कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुमेको ज्योति फर्कँदा

फातिमा बानु

सिन्धुली — ओखलढुगां सिस्नेरीकी ८० वर्षीया कमसरी राई आँखा देखुन्जेल सक्रिय थिइन् । घाँसदाउरा गर्ने, खाना पकाउने, बिरामी श्रीमान स्याहार्थिन् । उनको आँखा धमिला हुँदै गएपछि काम गर्न नसक्ने भइन् । आँखाको ज्योति हराएपछि लठ्ठीको साहराले हिँड्न थालिन् ।

गुमेको ज्योति फर्कँदा

गुमेको ज्योति फेरि फर्किन्छ होला भनेर उनले कहिल्यै सोचेकी थिइनन् । उपचारका नाममा झारफुक मात्रै गरेको उनी सुनाउँछिन् । उनले भनिन्, ‘छोरानाती भएका भए खर्च गरेर अस्पताल लगिदिन भन्थेँ, छोरीका आफ्नै दु:ख थिए, भन्न मन लागेन ।’


शुक्रबार उनले नसोचेको कुरा भयो । अर्थात् उनले फेरि संसार देखिन् । आँखाका ज्योति फर्कियो । तिलगंगा आँखा अस्पतालले सिन्धुलीको फिक्कल गाउँपालिकामा उनको नि:शुल्क आँखा शल्यक्रिया गरिदिएपछि उनी पूर्ण देख्ने भएकी हुन् । शुक्रबार उनी लगायत १ सय २३ वृद्धवृद्धाको निशुल्क आँखा शल्यक्रिया भएको थियो ।


मोतीबिन्दुका कारण उनका दुवै आँखाका ज्योति हराएको थियो । शल्यक्रिया पश्चात् उनले भनिन्, ‘अब घिस्रेर हिड्ँनु पर्दैन होला, कसैलाई दु:ख दिनु पर्दैन होला, यसैमा धेरै खुशी छु ।’


धनुसाका मनोजकुमार पनि शुक्रबार प्रष्ट आँखा देख्ने भए । मोतीबिन्दुका कारण पाँच वर्ष उनी धमिलो संसारमा बाँचे । छामछुमको भरमा जिन्दगी बिताए । सिन्धुलीमा सुरक्षा गार्डको काम गर्दै आएका उनी खर्च अभावका कारण अस्पताल पुग्न सकेका थिएनन् । उनले भने, ‘मजदुरीको पैसाले परिवार पाल्न पनि पुग्दैन, टाढाको अस्पताल जान, खर्च गर्न कसरी सोच्नुँ ।’

मान्छे चिन्न पनि उनलाई गाह्रो हुन्थ्यो । आवाजले मात्रै ठम्याउँथे । रातीको काम गरेर जसोतसो जीवन चलाईरहेका थिए । शल्यक्रिया पश्चात उनले भने, ‘अब कमाएर बच्चालाई मिठो खुवाउन, राम्रो पढाउन सक्छु होला,संसार नै पाएको जस्तो लागेको छ ।’


राजधानीभन्दा थोरै दूरीको जिल्ला भएपनि सिन्धुलीको फिक्कल गाउँपालिका र वरपरका गाउँमा अझै बिजुली पुगेको छैन । नजिक अस्पताल छैन । सानातिना स्वास्थ्य समस्यालाई त मानिसहरू वास्ता पनि गर्दैनन् । आँखै नदेख्ने भइसक्दा समेत अस्पताल पुग्दैनन्,वृद्धवृद्धा घरेलु उपचारको भरमा छन् ।


खाङसाङ गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनार भन्छिन्, ‘ नजिक अस्पताल छैन,बुढाबुढी टाढाको अस्पताल पुग्न सक्दैनन्, लगिदिने पनि कोही हुँदैनन् ।’ कोही भने बुढाबुढी भइसकेपछि कति नै बाँचिन्छ र भन्ने मानसिकताका कारण उपचार गर्न नमान्ने उनले बताइन् ।


बढ्दो उमेरसँगै कपाल फुले जस्तै आँखभित्रको लेन्स पाक्दै जाने समस्या मोतिविन्दु हो । खासगरी ५० उमेर कटेका वृद्धवृद्धामा यस्तो समस्या हुन्छ । लेन्स पाक्दै जाँदा आँखा धमिलो देख्ने, विस्तारै आँखाको ज्योति हराएर गई अन्धोपन हुन्छ । उपचार गरेमा अन्धोपन भईसकेको ज्योति समेत फर्किएर आउँछ ।


मोतिविन्दुको जिवनशैली र खानपिनको कुनै सम्बन्ध छैन । यस्तोबेला आँखामा मोतिजस्तो सेतो विन्दु देखिने र यसले बाहिरबाट आउने ज्योति छेकिदिन्छ । उमेरका कारण हुने समस्याको उपचार शल्यक्रियाबाट हुने आँखाको नानीरोग विशेषज्ञ डा.रचना सिंह बताउँछिन् ।

उनी भन्छिन्, ‘ मोतिविन्दुको उपचार सम्भव छ, ढिलो भएका जलविन्दु हुन्छ, जसको कुनै उपचार छैन ।’ बढ्दो उमेरसँगै आँखा धमिलो हुँदै जानु, रगींविरगीं देख्नु मोतिविन्दुका साधारण लक्षण हुन् ।

प्रकाशित : आश्विन २०, २०७५ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?