ । उहाँको स्वभावै छ, समयमा आउने । पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि । तर सत्यमोहन दाइले प्रचण्डलाई डेढ घन्टा कुर्नुपर्‍यो ।

ढिला आएकोमा क्षमासम्म पनि माग्नुभएन उहाँले । मलाई पनि बोल्न दिएका थिए, कृष्ण केसीले । मैले कडासँग कुरा राखेँ । गएको साउन २९ मा नेपालका मन्त्री र सांसदहरू भन्ने एउटा सामग्री सार्वजनिक गरेका थियौं, मसमेत सिकाइ समूहले । त्यस काममा मैले धेरै नेतालाई आमन्त्रण गरेँ, सहभागी हुन । तर डा. बाबुराम भट्टराईको दुइटा टेलिफोनमा गरी २ सय पल्ट सम्पर्क गर्न खोजेँ । अहँ † मरे उठ्दैन टेलिफोन ।

माधव नेपालको टेलिफोन उठ्यो, उहाँको कोबाट हो कुन्नि को–को बोल्ने, प्रमुख अतिथि को ? जस्ता कुरा आए । पुस्तक कल्ले सार्वजनिक गर्ने ? जस्ता बयान लिए उनले । तर त्यसपछि त न नेपाल आए, नत आउन नसक्ने खबरसम्म पनि आयो । झलनाथ खनाल र रामचन्द्र पौडेलले आउँछु भने, तर आएनन्, ढाँटे ठाडै । आउन नसक्नेसम्म भन्ने सभ्यता पनि देखाएनन्, उपेक्षा गरे । म जनता, मेरा कुरा तपाईले सुन्नैपर्छ, किनकि तपाईं मेरो प्रतिनिधि हो ।

तपाईलाई सहयोग गर्न जनताको पैसा खाने शाखा अधिकृत तहको जनशक्ति छ । मेरो कुरा उनले सुन्नुपर्छ, तपाईलाई भन्नुपर्छ, उनले । तपार्इंले के भन्नुभो, मलाई उनले भन्नुपर्छ । तपाईंले मसँग सोझै कुरा गर्नु पर्दैन । तर तपाईंहरू त्यति पनि गर्नुहुन्न । नेताहरू, तपार्इं भुइँ छोड्दै हुनुहुन्छ । भुइँ छोड्ने पछारिन्छ । समयमै सच्याउनोस्, सच्चिनोस्, नेताज्यू ।

समयको महत्त्व बुझ्नोस्
त्रिचन्द्र कलेजले हालै १०१ औं जन्मोत्सव मनायो, एउटा सार्वजनिक समारोह गरी । शिक्षा तथा विज्ञान र प्रविधिमन्त्री गिरिराजमणि पोख्रेल २ घन्टा पछिमात्र आए । उद्घोषक महाशयले ३४ मिनेट ३५ सेकेन्ड मञ्चमा आसन ग्रहण गर्न बोलाएर बरबाद गरे । त्रिचन्द्र कलेजजस्तो शैक्षिक संस्थाले आसन ग्रहण गर्ने जस्ता फाल्तु कुरामा त्यत्रो महत्त्वपूर्ण समयको दुरुपयोग गर्‍यो ।

के बुढै भएको हो, उक्त कलेज ? यस्तो कलेजले कसरी उत्पादन गर्छ सुयोग्य, प्रतिभाशाली, शिक्षित जनशक्ति ? नेताहरू ? नेता हुने तपार्इंहरू नै हो, म हैन । तर जनताले पत्याउने नेता हुन कम्तीमा पनि जनताका कुरा सुन्नैपर्छ । हो, मलाई थाहा छ, तपाई भ्याउनुहुन्न, त्यसैले मैले भनेको मेरा कुरा तपाईंको सहयोगीले सुन्नैपर्छ । मैले बुझेको जनतन्त्र, गणतन्त्र यही हो । तर यहाँ परिस्थिति उल्टो रूपमा उपस्थित भइरहेको छ ।

तपाई राजनीतिक नेता–नेतृत्वले हो, मुलुकको नेतृत्व गर्ने । तर किन आज सामाजिक, सांस्कृतिक, प्राकृतिक, वातावरणीय, साहित्यिक, खेलकुद आदि संस्थाहरू तपाई राजनीतिक नेता र नेतृत्वसँग टाढिँदैछन्, तर्किंदैछन् । तपाई नेतालाई प्रमुख अतिथि मान्न किन तयार भइरहेका छैनन् ? यो विषयलाई हलुका होइन, गम्भीर रूपमा सोच्नोस् नेता महाशयहरू र आ–आफ्ना चरित्रगत र कुसंस्कारगत बानीबेहोरा र आचरणमा कठोर रूपमा परिवर्तन गर्न मेरो विनम्र आग्रह हो ।

तपाईका दलका तलदेखि माथिसम्मका तहमा यो विषयलाई एउटा छुट्टै एजेन्डाका रूपमा छलफल गरी आफूलाई नेतृत्वदायी भूमिका निर्वाह गर्ने उचाइमा उचाल्नोस्, नेतृत्व तपाईले नै गर्नुपर्छ ।

प्रकाशित : भाद्र १६, २०७५ ०८:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT