कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एन्टिबायोटिकको जभाभावी प्रयोग रोकिने

फातिमा बानु

काठमाडौँ — जथाभावी बिक्री वितरण र प्रयोग भइरहेको एन्टिबायोटिक औषधि अब सरकारले नियन्त्रण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न निकायको सहयोगमा एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रणका लागि अभियान चलाउन लागेको हो ।

एन्टिबायोटिकको जभाभावी प्रयोग रोकिने

स्वास्थ्य मन्त्रालयका अस्पताल प्रशासक डाक्टर दीपेन्द्ररमण सिंहका अनुसार अभियानलाई विश्व स्वास्थ्य संगठन र विश्व खाद्य तथा कृषि संगठनले सघाउने बताए । एन्टिबायोटिक नियन्त्रणका लागि नीति नियम र रणनीति आवश्यक भएकाले यसलाई प्राथमिकतामा राखेर काम गर्ने मन्त्रालयले जनाएको छ ।


‘चिकित्सकको सल्लाहबिना फार्मेसीबाट आफैं औषधि किनेर खाने बिरामीको प्रवृत्ति पनि बढ्दो छ । औषधि विक्रेताले पनि चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेचिरहे पनि नियमन र नियन्त्रण गर्ने निकाय सुस्त छन्,’ सिंहले भने । यस्ता गलत अभ्यासले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको उनको भनाइ छ । उनले भने, ‘बिरामीले आवश्यकताभन्दा बढी एन्टिबायोटिक प्रयोग गरिरहेका छन्, जसले गर्दा औषधि निष्प्रभाव हुँदै गएको छ ।’ विशेषगरी टाइफाइट जस्तो संक्रमणमा जथाभावी एन्टिबायोटिकको प्रयोग बढिरहेको

उनले जनाए ।


स्वास्थ्य मन्त्रालयले हाल विभिन्न निकाय र विज्ञको समन्वयमा औषधि प्रतिरोधी जीवाणुको फैलावटबारे अध्ययन गरिरहेको जनाएको छ ।


पहिलो चरणको अध्ययनबाट नेपालमा मानिस र पशुपन्छीमा औषधिले छुँदै नछुने खालका जीवाणु बलियो बन्दै गएको देखाएको छ । जसले गर्दा एन्टिबायोटिकको प्रभावकारिता घट्दै गइरहेको डा. सिंहले बताए । नेपालमा यसअघि एन्टिबायोटिकको प्रभावकारिताबारे कुनै अध्ययन, अनुसन्धान भएको छैन ।


यस्ता औषधि नेपालमा कति भित्रिन्छन् र कति खपत हुन्छन् भन्नेबारे पनि आधिकारिक तथ्यांक छैन । ठोस जानकारी नहुँदा अध्ययन केही जटिल बन्ने चिकित्सक बताउँछन् ।


एन्टिबायोटिकबारे व्यक्तिगत रूपमा अनुसन्धान गरिरहेका त्रिविको चिकित्सा अध्ययन संस्थानका फर्माकोलोजिस्ट डा. सतिशकुमार देव भन्छन्, ‘एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण नभए यसले विकराल रूप लिन सक्छ, शल्यक्रिया गर्दादेखि सामान्य चोटपटकमा मानिसको ज्यानै जाने स्थिति आउन सक्छ ।’ एन्टिबायोटिकको सदुपयोगका लागि यो विषय विद्यालय तहकै पाठ्यक्रममा समावेश गर्नुपर्ने उनको धारणा छ ।


एन्टिबायोटिक नियन्त्रण बहुआयामिक अभियान भएकाले यसमा पशु स्वास्थ्य र वातावरण स्वास्थ्यमा निकायको पनि सहकार्य आवश्यकता भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बताए । उनले भने, ‘विज्ञ, सामाजिक क्षेत्र र गैरसरकारी क्षेत्रसँग हातेमालो गर्छौं, एन्टिबायोटिकको गलत प्रयोग अन्त्य गर्न मन्त्रालय आफ्नो बलबुता र शक्ति लगाएर अघि बढ्छ ।’


पशु र कृषिमा पनि एन्टिबायोटिकको अत्यधिक प्रयोग बढिरहेकाले यसले मानव स्वास्थ्यमा गम्भीर असर निम्त्याउने विज्ञहरू बताउँछन् । पशु स्वास्थ्य विभागकी उपमहानिर्देशक सम्झना काफ्ले भन्छिन्, ‘दुई तिहाइभन्दा बढी एन्टिबायोटिक पशुमा प्रयोग भइरहेको छ, औषधिको बिक्री पनि जथाभावी छ ।’


औषधिको जथाभावी बिक्री रोक्ने ऐन बने पनि त्यो कार्यान्वयनमा नरहेको उनले बताइन् । पशुमा जथाभावी एन्टिबायोटिक प्रयोग रोक्न सरकारले कृषक, पशु स्वास्थ्यकर्मी र औषधि विक्रेतालाई तालिम दिनुपर्ने उनको भनाइ छ ।


विश्व स्वास्थ्य संगठनका अनुसार एन्टिबायोटिकले काम गर्न छोडेकै कारण हरेक वर्ष विश्वभर करिब ७ लाख मानिसले ज्यान गुमाइरहेका छन् । हरेक ४५ मिनेटमा एकको मृत्यु भइरहेको छ । यही अवस्था कायम रहे सन् २०५० सम्ममा एन्टिबायोटिककै कारण बर्सेनि एक करोड मानिसले ज्यान गुमाउने संगठनको अनुमान छ ।


संगठनको अध्ययनअनुसार नेपाललगायत एसिया र अफ्रिकाका विकासोन्मुख देशमा एन्टिबायोटिकको असर बढी छ । एन्टिबायोटिकको दुरुपयोग रोक्न संगठनले विश्वव्यापी कार्ययोजना नै बनाएको छ । नेपाल पनि यही कार्ययोजना लागू गर्न तत्पर रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : मंसिर ४, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?