मधुमेह र 'फुट अल्सर'
काठमाडौँ — विश्व मधुमेह दिवस मनाइँदै गर्दा एउटा जनरल प्रक्टिसनरका रुपमा आफूले देखेको र मधुमेह भएकाहरु धेरैले ध्यान नदिएको गोडाको स्याहारको महत्वबारे केही जानकारी प्रस्तुत गरेको छु ।
मधुमेहको उपचार र मधुमेह भएकाहरुले खानपानमा विशेष ध्यान दिने गरे पनि गोडाको स्याहारमा खास ध्यान पुर्योउने गरेको पाइँदैन । मधुमेहले शरिरका महत्वपूर्ण अङ्गहरुमा नकारात्मक असर पुर्या उने बुझेर जसरी महत्व दिइन्छन् त्यति गोडाको स्याहारमा ध्यान पुर्या उने गरेको पाइँदैन ।
मधुमेह भएका मानिसहरुले आफ्नो गोडाको स्याहार राम्रोसँग नगरेमा 'डायबिटिक फुट अल्सर' (गोडामा घाउ) भएर गोडाको कुनै भाग वा पुरै गोडा नै गुमाउनुपर्ने अवस्था उत्पन्न हुन्छ । जसले गर्दा मधुमेह भएका मानिसको जिवनस्तर खस्कनुका साथै त्यसको नकारात्मक असका कारण सम्पूर्ण परिवार नै प्रभावित हुन्छ ।
समान्य रुपमा गोडाको स्याहर गर्न त्यति गाह्रो छैन । हामीले घरमा सजिलै उपलब्ध हुने सामग्रिहरु प्रयोग गरेर गोडाको स्याहार गर्न सक्छौं । बाथरुममा नुहाउनका लागि प्रयोग गरिने नाइलनको जाली, सानो ऐना, नेल कटर र छाला नरम बनाउने क्रिम प्रयोग गरी सरल तरिकाले गोडाको स्याहार गर्न सकिन्छ ।
गोडाको स्याहार गर्ने तरिकाः
- सफा पानिले गोडा धुने
- सफा कपडाले गोडाको सम्पूर्ण भाग सुख्खा हुनेगरी पुछ्ने ।
- गोडामा ठेला उठेको वा पैताला फुटेको छ वा छैन हेर्ने ।
- छाला र पैतालालाई नरम बनाउन ग्लिसिरिन भएका क्रिमहरु प्रयोग गर्ने ।
- नङ काट्दा सिधा काटेर नङको कुनाको भागलाई फाइलरले घोटेर मिलाउने ।
साथमा, सम्भव भएसम्म खाली गोडा नहिँड्ने, आफ्नो साइजको र तुना भएको जुत्ता मात्र लगाउने गर्नाले पनि गोडाको स्याहारमा मद्दत गर्ने ।
यसरी मधुमेह भएकाहरुले आफ्नो गोडाको हेरचाह गरेमा डायवेटिक फुट अल्सरबाट जोगिन सकिन्छ ।
(डा. श्रेष्ठ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत जनरल प्राक्टिसनर हुन् । उनले क्रिष्चियन मेडिकल कलेज भेल्लोरबाट डायवेटोलोजीमा फेलोसिप तथा डायवेटिक फुट केयरमा तालिम हासिल गरेका छन् ।)