कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छारे रोग उपचार कठिन

काठमाडौँ — जनस्वास्थ्यमा गम्भीर मानिएको छारे रोग निराकरणका लागि स्वास्थ्य ऐन आवश्यक भएको सरोकारवालाले माग गरेका छन् । उनीहरूले ऐन कानुनको अभावमा उपचारमा कठिनाइ भएकाले बिरामी घट्नुको साटो बढिरहेको दाबी गरे ।

राजधानीमा शनिबार आयोजित अन्तर्राष्ट्रिय ‘हिमालयन सिस्टिसर्कोसिस सम्मेलन’ का सहभागीले विश्वबाट निर्मूल हुँदै गइरहेको रोग सरकारको बेवास्ताका कारण नेपालमा समस्याका रूपमा रहेको बताएका छन् ।


‘सिस्टिसर्कोसिस’ नामक संक्रमणका कारण छारे रोग लाग्ने गरेको छ । सिस्टिसर्कोसिस नाम्ले कीराको फुल मिसिएको पानी, खाना र सुँगुरको मासु सेवनबाट मानिसमा सर्ने सरुवा रोग हो । संक्रमित फुल कुनै माध्यमबाट मानव शरीरभित्र प्रवेश गर्दा यसले जुनसुकै अगंमा असर पार्न सक्छ ।


नाम्ले कीराको फुल दिमागमा पुग्दा यसले टाउकोमा पानीको बहाव रोकिदिन्छ र छारे रोग गराइदिन्छ । संक्रमणबाहेक छारे रोग टाउकोमा गम्भीर चोटपटक लाग्दा पनि हुन्छ, वशांणुगत पनि हुन्छ । न्युरोलोजिस्ट डा.वसन्त पन्त भन्छन्, ‘विकसित मुलुकमा सुँगुरलाई लगाउने खोपको आविष्कारसँगै विश्वबाट यो रोग न्यूनीकरण हुँदै गइसक्यो, खुला दिसा/पिसाबका कारण पनि संक्रमण कम हुन नसकेको हो ।’


नेपालमा भने यो खोप पाइलट प्रोजेक्टका रूपमा निश्चित जिल्लाहरूमा मात्रै उपलब्ध छ । सरकारले यो रोगलाई सम्बोधन गर्ने खालका ऐन र पाठ्यक्रम बनाई व्यापक जनचेतना फैलाउनुपर्ने उनी बताउँछन् । विशेषज्ञका अनुसार नेपालका काठमाडौं, धरान, नेपालगन्ज, पोखरा र दाङमा यो संक्रमणका बिरामी बढी छन् । डा. पन्त भन्छन्, ‘यो रोगको उपचारभन्दा पनि उन्मूलनतर्फ सरकारले काम गर्न जरुरी छ, यो रोग प्राथमिकतामा पर्न सकेको छैन ।’


महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका न्युरोलोजिस्ट डा. मोहनराज शर्माका अनुसार छारे रोगको ५० प्रतिशत कारण नाम्ले कीराको फुल मिसिएको पानी, खाना र सुँगुरको मासु नै हो । उनी भन्छन्, ‘रोग गम्भीर भए पनि यो सजिलै न्यूनीकरण गर्न सकिन्छ, सामान्य सरसफाइ अपनाएमा यो रोग लाग्नै सक्दैन ।’


विशेषगरी ठूला राजमार्गका पेशेवर सवारीचालक यो रोगको जोखिममा रहेको बताउँदै उनले थपे, ‘राजमार्ग वरपरका होटलका खाना र पानीमा पर्याप्त सरसफाइ नभएर होला, छारेसम्बन्धी मैले हेर्ने धेरै बिरामी यही पेसाका छन् ।’ यो सरुवा रोग भए पनि एकै ठाउँमा बस्ने, खानेमध्ये बाहेक अन्य व्यक्तिमा विरलै सर्ने उनी बताउँछन् ।

प्रकाशित : मंसिर २३, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?