कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाठेघरबाहिर भ्रूण

‘यो असामान्य स्थिति थाहा नभएर वा अन्तिम अवस्थामा थाहा पाएर गर्भकै अवस्थामा मृत्युवरण गर्नेहरू गाउँघरमा प्रशस्त छन् । सुविधासम्पन्न ठाउँमा बस्नेहरूको समेत यही समस्याले मृत्यु हुने गरेका घटना पनि छन् ।’
अतुल मिश्र

काठमाडौँ — महिनावारी बन्द हुँदा सन्तानको लालसामा उनी अत्यन्त हर्षित हुन्छिन् । लगत्तै उनलाई फेरि पहिले जस्तै हुने हो कि भन्ने डरले समेत अत्याउन थाल्छ ।

पाठेघरबाहिर भ्रूण

उनको पहिलो गर्भ जुम्ल्याहा भए पनि एउटा चाहिँ पाठेघरमा नबसेर फेलोपियन टयुब (डिम्बवाहिनी नली) मा बसिदिँदा, तत्काल शल्यक्रिया गराउनुपरेको थियो । अर्को गर्भधारण हुँदासमेत यस्तो हुन सक्ने सम्भावना अन्य व्यक्तिको दाँजोमा २५ प्रतिशत बढी रहेको चिकित्सकहरूले औंल्याएपछि हाल उनी महिनावारी अलिकति पर सर्दा पनि एक्कासि खुसीसँगै आतंकित हुने गरेकी छन् ।


यो उनको मात्र समस्या हैन र समयमै समस्या पहिचान भएका उनी जस्ता भाग्यमानीसमेत हाम्रो मुलुकमा कमै छन् । गर्भावस्थाको सुरुवाती दिनमा हुने मृत्युदरको यो पनि एउटा प्रमुख कारण हो ।


गर्भधारणको स्थितिमा जब भ्रूण पाठेघरमा नभई शरीरका अन्य असामान्य ठाउँँमा विकसित हुन थाल्छ, यसलाई चिकित्सकीय भाषामा एक्टोपिक गर्भावस्था भनिन्छ ।
अमेरिकन कलेज अफ अब्स्टि्रसियन एन्ड गाइनाकोलोजिस्टका अनुसार, ९० प्रतिशत जति एक्टोपिक गर्भावस्थामा गर्भ डिम्बवाहिनी नलीमा बस्छ । यसैले यसलाई टयुबल प्रेग्नेन्सीसमेत भन्ने गरिन्छ ।


तर गर्भ पेटको अन्य अपायक ठाउँमा समेत बस्न सक्छ । अमेरिकास्थित मायो क्लिनिकको तथ्यपत्रअनुसार, यो गर्भ डिम्ब वाहिनीसँगै ओभरी (अण्डाशय), एब्डोमिनल क्याभिटी (पेटभित्रको खाली ठाउँ) र योनिसँग जोडिएको पाठेघरको तल्लो भाग (सर्भिक्स) आदिमा हुन सक्छ ।


‘यो असामान्य स्थिति थाहा नभएर वा अन्तिम अवस्थामा थाहा पाएर गर्भकै अवस्थामा मृत्युवरण गर्नेहरू गाउँघरमा प्रशस्त छन् । सुविधासम्पन्न ठाउँमा बस्नेहरूको समेत यसले गर्दा मृत्यु हुने गरेको पाइएको छ,’ काठमाडौं मोडल हस्पिटलका वरिष्ठ कन्सल्टेन्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रा. गणेश दंगाल भन्छन्, ‘पहिलेको दाँजोमा यो समस्या अचेल अलि बढेको देखिन्छ ।’


एक सय गर्भवतीमा दुई जनासम्मलाई एक्टोपिक गर्भावस्था हुने गरेएको अन्तर्राष्ट्रिय तथ्यांक औंल्याउँदै प्रा. दंगाल भन्छन्, ‘हाम्रोमा खासै अध्ययन नभए पनि अस्पतालको तथ्यांकलाई विश्लेषण गर्दा ५ प्रतिशतसम्ममा एक्टोपिक गर्भावस्था हुने अवस्था छ ।’


एक्टोपिक गर्भावस्थाको सम्बन्ध गरिबी, पोषण, सरसफाइको कमी, प्रजनन तन्त्रको संक्रमण आदिसँग समेत जोडिएको विज्ञहरू बताउँछन् ।


तराई र दुर्गम ठाउँमा एक्टोपिक गर्भावस्था अन्य ठाउँको दाँजोमा अलि बढी मात्रामा देखिएको आकलन जनकपुर अञ्चल अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. वृजमोहन कुमार रजकको छ । उनका अनुसार पोषणको कमी, सरसफाइको अवस्था राम्रो नहुनु, कम उमेरमा बिहे, प्रजनन अंगलगायतमा संक्रमण आदिले गर्दा यो बढी देखिएको हो ।
महिनावारी रोकिनासाथ चिकित्सकीय सल्लाह नलिने आमव्यवहारले समेत एक्टोपिक गर्भावस्था समयमै पहिचान हुन नसकेको विज्ञहरू औंल्याउँछन् ।


हाम्रो समाजमा, गर्भधारण भएको तीन महिना केही गर्नु नपर्ने सोचाइले गर्दासमेत एक्टोपिक गर्भावस्था समयमै पहिचान हुन नसकेर ज्यान जोखिममा पर्ने गरेको अवस्था कायम रहेको राजधानीमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रंगीता लाइकङ बम शाह बताउँछिन् । गर्भ बसेको तीन महिनापछि मात्र डाक्टरसँग जँचाउनुपर्ने आमबुझाइले गर्दा एक्टोपिक गर्भावस्था समयमै पहिचान हुन अप्ठयारो भइरहेको उनी औंल्याउँछिन् ।


यस्तो समस्या भएका धेरैजसो महिला महिनावारी रोकिएको छदेखि आठ सातासम्म डिम्बवाहिनी नली फुटेपछिको अवस्थामा अस्पताल आउने गरेका छन् । यसरी नली च्यातिएपछि रगत पेटमा जम्मा हुन्छ र बिरामी ‘सक’ मा समेत जान सक्छन् ।

के हो एक्टोपिक गर्भावस्था ?
सामान्य गर्भावस्थामा भ्रूणको विकास पाठेघरमा हुन्छ । पाठेघरका दुवैतिर रहेको डिम्बाशय (ओभरी) डिम्बवाहिनी नलीद्वारा पाठेघरसँग जोडिएको हुन्छ । हरेक महिना डिम्बाशयबाट डिम्ब निस्केर डिम्बवाहिनी नलीमा आउँछ । गर्भधारणको अवस्थामा यो भ्रूणको रूपमा पाठेघरमा पुगेर विकसित हुन्छ । तर यो भ्रूण पाठेघरभन्दा अन्य ठाउँमा विकसित हुन थाल्दा यसलाई एक्टोपिक गर्भधारण भनिन्छ ।

हेट्रोटोपिक गर्भावस्था
धेरैजसो अवस्थामा सामान्य गर्भधारण र एक्टोपिक गर्भधारण एकसँगै समेत देखिन सकिन्छ । यो अवस्थालाई हेट्रोटोपिक गर्भावस्था भनिन्छ । यस्तो स्थितिमा
एउटा भ्रूण डिम्बवाहिनी नली वा अन्य ठाउँ र अर्को भ्रूण पाठेघरमा विकसित भइरहेको हुन्छ । ‘हेट्रोटोपिक गर्भावस्था सामान्य जनसंख्यामा करिब ३० हजार गर्भमध्ये एउटामा पाउने गरिन्छ,’ डा. रजक भन्छन् ।

कपर टी लगाउनेहरूमा समेत
एक्टोपिक गर्भावस्था परिवार नियोजनको साधन कपर टी लगाउने महिलाहरूमा समेत परिवार नियोजनको यो तरिकाले काम नगरी एक्टोपिक गर्भावस्था हुने सम्भावना रहन्छ ।
कपर टी लगाउँँदा ताका महिलाहरूलाई यो फेल्योर हुन सक्ने सम्भावना आदिबारे काउन्सेलिङ गर्नुपर्ने औंल्याउँदै डा. रंंगीता भन्छिन्, ‘उनीहरू मलाई त गर्भ बस्दैन भनेर ढुक्क बस्ने गर्छन्, तर यस्तो नहुन पनि सक्छ ।’


कपर टी लगाएको महिलामा गर्भधारण परीक्षण (प्रेग्नेन्सी टेस्ट) गर्दा सकारात्मक (पोजेटिभ) नतिजा आए एक्टोपिक गर्भावस्था हुने सम्भावना ९९ प्रतिशत हुने डा. रंगीता बताउँछिन् ।

एक्टोपिक गर्भावस्था हुने जोखिम
विशेषज्ञहरूका अनुसार, गर्भधारणको कृत्रिम तरिका अपनाउने महिलाहरूमा एक्टोपिक गर्भावस्था हुने सम्भावना अन्यको दाँजोमा बढी हुन्छ । यस्तै एक पटक एक्टोपिक गर्भावस्था भएकाहरूलाई पुन: यस्तै गर्भधारण हुने जोखिम अन्यको दाँजोमा बढी हुन्छ ।


पाठेघरसम्म कृत्रिम रूपले शुक्रकीट पुर्‍याएको अवस्थामा समेत एक्टोपिक गर्भावस्थाको सम्भावना बढ्छ ।


क्षयरोग, यौन मार्गको संक्रमण, यौन रोग, फेलोपिन टयुबको शल्यक्रिया, पेटको शल्यक्रिया गराएकी महिलाहरूलाई यो हुने सम्भावना बढ्ने औंल्याउँदै डा. दंगाल भन्छन्, ‘आकस्मिक गर्भ निरोधक चक्की खाने चलनले समेत एक्टोपिक गर्भावस्थाको सम्भावनालाई बढाएको छ ।’


३५ वर्षभन्दा माथिको उमेर, धूमपान गर्ने बानी, बाँझोपनको इतिहास, इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) गराउनेहरूमा समेत एक्टोपिक गर्भावस्थाको जोखिम देखिएको छ ।
भ्रूण अन्य ठाउँमा बाँच्न सक्छ ?


निशेचित अण्डा पाठेघरबाहेक महिलाको शरीरको अन्य ठाउँमा बाँच्न सक्दैन । भ्रूणलाई वृद्घि हुन ठाउँ र पोषकतत्त्वको स्रोत चाहिन्छ । जुन पाठेघरमा मात्र सम्भव रहेकाले शरीरको अन्य भागमा यस्तो भ्रूण बाँच्न सक्दैन ।

जाँच
एक्टोपिक गर्भावस्थाका पहिचान अल्ट्रासाउन्ड परीक्षण (सोनोग्राम) ले हुन सक्छ । यो परीक्षण गर्दा भ्रूण गर्भाशयमा नभई अन्यत्र विकसित भइरहेको थाहा पाउन सकिन्छ ।
करिब एक महिना वा पाँच सातासम्म भ्रूण कतिपय समय कुनै ठाउँमा नदेखिए पनि गर्भावस्था परीक्षणले पोजेटिभ देखाइरहेको हुन्छ ।


यस्तो अवस्थामा रगतमा ‘बिटा–एचसीजी’ हार्माेनको स्तरको परीक्षण गरिने गरिएको औंल्याउँदै डा. रजक भन्छन्, ‘सामान्य गर्भावस्थामा जहाँ यो हार्मोन हरेक दुई दिनमा करिब दोब्बर भए एक्टोपिक गर्भावस्थामा यसको स्तर यति बढ्दैन ।’ यो हयुमन क्लोरोनिक गोनिडट्रिओपेन हार्मोन गर्भधारणको समयमा निस्किने गर्छ ।



गर्भधारण गर्नासाथ परीक्षण गराऔं
एक्टोपिक गर्भावस्थाको भए/नभएको छुट्टयाउने एउटै उपाय हो— गर्भ रहेको थाहा पाउनासाथ चिकित्सकसँग परीक्षण गराउनु । समयमै यो समस्या पहिचान भए सधैं शल्यक्रिया नै गराउनुपर्ने स्थिति आउँदैन ।


महिनावारी रोकिएको एक साताभित्र चिकित्सकीय परामर्श आवश्यक मानिन्छ । अझ एक पटक एक्टोपिक गर्भावस्था भइसकेकाहरूले त महिनावारी
रोकिएसँगै चिकित्सकीय परामर्श लिनुपर्ने विशेषज्ञहरू औंल्याउँछन् ।

उपचार
एक्टोपिक गर्भावस्थाको उपचार यो पहिचान भएको अवस्थामा निर्भर गर्छ । यसको एक मात्र उपचार औषधि वा शल्यक्रियाले भ्रूणलाई बाहिर निकाल्नु हो ।
यदि यो समस्या सुरुकै अवस्थामा पहिचान गरियो भने यसको प्रचलित उपचार एउटा औषधि ‘मेथोट्रेक्सेट’ रहेको डा. दंगाल बताउँछन् । कोषको वृद्घिलाई रोक्ने यो औषधि ‘ल्युकेमिया’ र अन्य प्रकारको क्यान्सर उपचारमा समेत उपयोग हुन्छ । यो औषधिले भ्रूणलाई वृद्घि हुनबाट रोक्छ ।


तर यदि एक्टोपिक गर्भावस्था उन्नत अवस्थामा छ भने भ्रूणलाई फेलोपिन टयुब, पेट, पाठेघरको मुख लगायतका ठाउँबाट निकाल्न शल्यक्रिया आवश्यक हुन्छ । यसमा कम चिरफार गरेर गरिने शल्यक्रिया (मिनिमल इन्भेसिभ सर्जरी), ल्याप्रोस्कोपिक सर्जरी उपयुक्त हुन्छ ।


तर यदि फेलोपिन टयुबमा भ्रूण बसेको छ र यो फुटेर अत्यधिक रक्तश्राव भएको ज्यान जाने अवस्थामा फेलोपिन टयुब शल्यक्रियाबाट हटाउनुपर्ने स्थितिसमेत आउन सक्छ ।
‘दुइटा डिम्बवाहिनी नली हुने भएकोले एउटा हटाउनुपर्दा वा क्षतिग्रस्त हुँदासमेत अर्कोले सामान्य रूपमा काम गरिरहन्छ,’ डा. दंगाल भन्छन् । उनका अनुसार यसको शल्यक्रिया नै गराउनुपर्दा हाल कम चिरफार गरेर गरिने शल्यक्रिया गराउनु राम्रो मानिन्छ ।


लक्षण
-प्रारम्भमा यसको लक्षण सामान्य गर्भावस्थाजस्तै हुनु ।
- महिनावारी बन्द हुनु र प्रेग्नेन्सी परीक्षणमा पोजेटिभ नतिजा आउनु ।
- पेटमा हल्का वा तीव्र दुखाइ हुनु ।
- योनिबाट पहिले सामान्य र पछि गएर धेरै रगत बग्नु ।
- तल्लो पेटमा दुख्नु ।
- एकातर्फको तल्लो पेट/नितम्ब बाउँडिनु ।
- रिँगटा लागे ढल्ने स्थिति आउन सक्नु ।
- शरीरमा रगतको कमी हुनु ।

[email protected]

प्रकाशित : भाद्र ३०, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?